मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छ : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गरेका हुन् ।
मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताए । उनले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तीब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।
मन्त्री घिसिङले भने, ‘पूर्वाधारको क्षेत्रमा हामीले निजी क्षेत्रलाई कसरी अगाडि बढाउने, निजी क्षेत्रलाई बढि भन्दा बढि पूर्वाधारको क्षेत्रमा कसरी लगानी गर्न लगाउने ? भन्ने विषयहरुमा ऐन, कानूनको ठूलो परिवर्तनको जरुरी छ । यो काम आगामी सरकारले गर्नुपर्छ । अहिलेको इलेक्शनको गोभर्मेन्टले इलेक्शन गरेर फेरि पनि त्यस्तै पुरानै हिसावले संचालन गर्ने सरकार भयो भने त्यसले केही पनि काम गर्दैन । अब आउने सरकार भनेको डेभलेपमेन्ट ओरेन्टेड, एउटा सही नेतृत्व दिने सरकार हुनुपर्छ ।’
उनले भने, ‘जसले देशको परिवर्तनको लागि, देशको द्रुत गतिमा विकास गर्नका लागि ठूलो परिवर्तन, चेन्ज ल्याउन सकोस । त्यस्तो नेतृत्व योङ लिडरसिप र सबै किसिमको डेभलपमेन्ट ओरेन्टेड लिडरसिपहरुको जरुरी छ । त्यस्तो लिडरसिप चुनिन र त्यस्तो लिडरसिपहरुलाई ल्याउनका लागि आगामी निर्वाचन सफल होस भन्ने पनि यहाँहरु सबैलाई शुभकामना व्यक्त गर्दै त्यतातर्फ अगाडि बढन आग्रह गर्दछु ।’ मन्त्री घिसिङले मुलुकको पूर्वाधार विकासको कामले तीब्रता नपाउनुमा निर्माण व्यवसायीहरु जिम्मेवार रहेको आरोप समेत लगाए ।
