`

मन्त्री घिसिङले गरे निर्माणाधीन बाल अस्पताल निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन् ।

मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा. कोइरालासँग छलफल गर्नुकासाथै स्थलगत निरीक्षण गरेका थिए । उक्त अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज) मा उपलब्ध गराएको थियो । संघीय सरकारले भवन बनाउ र उपकरण खरिदका लागि करिब ११ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

डा. काइरालाको अगुवाइमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल बनाउन लागिएको त्यसको प्रशंसा गर्दै मन्त्री घिसिङले अस्पताल निर्माणलाई सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताए । उनले भने, ‘दमकमा सञ्चालित बाल अस्पतालका निरीक्षण गर्यौं, उक्त अस्पतालबाट त्यस क्षेत्रमा ठूलो सेवा पुगेको रहेछ, काम गर्न सक्नेलाई देशको समग्र क्षेत्रको विकासका लागि थप जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ ।’ उनले हस्पताल निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिए ।

सबै नेपालीको पहुँच हुनसक्ने गरी अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न बाल अस्पतालको निर्माण गरिएको उल्लेख गर्दै डा. कोइरालाले अस्पताल गैरनाफामूलक, समाजसेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताए । उनले बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख गरे । डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।

वीर अस्पतालदेखि जमलसम्मको फुटपाथमा धराप (तस्वीरहरु)

काठमाडौं । करिब साढे दुई वर्षदेखि काठमाडौं महानगरपालिका–२७ अन्तर्गत वीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा अव्यवस्थित बनेको छ । फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रुले सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन् ।

स्थानीयका अनुसार फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक अझै साँघुरो बनेको छ । वीर अस्पताल आसपास दैनिक ठूलो संख्यामा पैदल यात्रु ओहोरदोहोर गर्ने हुँदा समस्या झनै बढेको छ । सहरी क्षेत्रमा सुरक्षित हिँडडुलका लागि फुटपाथ अनिवार्य भए पनि काठमाडौंका धेरै भागमा यस्तै अवस्थाका कारण पैदल यात्रुको सुरक्षामा निरन्तर असर परेको छ ।
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी

आन्दोलनरत नर्सहरु र निजी अस्पताल सञ्चालकबीच सहमति, कति तोकियो पारिश्रमिक ?

काठमाडौं । उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी क्षेत्रबाट सञ्चालित अस्पतालका नर्सहरु सरकारसँगको सहमतिपछि काममा फर्किएका छन् । निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालबाट कात्तिक महिनादेखि नै पूर्णरूपमा सरकारी पाँचौं तह सरह (मासिक ३४ हजार ७३० रुपैयाँं) तलब दिलाउने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रकाश बुढाथोकीले नर्सहरु र निजी मेडिकल कलेज तथा अस्पतालहरुसँग २३ बुँदे सहमति भएको बताए ।

प्रवक्ता बुढाथोकीले बाँकी ठूला–साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै र मध्यमलाई केही हप्ता वा केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको बताए । एक महिनाभित्र अस्पतालहरुको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पुर्‍याउने सहमति भएको उनको भनाइ छ । उनले कुनै पनि अस्पताल वा मेडिकल कलेजमा कार्यरत नर्सहरुले खाईपाई आएको तलब पाँचौं तहभन्दा बढी भए पनि नघटाउने समेत सहमति भएको बताए । उनकाअनुसार नर्सहरूको माग सम्बोधनका लागि तत्कालीन सरकारले गठन गरेको अध्ययन कार्य दलको समयावधि एक महिना थपिएको छ । उनले थपिएको अवधिमा कार्य दलले निजी क्षेत्रबाट सञ्चालित सबै अस्पतालहरूको वर्गिकरण गर्ने पनि बताए ।

उनले भने, ‘चार वटा खण्डमा २३ बुँदे सहमति भएको छ । त्यसमा निजी अस्पताल र मेडिकल कलेजहरुमा पनि कार्यरत नर्सहरुले पनि पाँचौं तह सरहको तबल पाउनु पर्छ भन्ने जुन उनीहरुको माग थियो त्यसमा मेडिकल कलेजहरुमा कार्यरत नर्सहरुलाई कात्तिक महिनादेखि नै ३४ हजार ७ सय रुपैयाँ पारिश्रमिक दिने, बाँकी ठुला र साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै, मध्यमलाई केही हप्ता वा केही महिना र साना अस्पताललाई पनि केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको छ ।

यदि कसैले खाईपाई आएको तलब योभन्दा बढी रहेछ भने नघटाउने सहमति पनि भएको छ । नर्सिङ एशोसिएसन, निजी मेडिकल कलेज र निजी अस्पतालहरुले उठाएका मागहरु समेत सम्बोधन हुनेगरी एउटा सुरक्षित वातावरण बनाउनको लागि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलको एक महिना समय थपेर त्यसको आधारमा स्वास्थ्य मन्त्रालयले गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्ने र बाँकी कुरा मन्त्रि परिषद्बाट पास गराएर अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।’

उनले नर्सहरुलाई समेत सरकारी पाँचौं तह सरहको तलब सुविधा दिन सरकारले दिएको निर्देशन कार्यान्वयन नभएपछि सरकारले सहमतिका लागि हस्तक्षेपकारी भूमिका खेल्नुपरेको बताए । उनले सरकारले विगतमा भएको निर्णय कार्यान्वयन गर्न तथा नर्स र अस्पतालहरुको सम्मानजनक अवस्था सिर्जना गर्न हस्तक्षेप गर्नु परेको प्रवक्ता बुढाथोकीको भनाइ छ ।

उनले भने, ‘मन्त्रालयले १० महिना पहिले एउटा परिपत्र गरेको थियो । निजी मेडिकल कलेजमा कार्यरत स्वास्थ्य कर्मचारीले समेत सरकारी अस्पतालान सरह तलब पाउनु पर्छ भनेको थियो । उक्त परिपत्रको कार्यान्वयनको स्थिति थाहा नभइसकेको अवस्थामा मनिपाल र जिएमसीमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रनु भयो । त्यसपछि त्यो परिपत्र कार्यान्वयन नभएको हाम्रो नोटिसमा आयो । सरकारले उक्त परिपत्र कार्यान्वयन गराउन तथा निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई समेत सम्मानजनक व्यवहार र तलब चाहिन्छ भन्ने सरकारको मान्यता भएको हुनाले अस्पताल र नर्स कर्मचारीबीच सहमति जुटाउन सरकार आफैंले हस्तक्षेप गर्नु परेको हो ।’

स्वास्थ्य कर्मचारी, निजी मेडिकल कलेज र सरकारबीच भएको त्रिपक्षीय सहमति कार्यान्वयको अवस्थाबारे अध्ययन गर्न सात वटै प्रदेशमा अनुगमन तथा निरीक्षण टोली गठन गरिएको पनि बताए । उनकाअनुसार नर्सिङ एशोसिएसनका प्रतिनिधि, आन्दोलनरत नर्सका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रलयका प्रतिनिधिहरु अनुगमन समितिमा राखिएका छन् । अनुगमन समितिले त्रिपक्षीय सहमति कार्यान्वयन भए÷नभएको अनुगमन गरे संघलाई पत्रचार गर्ने बताए । उनले सहमति कार्यान्वयन नगर्ने निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । –न्युज एजेन्सी नेपाल

 

 

 

 

किष्ट अस्पतालमा तनाव, प्रहरीद्वारा लाठ्ठीचार्ज र अश्रुग्यास प्रहार

काठमाडौं । सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पताल तनावग्रस्त बनेको छ । सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेका हुन् । मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठ्ठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । ठूलो संख्यामा खटिएको सुरक्षाकर्मीहरुले मृतकका आफन्तलाई ढुंगामुढा नगर्न आग्रह गर्दा उतेजित भीडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठ्ठीचार्ज गरेको छ ।

प्रहरीले अश्रुयास पनि हानेको छ । सोक्रममा केही घाइते भएका छन् । प्रदर्शनकारीहरू ढुंगा बोकेर अस्पताल तोडफोड गर्न पुगेका थिए । प्रहरीले अस्पताल छेउछाउमा अश्रुयास ग्यास हानेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । गत शुक्रबार अस्पतालमा मीना राईको मृत्यु भएपछि उनको आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।

 

बजेट अभावले अलपत्र बन्यो अस्पताल भवन

बागलुङ । चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो ।

आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल विसं २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस-एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उनको भनाइ छ ।

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । पोहोर सालनै सकिनुपर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो। बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउँछन् ।

अदैले भने, ‘यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्यो बाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्नसके काम अगाडि बढ्थ्यो, बजेट नआउँदा काम गर्न सकिएन ?’

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले एक करोड ५० लाख सङ्घीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताए । सङ्घीय सरकारअन्तर्गतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उनको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थमन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुनमगरले बताए । अहिले पनि बजेटका लागि पहल भइरहेको उनी बताउँछन् । रासस

वीर अस्पतालमा उपचाररत थप दुईको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनबाट गम्भीर घाइते थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले उहाँहरुलाई बचाउन सकेनौं ।’ मृतकको परिचय खुलिसकेको छैन ।

प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो । आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन । योसँगै मृतकको संख्या ५५ भन्दा बढी पुगेको छ । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ । हालसम्म ४१ जनाको मात्र सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

निजामती अस्पतालमा तीन प्रदर्शनकारीको मृत्यु

काठमाडौं । निजामती अस्पतालमा तीन प्रदर्शनकारीको मृत्यु भएको छ मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएको । अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन् ।
जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए । दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए । यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सोमबारको प्रदर्शनमा देशभरि गरेर कुल १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

अस्पतालको मुल गेट अगाडि शव राखेर प्रदर्शन

सर्लाही । सर्लाही बरहथवामा चिकित्सकको लापरबाहीले एक दलित युवकको उपचारको क्रममा ज्यान गएपछि आफन्तले अस्पतालको मुल गेटमै शव राखेर प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका–७ दुधडेरी चौकका ३८ वर्षीय प्रमोद पासवानको पेटमा समस्या भएपछि उपचारका लागि बिहीबार बिहान स्थानीय हनुमन्त अस्पतालमा गएका थिए ।

पासवानको अचानक पेट दुखेर समस्या भएपछि परिवारले सरकारी अस्पताल बरहथवामा लगे । तर सरकारी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि आफन्तले नजिकै बरहथवामै रहेको हनुमन्त अस्पताल पुर्‍याए ।
बिहीबार बिहान करिब ७ बजे पासवानलाई हनुमन्त अस्पताल बरहथवामा भर्ना गरेर अस्पतालले उपचार सुरु गरियो । पासवानको स्वास्थ्य सुधारको साटो झन् थप समस्या देखा पर्न थालेपछि बेलुका करिब पाँच बजे अस्पतालले अन्यत्र लैजान रिफर गरे र पासवान परिवारलाई अस्पतालको बिल सात हजार तिर्न बिल थमायो ।

अत्यन्त विपन्न र दलित परिवारका युवक प्रमोद पासवान स्थानीय बजारमै पलदारीको काम गर्थे र उनको आर्थिक अवस्था अत्यन्त कमजोर थियो । अस्पतालको पैसा तिरेपछि मात्रै बिरामीलाई थप उपचारका लागि लैजान दिने अस्पताल प्रशासनले गेटमा खटिएका ड्युटी कर्मचारीलाई समेत फर्मान जारी भयो ।

पासवानको अवस्था झन् बल्झिँदै गयो । जेनतेन गरेर परिवारले एक जना चामल व्यापारीमार्फत अस्पतालको बिल तिर्ने जिम्मा लिएपछि बिहीबार साँझ सात बजे अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा अस्पतालबाट निस्केको करिब पाँच किलोमिटर नपुग्दै पासवानको ज्यान गएको उनका भाइ सुबोध पासवानले सुनाए ।

अस्पतालले पैसाको कारण देखाउँदै आफ्ना भाइ प्रमोदप्रति दानवीय व्यवहार देखाएको र जथाभावी उपचार गरेको कारण पीडित मृतक परिवारले भाइको शव अस्पताल अगाडि राखेर न्याय मागेको बताएका छन् । ‘पैसाको कारण देखाउँदै बिरामी भाइलाई हनुमन्त अस्पतालभित्र घेरेर पैसा नतिरुञ्जेल बिरामी लैजान नदिने अस्पताल प्रशासनले अडान लिएको कारण भाइको समुचित उपचार अभावमा जथबल गएको’ परिवारको आरोप छ ।

इलाका प्रहरी कार्यालय बरहथवाले अस्पताल प्रशासन र उपचारमा संलग्न डाक्टर खुशनन्दन पाण्डेयलाई नियन्त्रणमा राखेको बताएका छन् । इप्रका बरहथवाले पीडित र अस्पताल प्रशासन दुवै पक्षलाई समस्या समाधान गर्न छलफलमा जुटेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए । हनुमन्त अस्पतालका चिकित्सक डाक्टर पाण्डेयले अत्यधिक मात्रामा रक्सी सेवन गरेको कारण उनको ज्यान गएको प्रतिक्रिया दिएका छन् ।