`

पाँच वर्षको लागि मौका दिनुस्, विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौं : कुलमान घिसिङ

Nepal One HD ५ माघ २०८२ १७:५७
निर्वाचन विषेश

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरुलाई दिन आग्रह गरेका छन् । तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए ।

उनले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गरे । आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा लिनुपर्ने उनको भनाई छ । उनले पाँच वर्षको आफूहरुले काम देखेपछि फेरि जनताले आफैलाई नै खोज्ने दाबी पनि गरे । उनले गर्ने सक्ने कामको मात्रै प्रतिवद्धता जनाउनु पर्ने बताउँँदै आफूले बोलेको कुरा सधै पूरा गरेको पनि दाबी गरे । जनतलाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उनको भनाई छ। उनले फागुन २१ गते हुने निर्वाचनमा आफूहरुलाई विश्वास गरेर हेर्न आग्रह गरे ।

उनले भने, ‘अब हामी देशको समृद्धितर्फ अगाडि बढ्नु पर्नेछ । देशको समृद्धिको लागि नेतृत्वको जरुरी पर्छ । नेतृत्वको लागि आगामी निर्वाचन धेरै नजिक आएको छ । आगामी निर्वाचन, फागुन २१ को निर्वाचन नयाँ नेतृत्व, सही नेतृत्वलाई छनौट गर्ने एउटा महाअभियानको रुपमा तपाईहरुले लिनुहोला भन्ने म हार्दिक आग्रह गर्दछु । यो इतिहासको एकदमै ठुलो, एकदमै महत्वपूर्ण अवसरको रुपमा लिनुहोला । यो अवसर गुमायौं भने फेरि पनि नेपाल पुरानै परिस्थितिमा फर्किन सक्दछ । मैले कहिले पनि कसैलाई धोका दिएको छैन । धोका दिने पनि छैन । जे बोल्छु, त्यो गर्छ । जे गर्छु, त्यही बोल्छु ।’

उनले भने, ‘हिजोको दिनमा जे बोलिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो बोलिँदैन । त्यो भएको हुनाले यो डेलिभरी गर्नुपर्ने, परिणाम दिनुपर्ने कुरा छ, त्यो परिणाम दिनको लागि सही नेतृत्व आवश्यक छ । तपाईहरुले अब आगामी ५ वर्षको लागि तपाईहरुले एउटा अवसर दिनुहोस् । त्यो अवसर हामीले देशको समृद्धिको लागि नेपाली जनताको मन मस्तिष्कमा उज्यालो छाउनको लागि, गरिबी हटाउनको लागि र विदेशमा गएर टन्टलापूर घाममा काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागी हामी प्रतिवद्ध भएर लाग्नेर्छौ । ५ वर्ष भित्र एउटा यस्तो परिणाम दिनेछौँ र त्यसपछिको सरकार, नेतृत्व तपाईहरु नै आउनुस् भनेर तपाईंहरुले नै भन्ने वातावरण हामीले बनाउनेछौँ ।’ उनले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरुको उदय भए देश झन अधोगतितिर जाने बताए । देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उनको भनाई छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *