समयमै संसद भवन निर्माण नसकिए जरिवाना तिराउने मन्त्री घिसिङको चेतावनी
काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन् । शनिवार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् ।
आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीब्र बनाउन निर्देशन दिइएको छ ।
अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनिसञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको बताए ।
पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको बताए । हरेक दिनको सेड्युल बनाएर काम गर्न निर्देशन दिए । दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए । दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिए । निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने जिकिर गरे । आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तीब्रताका साथ काम गर्न निर्देशन दिए । समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने चेतावनी दिए ।
अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।
