`

संसद भवनको वाणिज्य बैंकबाट १८ किलो सुनसहित ३८ करोड लुटपाट

Nepal One HD १ असोज २०८२ १६:३७
अर्थ समाचार

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ किलो सुनसहित ३८ करोड बराबर लुटपाट भएको खुलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक अन्तरवार्ताका क्रममा उक्त शाखाबाट कुल ३७-३८ करोड बराबरको लुटपाट भएको बताएका हुन् ।

उनका अनुसार प्रदर्शनका बेला बैंकको लकर तोडफोड गरी नगद र सुन चोरिएको हो । गभर्नरले हालसम्म लुटपाटमा संलग्न कोही पक्राउ नपरेको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । अन्य शाखामा भने ठूलो क्षति नभएको राष्ट्र बैंकले जनाएको छ । प्रदर्शनका क्रममा राष्ट्र बैंकमा क्षति नभए पनि बैंकका शाखाहरुमा भने गम्भीर क्षति भएको देखिएको हो । प्रदर्शन साम्य भएपछि गभर्नर पौडेलले २६ गते संसद् भवनमा रहेको उक्त शाखाको अनुगमन गरेका थिए ।

सुरुवाती अनुसन्धानबाट संसद भवनको वाणिज्य बैंकको शाखा कार्यालयका लकरसहित तोडफोड र लुटपाट हुँदा करोडौँको क्षति पुगेको गभर्नर स्वयंले खुलासा गरेका हुन् । हालसम्म औपचारिक रुपमा उक्त शाखाबाट कति लुटपाट भयो भन्ने विवरण नआए पनि गभर्नर डा. पौडेलले ३८ करोड लुटिएको अनुमानित तथ्यांकबारे जानकारी दिएका छन् । बैंकर्स एशोसिएसन र नेपाल राष्ट्र बैंककै अनुसन्धानबाट नेपालभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको विवरण सार्वजनिक भइसकेको छ । गभर्नर पौडेलले प्रदर्शनकारीको उद्देश्य बैंकहरु नभए पनि लोकेसनका कारण पनि शाखा कार्यालयहरुमा क्षति पुगेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *