मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन


झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका हुन् ।
बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गरेका छन् । मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले जानकारी दिए । सोही क्रममा उनले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए ।