ताप्लेजुङमा योगेश भट्टराईको खोसियो टिकट, क्षितिज थेबे एमाले उम्मेदवार
काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा उम्मेदवार परिवर्तन गरेसँगै पार्टीभित्र शक्ति संघर्ष र असन्तुष्टि सतहमा आएको छ । यसअघि दुई पटक सोही क्षेत्रबाट विजयी भएका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिई एमालेले राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट ‘होल्ड’ गरे पनि आइतबार त्यो निर्णय थेबेको पक्षमा टुंगिएको हो । ‘निर्णय हिजै भएको हो, आज सार्वजनिक मात्र भएको हो,’ थेबेले बताएका छन् । यस निर्णयसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव भट्टराईबीच लामो समयदेखि चलिरहेको राजनीतिक तनाव फेरि एक पटक सार्वजनिक रूपमा देखिएको छ ।
भट्टराईको असहमति र ओलीको सन्देह
टिकट खोसिएको विरोधमा योगेश भट्टराईले सचिवालयको निर्णयविरुद्ध औपचारिक रूपमा ‘नोट अफ डिसेन्ट’ (लिखित असहमति) दर्ता गराएका छन् । उनले उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड नबनाइएको, नेतृत्वको इच्छा र पक्षधरतालाई प्राथमिकता दिइएको तथा महाधिवेशनको प्रतिष्पर्धालाई आधार बनाएर निर्णय गरिएको आरोप लगाएका छन् ।
भट्टराई निकट स्रोतका अनुसार अध्यक्ष ओलीले ताप्लेजुङको टिकट ‘होल्ड’ गरेर भट्टराईलाई गुन्डुस्थित निवासमा आएर सुलह गर्ने अपेक्षा गरेका थिए । तर भट्टराई त्यहाँ नगई निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै असहमति दर्ता गराएपछि ओली थप कठोर बनेको बताइन्छ ।
एमालेको ११औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध खुलेर उम्मेदवारी दिएका भट्टराई त्यसयता पार्टीभित्र आलोचनात्मक धारमा देखिँदै आएका थिए । उनी पुनः सांसद बनेमा संसदीय दलमै चुनौती खडा हुन सक्ने आंकलनका कारण ओलीले टिकट रोकेको विश्लेषण पार्टीभित्र व्यापक छ।
चार बुँदे असहमति : भट्टराई के भन्छन् ?
भट्टराईले आफ्नो नोट अफ डिसेन्टमा मुख्यतः चार विषय उठाएका छन्–
स्पष्ट मापदण्डको माग : योग्यता, क्षमता, निष्ठा र निरन्तरताका आधारमा उम्मेदवार छनोट हुनुपर्ने ।
महाधिवेशनको प्रतिष्पर्धाबाट मुक्त निर्णय : गुटगत आँखाबाट उम्मेदवार चयन गर्दा पार्टी एकता कमजोर हुने चेतावनी ।
चुनौतीपूर्ण क्षेत्रमा नेतृत्व जानुपर्ने : सुरक्षित क्षेत्र खोज्ने प्रवृत्तिले कार्यकर्तामा गलत सन्देश जाने टिप्पणी ।
कार्यकर्तामाथि अन्याय : पद र पहुँचका आधारमा टिकट बाँड्दा तल्लो तहका स्वाभिमानी कार्यकर्ता पीडित भएको निष्कर्ष ।
उनले यी आधारमा निर्णय भएको भए पार्टीमा अभूतपूर्व एकता र चुनावी उत्साह सिर्जना हुने दाबी गरेका छन् । यद्यपि अन्त्यमा उनले पार्टी निर्णयलाई स्वीकार गर्दै सबैलाई एमालेको विजयका लागि एकताबद्ध हुन आह्वान गरेका छन् ।
व्यापक टिकट कटौती र सन्तुलनको प्रयास
शनिबारको सचिवालय बैठकले १४० भन्दा बढी क्षेत्रका उम्मेदवार टुंग्याउँदा यसअघि चुनाव जितेका १३ जना सांसदको टिकट काटिएको थियो। त्यसमा तारा लामा तामाङ, ठाकुर गैरे, गोकुल बाँस्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा, ऐन महरलगायत परेका थिए । यद्यपि आइतबार केही निर्णय सच्याइँदै तामाङ र साँवालाई टिकट दिने सहमति बनेको छ ।
महाधिवेशनमा अध्यक्ष, महासचिव, उपाध्यक्ष र सचिव पदमा प्रतिष्पर्धा गरेका धेरै नेताहरू टिकटबाट वञ्चित भएका छन् । पोखरेल समूहका अधिकांश नेताले टिकट नपाउँदा भागीरथ सापकोटाले भने नवलपुर–१ बाट अवसर पाएका छन् ।
ताप्लेजुङमा नयाँ अनुहार, पुरानो विवाद
ताप्लेजुङमा एमालेले युवा नेतृत्व अघि सारेको तर्क गरे पनि योगेश भट्टराई जस्ता स्थापित नेताको बहिर्गमनले पार्टीको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएको छ । क्षितिज थेबे उम्मेदवार बनेसँगै चुनावी प्रतिष्पर्धा कस्तो मोड लिन्छ र भट्टराईको असन्तुष्टिले एमालेको सांगठनिक एकतामा कति असर पार्छ–यो विषय आगामी दिनमा अझ चर्किने देखिन्छ ।
