पूर्व सभामुख महरा र घर्तीले संसदको गाडी गरे फिर्ता


काठमाडौं । पूर्व सभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संघीय संसद् सचिवालयबाट पाएका गाडी सुविधा फिर्ता गरेका छन् । सरकारले सेवा निवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिइँदै आएको सवारी सुविधा फिर्ता गर्ने निर्णय गरेपछि उनीहरूले संसद सचिवालयलाई गाडी बुझाएका हुन् ।
पूर्व सभामुखहरूलाई मन्त्रिपरिषद्को निर्णयअनुसार संसद् सचिवालयमार्फत गाडी, इन्धन तथा चालक सुविधा दिइँदै आएको थियो । तर, असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गर्दै सेवा निवृत्त पदाधिकारीहरूलाई दिइँदै आएको सुविधा खारेज गर्ने नीति लिएको थियो ।
त्यसैअनुसार अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई आवश्यक पत्राचार गर्दै प्रचलित कानुनबाहेक दिइएका सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मीहरू फिर्ता गर्न निर्देशन दिएको थियो । संसद् सचिवालयले सोही निर्णय कार्यान्वयन गर्न सेवा निवृत्त पदाधिकारीहरूलाई सम्पर्क गर्दा पूर्व सभामुख घर्ती र महराले सकारात्मक प्रतिक्रिया जनाउँदै आइतबार (२०७८ असोज ७ गते) गाडी फिर्ता गरेका हुन् ।
संसद सचिवालयका अनुसार, पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि दशैं बिदा सकिएलगत्तै गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी बुझाइसकेका छन् ।
यद्यपि, सचिवालयका अनुसार संसदको नाममा कानुन विपरीत गाडी चढ्ने अन्य पदाधिकारीहरू अझै बाँकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचिवालयमा कार्यरत केही सहसचिवस्तरका कर्मचारीहरूले समेत सवारी सुविधा लिइरहेको पाइएको छ । ती गाडीहरू पनि फिर्ता गराउने विषयमा छलफल भइरहेको सचिवालय स्रोतले जनाएको छ ।