`

प्रहरीलाई विपद् सामना गर्न सक्षम बनाउने बालेनको प्रतिबद्धता

Nepal One HD ३० असोज २०८३ ११:२१
बिशेष

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रहरीको क्षमता अभिवृद्धि गर्न नीतिगत मार्गदर्शन, कानुनी सहजता र आधुनिक तालिमलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा लिखित सन्देश पठाउँदै प्रधानमन्त्री शाहले जनताको सेवामा अग्रपङ्क्तिमा खटिने प्रहरीलाई आगामी दिनमा सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनको सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेका थिए।

प्रधानमन्त्री शाहले प्रहरीको संस्थागत क्षमता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजनासमेत अघि सारेका छन्। सरकारले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको उनले सन्देशमा उल्लेख गरेका छन्।

त्यस्तै, वित्तीय अपराध र साइबर अपराधको रोकथाम तथा नियन्त्रणलाई सरकारले गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री शाहले बताएका छन्। यस्ता अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको समन्वयमा नेपाल राष्ट्र बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र डिजिटल सेवा प्रदायकहरूलाई एकै ठाउँमा ल्याउने काम भइरहेको उनको भनाइ छ।

प्रविधिको प्रयोगसँगै बढिरहेका वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रहरीलाई आधुनिक चुनौती सामना गर्न सक्षम बनाउने सरकारको प्राथमिकता स्पष्ट पारेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *