`

कांग्रेस–एमाले : संसद कि चुनाव ?

काठमाडौं । सुरुमा निर्वाचनलाई एक मात्र निकास ठानेका नेपाली कांग्रेस र नेकपा (एमाले) अहिले प्रतिनिधिसभा पुनर्स्थापनाको साझा राजनीतिक र कानुनी मैदानमा उभिएका छन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको निरन्तर संवादसँगै संसद् ब्युँताउने प्रयास तीव्र बनेको हो । यसले फागुन २१ मा हुने भनिएको निर्वाचनलाई लिएर थप अन्योल सिर्जना गरेको छ ।

प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको कदमलाई दुवै दलले असंवैधानिक ठहर गरेका छन् । यही आधारमा एमालेले ७५ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ । कांग्रेस पनि थप सांसदको हस्ताक्षर जुटाएर पूरक निवेदन दायर गर्ने तयारीमा छ । दुई दल मिलेर १३८ भन्दा बढी सांसदको समर्थनसहित अदालत जाने प्रयासमा छन् । जनमत, लोसपा, नागरिक उन्मुक्ति जस्ता साना दलहरूको समर्थन जुटाउने कसरत समेत चलिरहेको छ ।

तर कांग्रेसभित्रै यो विषय एकमत छैन । पार्टीले औपचारिक रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेको भए पनि प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दाले आन्तरिक द्वन्द्व सतहमा आएको छ । सभापति देउवाको निर्देशनमा प्रमुख सचेतक श्याम घिमिरेले पुनस्र्थापनाको रिट अघि बढाए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ठूलो पंक्ति भने फागुन २१ मै चुनाव हुनुपर्ने अडानमा छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकार चुनावी वातावरण बनाउन असफल भएकाले पुनस्र्थापनालाई ‘विकल्प’ का रूपमा मात्र हेर्नुपरेको बताए ।

उनका अनुसार कांग्रेसको प्राथमिकता अझै पनि निर्वाचन नै हो, तर न चुनाव हुने न संसद् रहने अवस्थाले देशलाई झन् संकटतिर धकेल्ने खतरा देखिएको छ । अर्कोतर्फ, श्याम घिमिरेले भने ६५ भन्दा बढी सांसदको हस्ताक्षर तयार भइसकेको र एमालेसँग निरन्तर संवादमा रहेको बताएका छन् ।एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद् विघटनलाई लोकतन्त्रको आत्मामाथिको प्रहारको रूपमा व्याख्या गरेका छन् । राष्ट्रपतिबाटै संवैधानिक कमजोरी भएको दाबी गर्दै उनले अदालतको अन्तिम आदेश नकुरी राष्ट्रपतिले नै विगतका नजिरका आधारमा संसद् पुनर्स्थापना गरी बैठक बोलाउनुपर्ने तर्क अघि सारेका छन् । यहीबीच, तेस्रो शक्ति नेकपा र चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी भने पुनस्र्थापनाको विपक्षमा देखिएका छन् ।

नेकपा संयोजक प्रचण्डले कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न सरकारलाई चेतावनी दिँदै आएका छन् । शनिबार एक सभामा उनले संविधान मिचेर चुनाव सारिए आफ्नो पार्टी चुप लागेर नबस्ने स्पष्ट सन्देश दिए । रास्वपा सभापति रवि लामिछानेले पनि सरकारलाई निर्धक्क भएर चुनाव गराउन आग्रह गर्दै आफ्नो साथ निर्वाचनकै पक्षमा रहने संकेत दिएका छन् । सरकार भने दलहरूको विरोधाभासका बीच पनि निर्वाचनको तयारी अघि बढाइरहेको दाबी गरिरहेको छ । तर ठूला दलहरू अदालत केन्द्रित हुँदै जाँदा फागुन २१ को निर्वाचन हुने–नहुने प्रश्न झन् पेचिलो बन्दै गएको छ । अब सर्वोच्च अदालतको फैसला र दलहरूको आगामी रणनीतिले नै देश चुनावतिर जाने कि संसद् पुनर्स्थापनातिर मोडिने भन्ने निर्णायक दिशा तय गर्ने देखिन्छ ।

 

संसद विघटनविरुद्ध एमालेको रिटमाथि सकियो बहस, के आउला आदेश ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेको रिटमाथि सुनुवाइ सकिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच जनाको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो । एमालेका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बहस सकिएको र आजै आदेश आउने जानकारी दिए । उनले सुनाए, ‘भर्खरै बहस सकिएको छ । बेलुकासम्म आदेश आउला ।’

पूर्ण इजालसमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् । प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्च पुगेको हो ।

रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका अन्य रिटमा भने सर्वोच्चले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ । विपक्षी बनाइएका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतले सर्वोच्चलाई लिखित जवाफ पठाइसकेका छन् ।

 

 

प्रतिनिधि सभा नभए पनि संसद मर्नु हुँदैन : संसद सचिव पाण्डे

काठमाडौं । प्रतिनिधि सभा विघटन भई संघीय संसदको एक मात्र जीवित संरचना–राष्ट्रिय सभा मात्र बचेको संवैधानिक अनिश्चितताको घडीमा, राष्ट्रिय सभा बैठक बोलाउनुको के अर्थ छ भन्ने बहस तीव्र बन्दै गएको छ । तर संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे भने यसलाई अनावश्यक विवाद होइन, वर्तमान राजनीतिक व्यवस्थालाई चालु राख्ने निर्णायक उपायका रूपमा प्रस्तुत गरेका छन् ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पदभार ग्रहण गरेसँगै उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटनसँगै संसद भवन समेत आगलागीबाट क्षतिग्रस्त हुँदा राष्ट्रिय सभाको बैठक व्यवस्थापन पनि चुनौती बनेको छ । पुरानो भवन र वैकल्पिक हल तयार पार्ने काम भइरहेको अवस्था छ । यहीबीच, प्रतिनिधि सभा नभएको स्थितिमा राष्ट्रिय सभा बैठक बोलाउनुको औचित्य छैन भन्ने धारणा पनि सार्वजनिक हुँदै आएको छ । कारण स्पष्ट छ–राष्ट्रिय सभा एक्लै कानून बनाउन सक्दैन । तर यही तर्कलाई सचिव पाण्डेले स्पष्ट रूपमा अस्वीकार गर्दै राष्ट्रिय सभा अहिले चलाउनै पर्ने संस्थागत र संवैधानिक आवश्यकताहरू एक–एक गरी प्रस्तुत गरेका छन् ।

‘प्रतिनिधि सभा नभए पनि संसद मर्नु हुँदैन’
सचिव पाण्डेको मूल तर्क यही हो—संसद केवल विधेयक पास गर्ने ठाउँ मात्र होइन, सरकारलाई जवाफदेही बनाउने, जनताका समस्या उठाउने, प्रश्नोत्तर चलाउने, निगरानी गर्ने, राजनीतिक संवादका ढोका खोलिराख्ने आधारस्तम्भ हो । उनको भनाइमा, प्रतिनिधि सभा नभएको संवैधानिक संक्रमणमा राष्ट्रिय सभा एक मात्र सक्रिय संसद भएकाले ‘यसलाई चलायमान राख्नु लोकतान्त्रिक अभ्यासलाई जोगाउने कडी’ हो । उनले भने, ‘अहिलेको सरकार जनस्तरबाट बनेको सरकार हो । यसलाई संसदप्रति उत्तरदायी बनाउने प्रमुख संयन्त्र राष्ट्रिय सभा नै हो। बैठक बोलाउन ढिलो भइसकेको अवस्था छ ।’
सचिव पाण्डेले राष्ट्रिय सभाको प्रभावकारी भूमिकाबारे विस्तृत रूपमा वकालत गरेका छन् ।
उनका अनुसार—
–सरकारले गरेका कामका विषयमा बहस गर्न ।
–मन्त्रीहरूलाई जवाफदेही बनाइराख्न ।
–जनताको आवाज संसदसम्म पुर्‍याउन ।

–राजनीतिक विवादलाई संस्थागत छलफलमा लैजान ।
–सुशासनका मापदण्ड कायम राख्न ।
–राष्ट्रिय सभा सक्रिय हुनु अत्यावश्यक छ ।
‘‘विधेयकका लागि प्रतिनिधि सभा चाहिन सक्छ, तर संसदका धेरै–जसो कामहरु राष्ट्रिय सभाले एक्लै गर्न सक्छ’,’ उनले स्पष्ट पारे । सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते राष्ट्रिय सभा एक तिहाइ सदस्यको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचनको तयारी र सुशासनका दुवै जिम्मेवारी सरकारका काँधमा छन् । यस्तो बेला राष्ट्रिय सभाको सक्रियता झन् महत्वपूर्ण हुने पाण्डेको तर्क छ ।

उनको भनाइ अनुसार समितिमा रहेको विधेयक र अन्य प्रतिवेदन अहिले नै तयारी चरणमा पुर्‍याउन सकिन्छ, प्रतिनिधि सभा बनेपछि विधेयक पारित गर्ने काम सहज र छिटो हुन्छ, समय बचत हुन्छ, प्रक्रिया लम्बिंदैन । उनले यसलाई ‘‘आधा काम अहिले, आधा काम नयाँ सदन आएपछि’ पूरा गर्ने प्रभावकारी उपायका रूपमा देखाए । पाण्डेले चेतावनीस्वरूप भने, ‘यदि संसद निष्क्रिय बस्यो भने सरकारलाई नियन्त्रण गर्ने औपचारिक संयन्त्र हराउँछ । त्यसपछि कार्यपालिका मनलाग्दी ढंगले चल्न सक्छ ।’ उनका अनुसार तलब–भत्ता लिएर सांसदहरूलाई निष्क्रिय राख्नुको औचित्य पनि हराउने भएकाले राष्ट्रिय सभालाई पूर्णतः प्रयोग गर्नु अपरिहार्य छ ।

अबको सरकारका दुई प्रमुख म्यान्डेट सुशासन र निर्वाचन सम्पन्न गर्नु हुन् । यस दुवै कार्यमा राष्ट्रिय सभा राजनीतिक समन्वय, दल–दलबीच संवाद र जनपरिचालनका विषयमा ‘केन्द्रीय संस्थागत प्लेटफर्म’ को भूमिकामा रहन्छ । उनले भने, ‘सरकार र दलहरूबीच देखिएको दूरी पुर्‍याउने पुल यही सभा हो । चुनावको वातावरण बनाउने, जनतालाई आह्वान गर्ने, संस्थाहरू सक्रिय बनाउने काम संसदमार्फत सहज हुन्छ ।’ राष्ट्रिय सभाका चार समितिहरू-विशेष गरी विधायन समिति- महत्वपूर्ण विधेयक तथा निगरानीका मुद्दामा काम गरिरहेको सचिव पाण्डेले जानकारी दिए । मन्त्रीहरूको सक्रिय सहभागिता भएकाले समितिको काम पनि प्रभावकारी बन्दै गएको बताइएको छ ।

तर बैठक नडाकिएको कारण तयार भएका प्रतिवेदन संसदमा पेश हुन नसकेको, छलफल–निर्णय रोकिएको, संस्थागत प्रक्रियाहरू आधा बाटोमै रोकिएको बताइएको छ । उनले भने, ‘संसद चलायो भने नै समितिको काम परिणाममा रूपान्तरण हुन्छ, संसद निष्क्रिय हुँदा सिङ्गो शासन प्रणाली जोखिममा पर्छ ।’

संसद पुनर्स्थापनाको मागमा एमालेका यस्ता छन् सात दावी

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गरेको छ । नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा) को तर्फबाट मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले ७ माग दाबीसहित रिट दायर गरेका हुन् । बर्तौलाका अनुसार विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा मुख्यतः ६ वटा मागदाबी गरिएको छ । एमालेले संसद् पुनर्स्थापना गरी प्रतिनिधि सभाको बैठक बोलाउन सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गर्न समेत माग गरेको छ ।

यी हुन् एमालेको मागदाबी
–प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरीत गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्ति विरुद्ध अधिकार पृच्छाको आदेश जारी गरी पाउँ ।

– प्रधानमन्त्री पदमा सुशीला कार्कीलाई नियुक्ति गर्ने सम्माननीय राष्ट्रपतिज्यूको मिति २०८२ भदौ २७ को निर्णय, सोको आधारमा भएको प्रधानमन्त्रीज्यूको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ । साथै विपक्षी प्रधानमन्त्री नियुक्त भएपश्चात् विपक्षीहरूबाट भए गरेका गैर कानुनी एवम् असंवैधानिक सम्पूर्ण काम कारबाही, निर्णय, नियुक्तिहरू समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ ।

– प्रधानमन्त्री सुशीला कार्कीको एकल सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट मिति २०८२ भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गते पछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुनर्स्थापनासहित सो दिन कायम रहेका राज्यका सबै अङ्ग, निकायहरू पूर्ववतरूपमा यथावत् सञ्चालनमा रहने गरी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाउँ ।

– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिई सकेको अवस्थामा नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ बमोजिमको प्रक्रिया प्रारम्भ गर्नू भनी सम्माननीय राष्ट्रपतिज्यूको नाममा परमादेश जारी गरी पाउँ ।

– पुनस्र्थापित प्रतिनिधि सभाको बैठक बोलाउन आवश्यक व्यवस्था मिलाउनु भनी सम्माननीय सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गरी पाउँ ।

– असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री श्री सुशीला कार्की र निज नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन समेत प्रतिनिधि सभा पुनस्र्थापना पश्चात् स्वतः औचित्यहीन भएकाले प्रतिनिधि सभाको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही प्रतिषेधको आदेश जारी गरी रोकी पाउँ ।

– विषय बस्तुको गम्भीरता र संबेदनशिलतालाई मध्यनजर गरी प्रस्तुत विषयमा शीघ्र निर्णय हुनु पर्ने भएको हुँदा प्रस्तुत रिट निवेदनमा विपक्षीहरूको लिखित जवाफ मगाई सुनवाइको मिति किटान गरी निरन्तर सुनुवाइ गराइ पाउँ ।

यो सरकारले चुनाव गर्न सक्दैन, संसद पुनर्स्थापनाको विकल्प छैन : पृथ्वीसुब्बा गुरुङ

लमजुङ । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेतृत्व गर्न उमेरले निर्धारण नगर्ने बताएका छन् । लमजुङमा पत्रकारहरूसँग कुरा गर्दै नीति कार्यक्रम भए नेतृत्व गर्न उमेरले नरोक्ने बताए ।

उनले भने, ‘नीति कार्यक्रम विचार छ भने २० वर्षको युवाले पनि चलाउन सक्छ । त्यसैले नेतृत्वको उमेरको आधारमा निर्धारण हुँदैन, क्षमता र योगदानले मात्रै हुन्छ। नीति र भिजनको आधारमा हुन्छ ।’ उनले उमेरले नेतृत्व गर्न नछेक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति पुटिनको उदाहरण दिए ।

उनले भने, ‘यो मुलुकलाई यहाँसम्म ल्याएका त यिनै शीर्ष नेताहरूले नै हो। त्यसैले यी पार्टीको विकल्प खोज्ने कुरा पनि वाहियात हो ।’ उनले यो सरकारले चुनाव गर्न नसक्ने भन्दै संसद पुनर्स्थापनाको विकल्प नभएको बताए ।

संसद पुनर्स्थापना गरेर संविधान संशोधन गर्न सकिन्छ : सभामुख घिमिरे

झापा । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् । उनले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुनर्स्थापना हुनैपर्ने बताए । आज (शुक्रबार) विहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले यस्तो बताएका हुन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको मुद्दालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको उनले प्रतिक्रिया दिए । कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद पुनर्स्थापना हुने सभामुख घिमिरेको भनाइ छ ।

छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने उनले बताए । जननिर्वाचित संस्थालाई भंग गरेपछि मुलुक थप संकटमा गएको घिमिरेको भनाइ छ । सभामुख घिमिरेले भने, ‘संसद पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ । जेनजीको माग सम्बोधन गर्ने बाटो पनि यही हो । संविधानका के कस्ता विषयहरू संशोधन गर्नुपर्ने हो ।’

छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । बिहीवार दिउँसो झापा आएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास आयोजनाहरुको अनुगमन गरेका छन् । गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गरेका हुन्।जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरु अनुगमन गरेको सचिवालयका हिमाल मैनालीले जानकारी दिए । दुई दिनका लागि झापा आएका सभामुख घिमिरेले भोलि बिर्तामोडस्थित देवी माविको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यहि बीचमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्न जाने मैनालीले जानकारी दिएका छन् ।

संसद पुनर्स्थापनामा कांग्रेसमा मतभेद : गगन ‘निर्वाचन’ का पक्षमा, पूर्व सांसद ‘हस्ताक्षर’ प्रति अनिच्छुक

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा नेपाली कांग्रेसभित्र गहिरो मतभेद देखिएको छ । एकातिर पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान सुरु गरिएको छ भने अर्कातिर पार्टीका महामन्त्री गगनकुमार थापा भने नयाँ निर्वाचनमार्फत मात्रै संसद आउने अडानमा अडिग रहेका छन्।

आइतबारबाट सुरू भएको हस्ताक्षर अभियानमा संस्थापन समूहका अधिकांश पूर्व सांसदहरूले हस्ताक्षर गरे पनि महामन्त्री थापा र नेता डा. शेखर कोइराला निकट नेताहरूले सहभागी हुन अस्वीकार गरेका छन् । थापा निकट एक सांसदले भने, ‘हामीले हस्ताक्षर नगर्ने भन्ने निर्णय गरेका छौँ, कसैले आदेश दिएका होइनन् तर हामीले सिग्नेचर गरेका छैनौं ।’

उता, कोइराला निकट एक पूर्व सांसदले पनि उक्त अभियानलाई ‘अनौपचारिक र हतारो’ भन्दै अस्वीकृति जनाएका छन् । उनले भने, ‘अनअफिसियल किन सिग्नेचर गर्नु ? सिग्नेचर त अहिले सस्तो भयो । पार्टीको बैठकले निर्णय गरुन् न ?’ पूर्व प्रमुख सचेतक घिमिरेका अनुसार, हस्ताक्षर अभियान पार्टीमा दबाब सिर्जना गर्न र संसद् पुनर्स्थापनाको पक्षमा एकता जुटाउने उद्देश्यले गरिएको हो । ‘असंवैधानिक र अलोकतान्त्रिक विघटनका विरुद्धमा न्यायालयमा जाने तयारी हो,’ उनले भने, ‘यो सिग्नेचर सूची पार्टीमा बुझाइनेछ ।’

तर, कांग्रेसका महामन्त्री गगन थापा भने यसैबीच स्पष्ट रूपमा संसद् पुनर्स्थापनाको विपक्षमा उभिएका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ । संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।’

थापाले यस धारणा प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा समेत प्रस्तुत भएको दाबी गर्दै भने, ‘पार्टीको धारणा स्पष्ट छ–निर्वाचन नै समाधान हो ।’ उनका अनुसार, पार्टीभित्र हाल देखिएको अन्योल निर्वाचनमा भाग लिने वा नलिने विषयमा नभई अधिवेशनको समय सन्दर्भमा मात्र हो । यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै त्यसविरुद्ध पार्टीगत रूपमा कदम चाल्ने निर्णय गरेको थियो । सो निर्णयपछि नै पूर्व सांसदहरूले हस्ताक्षर अभियान अघि बढाएका हुन् ।

यता एमालेले पनि संसद् पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ भने सर्वोच्च अदालतमा सोही विषयमा १६ वटा निवेदन दर्ता भइसकेका छन् । राजनीतिक रूपमा भने कांग्रेसभित्र यो विषयले नयाँ खटपट ल्याएको छ । एक पक्ष न्यायालयमार्फत पुनर्स्थापना चाहन्छ, अर्को पक्ष निर्वाचनमार्फत नयाँ जनादेशमा भरोसा राख्छ । पार्टीभित्रको यही विभाजनले अब कांग्रेसको आगामी रणनीति र चुनावी तयारीमा कस्तो असर पार्ने हो भन्नेमा सबैतिर चासो बढेको छ ।

संसद पुनर्स्थापनाका लागि कांग्रेसले पनि थाल्यो हस्ताक्षर

काठमाडौं । संसद पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालको सरकार गठन र संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको थियो ।

सो निष्कर्षका आधारमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित न्यायालयमा जाने तयारी स्वरूप हस्ताक्षर अभियान सुरु गरिएको कांग्रेस स्रोतले जनायो । यता, कांग्रेसका निवर्तमान सांसद श्यामकुमार घिमिरेले सरकार गठन र विघटन दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । तर, अहिले नै संसद् पुनर्स्थापनाका लागि पहल गर्ने भन्ने विषयमा अन्तिम निर्णय नभएको बताए ।

‘नेपाली कांग्रेसले सरकार गठन र विघटन दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरिसकेको छ । त्यसैले त्यसको विरोधमा न्यायालयको ढोका ढकढक्याउन हामीले हस्ताक्षर अभियान थालेका हौं’ उनले भने । उनका अनुसार, विघटित प्रतिनिधिसभाका सांसदहरूले संकलन गरेको हस्ताक्षर सूची पार्टी नेतृत्वलाई बुझाइनेछ । ‘हामीले यो सिग्नेचर पार्टीमा बुझाउनेछौं,’ उनले भने, ‘निर्णय पार्टीले एकताबद्ध भएर गरोस् भन्ने हाम्रो आग्रह हो ।’

यसअघि प्रमुख विपक्षी दल नेकपा (एमाले) ले पनि संसद् पुनस्र्थापनाको मागसहित हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । संसद् पुनर्स्थापनाका लागि हालसम्म सर्वोच्च अदालतमा १६ वटा निवेदन दर्ता भइसकेका छन् । तीमाथि प्रारम्भिक सुनुवाइ भई कारण देखाउ आदेश जारी भइसकेको छ ।

प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको थियो । त्यसअघि २३ र २४ भदौमा व्यापक जनआन्दोलन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि नयाँ सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए । अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ ।

 

 

 

संविधानले यो सरकारलाई चिन्दैन, विघटित संसद सर्वोच्चले पुनर्स्थापना गर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा संसद् पुनर्स्थापना हुने दाबी गरेका छन् । प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीहरूसँगको संवादमा उनले सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसदले नचिनेको बताए ।

उनले भने, ‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदन गर्ला भन्ने विश्वास गरेका छैनौं ।’ उनले संवैधानिक परीक्षणमा अहिलेको सरकार खरो उत्रिन सम्भव नभएको जिकिर गरे । उनले कांग्रेस बैठकबाट बाहिर निस्केपछि साझा धारणा बनेर मुलुकलाई संवैधानिक बाटोमा फर्काउने बताए ।

‘मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले इतिहासकै ठूलो जनसभा गर्ने जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे । प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनले जानकारी दिए ।

‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं,’ उनले भने । यसअघि बसेको सचिपवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो । जस अनुसार, एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन ¥याली, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली तथा सभाको आयोजना गर्ने जानकारी गराए । उनले थप भने, ‘२७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन ।’

 

 

 

राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले आज (मंगलबार) देखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।’

उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । उनलाई विस २०८० बैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका थिए ।

विज्ञप्ती

समयमै संसद भवन निर्माण नसकिए जरिवाना तिराउने मन्त्री घिसिङको चेतावनी

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन् । शनिवार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् ।

आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीब्र बनाउन निर्देशन दिइएको छ ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनिसञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको बताए ।

पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको बताए । हरेक दिनको सेड्युल बनाएर काम गर्न निर्देशन दिए । दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए । दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिए । निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने जिकिर गरे । आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तीब्रताका साथ काम गर्न निर्देशन दिए । समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने चेतावनी दिए ।

अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।

संसद विघटनलाई एमालेले भन्यो-‘प्रतिगमन’, अन्य दलहरुले के भने ?

काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा रहेका दलहरूलाई बैठकमा बोलाएर अबको बाटो र संवैधानिक निकासका बारेमा छलफल गरेका छन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी भएनन् ।

सभामुखले विघटित प्रतिनिधिसभामा रहेका दलहरूलाई छलफलमा बोलाए पनि चार दलका नेताहरू गएनन् । बैठकमा नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरे, नेकपा एमालेका नेता महेश बर्तौला, माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी नेपालकी नेतृ रेखा यादव बैठकमा सहभागी थिए । सभामुख घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको बताए । उनले भने, ‘यो विषयमा बैठकमा सहभागी सबै दलहरूको साझा मत रह्यो । यसबारे सर्वोच्चमा अदालतमा रिट परिसकेको छ । सबै दलहरूको आआफ्नै निर्णय छन्। त्यसैको आधारमा अद्दि बढ्छौं ।’ उनले संसद् पुनस्र्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने मत रहेको बताए ।

बैठकमा कांग्रेसका नेता घिमिरेले प्रतिनिधिसभा विघटन र सरकार गठन दुवै असंवैधानिक रहेको बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार घिमिरेले निकास खोज्नुपर्ने बताएका थिए । ‘यसको निकास भनेको कि संसद पुनस्र्थापना हो कि चुनाव हो । हाम्रो केन्द्रीय समितिको बैठक पनि चलिरहेको छ,’ उनले भने, ‘यदि सरकारले चुनावमा जाने वातावरण बनाउँछ र शान्ति र सुरक्षाको ख्याल गर्छ भने फ्रेस म्यान्डेटमा जान आपत्ति छैन । चुनावबाट कांग्रेस भाग्दैन ।’

एमालेका नेता बर्तौलाले संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक भएको बताए । ‘यो असंवैधानिक हो, प्रतिगमन हो । हामी आठ दलले पहिले नै भनिसकेका छौँ । चुनावको तयारी सरकारले गरेको छैन । वैधानिक संसदलाई जीवन्त राख्नुपर्छ । संसद पुनस्र्थापना गर्नुपर्छ । दलहरूले दबाब सिर्जना गुर्नुपर्छ, सभामुखले भूमिका खेल्नुपर्छ,’ उनले भनेका थिए ।

माओवादी नेता हितराज पाण्डेले दुर्लभ घटना भएको बताएका थिए । ‘यसको समीक्षा गर्नुपर्छ । संविधानको किताब हेर्दा एउटा स्थिति देखिन्छ तर अहिले फरक वातावरण छ । सरकारले चुनावको वातावरण बनाओस्, चुनावमा जानुपर्छ,’ पाण्डेले भनेका थिए । बैठकमा राप्रपाका नेता ज्ञानबहादुर शाहीले संसद पुनर्स्थापनातिर लाग्न नहुने बताएका थिए । उनले संविधान संशोधन गर्नुपर्ने बताएका थिए । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले सरकारले चुनावको वातावरण बनाए चुनावमा जाने बताए । त्यस्तै, जसपा नेपालकी नेतृ रेखा यादवले पार्टीले चुनावमा जाने निर्णय गरिसकेको बताइन् । संसद पुनस्र्थापनाका बारेमा फेरि पार्टीको बैठक बसेर निर्णय लिने बताइन् । जवाफमा सभामुख घिमिरेले लोकतन्त्र, संविधान बचाउनका लागि के गर्नुपर्छ, आफ्नो ठाउँबाट भूमिका खेल्ने बताए ।

 

पूर्व सभामुख रानाभाट र सभामुखका स्वकीय सचिवले फर्काए सरकारी गाडी

काठमाडौं । पूर्व सभामुख तारानाथ रानाभाट र सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रकाश भट्टराईले सरकारी गाडी फिर्ता गरेका छन् । संसद सचिवालयले पूर्व सभामुख रानाभाट र सभामुखका स्वकीय सचिव भट्टराईलाई गाडी सुविधा दिँदै आएको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार पूर्व सभामुख रानाभाटले पूर्व विशिष्ट पदाधिकारीको हैसियतमा गाडी प्रयोग गर्दै आएका थिए ।

तर नयाँ मन्त्रिपरिषदले पूर्व विशिष्ट पदाधिकारीहरूको सवारी सुविधा खारेज गर्ने निर्णय गरेको थियो । सुरूमा गाडी फिर्ता नगर्ने र कानुनी प्रक्रियामा जाने बताएका रानाभाटले पछि गाडी फिर्ता गरेको सचिवालयले जनाएको छ । सभामुखका स्वकीय सचिव भट्टराईले तजबिजीमा गाडी प्रयोग गर्दै आएका थिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका स्वकीय सचिव विष्णु सापकोटाले गाडी फिर्ता गरेलगत्तै सभामुखका स्वकीय सचिव भट्टराईले पनि गाडी फिर्ता गरेको संसद सचिवालयले जनाएको छ ।

‘अहिलेसम्म २० वटा गाडी फिर्ता भएका छन्,’ सचिवालयका एक अधिकारीले भने, ‘हाम्रा सबै गाडी फिर्ता गर्ने काम भएको छ ।’ अन्तरिम सरकारले मन्त्रिपरिषदको निर्णयका आधारमा सांसदहरूले पाउने स्वकीय सचिवसहित पूर्व विशिष्ट पदाधिकारीको सुविधा खारेज गर्ने निर्णय गरको थियो । यसअघि नै पूर्व सभामुखहरू र संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गरिसकेका छन् ।

 

 

 

कवाडखाना जस्तो देखियो जलेको संसद भवन (तस्वीरहरु)

काठमाडौं । भदौ २४ गते भएको ‘जेन जी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौँका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित आगलागी भएको संसद भवन वीरेन्द्र सम्मेलन केन्द्रको परिसरमा थुपारिएका छन् । आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन् । अहिले भवन प्रयोगयोग्य नरहेको बताइन्छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

संसद पुनर्स्थापनाको माग लिएर सर्वाेच्च अदालतको ढोका ढकढक्याउँछौँ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री महेश बस्नेतले संसद पुनर्स्थापनाको माग राखेर सर्वोच्च जाने बताएका छन् । समसामयिक राजनीतिक विषयबारे जानकारी दिन आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले संसद पुनर्स्थापनाको लागि कानुनी प्रक्रियामा जाने बताएका हुन् ।

उनले भने, ‘संसद पुनर्स्थापनाको माग लिएर हामी सर्वाेच्च अदालतको ढोका ढकढक्याउँछौँ,’ उनले भने, ‘पार्टीले आधिकाररिक हिसावले जाने अथवा कानुन व्यवसायीमार्फत जाने, त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौँ ।’ उनले भोलि बस्नै पार्टीको सचिवालय बैठकले पार्टीको आगामी रणनीति तया गर्न र सोहीअनुसार चुनावमा जाने समेत जानकारी दिएका छन् ।

‘बालेनले सुदन गुरुङलाई ‘एम्बुस’ बनाएर पड्काउन खोजिरहेका छन्’
नेकपा (एमाले) का नेता महेश बस्नेतले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले ‘एम्बुस’ बनाएर पड्काउन खोजिरहेको आरोप लगाएका छन् । नेता बस्नेतले आज एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् ।

‘सुदन गुरुङ जस्ता मानिसहरूलाई एम्बुस बनाएर यहाँ पड्काउन खोजिँदैछ,’ बस्नेतले भने, ‘सुदन गुरुङ जस्ता मान्छेहरू बालेनजीहरूको योजनामा केपी ओली, महेश बस्नेत र महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर सोसियल मिडियामा ट्रेन्ड चलाउँछन् । अनि डेलिकेसन जान्छन् प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा ।’ उनले मेयर बालेनले गुरुङलाई अगाडि सारेर अदृश्य रुपमा गतिविधि गरेको आरोप समेत लगाएका छन् ।

पूर्व सभामुख महरा र घर्तीले संसदको गाडी गरे फिर्ता

काठमाडौं । पूर्व सभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संघीय संसद् सचिवालयबाट पाएका गाडी सुविधा फिर्ता गरेका छन् । सरकारले सेवा निवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिइँदै आएको सवारी सुविधा फिर्ता गर्ने निर्णय गरेपछि उनीहरूले संसद सचिवालयलाई गाडी बुझाएका हुन् ।

पूर्व सभामुखहरूलाई मन्त्रिपरिषद्को निर्णयअनुसार संसद् सचिवालयमार्फत गाडी, इन्धन तथा चालक सुविधा दिइँदै आएको थियो । तर, असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गर्दै सेवा निवृत्त पदाधिकारीहरूलाई दिइँदै आएको सुविधा खारेज गर्ने नीति लिएको थियो ।

त्यसैअनुसार अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई आवश्यक पत्राचार गर्दै प्रचलित कानुनबाहेक दिइएका सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मीहरू फिर्ता गर्न निर्देशन दिएको थियो । संसद् सचिवालयले सोही निर्णय कार्यान्वयन गर्न सेवा निवृत्त पदाधिकारीहरूलाई सम्पर्क गर्दा पूर्व सभामुख घर्ती र महराले सकारात्मक प्रतिक्रिया जनाउँदै आइतबार (२०७८ असोज ७ गते) गाडी फिर्ता गरेका हुन् ।

संसद सचिवालयका अनुसार, पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि दशैं बिदा सकिएलगत्तै गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी बुझाइसकेका छन् ।

यद्यपि, सचिवालयका अनुसार संसदको नाममा कानुन विपरीत गाडी चढ्ने अन्य पदाधिकारीहरू अझै बाँकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचिवालयमा कार्यरत केही सहसचिवस्तरका कर्मचारीहरूले समेत सवारी सुविधा लिइरहेको पाइएको छ । ती गाडीहरू पनि फिर्ता गराउने विषयमा छलफल भइरहेको सचिवालय स्रोतले जनाएको छ ।

रामेश्वर, कुलमान र ओमप्रकाशले गरे क्षतिग्रस्त संसद भवन अवलोकन (तस्वीरहरू)

काठमाडौं । मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आगजनीबाट क्षतिग्रस्त संघीय संसद्को भवन अवलोकन गरेका छन् । गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो ।

आगजनीबाट संसद् भवन ध्वस्त भएको थियो । उक्त क्षतिग्रस्त भवनको अवलोकनमा मन्त्रीत्रय खनाल, घिसिङ र अर्याल पुगेका हुन् । खनाल अर्थमन्त्री हुन् भने अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन् । घिसिङ सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन् ।

संसद भवनको वाणिज्य बैंकबाट १८ किलो सुनसहित ३८ करोड लुटपाट

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ किलो सुनसहित ३८ करोड बराबर लुटपाट भएको खुलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक अन्तरवार्ताका क्रममा उक्त शाखाबाट कुल ३७-३८ करोड बराबरको लुटपाट भएको बताएका हुन् ।

उनका अनुसार प्रदर्शनका बेला बैंकको लकर तोडफोड गरी नगद र सुन चोरिएको हो । गभर्नरले हालसम्म लुटपाटमा संलग्न कोही पक्राउ नपरेको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । अन्य शाखामा भने ठूलो क्षति नभएको राष्ट्र बैंकले जनाएको छ । प्रदर्शनका क्रममा राष्ट्र बैंकमा क्षति नभए पनि बैंकका शाखाहरुमा भने गम्भीर क्षति भएको देखिएको हो । प्रदर्शन साम्य भएपछि गभर्नर पौडेलले २६ गते संसद् भवनमा रहेको उक्त शाखाको अनुगमन गरेका थिए ।

सुरुवाती अनुसन्धानबाट संसद भवनको वाणिज्य बैंकको शाखा कार्यालयका लकरसहित तोडफोड र लुटपाट हुँदा करोडौँको क्षति पुगेको गभर्नर स्वयंले खुलासा गरेका हुन् । हालसम्म औपचारिक रुपमा उक्त शाखाबाट कति लुटपाट भयो भन्ने विवरण नआए पनि गभर्नर डा. पौडेलले ३८ करोड लुटिएको अनुमानित तथ्यांकबारे जानकारी दिएका छन् । बैंकर्स एशोसिएसन र नेपाल राष्ट्र बैंककै अनुसन्धानबाट नेपालभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको विवरण सार्वजनिक भइसकेको छ । गभर्नर पौडेलले प्रदर्शनकारीको उद्देश्य बैंकहरु नभए पनि लोकेसनका कारण पनि शाखा कार्यालयहरुमा क्षति पुगेको बताए ।

 

मन्त्री घिसिङ आज संसद भवन अवलोकनमा जाने, शहीदका परिवारलाई भेट्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज (बुधबार) बानेश्वरस्थित क्षतिग्रस्त संसद भवन अवलोकन तथा जेनजी आन्दोलनका शहीदका घरमा जाने भएका छन् । मन्त्री घिसिङ अहिले बिहान १० बजे वसन्तपुरस्थित कुमारी मन्दिरमा पूजापाठमा सरिक हुने उनको सचिवालयले जनाएको छ । त्यस लगत्तै उनी आन्दोलनका कारण क्षतिग्रस्त संसद् भवन अवलोकनमा जानेछन् ।

त्यसपछि जेनजी विद्रोहमा शहीद बनेकाका परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सरकारले आन्दोनलमा मारिएकाहरूको पीडामा आजै राष्ट्रिय शोक घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । घिसिङलाई ऊर्जासँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सिंहदरबार र सर्वोच्च अदालतसँगै संसद् भवनमा पनि तोडफोड र आगजनी गरेका थिए ।

भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा यही भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न सहरमा भएको प्रदर्शनमा ७२ जना मारिए भने सयौँ घाइते भएका छन् । सरकारका अनुसार आन्दोलनमा मारिएका ७२ जनामध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी छन् । आन्दोलनमा मारिएका युवालाई सरकारले शहीद घोषणा गरेको छ भने पीडित परिवारलाई जनही १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने
सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ । सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले सो जानकारी दिएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले मङ्गलबार सिंहदरबारको मुख्य भवन र गृह मन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए । त्यसक्रममा मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी पनि दिए ।

मन्त्री घिसिङले विनासबाट ‘हामी उठ्यौं’ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्यांकन तत्काल गर्ने र ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।

 

संसद विघटन र प्रधानमन्त्री नियुक्तिको पत्र एउटै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । उनले प्रधानमन्त्री नियुक्ति पनि यही पत्रमा गरेका छन् । नयाँ प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथ गराउनुअघि उनले संसद् विघटन गरेका हुन् ।

जेन–जी समूहले बिहीबारदेखिको वार्ताका क्रममा विघटन नभई सरकारको नेतृत्व लिन नसक्ने अडान राखेपछि राष्ट्रपति पौडेलले शुक्रबार दिनभर परामर्श गरेका थिए ।

दिनभरको परामर्शपछि राष्ट्रपतिले साँझदेखि कार्कीलाई निर्णायक वार्ताका लागि शीतल निवास बोलाइएको थियो । उक्त वार्तामा ओमप्रकाश अर्याल र रमण कर्ण अनि जेन–जीका तर्फबाट सुदन गुरुङ शीतल निवास पुगेका थिए ।

आन्दोलनकारीको ‘बटमलाइन’ : संसद विघटन र निर्णय प्रक्रियामा जेनजीको सुनिश्चित सहभागिता

काठमाडौं । जेनजी आन्दोलनकारीले संसद विघटन र निर्णय प्रक्रियामा जेनजीको सुनिश्चित सहभागिताको ‘बटमलाइन’ अगाडि सारेका छन् । जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ ले भर्खरै सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेण्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर्नु हो ।’

जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा सुदन गुरुङलाई आज शीतलनिवास बोलाइएको थियो । जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ । कार्कीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य शर्त बनाएकी छन् । जेनजीको माग, मर्म र भावनाअनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडान राखेर गए राति उनी शीतलनिवासबाट निस्किएकी थिइन्।

संसद विघटन नगर्न पुराना राजनीतिक दल, संघीय संसदका दुवै सदनका प्रमुखहरूको दबाब छ । आजै मात्र सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले लिएको अडानको पक्षमा आफूलाई उभ्याएका छन् । संविधानभित्रैबाट समाधान खोज्न भनेका छन् । हालको संविधानमा संसद बाहिरबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था छैन । संसदको बहुमत प्राप्त गर्न सक्ने सांसद वा पहिलो संसदीय दलेको नेता मात्र प्रधानमन्त्री बन्ने व्यवस्था संविधानको धारा ७६ मा छ ।

 

‘संसद भंग गर्ने अधिकार राष्ट्रपतिमा राखौं, नागरिक सरकार गठन गरौं’

काठमाडौं । जवाफदेहिता निगरानी समितिले संवैधानिक संकटको वैध समाधान गरी जेनजी प्रदर्शनका उपलब्धिहरूलाई संस्थागत गर्न र परिस्थितिको सामान्यीकरण गर्न १२ बुँदे सुझाव दिएको छ ।

समितिका संयोजक राजु चापागाईसहितका मानव अधिकारकर्मीहरूले विज्ञप्ति जारी गर्दै संविधानको धारा ६१ ले राष्ट्रपतिलाई सुम्पिएको राष्ट्राध्यक्षको हैसियतअनुसार संविधानको पालन र संरक्षण गर्ने अभिभावकीय कर्तव्यअन्तर्गत जेनजी आन्दोलनका प्रतिनिधि, नागरिक समाज, संसद्भित्र र बाहिरका विद्यमान राजनीतिक शक्तिहरूसँग व्यापक संवाद तथा छलफलको आधारमा राजनीतिक तथा संवैधानिक संकट व्यवस्थापनका लागि सहमति जुटाउने सुझाव दिएको हो ।

राजनीतिक शक्तिहरूबीचको सहमतिमा संसद्को सदस्य नरहेको व्यक्तिलाई पनि प्रधानमन्त्री नियुक्त गर्ने, चुनावको मिति तोक्ने, संसद् भंग गर्ने स्पष्ट अधिकार राष्ट्रपतिमा रहने गरी संसद्बाट धारा ७६ मा संशोधन गर्ने र त्यसका आधारमा जेनजीको समर्थन पाएको स्वतन्त्र व्यक्तिको नेतृत्वमा गठन हुने नागरिक सरकारको राजनीतिक साथै संवैधानिक वैधता सुनिश्चित गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।

हेर्नुस् १२ बुँदे सुझाव

जवाफदेहिता निगरानी समितिको बैठकले जेन–जी आन्दोलनका परिणामस्वरूप उत्पन्न पछिल्लो राजनीतिक परिस्थिति, त्यसका अन्तरनिहित कारणहरू र बहुआयामिक प्रभावहरूको बारेमा गम्भीर समीक्षा गरी विद्यमान स्थितिको सामान्यीकरण, संक्रमणकालीन अवस्थाको विधिसम्मत र शीघ्र व्यवस्थापन गरी पुनः राष्ट्रिय आत्मविश्वास आर्जन गरी व्यापक सहमतिका आधारमा आन्दोलनका माग सम्बोधन गर्ने दिशामा सबै इमानदारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता तडकारो भएको निष्कर्ष निकालेको छ ।

साथै, निगरानी समितिको धारणा छ कि जेन–जी आन्दोलन विगतका सामाजिक, राजनीतिक, क्षेत्रिय आन्दोलन र दशक लामो सशस्त्र द्धन्द्ध लगायतका जनताका ऐतिहासिक संघर्षहरुको प्रतिफलको रुपमा अस्तित्वमा आएको वर्तमान संविधानलाई आधाररेखा मानेर अग्रगमनतर्फ अगाडी वढनको लागि हो, यो विद्यमान संवैधानिक उपलब्धिहरूलाई उल्ट्याउने वा पश्चगामी परिवर्तन गर्नका लागि होइन । आन्दोलन पश्चातको संक्रमणकालीन तरल अवस्थालाई अवसरको रूपमा दुरुपयोग गर्दै मुलुकलाई पश्चगमनतर्फ धकेल्ने दुष्प्रयास गर्ने वा त्यसतर्फ जनमानसलाई हौस्याउने तत्वहरू पहिचान गरी उनिहरुको उदेश्यलाई परास्त पार्न जेन–जी आन्दोलन, नागरिक समाज, सचेत मिडिया र आम नेपाली एकजुट भएर खबरदारी गर्नुपर्ने आवश्यकतामा समितिले जोड दिएको छ ।

समितिको बुझाइमा, जेन–जी आन्दोलन विगत केही वर्षदेखि संविधानमा निहित सामाजिक न्याय, समाजवाद, सुशासन, दिगो विकास र शान्तिका प्रतिज्ञा एकातिर र भ्रष्ट, स्वार्थकेन्द्रित, गुटप्रस्त, लोभिपापी विभेदकारी, अत्याचारी, अन्यायी शासकिय व्यवहार, संस्कार तथा प्रवृत्तिहरू अर्कातिर भैरहँदा नागरिकस्तरमा विकसित हुँदै गएको असन्तुष्टि, निराशा र विद्रोही भावको चरम प्रकटिकरण हो ।

यस परिप्रेक्ष्यमा निम्नानुसारका उपाय अपनाएर परिस्थितिको सामान्यीकरण र कानुनी शासनको वहाली सुनिश्चित गर्दै विद्यमान संवैधानिक तथा राजनीतिक संकटको निकास दिने र जेन–जी आन्दोलनको मर्म र भावना अनुरूप मुलुकको आत्मविश्वास जगाई राजनीतिक स्थिरता र सुशासनतर्फ अग्रसर हुनुपर्दछ भन्ने निगरानी समितिको धारणा रहेको छः–

१) संविधानको धारा ६१ ले राष्ट्रपतिलाई सुम्पिएको राष्ट्राध्यक्षको हैसियतअनुसार संविधानको पालन र संरक्षण गर्ने अभिभावकीय कर्तव्यू अन्तर्गत जेन–जी आन्दोलनका प्रतिनिधि, नागरिक समाज, संसदभित्र र बाहिरका विद्यमान राजनीतिक शक्तिहरूसँग व्यापक संवाद र छलफलको आधारमा राजनीतिक तथा संवैधानिक संकट व्यवस्थापनका लागि सहमति जुटाउने ।

२) संसदभित्रबाट सरकार गठन हुन नसक्ने विषम र अनपेक्षित परिस्थितिमा संकटमोचनका लागि राजनीतिक शक्तिहरूबीचको सहमतिमा संसदको सदस्य नरहेको व्यक्तिलाई पनि प्रधानमन्त्री नियुक्त गर्ने, चुनावको मिति तोक्ने र संसद भंग गर्ने स्पष्ट अधिकार राष्ट्रपतिमा रहने गरी संसदबाट धारा ७६ मा संशोधन गर्ने र त्यसका आधारमा जेन–जी आन्दोलनको समर्थन प्राप्त स्वतन्त्र व्यक्तिको नेतृत्वमा गठन हुने नागरिक सरकारको राजनीतिक साथै संवैधानिकता वैधता सुनिश्चित गर्ने ।

३) उपर्युक्त विकल्पमा सहमति जुट्न नसकेको अवस्थामा, धारा ६१ ले राष्ट्रपतिलाई सुम्पिएको संविधान पालन र संरक्षण गर्ने अभिभावकीय कर्तव्यअनुसार संकटमोचनका लागि आवश्यक आदेश जारी गरी जेन–जी आन्दोलनले अनुमोदन गरेको व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्ने, संविधानबमोजिम संसदको निर्वाचनको उपयुक्त मिति तोक्ने ।

४) नागरिक स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्यायको दृष्टिकोणले संविधान अब्बल भए पनि यसको शासकीय संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, संघीयता, संवैधानिक संस्था र राजनीतिक दलसम्बन्धी प्रबन्धमा असन्तुष्टिहरू व्यक्त हुँदै आएको, साथै संविधान जारी भएको दशक पूरा हुन लागेको सन्दर्भमा, यसको प्रावधान र कार्यान्वयन पक्षको पुनरावलोकन गर्न नागरिक सरकारले स्वतन्त्र विज्ञहरूको सहभागितामा संविधान पुनरावलोकन आयोग गठन गर्ने । सो आयोगले दिएको सुझावको आधारमा निर्वाचनद्वारा ताजा जनादेश प्राप्त संसदमा विधेयक प्रस्तुत गर्ने ।

५) जेन–जी आन्दोलनको क्रममा दर्जनौंको मृत्यु र हजारौं घाइते हुने गरी भएका मानवअधिकार उल्लंघनका घटनाको स्वतन्त्र छानबिन तथा अनुसन्धान गर्ने, आन्दोलनकारी जेन–जी समूहको घोषित नीतिसँग विपरीत, आपराधिक स्वार्थबाट प्रेरित व्यक्ति वा समूहद्वारा गरिएका सरकारी तथा निजी सम्पत्तिको ध्वंशका घटनाको छानबिन र क्षतिको मूल्याङ्कन गरी जिम्मेवारलाई दण्डित गर्ने प्रयोजनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने ।

६) मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने, घाइतेहरूको उपचार र उनीहरूको सहज जीवनयापनका लागि आर्थिक सहायता तथा सामाजिक सुरक्षा व्यवस्था गर्ने ।

७) स्थानीयदेखि केन्द्रीय स्तरसम्म ठप्प बनेको प्रशासनिक तथा न्याय सेवालाई प्रदेश, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्य तथा समन्वयमा शीघ्र सञ्चालन गर्ने। नागरिक तथा समुदायसँगको सहकार्यमा शान्ति–सुव्यवस्था कायम गर्न प्राथमिकताका साथ काम गर्ने ।

८) दलगत प्रणाली निर्विकल्प भए पनि हाम्रोमा राजनीतिक दलहरूको लोकतान्त्रीकरण हुन सकेको छैन। प्रायः दलहरूको नेतृत्वलाई देवत्वकरण गर्ने, दल भित्र नेतृत्व र आसेपासेको तानाशाही र एकाधिकार चल्ने प्रवृत्तिले दलहरू ग्रसित छन् । दलभित्र अन्तरपुस्ता समन्याय छैन । यो अवस्था नचिर्दासम्म राजनीतिक व्यवस्थाको सञ्चालन फलदायी नहुने र दल तथा नेतृत्वप्रति वितृष्णा दोहोरिने भएकाले असफल र जनताद्धारा अस्विकृत नेताहरूले पदत्याग गरी नेतृत्वको वास्तविक पुस्तान्तरणका लागि मार्ग प्रशस्त गर्नुपर्छ। साथै दलभित्र सुशासन, पारदर्शिता र लोकतान्त्रीकरणका उपायहरू अपनाउनु पर्छ ।

९) नीतिगत भ्रष्टाचारका कानुनी छिद्र पहिचान गरी टाल्ने, विगत लामो समयदेखि छानबिनमा नपरेका घोटालाहरूको अनुसन्धान गर्ने, जिम्मेवारविरुद्ध मुद्दा चलाउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा उतार्ने कुरा सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत सुधारका प्रयास अघि बढाउने ।

१०) विपन्न तथा ऐतिहासिक अन्याय भोगेका विभेदित र सिमान्तीकृत वर्ग–समुदाय, सशस्त्र द्वन्द्वका पीडित नागरिकका आर्थिक–सामाजिक कष्ट सम्बोधन गर्ने, ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्ने, संक्रमणकालीन न्यायको थाँती अभिभारा पीडितमैत्री प्रक्रियाबाट सम्पन्न गर्ने लगायतका राष्ट्रिय अभिभारा पूरा गर्न सरोकारवालासँग परामर्शमा योजना बनाई अघि बढाउने ।

११) कुनै पनि सार्वजनिक सरोकार वा दीर्घकालीन प्रभाव हुने नीति निर्माण, कानुन निर्माण वा कुनै कार्यकारी निर्णय गर्दा, त्यसको आर्थिक, सामाजिक र विशेषगरी युवापुस्तामा पर्ने प्रभाव मूल्याङ्कन गर्ने परिपाटी बसाल्ने ।

१२) साथै नागरिक र समुदायका असन्तुष्टि, गुनासा, मागहरू प्राप्त गर्ने, विश्लेषण गर्ने र कानुनी शासनको परिधिभित्र रहेर सम्बोधन गर्न सहजिकरण गर्ने कार्यादेशसहितको संयन्त्र बनाएर सञ्चालन गर्ने।

जवाफदेहिता निगरानी समितिको तर्फबाट मानवअधिकारकर्मीहरू
राजुप्रसाद चापागाई (संयोजक), राजन कुइँकेल (सहसंयोजक), रुकमनी महर्जन (सहसंयोजक), सदस्यहरूस् चरण प्रसाई, डा. गौरीशंकरलाल दास, डा. मन्दिरा शर्मा, दिनेश त्रिपाठी, सुमन अधिकारी, देवी सुनुवार, बाबुराम गिरी, डा. विरेन्द्र थपलिया, जनकबहादुर राउत, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, विकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्रीप्रसाद भुसाल, निराजन थपलिया, काशीराम ढुंगाना, लक्ष्मी पोखरेल, पुष्पराज पौडेल, सन्तोषबाबु सिग्देल, मोहना अन्सारी, कमला पन्थी ।

 

दोस्रो तहका नेताले भने–हामीले जनताको निराशालाई समयमै बुझ्न सकेनौं

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका दोस्रो तहका १६ नेताले संविधानको रक्षा गरेर आन्दोलनको मर्मअनुसार वर्तमान समस्या समाधान हुनुपर्ने अपिल गरेका छन् । गए राति अबेरसम्म बसेको विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिएका छन् ।

‘विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमै त्यसको समाधान गर्ने पहलमा कमी भएको छ । पार्टीमा लोकतान्त्रिक मूल्य स्थापित गर्न नसक्नुमा हाम्रो पनि कमजोरी भएको कुराप्रति आत्मसमीक्ष गर्दै क्षमायाचना गर्दछौँ,’ उनीहरूले भनेका छन्, ‘वर्तमान राजनैतिक संकट समाधान गर्नका निम्ति देहाय बमोजिम गर्न÷गराउन हामी सम्मानीय राष्ट्रपतिज्यूको ध्यानाकर्षण गर्दछौँ ।’

हेर्नुस् संयुक्त वक्तव्य

जेन–जी पुस्ताले गरेको आन्दोलनको क्रममा सरकारले निहत्ता युवाहरू माथि चलाइएको गोलीबाट दर्जनौ को मृत्यु भएको घटनाले समग्र राष्ट्र नै स्तब्ध भएको छ । राजनैतिक सुधारका लागि माग गर्ने होनहार युवाहरुको हत्या को भत्सना गर्दै मृत्यु वरण गर्नेहरुप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछौँ । । सयौँको संख्यामा घाइते हुनु भएकाहरू प्रती स्वास्थ्य लाभको कामना गर्दछौँ । आन्दोलनले उठाएका मुख्य नाराहरू सान्दर्भिक भएको निष्कर्ष निकाल्दै देशमा विद्यमान विषम परिस्थिती लाई समाधान गर्न शान्ति सुरक्षा कायम गर्न र समाधानको लागि सहयोगी बन्न हामी प्रतिबद्ध छौं ।

साथै विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमा समाधान गर्ने पहलमा कमी भएको र पार्टीमा लोकतान्त्रीक मूल्य स्थापित गर्न नसक्नुमा हाम्रो पनि कमजोरी भएको कुरा प्रती आत्म समिक्षा गर्दै क्षमायाचना गर्दछौ ।वर्तमान राजनैतिक संकट समाधान गर्न हामी निम्न व्यक्तिहरुले देहाय बमोजिम गर्न गराउन सम्मानीय राष्ट्रपतिज्यूको ध्यानाकर्षण गर्दछौँ । राष्ट्रमा उत्पन्न असामान्य परिस्थितिको अन्त गरी मुलुकलाई वैधानिक दायरामा ल्याउन जेनजीको भावना अनुरुप संविधान सम्मत ढंगले अन्तरीम सकार गठन गर्न अनुरोध गर्दछौ ।

आन्दोलनको क्रममा भएको जनधनको क्षति सार्वजनिक तथा निजी सम्पत्तिको क्षति व्यक्ति केन्द्रित हमला समग्रको छानबिन गरी दोषी यकिन गर्न र निजहरूलाई कानुनको दायरामा ल्याउन एक शक्तिशाली आयोग गठन गर्न माग गर्दछौ ।
भ्रष्टाचारको अन्त गर्न राज्यको उच्चतहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गरियोस् । वर्तमान संविधानको संशोधन र परिमार्जनको बारेमा विभिन्न मत रहेको सन्दर्भमा ध्यान दिँदै संविधानको पुनरावलोकन गरी संविधानमा गर्नुपर्ने सुधारका विषयहरूलाई सरोकारवाला सबैसँग परामर्श गरी सिफारिस गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गरियोस् ।

आन्दोलनले स्थापित गरेका मुद्दाहरू भ्रष्टाचारको अन्त्य गरी सुशासनको सुनिश्चितता ,राजनीतिक स्थायित्व ,परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने,सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले आजको संकटको अवस्था सिर्जना गरेकाले आइन्दा यस्तो अवस्थाको पुनरावृत्ति हुन नदिन राजनीतिक दल सम्बन्धी कानुन परिमार्जन मार्फत सत्तालाई दुरुपयोग गर्ने अवस्था अन्त्य गरियोस् ।

आन्दोलनको क्रममा अवान्छित तत्वहरुले सार्वजनिक र निजी समरचना राज्यका तथ्य तथ्याङ्क श्रेस्ता संपूर्ण जलायर समाप्त पारिए को छ । ठूलो आर्थिक क्षति भएको छ । यस्तो परिस्थितीमा संवैधानिक रुपले राष्ट्रपति ज्युको अहं भूमिका हुने र राष्ट्र र राष्ट्रियताको रक्षा तथा नेत्रित्व गर्न कमि हुने छैन भन्ने विश्वास व्यक्त गर्दछौं ।

धनश्याम भुसाल जनार्दन शर्मा
सुरेन्द्र प्रसाद पाण्डे ए न पि साउँद
मिनेन्द्र रिजाल राजकिशोर यादव
देवेन्द्र पौडेल अमरेश सिङ
गोकर्ण विष्ट सुदन किराती
रामकुमारी झाँक्री मिना तामाङ्ग
अमनलाल मोदी सन्तोष परियार
चन्द्र भण्डारी प्रकाश ज्वाला

संसद विघटन नगर्न जेन-जीलाई सीके राउतको सात बुँदे प्रस्ताव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले वार्तामा रहेका जेन–जी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न आग्रह गरेका छन् । उनले वर्तमान संकट समाधानका लागि सात बुँदे प्रस्ताव समेत प्रस्तुत गरेका छन् । जेन–जीलाई सम्बोधन गर्दै राउतले बिहीबार बिहान वक्तव्य जारी गरी अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद्लाई भंग नगर्न आग्रह गरेका हुन् ।

‘देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ । राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उभ्याएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौँ’, उनले भनेका छन् ।

चेतावनी दिँदै उनले अगाडि भनेका, ‘यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद्लाई भंग गर्नु भयो भने अर्को १० वर्ष तपाईंहरूलाई संविधान बनाउनका लागि नै अल्झाइराख्छन्, काम गर्ने वातावरण नै बन्दैनन् । त्यो प्यानडोराज बक्स हो । त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्लाई नै कायम रहन दिई (भलै हामी त्यहाँबाट राजीनामा दिइसकेका छौँ, तैपनि भनिराखेका छौँ) निर्वाचन गराउनेतिर लाग्नु पर्दछ । ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधिसभा पाइहाल्नु हुन्छ, त्यसैले अहिले रिक्तता सिर्जना नगरौं ।’

हेर्नुस् सीके राउतको पूरा वक्तव्य :

प्रिय जेनजी,
तपाईंहरूले देशको निकासको लागि गरीराखेको पहलको समयमा केही कुराहरू याद राख्नुपर्ने हुन्छ । देश केवल म्ष्कअयचम ग्रुपको, एउटा निश्चित वर्ग, जाति र समूहको मात्रै होइन, तपाईंहरूले गर्ने हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराई–मधेससम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेस र लुम्बिनीसम्म, खस–आर्यदेखि मधेसी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पिछडावर्गसहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनु पर्दछ । सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने खालको हुनु पर्दछ ।

तपाईंहरूले आन्दोलन गर्नु भयो तर पर्दापछाडि यसै अवसरलाई दुरुपयोग गर्न धेरै कुराहरू भइराखेका छन् । देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ । राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उभ्याएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौँ ।

त्यसैले अहिलेको संक्रमणकालीन स्थितिमा संशोधनको आवश्यकता पक्कै रहे पनि संविधानलाई चलाउने होइन (निर्वाचन पछि गर्दा हुन्छ) र अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद्लाई पनि भंग गर्नु हुँदैन, अन्यथा देशमा रिक्तता निम्तिन्छ । दशकौँको आन्दोलन र बलिदानीपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तोसुकै परिस्थितिमा हामी रक्षा गर्न तैयार रहनुपर्छ, केही पात्रहरूले जतिसुकै दुष्प्रचार गरे पनि यो देशको अस्तित्वको रक्षाको लागि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्नै पर्छ ।

यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद्लाई भंग गर्नुभयो भने अर्को १० वर्ष तपाईंहरूलाई संविधान बनाउनका लागि नै अल्झाइराख्छन्, काम गर्ने वातावरण नै बन्दैनन् । त्यो ‘प्यानडोराज बक्स’ हो। त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्लाई नै कायम रहन दिई (भलै हामी त्यहाँबाट राजीनामा दिइसकेका छौँ, तैपनि भनिराखेका छौँ) निर्वाचन गराउनेतिर लाग्नु पर्दछ । ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधिसभा पाइहाल्नु हुन्छ, त्यसैले अहिले रिक्तता सिर्जना नगरौं ।
त्यसको अलावा हामीले ध्यान दिनुपर्ने भनेकोः

१) कानुनी राज्य (ल एन्ड अर्डर) पूर्णतः स्थापित गर्नुपर्ने। अस्थिरता, त्रास र डरको माहोल हुँदा पूरै देशको राजधानीको कुनाकुनामा मात्रै होइन, देशको कुनाकुनामा पनि सबैलाई सुरक्षाको प्रत्याभूति गराउने ।

२) नेसनल टास्क फोर्स (NTF) गठन गर्ने र हरेक परिवारबाट एउटा स्वयंसेवक दिनैपर्ने गरी ड्राफ्टिङ गर्ने र राष्ट्रियदेखि टोलस्तरसम्म पुनर्निमाण, विकास तथा सुशासनका लागि युद्धस्तरमा खटाउने ।

३) ट्राइब्युनल गठन गर्ने र आन्दोलनमा भएको जनधनको क्षति, हिंसा र घुसपैठ आदिको छानबिन गर्ने, विगतका भ्रष्टाचारहरूको छानबिन गर्ने र भ्रष्टाचार गरेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने । सेट डेट तोकेर त्यसपछाडि भ्रष्टाचार गरे ’जिरो टोलेरेन्स’को नीति लिई कडा कारबाही गर्ने ।

४) विश्व समुदाय, दातृ–संस्था तथा बहुपक्षीय संगठनहरूको भेला गर्ने र विकास तथा पुनर्निमाणको लागि सहयोग र सहकार्य गर्न अपिल गर्ने, गुमेको विश्वासलाई पुनस्र्थापित गर्न राज्यले उत्तरदायित्व लिने गरी सबैको लगानी सुरक्षित रहने सुनिश्चितता गर्ने र लगानी आकर्षित गर्ने ।

५ )युद्धस्तरमा टास्क फोर्स र स्वयंसेवक परिचालित भएर पुनर्निमाण र विकासको कार्य थाल्ने ।

६) उद्योग र रोजगारीको लागि लाग्ने ताकि कतै बेरोजगारी नै नरहोस् ।

७) (हुनसक्छ) १० वर्षसम्म सबै सम्पत्ति राष्ट्रियकरण गर्ने (आत्तिनु पर्दैन १० वर्ष पछि फिर्ता पाउने गरी राज्यलाई १० वर्षसम्म नागरिकले आफ्नो घरजग्गा लिजमा दिएको जस्तो र पैसा पनि आन्तरिक ऋण दिएको जस्तो) र १० वर्षसम्म राज्यले नागरिकको पूर्ण अभिभावकत्व लिने । नागरिकले खाना कसरी खाने, के लगाउने, कसरी पढाउने, कसरी उपचार गर्ने आदिको कुनै चिन्ता नै न लिनु परोस् र पूर्ण रूपले देशको विकास र निर्माणका लागि युद्धस्तरमा खट्न सकोस् भनेर ।

रामहरिलाई सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।

सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउने तयारी छ ।

कुलिङ पिरियड प्रकरणमा मुछिएपछि राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले फेरि सुनुवाइ समितिको सभापति बनाउन लागेको हो ।