काठमाडौं–३ बाट चुनाव लड्ने तयारीमा कुलमान, मन्त्री पद छाड्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङ आगामी आमनिर्वाचनमा काठमाडौं–३ बाट उम्मेदवारी दिने तयारीमा देखिएका छन् । उनले चुनाव प्रचारप्रसार पनि सुरु गरिसकेको स्रोतको दावी छ । घिसिङ यस क्षेत्रकै स्थायी बासिन्दा हुन् । उनको रोजाई काठमाडौं–३ नै रहेको बताइन्छ । निर्वाचन क्षेत्रमा राजनीतिक दलबाट उच्च प्रोफाइल उम्मेदवारको कमी र मतदातामा लोकप्रिय छविको खोजी भएकाले उनी तुलनात्मक रूपमा सहज हुन सक्ने अनुमान छ।
अघिल्लो निर्वाचनमा माओवादी पार्टीले घिसिङको तस्वीर प्रचण्ड र जनार्दन शर्मासँगै प्रयोग गरी प्रचार गरेको थियो, जसले विवाद निम्त्याएको थियो । त्यसबेला घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । विवादपछि उनले स्पष्ट पारेका थिए कि उनी माओवादीमा छैनन् र चुनाव लड्ने योजना पनि छैन । २०७९ को निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे काठमाडौं–३ बाट विजयी भएका थिए । उनले एमालेका कृष्ण राईलाई करिब ४ हजार मतले पछि पारेका थिए । त्यस्तै, राप्रपाका दुर्गाविक्रम थापाले तेस्रो स्थान पाएका थिए ।
चालिसेमाथि हाल भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । एमालेबाट रामेश्वर फुयाँल र कृष्ण राई प्रमुख उम्मेदवारका रूपमा प्रतिष्पर्धा गर्ने अनुमान छ । फुयाँलले २०७० मा यही क्षेत्रबाट चुनाव जितेका थिए । कुलमानको मुख्य चुनौती कांग्रेस र एमालेका उम्मेदवारसँग हुनेछ ।
कुलमानले निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गर्नुअघि मन्त्री पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचनमा निष्पक्षता सुनिश्चित गर्न प्रश्न उठेका मन्त्रीहरुलाई पद छाड्न आग्रह गरेकी थिइन् । रास्वपा र उज्यालो नेपालबीचको एकता प्रक्रियामा घिसिङ उपसभापति बनेका छन् । सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै दलीय गविधिधिमा लागिसकेका मन्त्रीले राजीनामा दिएर सहयोग गर्न भनेकी हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सार्वजनिकरुपमा प्रश्न उठेको र सरकार गैरदलीय भएकाले परिस्थिति बुझिदिन आग्रह प्रधानमन्त्रीको थियो ।
हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा संलग्न भइरहेका छन् । सञ्चारमन्त्री जगदीश खरेलले पनि चुनाव लड्ने चाहना राखेर रवि, बालेन र कुलमानको एकतालाई अपनत्व लिएका थिए । रास्वपाले उम्मेदवार छान्न प्राइमरी इलेक्सनको प्रक्रिया बनाएको छ । तर, हालै एकता प्रक्रियाबाट आएका उम्मेदवारहरूलाई प्राइमरीको नियम लागू नहुने दाबी गरिएको छ । घिसिङ अहिले क्षेत्रीय मतदाताहरूसँग अन्तरक्रिया र भेटघाटमा व्यस्त छन्, र उनको लोकप्रिय छवि निर्वाचनमा सहयोगी हुने अपेक्षा गरिएको छ ।
