`

मन्त्री घिसिङसँग युरोपेली संघका राजदूत लोरेन्जोको भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा मन्त्री घिसिङलाई राजदूत लोरेन्जाले युरोपेली संघकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली संघका राजदूतसँगको भेटमा रणनीतिक महत्व तथा रुपान्तरणकारी जलाशययुक्त जलविद्युत् आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायतालगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारको प्राथमिकता चुनाव, सुशासन र आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण भएता पनि विकास आयोजनालाई अगाडि बढाउन नीतिगत तथा कानुनी सुधार, अन्तरमन्त्रालय समन्वय, विद्युत् बजार थप सुनिश्चित गर्नु रहेको बताए ।

युरोपेली संघबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माण उच्च प्राथमिकतामा रहेकाले आयोजनाको वित्तीय व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन, प्रसारण तथा वितरण प्रणाली सुधारका लागि थप सहायता उपलब्ध गराउन आग्रह गरे । राजदूत लोरेन्जाले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य गर्न युरोपेली सङ्घ सधैँ तयार रहेको बताइन् ।

मन्त्री घिसिङको चेतावनी : सुनकोशी मरिण र भेरी बबईको ठेक्का यथास्थितिमा राख्न सकिँदैन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने स्पष्ट पारेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगललबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छलफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए ।

दुवै आयोजना निर्माणमा अस्वाभाविक ढिलाइ भएपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्‍याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने आयोजनाहरूको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे ।

‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौ रुपैयाँ लगानी भइसकेको छ, ब्याजको मात्र हिसाब गर्ने हो भने अर्बौँ हुन्छ, यस्तो अवस्थामा आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ?’ उनले चेतावनी दिँदै भने ।

‘दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युत गृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन्, तराई-मधेसमा सिँचाइका लागि पानीको हाहाकार छ तसर्थ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिँदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौँ ।’

भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत् गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ । सुनकोशी मरिण बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ ।

पूर्व प्रधानमन्त्री खनाललाई ऊर्जामन्त्री घिसिङको फोन

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग फोन संवाद गरेका छन् । संवादका क्रममा मन्त्री घिसिङले झलनाथकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी जलेर गम्भीर घाइते भएकी छन् । अहिले उनी अस्पतालमा उपचारमा छिन् । उनको अवस्था अझै पनि खतरामुक्त भइनसकेको बताइएको छ ।
आन्दोलनपछि रविलक्ष्मीको निधन भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको थियो । मन्त्री घिसिङले पनि त्यो हल्ला सुनेका थिए । हिजो मात्रै उनलाई निकटस्थहरुले हल्ला झूटो भएको बताएपछि खुशी भएका घिसिङले आज झलनाथलाई फोन गरेका हुन् ।

झलनाथ पत्नी रविलक्ष्मी कुलमानकी पूर्व शिक्षिका रहेको बताइएको छ । कुलमान अस्कल क्याम्पसमा आइएस्सी पढ्दा रविलक्ष्मीले उनलाई पढाएकी थिइन् । त्यही व्यक्तिगत सम्बन्धका कारण पनि उनले रविलक्ष्मीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका हुन् । झलनाथले फोनमा पत्नीको स्वास्थ्य अवस्था र आफ्नो घरमा भएको आगजनीबारे बताएका थिए ।

 

मलाई माननीय नभनिदिनु होला, मन्त्री ज्यू भने भइहाल्छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभनिदिन आग्रह गरेका छन् । चुनौतीपूर्ण घडीमा देशका लागि काम गर्न आएको बताउँदै उनले मन्त्री ज्यू मात्रै भने पुग्ने बताएका हुन् ।

‘देशको सेवा कसरी गर्न सकिन्छ, चुनौतीपूर्ण घडीमा आएका छौँ । देशलाई समृद्धि, राजनीतिक स्थिरतातिर कसरी अगाडि बढाउने ठूलो चुनौती लिएर आएका छौं । यो चुनौतीबाट भाग्नु हुन्न स्वीकार्नु पर्छ भनेर आएका छौँ’, उनले भने, ‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौं । कसैले नभनिदिनु होला । मन्त्री ज्यू भने भइहाल्छ ।’ तीन वटा मन्त्रालयको जिम्मेवारी रहेको बताउँदै उनले एक जिम्मेवार नागरिकको हैसियतले आएको बताए ।

 

मन्त्री घिसिङले भने–मन्त्रालय र मातहत भ्रष्टाचार गरे तत्काल र कडा कारबाही

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको नेतृत्व पाएका मन्त्री कुलमान घिसिङले मन्त्रालयहरु र यिनका मातहत निकायमा शून्य सहनशीलताको नीति लिने बताएका छन् । भ्रष्टाचार र अनियमितता नियन्त्रण जेनजीको माग भएको बताउँदै उनले यसको निर्मूल अन्त्य गर्ने दाबी गरे । मन्त्रालयमा पदभार ग्रहणपछि उनले यसो दावी गरेका हुन् ।

‘मन्त्रालय र मातहतमा शून्य सहनशीलता अवलम्बन गरिनेछ । त्यस्तो कार्य गरेको पाइए तत्काल कारबाही गरिनेछ’, उनले भने, ‘भ्रष्टाचार नियन्त्रण होइन निर्मूल गरिनेछ । कसैले पनि कुनै पनि निकायले भ्रष्टाचार र अनियमितता गरेको भेटिए कडा कारबाही । यो नै हाम्रो दायित्व हो । अहिलेको आन्दोलनको विषय पनि भ्रष्टाचार र सुशासन नै थियो ।’ उनले आफ्नो पारदर्शितामा प्रश्न उठ्यो भने सिधै भन्न पनि आग्ह गरेका छन् । ‘मलाई सिधै भन्नु होला । ठूलो चुनौती लिएर आएको छु। त्यसको सामना गर्छु भनेर आएको छु ।’

कर्मचारी सरुवामा ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’
मन्त्री कुलमान घिसिङले कर्मचारी सरुवामा आफ्नो मूल मन्त्र नै ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’ रहेको बताएका छन् । यसैको परिपालना गर्दै कार्यमा खटिने उनले बताएका हुन् । मन्त्रीको पदभार ग्रहणपछि उनले कार्यकक्षमा कर्मचारी सरुवामा उपयुक्त मान्छेले उपयुक्त जिम्मेवारी पाउने उल्लेख गरे । ‘कर्मचारी सरुवा, जिम्मेवारी प्रदानमा सुनिएका विगतका अनियमिततालाई निर्मूल गरिनेछ’, उनले भने, ‘उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारीलाई कडाइ साथ लागू गरिनेछ । प्रतिशोध गरिने छैन ।’

उनले कर्मचारीहरुलाई असल नियतले ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । ‘नडराई काम गर्नुहोला, राम्रो काम गर्नेलाई राम्रो जिम्मेवारी दिइनेछ । अहिलेको अवस्था हेरेर काम गर्नुहोस्, कसैप्रति पूर्वाग्रही हुने छैन । द्रुतगतिमा काम गर्नुहोला । निर्णयहरु फास्ट ट्राकमा काम गर्नुस् । १८ घण्टा खटिनुस्’, उनले भने ।

 

ध्वस्त सार्वजनिक संरचना आफैले बनाउने भौतिकमन्त्री घिसिङको निर्णय, विशेष कोषबाट रकम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा आगलागीले ध्वस्त सार्वजनिक पुनर्संरचना पुनर्निर्माण जनता आफैले बनाउने बताएका छन् । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचनामा आगलागीले ध्वस्त भएका छन् । यी संरचना बनाउन उनले हाम्रो सार्वजनिक संरचना हामी आफै बनाउँछौँ अभियान चलाउने जानकारी दिए ।

मन्त्री घिसिङले भने, ‘यसको लागि विशेष कोष खडा गरिने छ । अर्थको सहमतिमा क्याबिनेटबाट विशेष कोष खडा गरिने, विदेशका सबै नेपालीले अपनत्व लिने अपेक्षा छ । बनाउने नि हामी नै हौं । जति सक्नु हुन्छ, गर्नुहोला । सदुपयोग हुने विश्वास दिलाउँछु ।’

उर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युत प्राधिकरणको वक्यौता रकम उठाउने

काठमाडौं । नव नियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज (सोमबार) पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो । यस्तै ऊर्जामन्त्री घिसिङले खादा–माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

 

शपथ लगतै कुलमान पुगे घाइते र मृत्तकका आफन्त भेट्न अस्पताल

काठमाडौं । नव नियुक्त ऊर्जामन्त्री कुलमान घिसिङ शपथ ग्रहण लगत्तै अस्पताल पुगेका छन् । उनी मन्त्रालय नगई सिधै जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू र मृतकका परिवारलाई भेट्न टिचिङ अस्पताल पुगेका हुन् । घिसिङसहित तीन जना मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अस्पतालबाट उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् । ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाए लगत्तै उनी शिक्षण अस्पताल पुगेका हुन् ।

कुलमानको अपील : सार्वजनिक सम्पत्ति तोडफोड नगरौं, संयमित बनौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेनजीसहित सबै नेपाली नागरिकहरु संयमित हुने समय आएको बताएका छन् । प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न उनले अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलमा घिसिङले सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण उत्पन्न परिस्थितिप्रति दुख व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘जेनजीको विरोध प्रदर्शन र त्यसपछि विकसित घटनाक्रमपछि प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पति तोडफोड नगर्न सम्पूर्ण आन्दोलनरत पक्षलाई अनुरोध गर्दछु ।

सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनर्निर्माणमा पनि हाम्रै पैसा खर्च हुने हुँदा यसतर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो।’ जेन जीसहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक रहेकोमा घिसिङको जोड छ ।