पद र स्वार्थ भन्दा माथि उठेर देशहितका लागि एक ठाउँमा उभियौं : कुलमान घिसिङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै पार्टी एकता गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता भएको जानकारी दिँदै यो निर्णयले देशलाई सही निकासतर्फ लैजाने बताएका हुन् । घिसिङले यो मिलनलाई देशको सही निकासका लागि एउटा बलियो कदमको रूपमा व्याख्या गरे ।
‘उज्यालो नेपाल अभियानलाई थप सशक्त र संस्थागत बनाउन राजनीतिक शक्ति अपरिहार्य रहेको उल्लेख गर्दै आम नागरिकको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् । एकताको मस्यौदा तयार पार्न सोमबार साँझ कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा निर्णायक छलफल भएको थियो । उक्त वार्तामा नेपाली राजनीतिका तीन प्रभावशाली र चर्चित पात्रहरू–रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको उपस्थिति थियो ।
