`

संसद विघटनलाई एमालेले भन्यो-‘प्रतिगमन’, अन्य दलहरुले के भने ?

Nepal One HD २९ असोज २०८२ १३:०७
प्रमुख खबर

काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा रहेका दलहरूलाई बैठकमा बोलाएर अबको बाटो र संवैधानिक निकासका बारेमा छलफल गरेका छन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी भएनन् ।

सभामुखले विघटित प्रतिनिधिसभामा रहेका दलहरूलाई छलफलमा बोलाए पनि चार दलका नेताहरू गएनन् । बैठकमा नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरे, नेकपा एमालेका नेता महेश बर्तौला, माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी नेपालकी नेतृ रेखा यादव बैठकमा सहभागी थिए । सभामुख घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको बताए । उनले भने, ‘यो विषयमा बैठकमा सहभागी सबै दलहरूको साझा मत रह्यो । यसबारे सर्वोच्चमा अदालतमा रिट परिसकेको छ । सबै दलहरूको आआफ्नै निर्णय छन्। त्यसैको आधारमा अद्दि बढ्छौं ।’ उनले संसद् पुनस्र्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने मत रहेको बताए ।

बैठकमा कांग्रेसका नेता घिमिरेले प्रतिनिधिसभा विघटन र सरकार गठन दुवै असंवैधानिक रहेको बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार घिमिरेले निकास खोज्नुपर्ने बताएका थिए । ‘यसको निकास भनेको कि संसद पुनस्र्थापना हो कि चुनाव हो । हाम्रो केन्द्रीय समितिको बैठक पनि चलिरहेको छ,’ उनले भने, ‘यदि सरकारले चुनावमा जाने वातावरण बनाउँछ र शान्ति र सुरक्षाको ख्याल गर्छ भने फ्रेस म्यान्डेटमा जान आपत्ति छैन । चुनावबाट कांग्रेस भाग्दैन ।’

एमालेका नेता बर्तौलाले संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक भएको बताए । ‘यो असंवैधानिक हो, प्रतिगमन हो । हामी आठ दलले पहिले नै भनिसकेका छौँ । चुनावको तयारी सरकारले गरेको छैन । वैधानिक संसदलाई जीवन्त राख्नुपर्छ । संसद पुनस्र्थापना गर्नुपर्छ । दलहरूले दबाब सिर्जना गुर्नुपर्छ, सभामुखले भूमिका खेल्नुपर्छ,’ उनले भनेका थिए ।

माओवादी नेता हितराज पाण्डेले दुर्लभ घटना भएको बताएका थिए । ‘यसको समीक्षा गर्नुपर्छ । संविधानको किताब हेर्दा एउटा स्थिति देखिन्छ तर अहिले फरक वातावरण छ । सरकारले चुनावको वातावरण बनाओस्, चुनावमा जानुपर्छ,’ पाण्डेले भनेका थिए । बैठकमा राप्रपाका नेता ज्ञानबहादुर शाहीले संसद पुनर्स्थापनातिर लाग्न नहुने बताएका थिए । उनले संविधान संशोधन गर्नुपर्ने बताएका थिए । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले सरकारले चुनावको वातावरण बनाए चुनावमा जाने बताए । त्यस्तै, जसपा नेपालकी नेतृ रेखा यादवले पार्टीले चुनावमा जाने निर्णय गरिसकेको बताइन् । संसद पुनस्र्थापनाका बारेमा फेरि पार्टीको बैठक बसेर निर्णय लिने बताइन् । जवाफमा सभामुख घिमिरेले लोकतन्त्र, संविधान बचाउनका लागि के गर्नुपर्छ, आफ्नो ठाउँबाट भूमिका खेल्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *