`

एमालेले सबै १६५ क्षेत्रमा उम्मेदवार उतार्दा आधा भन्दा बढी नयाँ अनुहार (सूचीसहित)

Nepal One HD ७ माघ २०८२ १६:३४
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । यस पटक एमालेले उम्मेदवार छनोटमा उल्लेख्य रूपमा नयाँ अनुहारलाई प्राथमिकता दिएको देखिएको छ ।

पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले अघि सारेका कुल उम्मेदवारमध्ये ५४.५४ प्रतिशत पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने नयाँ अनुहार हुन् । यसलाई संगठन नवीकरण र नेतृत्व विकासको निरन्तर प्रक्रियाको रूपमा एमालेले व्याख्या गरेको छ ।

प्रदेशगत विवरण हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा धेरै अर्थात् ७५ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् । त्यसपछि गण्डकी प्रदेशमा ६१.११ प्रतिशत र बागमती प्रदेशमा ६०.६० प्रतिशत नयाँ अनुहार समेटिएका छन् । कोशी प्रदेशमा ५३.५७ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् भने मधेस र सुदूरपश्चिम प्रदेशमा नयाँ र पुराना उम्मेदवारको अनुपात बराबर ५०–५० प्रतिशत रहेको छ । सबैभन्दा कम नयाँ उम्मेदवार लुम्बिनी प्रदेशमा देखिएको छ, जहाँ ४२.३० प्रतिशत मात्रै नयाँ अनुहार रहेका छन् ।

यद्यपि, प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिलाको उम्मेदवारी संख्या भने सीमित देखिएको छ । एमालेले बर्दिया–२ बाट विमला विकलाई उम्मेदवार बनाएको छ । त्यसैगरी तनहुँ–१ बाट भगवती न्यौपाने, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे, धनुषा–३ बाट जुली महतो, बारा–३ बाट ज्वालाकुमार साह, पर्साबाट रिमाकुमारी यादव र सुनसरी–३ बाट भगवती चौधरी उम्मेदवार छन् ।

पूर्वी पहाडी जिल्लामा सोलुखुम्बुबाट कल्पना राई, ओखलढुंगाबाट अस्मिता थापा र उदयपुर–१ बाट दुर्गा थापा स्वस्ती प्रतिनिधि सभा सदस्यका लागि एमालेको उम्मेदवार बनेका छन् । एमालेले नयाँ अनुहारलाई अघि सारेर संगठनलाई थप सुदृढ बनाउने, जनतासँग नयाँ ऊर्जा र भरोसासहित जानु नै यसपटकको उम्मेदवारी रणनीति रहेको दाबी गरेको छ । पार्टीले सार्वजनिक गरेको १६५ निर्वाचन क्षेत्रको उम्मेदवार सूचीमार्फत आगामी निर्वाचनमा व्यापक प्रतिस्पर्धा गर्ने तयारी पूरा भएको जनाएको छ ।

हेर्नुस् सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *