काठमाडौं । सर्वोच्च अदालतबाट आएको परमादेशले राजनीतिक हलचल बढेपछि मधेस प्रदेशमा आज बिहानै प्रदेशसभा बैठक बस्ने भएको छ । विश्वासको मतका लागि प्रस्तुत हुन लागिरहेका मुख्यमन्त्री सरोजकुमार यादवसहित सिंगो प्रदेशको राजनीतिक नजर अहिले जनकपुरमा केन्द्रित छ ।
उपसभामुख बबिता राउत ईश्वरले दलगत सहमतिअनुसार बुधबार बिहान साढे ८ बजे बैठक बोलाउने निर्णय सार्वजनिक गरेकी छन् । यसअघि सर्वोच्च अदालतले सोमबार साँझ २४ घण्टाभित्र विश्वासको मत लिन बाध्यगत परमादेश जारी गरेको थियो ।
तर, मुख्यमन्त्री यादवले अदालतको आदेश पत्र आफूलाई समयमै प्राप्त नभएकाले मंगलबार बिहानभित्र बैठक बोलाउन नसकेको स्पष्टीकरण दिएका थिए । आदेश प्राप्त गर्न ढिलाइ भएकै कारण मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी उनले बुधबार दिउँसो २ बजेका लागि प्रदेशसभा सचिवालयमा बैठक आह्वान गर्न पत्र पठाएको जानकारी दिएका थिए ।
यद्यपि मंगलबार बेलुकै सर्वदलीय बैठकमा पुनः छलफल हुँदा आज बिहान साढे ८ बजेमै बैठक बसाल्ने सहमति बनेको उपसभामुखको सचिवालयले जनाएको छ । दलगत सहमतिअनुसार नै पुनः आह्वान गरिएको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो सरकार कायम राख्ने कि ढल्ने भन्ने निर्णायक क्षण आउनेछ । प्रदेश राजनीतिक तरलताका बीच बसेको यस बैठकले मधेसको सत्ता समीकरणमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ ।
सर्वोच्चको परमादेशसँगै ७ दलीय गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी थालिसकेको छ । यस हिसाबले मुख्यमन्त्रीको विपक्षमा मधेश प्रदेशसभाको अंक गणित छ । एमालेसँग जम्मा २५ प्रदेशसभा सदस्य छन् जसमध्ये एक जना निलम्बित छन् । जबकि विश्वासको मत पाउनका लागि १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत पाउनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।
नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक प्रदेशसभा सदस्य मुख्यमन्त्रीको पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । यता विपक्षमा रहेको गठबन्धनमा कांग्रेसको २२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादी पार्टीको ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी सातदलीय गठबन्धन दुई तिहाइ प्रदेशसभा सदस्य छन् । यस हिसाबले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ ।







