लयमा फर्किदै सर्वोच्च, आजदेखि सबैखाले रिट दर्ता र सुनुवाइ


काठमाडौं । सर्वोच्च अदालतले आज (मंगलबार) देखि सबैखाले रिट दर्ता तथा सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आक्रमणको निशानामा परेको सर्वोच्च विस्तारै लयमा फर्किन थालेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चको सेवा अवरुद्ध भएको थियो ।
आन्दोलनका क्रममा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु गर्न लागिएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता गरी सुनुवाइ गर्ने निर्णय गरेको थियो ।
यसअघि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका थिए । सर्वोच्चको पुरानो भवन गत भदौ २४ गते भएको आगजनीमा पूर्णरूपमा ध्वस्त भएर बस्न नसक्ने भएपछि एनेक्स भवनमा अस्थायी संरचना तयार पारिएको छ । पाँच तल्लाको उक्त भवनको दोस्रो तल्लामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको कार्यकक्ष, मुख्य रजिस्ट्रार विमल पौडेलको कार्यकक्ष र दुई छुट्टा–छुट्टै कोठामा इजलास तयार पारिएको छ । त्यसैगरी, सोही भवनको चौथो तल्लामा अन्य न्यायाधीशहरू, रजिस्ट्रारहरू बस्ने व्यवस्था मिलाइएको छ ।