`

सर्वोच्चमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता ढुंगेल पक्राउ

Nepal One HD १० मंसिर २०८२ १५:२५
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुंगेल पक्राउ परेका छन् । ढुंगेललाई चितवनबाट पक्राउ गरिएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएको थियो । सर्वोच्चमा आगजनी भइरहँदा अधिवक्ता समेत रहेका ढुंगेल आक्रोशित रूपमा सुनिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छन् ।

उनले सर्वोच्च अदालत र न्यायाधीशमाथि आक्रोश पोखेर आक्रमण गर्न उक्साइरहेका सुनिन्छन् । सोही कारण जिल्ला प्रहरी परिसर, काठमाडौं प्रहरीले उनलाई खोजी गरिरहेको थियो । सर्वोच्च अदालत प्रशासनले नै अदालतमा आगजनी गर्नेविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको छ । परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) रमेश थापाले ढुंगेल प्रक्राउ परेको पुष्टि गरे । ‘उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ । सुरक्षाको दृष्टिकोणले धेरै कुरा भन्न मिल्दैन,’ उनले भने ।

परिसरका अनुसार ढुंगेललाई प्रहरीले खोजी गरिरहेको थियो । केही दिन अघिको एक संवादमा प्रहरीका उच्च अधिकारीले उनको खोजी भइरहेको र पक्राउ परे अनुसन्धानसहित कानुनी कारबाही गरिने प्रतिक्रिया दिएका थिए । ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता हुन् । उनी २०७९ को स्ववियु निर्वाचनमा ल क्याम्पसको सभापति निर्वाचित भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *