`

ओलीको हस्ताक्षरसहित साढे ६ लाख बढीलाई एमालेको चुनावी चिठ्ठी

Nepal One HD ११ माघ २०८२ १२:०४
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका संगठित सदस्यहरूलाई लक्षित गर्दै हस्ताक्षरसहितको व्यक्तिगत चिठ्ठी पठाएका छन् । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै अध्यक्ष ओलीले ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यलाई एकैसाथ चिठ्ठी पठाएको एमालेले जनाएको छ ।

चिठीमार्फत अध्यक्ष ओलीले आगामी निर्वाचनलाई देशको भविष्यसँग जोडिएको निर्णायक लडाइँका रूपमा चित्रण गरेका छन् । उनले निर्वाचनले ‘देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हार–जितको फैसला गर्ने’ उल्लेख गर्दै देश निर्माणका लागि एमालेको बहुमत अपरिहार्य रहेको स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन उच्च मनोबलका साथ सक्रिय भूमिका खेल्न सबैलाई आग्रह गरेका छन् । ‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’, चिठ्ठीमा उल्लेख गर्दै उनले बहुमत सुनिश्चित गर्न पार्टीका उम्मेदवारहरूको विजय अनिवार्य रहेको बताएका छन् । चिठीमा विध्वंस, आगजनी र अराजक प्रवृत्तिविरुद्ध निर्वाचनमार्फत निर्णायक रूपमा परास्त गर्नुपर्ने सन्देश पनि दिइएको छ । एमालेले यस्ता प्रवृत्तिलाई चुनावी मैदानबाटै विदा गर्नुपर्ने धारणा अध्यक्ष ओलीले व्यक्त गरेको जनाएको छ ।

एमालेका अनुसार चिठी हाल संगठित सदस्य रहेका व्यक्तिसँगै विगतमा सदस्य भएर नवीकरण नगरेका केही व्यक्तिहरूलाई समेत पुगेको छ । चिठ्ठी प्राप्त भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा पनि पोस्ट गर्न थालेका छन् । यसअघि पनि अध्यक्ष ओलीले यस्तै विषयवस्तु समेटिएको चिठ्ठीी केन्द्रीय सदस्यहरूलाई पठाइसकेका थिए । निर्वाचन केन्द्रित अभियानलाई तीव्र बनाउन पार्टी नेतृत्वले प्रत्यक्ष संवादको माध्यमका रूपमा चिठ्ठी अभियान अघि बढाएको एमालेको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *