ओली–लेखकसहित पाँच जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी (पासपोर्ट) रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रेमराज सिलवालले आज (मंगलबार) रिट दायर गरेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेको थियो ।
मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन् । उक्त निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै रिट दायर भएको छ । रिटमा उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेश माग गरिएको छ । यो रिट सर्वोच्च प्रशासनले अध्ययनकै क्रममा रहेको बताएको छ ।
