`

निर्वाचनमा एमालेका थेवेलाई युवा परिचालनको जिम्मेवारी

Nepal One HD २२ पुष २०८२ १५:०८
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको चुनावी तयारीलाई गति दिन प्रमुख जिम्मेवारीहरु बाँडफाँड गरेको छ । यसै क्रममा, पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई निर्वाचन परिचालन संयोजक र क्षितिज थेबेलाई युवा परिचालन संयोजक बनाइएको छ ।

क्षितिज थेबे युवा परिचालनको जिम्मेवारी पाउँदा पार्टी नेतृत्वले उनले आफ्नो संगठनात्मक क्षमता र युवामाझको लोकप्रियतामा भरोसा राखेको बताएको छ । थेबे हाल युवासंघ अध्यक्षको रुपमा सक्रिय छन् र संगठन विस्तार, राजनीतिक प्रशिक्षण, तथा युवाको वैचारिक सशक्तिकरणमा निरन्तर भूमिका खेल्दै आएका छन् । पार्टीका नेताहरूको अनुसार, ‘आसन्न निर्वाचनमा युवाको भूमिका निर्णायक हुने भएकाले उनीहरूलाई योजनाबद्ध, एकताबद्ध र परिणाममुखी ढंगले परिचालन गर्नु आवश्यक छ ।’ यसै आवश्यकतालाई ध्यानमा राख्दै थेबेलाई केन्द्रीय स्तरमा युवासंघ संरचनालाई समन्वय गर्ने जिम्मेवारी दिइएको हो ।

थेबेको नेतृत्वमा देशभरका युवासंघका संरचनाहरू चुनावी अभियानमा सक्रिय हुनेछन् । यस अन्तर्गत घरदैलो अभियान, मतदाता शिक्षा, सामाजिक सञ्जाल अभियान, चुनावी अनुशासन कायम गर्ने कार्यहरू अघि बढाइने योजना रहेको पार्टीले जनाएको छ । यस्तै, क्षितिज थेबे ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस पनि भएका छन् । स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मको अनुभव, युवामाझको स्वीकार्यता र निरन्तर राजनीतिक सक्रियताका कारण उनलाई सम्भावित उम्मेदवारका रुपमा अघि सारिएको बताइएको छ । ताप्लेजुङमा उनको सिफारिसले स्थानीय नेता र कार्यकर्तामा उत्साह थपेको छ ।

क्षितिज थेबेले युवाहरुलाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि एकताबद्ध गराउने बताएका छन् । उनले भने, ‘युवाशक्ति परिवर्तनको मूल शक्ति हो । आसन्न निर्वाचनमा युवाको सक्रिय सहभागितामार्फत पार्टीलाई जनताको बलियो विश्वास दिलाउने हाम्रो लक्ष्य हो ।’ पार्टीको युवा परिचालन रणनीतिमा उनले संगठनात्मक विस्तार, प्रशिक्षण र अनुशासनलाई प्राथमिकता दिने योजना बनाएका छन् । यसरी युवालाई चुनावी अभियानमा सक्रिय गराउने कार्यले एमालेको निर्वाचन तयारीलाई थप बल दिने विश्वास गरिएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *