`

ओलीको प्रश्न : सडकबाट उम्मेदवार मागिएको छ, कस्ता मान्छे आउलान् ?

Nepal One HD २३ पुष २०८२ १६:१३
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त र सुशासनयुक्त देश निर्माण गर्न योजनाबद्ध रूपमा काम अघि बढाएको स्मरण गराउँदै अप्रत्याशित चुनौतीहरूको सामना गर्नु परेको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीले देशलाई जोगाएर ल्याएका छौं । सबैलाई थाहा छ, एमालेको दृष्टिकोण र अडान स्पष्ट छ र यो निरन्तर जारी रहन्छ । हामी राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा कायम छौं ।’

उनले वर्तमान समयमा देशलाई जात, भूगोल र भाषाभाषामा विभाजित गर्न खोज्ने प्रयास भइरहेको बताए । साथै उनले सञ्चारमाध्यम र बौद्धिक जगत पर्याप्त सतर्क नभएकोमा चिन्ता व्यक्त गर्दै भने, ‘भावनामा बगेको देखिन्छ । भावनामा बगेर देश विकास हुँदैन, सुशासन आउँदैन, भ्रष्टाचार रोकिँदैन ।’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उम्मेदवार आह्वान गर्ने प्रक्रियामा पनि टिप्पणी गर्दै भने, ‘उम्मेदवार छान्न सडकबाट दरखास्त मागिएको छ । यसरी आह्वान गर्दा कस्ता मान्छे आउलान् ? झोला भरिएका कि मस्तिष्क भरिएका ? देश चलाउन सक्ने कि हल्ला फैलाउने ? सत्य बोल्ने कि झूठ प्रचार गर्ने ?’ उनले यसलाई देशको राजनीतिक प्रक्रियामा गरिएको ‘मजाक’ को रूपमा वर्णन गरे ।

अध्यक्ष ओलीले थपे, ‘राजनीति र राजनीतिक दलसँग मजाक गर्नु हुँदैन । यस्तो खेलबाडले देशको भविष्य जोखिममा पर्छ । यस समयमा सञ्चारमाध्यम र बुद्धिजीवीहरूले विशेष सजगता अपनाउनु पर्छ, तर त्यो भएको छैन ।’ ओलीले आफ्नो सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन र राष्ट्रिय विकास रहेको दोहो¥याए । उनले भने, ‘हामी चुनौतीहरूको बाबजुद पनि योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ र हाम्रो अडान स्पष्ट छ । देशलाई बचाउन र समृद्ध बनाउन निरन्तर प्रयास जारी रहनेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *