अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागेको छ : कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देश अब विकासको निर्णायक मोडमा पुगेको र आफूलाई पनि राष्ट्रिय नेतृत्व सम्हाल्नुपर्ने सोचबल बढेको बताएका छन् । उज्यालो नेपाल पार्टीको घोषणासभामा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उनले विचार परिवर्तनले मात्र देश बन्न नसक्ने, सही नेतृत्व र कार्यक्षमताले मात्र वास्तविक परिवर्तन सम्भव हुने धारणा राखे ।
सम्बोधनका क्रममा उनले अघिल्लो सरकारसँगको मतभेदकै कारण मन्त्री पदबाट बाहिरिनुपरेको प्रसंग स्मरण गर्दै त्यसलाई अवसरका रूपमा लिन सफल भएको बताए । ‘करीब ७–८ महिना सरकारसँग ठूलो झगडा भयो । अवधि सकिन चार महिनामात्र बाँकी हुँदा मैले पद छाड्नुपर्यो । त्यसैबेला मैले धन्यवाद दिएको थिएँ— त्यो झगडाकै कारण म मन्त्रीको रूपमा स्थापित भएँ’, उनले भने ।
घिसिङका अनुसार देशमा राजनीतिक परिवर्तन त धेरै पटक भए, तर आर्थिक रूपान्तरणमा देश पछाडि परिरह्यो। २००७ सालयता ७५ वर्षमा नेपालले ७५ गुणा आर्थिक वृद्धि गर्न सके पनि भारतले १५० गुणा र चीनले ३५० गुणासम्मले उछाल ल्याइसकेको तथ्य प्रस्तुत गर्दै उनले नेतृत्व चयनमा भएको कमजोरीलाई प्रमुख कारण बताए ।
‘राजनीतिक परिवर्तनमा हाम्रा नेताहरू सफल बन्नुभयो, तर आर्थिक क्रान्तिमा असफल । ठूलो भाषणले विकास हुँदैन, परिणाममुखी नेतृत्व र दक्ष कार्यशैली चाहिन्छ’, उनले जोड दिए । उनी अब आफूलाई राजनीतिक नेतृत्वकै भूमिकामा सक्रिय हुनुपर्ने धारणा बढिरहेको भन्दै भने, ‘यहाँबाट हिँडेर कता जाने ? अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको छ ।’ उनले नेपालमा क्षमता, स्रोत र सम्भावना प्रशस्त हुँदा पनि सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी नदिँदा विकास रोकिएको टिप्पणी गरे । देशको आर्थिक भविष्य सुनिश्चित गर्न अब परिणाममा केन्द्रित नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
