`

संसद पुनर्स्थापना गरेर संविधान संशोधन गर्न सकिन्छ : सभामुख घिमिरे

Nepal One HD २८ कार्तिक २०८२ १३:४१
प्रमुख खबर

झापा । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् । उनले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुनर्स्थापना हुनैपर्ने बताए । आज (शुक्रबार) विहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले यस्तो बताएका हुन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको मुद्दालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको उनले प्रतिक्रिया दिए । कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद पुनर्स्थापना हुने सभामुख घिमिरेको भनाइ छ ।

छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने उनले बताए । जननिर्वाचित संस्थालाई भंग गरेपछि मुलुक थप संकटमा गएको घिमिरेको भनाइ छ । सभामुख घिमिरेले भने, ‘संसद पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ । जेनजीको माग सम्बोधन गर्ने बाटो पनि यही हो । संविधानका के कस्ता विषयहरू संशोधन गर्नुपर्ने हो ।’

छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । बिहीवार दिउँसो झापा आएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास आयोजनाहरुको अनुगमन गरेका छन् । गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गरेका हुन्।जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरु अनुगमन गरेको सचिवालयका हिमाल मैनालीले जानकारी दिए । दुई दिनका लागि झापा आएका सभामुख घिमिरेले भोलि बिर्तामोडस्थित देवी माविको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यहि बीचमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्न जाने मैनालीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *