`

गगन थापा भावुक हुँदै भने- लडेको बेला साथ दिनेहरूको योगदान…

Nepal One HD ३० असोज २०८३ ११:२४
बिशेष

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले राजनीतिक यात्रामा अप्ठ्यारोमा पर्दा साथ दिनेहरूको योगदान विशेष हुने बताएका छन्।

सहज अवस्थामा साथ दिने धेरै भेटिए पनि कठिन समयमा प्राप्त हुने साथको महत्व अझ ठूलो हुने उनको भनाइ छ।

दसैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले आफ्नो राजनीतिक यात्राका विभिन्न उतारचढाव स्मरण गर्दै शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका हुन्।

‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ उनले भने, ‘लडेको बेलामा, ढलेको बेलामा दिने साथको धेरै महत्व हुन्छ।’

आफू राजनीतिक कार्यकर्ता भएकाले यात्राका क्रममा पटकपटक कठिन परिस्थितिको सामना गर्नुपरेको थापाले बताए। ‘म एउटा राजनीतिक कार्यकर्ता हुँ। त्यसैले मेरो राजनीतिक यात्राका क्रममा धेरै पटक लडेको छु, धेरै पटक ढलेको छु,’ उनले भने।

कमजोर अवस्थामा पुगेका बेला कुनै स्वार्थ नराखी साथ, स्नेह र आशीर्वाद दिनेहरूप्रति उनले कृतज्ञता व्यक्त गरे। शुभेच्छुकहरूको निरन्तर विश्वास र सद्भावले आफूलाई अघि बढ्न प्रेरित गरेको उनको भनाइ थियो।

‘म कैयौँ पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचीकन तपाईंहरूको निरन्तर शुभेच्छा रहेको छ, आशीर्वाद रहेको छ, स्नेह रहेको छ,’ थापाले भने, ‘त्यसका निम्ति मैले बोलेर आभार प्रकट गरेर पुग्दैन।’

आफू अहिलेको स्थानमा आइपुग्नुमा शुभेच्छुकहरूको ठूलो योगदान रहेको पनि उनले दोहोर्‍याए। आफूले पटकपटक यो कुरा उल्लेख गरे पनि फेरि भन्न मन लाग्ने भन्दै थापाले समर्थकहरूको विश्वास र स्नेहलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा चित्रण गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *