चुनाव फागुन २१ मै हुनुपर्छ, उम्मेदवार बन्ने मन्त्रीले राजीनामा दिनुपर्छ : योगेश भट्टराई
मोरङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी बनाउन बहालवाला पार्टीका मन्त्रीहरूले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले मन्त्री पदमै बसेर चुनावी प्रतिस्पर्धामा उत्रिनु नैतिक र व्यावहारिक दुवै दृष्टिले गलत हुने तर्क गरे । निर्वाचनमा सत्ताको दुरुपयोग हुने आशंका औंल्याउँदै उनले लोकतान्त्रिक अभ्यासको मर्यादा कायम गर्न मन्त्रीहरूले जिम्मेवारी त्याग्नु अनिवार्य रहेको बताए ।
विशेषगरी हालै रास्वपामा समाहित भएका मन्त्री कुलमान घिसिङतर्फ संकेत गर्दै भट्टराईले भने, ‘निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न मन्त्री पदमा रहेर चुनाव लड्नु उपयुक्त हुँदैन । यस्तो अवस्थामा राजीनामा दिनु नै सही विकल्प हो ।’ घिसिङले मन्त्री पदबाट राजीनामा दिनुपर्ने विषय पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक रूपमा उठिरहेको छ ।
उनका अनुसार आगामी माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने कार्यतालिका रहेकाले त्यसअघि नै मन्त्रीहरूले पद छाड्नु उचित हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला दिनमा व्यक्त गरेका प्रतिबद्धता स्मरण गराउँदै उनले सरकारबाट शक्ति दुरुपयोग हुन सक्ने सम्भावनाप्रति सचेत रहनुपर्ने बताए । निर्वाचनको मिति र परिस्थितिबारे पनि भट्टराईले ध्यानाकर्षण गराए। फागुन २१ गते तराई–मधेश क्षेत्रमा होली पर्व पर्ने र हिमाली क्षेत्रमा सम्भावित हिमपातका कारण मतदान प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले आवश्यक परे निर्वाचनलाई विभिन्न चरणमा सम्पन्न गर्ने विकल्पबारे सरकार गम्भीर हुनुपर्ने सुझाव दिए । ‘संक्रमणकाल अनावश्यक रूपमा लम्बिँदा संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै संकट आउन सक्छ’, उनले भने, ‘त्यसैले तोकिएको समयमै निर्वाचन हुनुपर्छ र सरकारले मतदाताले ढुक्कसँग मतदान गर्न पाउने सुरक्षित वातावरण निर्माण गर्नुपर्छ ।’
पार्टीको आन्तरिक राजनीतिबारे धारणा राख्दै भट्टराईले नेकपा एमाले महाधिवेशनको म्यान्डेटअनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने दाबी गरे । महाधिवेशनमा भएको प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भन्दै उनले पराजित पक्षलाई कारबाही गरिने भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनका अनुसार पार्टी अहिले आन्तरिक विवादभन्दा बाहिर निस्कँदै पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित भइसकेको छ । यसैबीच ताप्लेजुङ जाने क्रममा एमाले नेता भीम रावल र उपमहासचिव भट्टराई एउटै विमानबाट विराटनगर अवतरण गरेका थिए । विमानस्थलमा नेता वासिम आलमलगायत कार्यकर्ताहरूले भट्टराईलाई खादा लगाएर स्वागत गरेका थिए ।
