पूर्व सभामुख रानाभाट र सभामुखका स्वकीय सचिवले फर्काए सरकारी गाडी
काठमाडौं । पूर्व सभामुख तारानाथ रानाभाट र सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रकाश भट्टराईले सरकारी गाडी फिर्ता गरेका छन् । संसद सचिवालयले पूर्व सभामुख रानाभाट र सभामुखका स्वकीय सचिव भट्टराईलाई गाडी सुविधा दिँदै आएको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार पूर्व सभामुख रानाभाटले पूर्व विशिष्ट पदाधिकारीको हैसियतमा गाडी प्रयोग गर्दै आएका थिए ।
तर नयाँ मन्त्रिपरिषदले पूर्व विशिष्ट पदाधिकारीहरूको सवारी सुविधा खारेज गर्ने निर्णय गरेको थियो । सुरूमा गाडी फिर्ता नगर्ने र कानुनी प्रक्रियामा जाने बताएका रानाभाटले पछि गाडी फिर्ता गरेको सचिवालयले जनाएको छ । सभामुखका स्वकीय सचिव भट्टराईले तजबिजीमा गाडी प्रयोग गर्दै आएका थिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका स्वकीय सचिव विष्णु सापकोटाले गाडी फिर्ता गरेलगत्तै सभामुखका स्वकीय सचिव भट्टराईले पनि गाडी फिर्ता गरेको संसद सचिवालयले जनाएको छ ।
‘अहिलेसम्म २० वटा गाडी फिर्ता भएका छन्,’ सचिवालयका एक अधिकारीले भने, ‘हाम्रा सबै गाडी फिर्ता गर्ने काम भएको छ ।’ अन्तरिम सरकारले मन्त्रिपरिषदको निर्णयका आधारमा सांसदहरूले पाउने स्वकीय सचिवसहित पूर्व विशिष्ट पदाधिकारीको सुविधा खारेज गर्ने निर्णय गरको थियो । यसअघि नै पूर्व सभामुखहरू र संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गरिसकेका छन् ।
