`

आन्दोलनरत नर्सहरु र निजी अस्पताल सञ्चालकबीच सहमति, कति तोकियो पारिश्रमिक ?

Nepal One HD १६ कार्तिक २०८२ १६:१४
जीवनशैली/स्वास्थ्य

काठमाडौं । उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी क्षेत्रबाट सञ्चालित अस्पतालका नर्सहरु सरकारसँगको सहमतिपछि काममा फर्किएका छन् । निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालबाट कात्तिक महिनादेखि नै पूर्णरूपमा सरकारी पाँचौं तह सरह (मासिक ३४ हजार ७३० रुपैयाँं) तलब दिलाउने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रकाश बुढाथोकीले नर्सहरु र निजी मेडिकल कलेज तथा अस्पतालहरुसँग २३ बुँदे सहमति भएको बताए ।

प्रवक्ता बुढाथोकीले बाँकी ठूला–साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै र मध्यमलाई केही हप्ता वा केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको बताए । एक महिनाभित्र अस्पतालहरुको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पुर्‍याउने सहमति भएको उनको भनाइ छ । उनले कुनै पनि अस्पताल वा मेडिकल कलेजमा कार्यरत नर्सहरुले खाईपाई आएको तलब पाँचौं तहभन्दा बढी भए पनि नघटाउने समेत सहमति भएको बताए । उनकाअनुसार नर्सहरूको माग सम्बोधनका लागि तत्कालीन सरकारले गठन गरेको अध्ययन कार्य दलको समयावधि एक महिना थपिएको छ । उनले थपिएको अवधिमा कार्य दलले निजी क्षेत्रबाट सञ्चालित सबै अस्पतालहरूको वर्गिकरण गर्ने पनि बताए ।

उनले भने, ‘चार वटा खण्डमा २३ बुँदे सहमति भएको छ । त्यसमा निजी अस्पताल र मेडिकल कलेजहरुमा पनि कार्यरत नर्सहरुले पनि पाँचौं तह सरहको तबल पाउनु पर्छ भन्ने जुन उनीहरुको माग थियो त्यसमा मेडिकल कलेजहरुमा कार्यरत नर्सहरुलाई कात्तिक महिनादेखि नै ३४ हजार ७ सय रुपैयाँ पारिश्रमिक दिने, बाँकी ठुला र साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै, मध्यमलाई केही हप्ता वा केही महिना र साना अस्पताललाई पनि केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको छ ।

यदि कसैले खाईपाई आएको तलब योभन्दा बढी रहेछ भने नघटाउने सहमति पनि भएको छ । नर्सिङ एशोसिएसन, निजी मेडिकल कलेज र निजी अस्पतालहरुले उठाएका मागहरु समेत सम्बोधन हुनेगरी एउटा सुरक्षित वातावरण बनाउनको लागि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलको एक महिना समय थपेर त्यसको आधारमा स्वास्थ्य मन्त्रालयले गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्ने र बाँकी कुरा मन्त्रि परिषद्बाट पास गराएर अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।’

उनले नर्सहरुलाई समेत सरकारी पाँचौं तह सरहको तलब सुविधा दिन सरकारले दिएको निर्देशन कार्यान्वयन नभएपछि सरकारले सहमतिका लागि हस्तक्षेपकारी भूमिका खेल्नुपरेको बताए । उनले सरकारले विगतमा भएको निर्णय कार्यान्वयन गर्न तथा नर्स र अस्पतालहरुको सम्मानजनक अवस्था सिर्जना गर्न हस्तक्षेप गर्नु परेको प्रवक्ता बुढाथोकीको भनाइ छ ।

उनले भने, ‘मन्त्रालयले १० महिना पहिले एउटा परिपत्र गरेको थियो । निजी मेडिकल कलेजमा कार्यरत स्वास्थ्य कर्मचारीले समेत सरकारी अस्पतालान सरह तलब पाउनु पर्छ भनेको थियो । उक्त परिपत्रको कार्यान्वयनको स्थिति थाहा नभइसकेको अवस्थामा मनिपाल र जिएमसीमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रनु भयो । त्यसपछि त्यो परिपत्र कार्यान्वयन नभएको हाम्रो नोटिसमा आयो । सरकारले उक्त परिपत्र कार्यान्वयन गराउन तथा निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई समेत सम्मानजनक व्यवहार र तलब चाहिन्छ भन्ने सरकारको मान्यता भएको हुनाले अस्पताल र नर्स कर्मचारीबीच सहमति जुटाउन सरकार आफैंले हस्तक्षेप गर्नु परेको हो ।’

स्वास्थ्य कर्मचारी, निजी मेडिकल कलेज र सरकारबीच भएको त्रिपक्षीय सहमति कार्यान्वयको अवस्थाबारे अध्ययन गर्न सात वटै प्रदेशमा अनुगमन तथा निरीक्षण टोली गठन गरिएको पनि बताए । उनकाअनुसार नर्सिङ एशोसिएसनका प्रतिनिधि, आन्दोलनरत नर्सका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रलयका प्रतिनिधिहरु अनुगमन समितिमा राखिएका छन् । अनुगमन समितिले त्रिपक्षीय सहमति कार्यान्वयन भए÷नभएको अनुगमन गरे संघलाई पत्रचार गर्ने बताए । उनले सहमति कार्यान्वयन नगर्ने निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । –न्युज एजेन्सी नेपाल

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *