वीर अस्पतालमा उपचाररत थप दुईको मृत्यु


काठमाडौं । जेनजी आन्दोलनबाट गम्भीर घाइते थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले उहाँहरुलाई बचाउन सकेनौं ।’ मृतकको परिचय खुलिसकेको छैन ।
प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो । आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन । योसँगै मृतकको संख्या ५५ भन्दा बढी पुगेको छ । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ । हालसम्म ४१ जनाको मात्र सनाखत भइसकेको प्रहरीले जनाएको छ ।