`

नेपालमा पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधको राजनीति टुसायो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधको राजनीतिले जरा गाड्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधको राजनीतिक अभ्यास अब नेपाली राजनीतिमा पनि देखिन थालेको टिप्पणी गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले अहिलेको राजनीति अत्यधिक सत्ताकेन्द्रित बन्दै सैद्धान्तिक जग गुमाउँदै गएको परिणाम स्वरूप यस्तो अवस्था आएको बताए । उनले लेखेका छन्, ‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रष्ट संकेत दिन थालेका छन् ।’

बास्कोटाका अनुसार सत्तामै केन्द्रित राजनीति कमजोर बन्दै जाँदा घृणा, बदला र टकरावको राजनीति हावी हुने जोखिम बढेको छ । उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतालाई क्षति पु¥याउने भन्दै सचेत गराएका छन् । ‘यो अति सत्ताकेन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्,’ भन्दै उनले राजनीतिक दलहरूलाई आत्मसमिक्षा गर्न आग्रह गरेका छन् ।

ओलीलाई बयानका लागि पत्र काट्दै जाँचबुझ आयोग, नआए के हुन्छ ?

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले अनुसन्धानलाई राजनीतिक तहसम्म विस्तार गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई औपचारिक रूपमा पत्र पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । उनले ओलीको बयान अझै बाँकी रहेकाले आयोगले करिब एक साताको समय दिएर बयानका लागि उपस्थित हुन आग्रह गर्ने तयारी गरेको बताए । ‘ओलीजीलाई बोलाउने प्रक्रियामा छौं । आउनु भएन भने त्यसबारे आवश्यक निर्णय समयमै हुन्छ’, अध्यक्ष कार्कीले भने, ‘उहाँका लागि प्रश्नपत्र समेत तयार भइसकेको छ ।’

आयोगका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान प्रक्रिया पूरा भइसकेको छ । लेखकसँग सोमबार र बुधबार गरी दुई चरणमा बयान लिइएको थियो । आयोगले यसअघि आन्दोलनका बेला फिल्डमा खटिएका सुरक्षाकर्मी र प्रशासनिक निकायका उच्च अधिकारीहरूसँग पनि विस्तृत बयान लिइसकेको जनाएको छ । यस क्रममा तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालगायतको बयान लिइएको आयोगले जनाएको छ ।

सुरक्षा र प्रशासनिक निकायका जिम्मेवार पदाधिकारीको बयान सकिएपछि आयोग राजनीतिक नेतृत्वको भूमिकाबारे अनुसन्धानमा केन्द्रित भएको हो । आयोग अध्यक्ष कार्कीका अनुसार आयोगको कार्यावधि एक महिना थप गरिएको छ र थपिएको समयभित्र सम्पूर्ण अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा ५ असोजमा गठन गरिएको यस आयोगले घटनासँग सम्बन्धित कागजात, विवरण र प्रत्यक्ष सरोकारवालाको बयानका आधारमा निष्कर्ष निकाल्ने जनाएको छ । आयोगले आन्दोलनका क्रममा भएका घटनामा निर्णय तहमा रहेका व्यक्तिहरूको भूमिकालाई विशेष प्राथमिकताका साथ अध्ययन गरिरहेको बताइएको छ ।

एमालेको समानुपातिक सूचीमा विष्णु पौडेलकोसहित २१ जिल्ला शून्य

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक तर्फको बन्दसूचीले पार्टीभित्रै क्षेत्रीय असन्तुलनको बहस चर्काएको छ । सार्वजनिक सूचीअनुसार देशका ७७ जिल्लामध्ये ५६ जिल्लाबाट मात्र प्रतिनिधित्व भएको छ भने २१ जिल्लाबाट एक जना पनि समेटिएका छैनन् । विशेष गरी झापा र दाङ जस्ता जिल्लाबाट अत्यधिक प्रतिनिधित्व हुँदा रूपन्देही, प्यूठान जस्ता ठूला जिल्लाहरू शून्यमा परेका छन् ।

एमालेको बन्दसूचीमा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (पूर्व), रूपन्देही, सल्यान, पश्चिम रुकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट कुनै पनि प्रतिनिधि समावेश छैनन् । समानुपातिक सूचीमा सबैभन्दा बढी झापाबाट नौं जनाको प्रतिनिधित्व देखिएको छ । झापा ठेगाना भएकामध्ये जनजाति महिला क्लस्टरबाट अनिता सुब्बा, जनजाति पुरुषबाट विद्यानन्द राजवंशी, खस–आर्य महिलाबाट नर्मदादेवी शिवाकोटी, मेनुका काफ्ले र लता प्रसाईं, दलित महिलाबाट निता घतानी, दलित पुरुषबाट जितु दर्जी गौतम र सोम पोर्तेल तथा मधेशी महिलाबाट बिना शाह महतो सूचीमा परेका छन् ।

समानुपातिक बन्दसूचीले लुम्बिनी प्रदेशमा पनि गम्भीर असन्तुलन देखाएको छ । प्रदेशबाट १८ जना समेटिँदा महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट ४ जना समावेश भएका छन् । पाल्पाबाट पनि ४ जना परेका छन् । तर, ५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देही र प्यूठानबाट एक जना पनि नपर्नुले स्थानीय तहमा असन्तोष बढाएको छ । रूपन्देही एमालेका प्रभावशाली नेता तथा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सचिव छविलाल विश्वकर्मा यही जिल्लाका भए पनि समानुपातिक सूचीमा जिल्लाको नामै नपर्नु कार्यकर्ताका लागि चित्तबुझ्दो देखिएको छैन । जिल्लाबाट विभिन्न क्लस्टरमा सिफारिस गरिएका सबै नाम केन्द्रले काटेको पुष्टि भएको छ ।

दाङबाट कोमल वली, एञ्जिला थापा, शान्ता चौधरी र साजिदा खातुन सिद्धिकी सूचीमा परेका छन् । शान्ता चौधरी यसअघि दुई पटक समानुपातिक सांसद भइसकेकी हुन् भने कोमल वली पनि पूर्व सांसद तथा केन्द्रीय कमिटी सदस्य हुन् । पाल्पाबाट ठानेश्वरप्रसाद बस्याल, हिरुसरा राना, ओमबहादुर घर्ती मगर र रोजी खातुन परेका छन् । यस्तै बाँके, रोल्पा, रुकुम पूर्व, गुल्मी, बर्दिया, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लाबाट सीमित संख्यामा प्रतिनिधित्व गरिएको छ ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले समानुपातिक सूची केन्द्रले नै तयार पारेको र प्रदेश–जिल्लासँग पर्याप्त समन्वय नभएको बताएका छन् । रूपन्देही अध्यक्ष यज्ञ गैरेले भने ठूलो निर्वाचन क्षेत्र भएको जिल्लालाई पूरै बेवास्ता गर्नु ‘गम्भीर भूल’ भएको टिप्पणी गरेका छन् । एमालेले ११० जनाको समानुपातिक सूची बुझाइसकेको छ । निर्वाचन आयोगले हाल क्लस्टरअनुसार सूचीको अध्ययन गरिरहेको छ । पुस २० गतेसम्म अध्ययन सकिने, २७ गतेसम्म संशोधन गर्ने, २८ गते नाम फिर्ता लिने र २० माघमा अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । आगामी २१ फागुनमा मतदान हुनेछ ।

यी हुन् एमालेका ११० समानुपातिक उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेका समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । एमालेले सोमबार राति नै आयोगमा सूची बुझाएको भए पनि बुधबार साँझ मात्रै यो सूची सार्वजनिक गरेको हो ।

एमालेले बुझाएको समानुपातिक सूचीमा समुचित प्रतिनिधित्व नभएको, यसअघि समानुपातिक सांसद भइसकेकाहरूलाई पनि उम्मेदवारका रूपमा समावेश गरिएको भन्दै पार्टीभित्रै विरोध भइरहेको छ । त्यसो त उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईले प्रस्ताव गरेका केही नाम बेवास्ता गरेर एकतर्फी रोस्टर बनाइएको भन्दै असन्तुष्टि पनि बढेको छ ।

हेर्नुस् सूची

खस आर्य महिला :

पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द ।

खस आर्य पुरुष

गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी ।

आदिवासी जनजाति महिला :

भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना।

आदिवासी जनजाति पुरुष

रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल ९सौका०, प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ ।

मधेसी महिला

रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव ।

मधेसी पुरुष

चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह ।

दलित महिला

विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी र सावित्रा घिमिरे ।

दलित पुरुष

जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली ।

थारु महिला

मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी र असरादेवी चौधरी ।

थारु पुरुष

कृपाराम राना, शिवप्रसाद चौधरी र जजीर प्रसाद चौधरी ।

मुस्लिम महिला

साजिदा खातुन सिद्धिकी, रुही नाज र रोजीरन खातुन ।

मुस्लिम पुरुष

मोहम्मद हारुन हलवाई र एकवाल मिया ।

एमाले उपाध्यक्षकै जिल्लामा ‘असन्तुष्टि’ : पूर्व सांसद घिमिरेले त्यागे पार्टी, रास्वपा प्रवेशको तयारी

बुटवल । नेकपा एमालेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गृह जिल्ला रुपन्देही पछिल्लो समय तीव्र राजनीतिक तनावको केन्द्र बनेको छ । पार्टीभित्रको असन्तुष्टि, समानुपातिक उम्मेदवार सूचीप्रति आक्रोश र नेतृत्वबीचको शक्ति संघर्षकै बीच पूर्व सांसद वासुदेव घिमिरेले एमाले परित्याग गर्ने घोषणा गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख घिमिरेले एमाले छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू अब एमालेमा नरहेको स्पष्ट पार्दै पार्टी सुधार हुने संकेत नदेखिएको बताएका छन् ।

घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग निकट रहेका थिए । बालेन रास्वपामा आवद्ध भएपछि आफूलाई पनि रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन प्रस्ताव आएको घिमिरेको भनाइ छ । ‘म एमालेमा त रहिनँ, तर प्रस्तावबारे अन्तिम निर्णय भने गरिसकेको छैन’, उनले बताएका छन् ।

यसैबीच, एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा रुपन्देही जिल्लाबाट एक जनाको पनि नाम नपरेपछि जिल्लाभर असन्तुष्टि चुलिएको छ । हिजो साँझ रुपन्देहीका एमाले कार्यकर्ताले बुटवलस्थित पुष्पलाल स्मृति भवन घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । उनीहरूले केन्द्रीय नेतृत्वले उपाध्यक्ष पौडेलको गृह जिल्लालाई अपमान गरेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूको आरोप छ कि समानुपातिक उम्मेदवार सूची महासचिव शंकर पोखरेलको नेतृत्वमा तयार पारिएको हो, जसमा योजनाबद्ध रूपमा रुपन्देहीलाई उपेक्षा गरिएको छ । सूचीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल अगाडि रहे पनि रुपन्देहीका कुनै पनि नेता नसमेटिनु अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।

पार्टीभित्र महासचिव समूहले उपाध्यक्ष पौडेललाई राजनीतिक रूपमा एक्ल्याउने रणनीति अपनाएको आरोप समेत उठेको छ । असन्तुष्ट नेताहरूका अनुसार गत महाधिवेशनमा पौडेल निकट मानिएका लीला गिरी र वासुदेव घिमिरे केन्द्रीय सदस्यमा पराजित गराइनु पनि यही रणनीतिको हिस्सा थियो । अहिले महासचिव पोखरेल निकट भूमिश्वर ढकाललाई रुपन्देही जिल्ला इन्चार्ज बनाउने तयारी भइरहेको चर्चा पनि पार्टीभित्र छ । यही आन्तरिक शक्ति संघर्ष र असन्तुष्टिकै पृष्ठभूमिमा पूर्व सांसद घिमिरेको पार्टी परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले नेतृत्वले जनअपेक्षालाई सम्बोधन गर्न नसकेको भन्दै उनले पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपामा प्रवेश गरेमा उनी आगामी निर्वाचनमा उपाध्यक्ष पौडेलकै निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाले रुपन्देहीको राजनीति थप रोचक बन्ने संकेत देखिएको छ । समग्रमा, एमालेको रुपन्देही संगठन आन्तरिक विवाद, असन्तुष्टि र नेतृत्व संघर्षले कमजोर बन्दै गएको देखिन्छ । पूर्व सांसदको बहिर्गमन र कार्यकर्ताको सडक प्रदर्शनले पार्टी नेतृत्वमाथि दबाब बढ्दै गएको स्पष्ट संकेत दिएको छ ।

बादललाई गोकुलको कटाक्ष : रूख–सूर्य मिलेपछि चुनाव लडे भो त !

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई कटाक्ष गर्दै समानुपातिकबाट नाम फिर्ता लिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लड्ने भए समानुपातिकमा नबस्न सुझाव दिएका हुन् ।

‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो । अझ तिनै रूख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रूख–सूर्य मिलेपछि चुनाव लडे भयो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले । समावेशिताकै बेइज्जत नगर के– त्यो पनि पुरूषले !,’ उनले भनेका छन् । उपाध्यक्ष बादलले मंगलबार कांग्रेस र एमाले मिलेर चुनावमा जानुपर्ने धारणा राखेका थिए । अध्यक्ष केपी ओली सामु नै उनले यस्तो विचार राखेका थिए । यसपछि एमालेभित्र यसले बहस सिर्जना गरेको छ ।

 

 

बादलको बाचा : मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौं

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याएर छोड्ने प्रतिबद्धता जनाएका छन् । मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले यस्तो बाचा गरेका हुन् । उनले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गरे । उनले उक्त घटना नेपालविरोधी जनविरोधीहरूको षड्यन्त्र रहेको बताए । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा ल्याउन नसकेको भए पनि एक दिन कानुनको कठघरामा उभ्याउने दावी गरे ।

उनले भने, ‘दासढुंगा घटना जुन भयो । दासढुंगा घटना जहाँ मदनआश्रितको निधन भएको थियो । त्यो एउटा सडक दुर्घटना थियो वा सुनियोजित दुर्घटना थियो । एउटा हत्या षड्यन्त्र थियो । त्यो बेला यो प्रश्न उठेको थियो । छानबिनले के साबित गर्‍यो, निष्कर्ष के निस्कियो भने नेपालविरोधी जनविरोधीहरूको भयङ्कर षड्यन्त्र थियो । षड्यन्त्रअन्तर्गत नै मदन आश्रितको हत्या गरिएको थियो । हामीले ती हत्याराहरू कानुनको कठघरामा ल्याउन सकिरहेका छैनौँ । तर एक दिन हामी मदन आश्रितको हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौँ ।’

उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते नेपालमा भएको घटना साधारण नभएको बताए । २४ घण्टाभित्र राज्यका तीन वटै अङ्गहरूलाई ध्वस्त बनाइनु, आगजनी गरिनु, राजनीतिक दलका नेताहरूमाथि आक्रमण र आगजनी हुनुले सामान्य नभएको बताए । उक्त घटना जनविद्रोह, जनक्रान्ति वा अग्रगमन नभएको बताउँदै उक्त घटना प्रतिक्रान्ति र प्रतिगमन भएको बताए ।

उनले भने, ‘त्यसको झण्डै तीन दशक भन्दा बढी समयपछि २०८२ मा आउँदा यो प्रश्न उठेको छ । भाद्र २३ र २४ गते जुन घटना भयो नेपालमा । एउटा असाधारण घटना । २४ घण्टाभित्र राज्यका तीन वटै अङ्गहरूलाई ध्वस्त बनाइयो । आगजनी गरियो । राजनीतिक दलका नेताहरूमाथि आक्रमण गरियो, आगजनी गरियो । यो घटना सामान्य घटना होइन । यो असाधारण घटना हो ।’ उनले भने, ‘यहाँको जननिर्वाचित सरकार र सदन दुवै विघटन गरियो । न्यायपालिकालाई आगो लगाइयो । त्यसकारण आज फेरि एउटा प्रश्न उठेको छ । त्यो जनविद्रोह थियो ? जेनजीको आवरणमा गरिएको घटना हो । वा यो प्रतिगमन थियो, प्रतिक्रान्ति थियो ? यो प्रश्न उठेको छ । भदौ २३ र २४ को घटना जनविद्रोह थिएन । जनक्रान्ति थिएन । अग्रगमन थिएन । प्रतिगमन थियो । प्रतिक्रान्ति थियो ।’ उपाध्यक्ष थापाले अहिले नेपाल भूराजनीतिको सिकार भएको बताए । संसद विघटन र जननिर्वाचित सरकार विघटन गरेर लोकतन्त्र अपहरण गरिएको बताएका छन् ।

रास्वपाप्रति ओलीको कटाक्ष : मान्छेहरुले प्रधानमन्त्री बनाइसके, हामी चुनाव पर्खिरहेका छौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार अघि सारिएको भन्दै कटाक्ष गरेका छन् । आज (मंगलबार) मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कटाक्ष गरेका हुन् ।

‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ,’ ओलीले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला या अर्को मंसिरमा होला ।’ फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि रास्वपाले काठमाडौँका मेयर बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले जंगलमा बाघको शिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ ले मोर्चा बनाएको समेत टिप्पणी गरेका छन् । ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको शिकार गर्न सक्दैन,’ अध्यक्ष ओलीले भने । ओलीले यसो भन्दा सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो । उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको आरोप समेत लगाएका छन् । ‘एमाले मात्र होइन, कांग्रेस पनि छ,’ उनले भने, ‘कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ ।’ एमालेले महाधिवेशनबाट धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताएका छन् ।

 

 

एमाले नेता भन्छन्–रवि र बालेनको एकताले खासै अर्थ राख्दैन

काठमाडौँ । नेकपा एमालेका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीच भएको ‘वृहत् एकता’ लाई खासै राजनीतिक महत्व नहुने दाबी गरेका छन् । उनीहरूका अनुसार उक्त सहमतिले न त नेपाली राजनीतिको मूलधारमा ठुलो असर पार्छ, न त जनतामा बलियो प्रभाव छोड्न सक्छ । एमाले नेता मानवीर राईले रवि लामिछाने र बालेन साहबीचको राजनीतिक मिलन वा विमिलन दुवैलाई अर्थहीन ठहर गरे । उनले यी नेताहरूको राजनीति जनआधारित नभएको आरोप लगाउँदै बाह्य प्रभाव र इशारामा चल्ने राजनीति वर्तमान नेपाली परिवेशमा दीर्घकालीन प्रभाव पार्न नसक्ने दाबी गरे ।

राईका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन साह निर्वाचित हुँदा काठमाडौँका जनतामा ठुलो आशा र अपेक्षा थियो । तर समयक्रममा उनका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको उनले आरोप लगाए । काठमाडौँ महानगरभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उल्लेख गर्दै उनले महानगरको प्रत्यक्ष योगदान देखिन नसकेको बताए ।

उनले विकास निर्माणमा ठोस उपलब्धि नदेखिएको आरोप लगाउँदै बालेन साहले मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई हटाउने जस्ता कार्यबाहेक उल्लेख्य काम नगरेको दाबी गरे । विभिन्न राजनीतिक कार्यक्रमहरूमा जरिवाना घोषणा गरेर ‘स्टन्टबाजी’ मात्र गरिएको उनको टिप्पणी छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र हिंसात्मक घटनामा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको आरोप पनि राईले लगाए । उनका अनुसार यसले प्रमुख साहको विकास, समृद्धि र सार्वजनिक सुरक्षाप्रतिको संवेदनशीलता नदेखाएको संकेत गर्छ । उनले ललितपुर महानगरले दमकल पठाएको उदाहरण दिँदै काठमाडौँ महानगरको भूमिकामाथि प्रश्न उठाए ।

राईले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति हाँस्यास्पद भएको टिप्पणी गरे । २०६४ सालमा माओवादीले पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गरे पनि अन्ततः राष्ट्रपति बन्न नसकेको उदाहरण दिँदै उनले बालेन साह सांसद बन्ने विषयमै शंका व्यक्त गरे । साथै, रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर बाहिरिएको पात्र भएको उल्लेख गर्दै उनीहरू जनतामाझ अपेक्षित सफलता हासिल गर्न नसक्ने दाबी गरे ।

यद्यपि एमालेका अर्का नेता लालबाबु पण्डितले भने राजनीतिक दलहरूबीच एकता हुनु सकारात्मक भएको धारणा राखे । उनले नेपालमा राजनीतिक दलहरूको अत्यधिक संख्या अस्थिरताको कारण बनेको बताउँदै ध्रुवीकरण आवश्यक रहेको जिकिर गरे । हाल देशमा १५२ भन्दा बढी दल रहेको उल्लेख गर्दै पाँच वटा जति प्रमुख दलबीच प्रतिस्पर्धा भए मात्र बहुमतको सरकार, राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने उनको भनाइ छ ।

पण्डितले एमाले कुनै पनि गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पार्दै कोही पार्टी मिल्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गलत भएको बताए । उनका अनुसार लोकतन्त्रमा अनुशासन, नैतिकता र समर्पण आवश्यक हुन्छ, नभए राजनीति अवसरवादमा सीमित हुन्छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहबीच आइतबार बिहान ‘वृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिअनुसार निर्वाचनपछि साह संसदीय दलका नेता बन्नेछन् भने रवि लामिछाने पार्टी सभापतिकै रूपमा रहने छन् । पार्टी संरचना भने पूर्ण रूपमा रास्वपाकै रहने उल्लेख गरिएको छ ।

 

जेनजी आन्दोलन रास्वपा र मेयर साहले सत्ता स्वार्थका लागि ‘हाइज्याक’ गर्न खोजे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताए। लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरु मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाई छ । उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उल्लेख गरे ।

उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए । त्यसको लागि नेकपा एमाले तयार रहेको उनको भनाई छ । उनले पवित्र उद्देश्यले भदौमा भएको जेन–जी आन्दोलनलाई रास्वपा र बालेन्द्र साहले सत्तास्वार्थको लागि हाईज्याक गर्न खोजेको भन्दै जेन–जी अगुवाहरुलाई सजक रहन पनि आग्रह गरे ।

उनले भने, ‘लोकतान्त्रिक परिपाटीमा कुनै पनि व्यक्ति वा समूह एकआपसमा मिल्नु र विषय नमिल्दा अलग अलग ढंगले विभाजित हुने कुरालाई अनौठो मान्न सकिदैन । त्यही क्रममा आगामी निर्वाचनलाई ध्यान दिँदै केही राजनीतिक व्यक्ति र शक्तिहरु एकआपसमा मिलेको घोषणा गर्नु भएको छ । त्यसलाई मैले अन्यथा रुपमा लिन चाहन्न । मुख्य कुरा के हो भने नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी पारदर्शी र स्वच्छ बनाउने, हाम्रो खण्डित भएको संवैधानिक प्रक्रियालाई कसरी पुनरलिकमा ल्याउने र नेपालमा स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई कसरी अगाडि बढाउने ? यो आजको दिनमा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

उनले भने, ‘यसका निम्ति राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने हो । नेकपा एमाले कुनैपनि चुनौतीसँग सामाना गर्न तयार छ । जेन–जी आन्दोलन जुन भदौ २३ गते भएको थियो । त्यो हाम्रो नवयुवा पुस्ताहरुको एउटा आन्दोलन थियो, त्यो जागरण थियो । त्यो जागरण सुशासनको निम्ति थियो, भ्रष्टाचार अन्त्य गर्नको लागि थियो, सामाजिक सञ्जाललाई खोल्नपर्ने भन्ने कुराहरुसँग थियो । यी पवित्र मागहरु हुन् ।’

भट्टराईले भने, ‘पवित्र मागहरुसहित पवित्र आत्माहरु त्यो आन्दोनलमा थिए । ती पवित्र माग र पवित्र आत्मालाई कुनैपनि गलत राजनीतिक उदेश्य र व्यक्तिहरुको स्वार्थपूर्ति गर्नको निम्ति प्रयोग नहोस् भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । जेन–जी आन्दोलनका अगुवाहरु पनि यसमा सचेत होउन् । आफ्नो आन्दोलन हाइज्याक गरेर राजनीतिक स्वार्थसत्ताको रोटी सेक्न र व्यक्तिगत स्वार्थको रोटी सेक्न आफ्ना आन्दोलन र एजेण्डा हाईज्याक भए की भन्नेकुरामा जेन–जी अगुवाहरुले पनि ध्यान दिउन् ।’ उपमहासचिव भट्टराईले एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा लागेको पनि बताए । उनले हाल पार्टीमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै आन्तरिक पार्टी एकतलाई बलियो बनाउने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरे । उनले चुनावको तयारीको लागि पार्टीभित्रका आन्तरिक मतभेदहरुलाई थाँती राखेर सबै एकजुट हुन आवश्यक रहेको बताए ।

महेश बस्नेतको टिप्पणी : अब बालेनप्रतिको आकर्षण घट्छ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय देखिएको राजनीतिक उतारचढावप्रति कडा टिप्पणी गर्दै संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्भावित सहकार्यलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

बस्नेतका अनुसार नेपाली राजनीतिमा नयाँ अनुहारलाई बारम्बार ‘आशा’ का रूपमा प्रस्तुत गर्ने तर केही समयमै ती पात्रहरू ‘बासी’ बन्ने प्रवृत्ति दोहोरिँदै आएको छ । उनले गगन थापा, रवि लामिछाने हुँदै बालेन शाहसम्मको उदाहरण दिँदै लोकप्रियताको लहर दीर्घकालीन परिवर्तनको आधार बन्न नसकेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ । गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए–तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ ।’

बस्नेतको भनाइमा बालेन शाहको लोकप्रियता उनको स्वतन्त्र छविसँग जोडिएको थियो । तर विवादित छवि भएका रवि लामिछाने नेतृत्वको दलसँग नजिकिँदै गएपछि त्यो आकर्षण तीव्र गतिमा घट्ने संकेत देखिन थालेको उनले बताएका छन् । ‘बालेनको लोकप्रियता स्वतन्त्र छविकै कारण थियो । रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिना साथ त्यो आकर्षण घट्नु स्वाभाविक हो’, उनले उल्लेख गरेका छन् ।

रास्वपाको राजनीतिप्रति पनि बस्नेतले तीखो टिप्पणी गरेका छन् । उनका अनुसार पुराना दललाई गाली गर्ने र सत्तामा पुग्ने बाहेक स्पष्ट नीति, दिशा र दीर्घकालीन भिजन नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने निश्चित छ । ‘काम गर्ने कालू, मकै खाने भालु’ को उखान प्रयोग गर्दै उनले व्यक्तिवादी स्वार्थमा आधारित राजनीति टिकाउ नहुने जिकिर गरेका छन् । बस्नेतले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध रूपमा मुठभेडमा परिणत गराइएको र त्यसक्रममा केही युवाले ज्यान गुमाउनुपरेको उल्लेख गरेका छन् । साथै, भदौ २४ गते राज्यका आधारस्तम्भ—सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत—माथि आक्रमण गरिएको भन्दै त्यसलाई लोकतन्त्रविरुद्धको गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन् ।

उनको दाबी छ कि यी घटनाहरू नेपाललाई अस्थिर बनाउने भूराजनीतिक षड्यन्त्रको प्रारम्भिक चरण हुन सक्छन् । ‘यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर चिन्ताको विषय हो’, उनले लेखेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै बस्नेतले मुख्य प्रश्न उठाएका छन्–राज्यका संरचना जलाउने अराजक राजनीति रोज्ने कि ती संरचना निर्माण गर्ने र भत्काउनेमाथि कारबाही गर्ने जिम्मेवार राजनीतिलाई साथ दिने ? उनका अनुसार अराजक धारको नेतृत्व बालेन–रविहरूले गरिरहेको देखिन्छ भने संरचना जोगाउने जिम्मेवारी पुराना दलकै काँधमा आएको छ । यद्यपि, उनले समस्या पुराना दलको अस्तित्व नभई तिनभित्रका विकृतिहरू भएको स्पष्ट पारेका छन् । ‘नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीतिक सुधार गर्नु नै आजको आवश्यकता हो’, बस्नेतको निष्कर्ष छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नत्र ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ पिइरहँदा नेपाली जनता फेरि–फेरि उही भ्रमको सिकार भइरहने चेतावनी उनले दिएका छन् ।

 

बालेन–रवि सहमतिबारे पोखरेलको टिप्पणी–षड्यन्त्रको दोस्रो चरणको तयारी शुरु

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको सन्दर्भमा भदौ २३ र २४ गते भएका घटनाका योजनाकार र मतियार क्रमशः सार्वजनिक हुन लागेको दाबी गरेका छन् । उनले ती घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गर्दै अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरु भएको आशंका व्यक्त गरेका छन् ।

सात बुँदे सहमति भएकै दिन बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यस क्रममा केही युवाको ज्यान गएको आरोप लगाएका छन् । उनका अनुसार भदौ २४ गते त्यसैको आडमा मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गर्ने प्रयास भयो । यी सबै गतिविधि कुनै आकस्मिक घटना नभई संगठित विध्वंसको हिस्सा भएको उनको निष्कर्ष छ ।

पोखरेलले उक्त घटनाहरूको पृष्ठभूमिमा रहेको शक्तिको पहिचान अब बाहिरिँदै गएको उल्लेख गर्दै विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै जाने दाबी गरेका छन् । उनले नेपाललाई भूराजनीतिक द्वन्द्वमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर सतर्कता अपनाउनुपर्ने बताए । नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुने प्रक्रियामा रहेको बेला पोखरेलले संविधान र लोकतन्त्रका पक्षधर पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । उनले देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाल राष्ट्रलाई बाह्य भूराजनीतिक खेलको गोटी बन्नबाट जोगाउन सबै पक्षले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

 

‘साउथ फिल्मको हिरो जस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीं पुर्‍याउँदैन’

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दक्षिण भारतीय चलचित्रका नायक जस्तै चमत्कारी पात्रको अपेक्षामा गरिने राजनीति देश निर्माणका लागि उपयोगी नहुने टिप्पणी गरेका छन् । व्यक्तिको भूमिका महत्वपूर्ण भए पनि अन्ततः मुलुक बन्ने आधार विचार, संस्था, प्रणाली र सामूहिक प्रयास हुने उनको तर्क छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चलिरहेको एकता संवादलाई लक्षित गर्दै पछिल्लो समय अनावश्यक ‘हाइप’ सिर्जना गर्न खोजिएको टिप्पणी गरेका छन् । विचार मिलेर सहकार्य हुनु सकारात्मक भए पनि बालेन–रविबीचको नजिकिँदो सम्बन्ध विचारमा आधारित हो कि स्वार्थमा, त्यसको मूल्यांकन समयले गर्ने उनले बताएका छन् ।

ज्ञवालीका अनुसार, देश नबन्नुको कारण केही व्यक्तिहरू नमिल्नु हो भन्ने जस्तो भाष्य सिर्जना गर्नु यथार्थपरक होइन । ‘दक्षिण भारतीय फिल्महरूमा जस्तो नायक रंगमञ्चमा उत्रँदा सबै समस्या क्षणभरमै समाधान हुन्छन् भन्ने कल्पना राजनीतिमा लागू हुँदैन’, उनले लेखेका छन् । यस्ता ‘तिलस्मी’ अपेक्षाले देशलाई सही दिशामा अघि बढाउन नसक्ने उनको निष्कर्ष छ ।

उनले शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, बदलिँदो भूराजनीतिक सन्दर्भमा राष्ट्रिय हितको रक्षा, जलवायु परिवर्तन जस्ता चुनौती, संविधानका विषयमा के संरक्षण र के परिमार्जन गर्ने भन्ने जस्ता गम्भीर प्रश्नमा बालेन–रविबाट स्पष्ट वैकल्पिक दृष्टिकोण नआएको आरोप पनि लगाएका छन् । ज्ञवालीको भनाइमा उनीहरूमा नकारात्मकता, निषेध र घृणाको राजनीति बढी देखिन्छ ।

मिडियामा देखिएको उत्साहप्रति पनि उनले प्रश्न उठाएका छन् । दुई दशकअघि ‘जनसरकार’ घोषणाका बेला देखिएको अत्यधिक प्रचार र त्यसपछि आएको निराशा सम्झँदै ज्ञवालीले ‘मिडिया हाइप’ बाट निर्माण गरिएका बिम्ब दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् । ‘घोडा कति पानीदार हो भन्ने कुरा लामो दौडपछि मात्र थाहा हुन्छ’, उनले उल्लेख गरेका छन् । अन्त्यमा, ज्ञवालीले समाजलाई भावनामा होइन, तर्क र विवेकमा आधारित बनाउन सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै अत्यधिक अपेक्षापछि आउने निराशा पीडादायी हुने चेतावनी दिएका छन् ।

ओलीलाई सरकारका प्रवक्ताले भने–चुनावको वातावरण बनिसक्यो, सुरक्षा व्यवस्था मजबुत बन्छ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित छलफल भएको छ । ओलीसँग भेटेर निस्किएका सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेकाले एमाले पनि चुनावका लागि तयारी गरिरहेको बुझिएको बताएका छन् ।

‘मुख्य राजनीतिक दलको कार्यालयमै गएर पनि नेतासँग कुरा गरियो । राष्ट्रपतिले पनि छलफल शीर्ष नेतृत्वसँग कुरा गर्नु भयो,’ उनले भने, ‘सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ । सरकार पनि तयार छ । निर्वाचनमा भाग लिन आग्रह गर्न पनि म यहाँ आएको थिएँ ।’ उनले ओलीले निर्वाचनको वातावरण बनिसकेकोमा शंका गरेको पनि बताए । ‘सुरक्षा कुरा राम्रो बनाउनु पर्‍यो भन्ने दलको भनाइ त राम्रो हो नि,’ खरेलले भने । चुनाव बहिष्कार गर्ने कुरा छैन । दल दर्ता भइसकेको छ । समन्वय र छलफल गरौँ भन्ने छ ।’

उनले एमाले अध्यक्ष केपी ओलीले सुरक्षाको बारेमा प्रश्न उठाएको बताएका छन् उनले सरकारको तर्फबाट चुनावको वातावरण बनेको जानकारी गराउँदै भोट माग्ने र भोट हाल्ने अवस्था सुरक्षित रूपमा बन्ने कुरामा आश्वस्त पारेको बताए । ओलीलाई सरकारले लगाएको स्थान हदबारेको प्रश्नमा उनले भने, ‘सरकारको लक्ष्य नै निर्वाचन हो, यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू छन् भने, त्यसलाई सहज बनाउनुपर्नेछ भने निर्वाचनको गन्तव्यमा पुग्नको लागि सरकारले त्यो खालको वातावरण बनाउँछ, बनाएरै अघि बढ्नुपर्छ ।’

ओलीको कटाक्ष : देशका चर्चित भनिएका व्यक्ति नशामा भेटिन्छन्

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिने टिप्पणी गरेका छन् । महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका युवाहरूमा कुनै दुव्र्यसनी नरहेको दाबी गरे । उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुव्र्यसनी देखिएन, मेरो भनाइ मन नपरेर, इख मानेर दुव्र्यसनीमा भएकाहरूले पनि छाड्नु भयो भने म धेरै खुशी हुन्थे ।’

उनले महाधिवेशनमा खटिएका कुनै स्वयंसेवकको छेउमा पुग्दा खैनी समेत गनाएको नभेटिएको जिकिर गरे । ‘यस पटक महाधिवेशनमा कसैको छेउमा पनि पुग्दा पनि खैनी गन्हाएको भेटिएन । खैनी भनेको कस्तो चिज छ भने ओठमा एउटा कुनामा च्यापेको छ भने पनि पर–पर गन्हाउँछ थाह भइहाल्छ । खटिएका कोही पनि कुनै पनि लागुपदार्थ, केही तरल पदार्थ प्रयोग गरेर बसेको पाइनँ,’ उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनु हुन्न । मेरो भनाइ मन नपरेर दुर्व्यसन छोड्नु भए म खुशी हुन्छु ।’

 

 

 

 

सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैन : रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै नेकपा एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाएका छन् । एमाले मुख्यालय च्यासलमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले कहिल्यै निर्वाचनको विपक्षमा नरहेको पनि बताए । तर सरकार नै एमालेलाई निर्वाचनबाट वञ्चित गराउन लागेको दाबी गरे ।

एमालेको अध्यक्षमाथि स्थानहद तोकेर एमाले निर्वाचनमा भाग लिन नसक्ने उनले बताए । उनकाअनुसार सरकारले निर्वाचन चाहेको भए एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद तोक्ने थिएन । सरकारले स्थान हद हटाएर निर्वाचनको वातावरण बनाउन पनि उनले आग्रह गरे । उनले चुनावी वातावरण बनाउने काम एमालेको नभई सरकारको भएको बताए । वर्तमान सरकारले निर्वाचन गर्नै नचाहेको र निवार्चन गर्न पनि नसक्ने उनको दाबी छ । हालसम्म बनेका अन्तरिम सरकार सफल भए पनि वर्तमान सरकार असफलताको बाटोमा हिँडेको उनले बताए । अन्तरिम सरकारका मन्त्रीहरु नै दल खोलेर राजनीतिक गतिविधि गरिरहको उनको भनाई छ । उनले मन्त्रिमण्डलमा रहेका सदस्यहरुलाई राजनीतिक गतिविधिमा रोक लगाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘हामी निर्वाचनको विरुद्धमा कहिले पनि थिएनौँ, न थियौँ, न छौँ । तर कुरा के भने नेकपा एमाले पार्टी निर्वाचनमा नआओस् भनेर यो चाहना त सरकारकै हो । यदि यो चाहना नभएको भए, साँच्चीकै नेकपा एमाले चुनावमा आओस् भन्ने सोच सरकारको भएको भए त नेकपा एमालेको अध्यक्षमाथि जुन प्रकारले एउटा स्थानहद तोकेको छ, त्यो स्थानहद त तोक्ने थिएन । पार्टी अध्यक्षलाई स्थानहद तोकेर नेकपा एमाले चुनावमा जानसक्छ र ?’

उनले भने, ‘पहिले नेपाल सरकारले स्थानहदको बारेमा आफ्नो कमी कमजोरी स्वीकार गर्नुप¥यो । स्थानहद हटाउनु प¥यो । नेपालमा अहिलेसम्म जतिपनि अन्तरिम सरकार बन्यो, सबै सरकार सफल भएर गएको छ तर यो सरकारमाथि प्रश्न किन उठ्दैछ ? अहिलेको सरकारको गतिविधि चुनावमैत्री छैन । सरकारमा बस्ने अनि म निर्वाचनमा भाग लिन्छु, पार्टी बनाउँछ, सरकारमा बस्ने मन्त्रिमण्डलका साथीहरुले पहिला जुन राजनीतिक क्रियाकलापहरु गरिरहनु भएको छ, सरकारले त त्यो बन्द गर्नु¥यो नी पहिला । मन्त्रीमण्डलमा बस्ने अनि आफ्नो पार्टी बनाउने सरकार विभिन्न संयन्त्रहरुलाई मिसयुज गर्ने ? त्यो हुनसक्छ ? त्यो कुरामा पनि सरकार सचेत होस् ।’ छानविन आयोगको गतिविधिले निर्वाचन गर्ने वातावरण नै बिगारेको उनको भनाई छ ।

 

 

 

 

 

च्यासल छलफलपछि सरकारका प्रवक्ताले भने–एमाले निर्वाचनमा जान तयार भइसक्यो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन् । सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उनले एमाले तथा राजनीतिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । स्वतन्त्र, भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाई छ । उनले एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको बताए ।

उनले भने, ‘आज अलिकति खुलेर कुराहरु हामी दुवै पक्षबीच भएको छ । त्यसमा के भएको छ भन्दाखेरी नेकपा एमाले तर्फबाट उहाँहरुले स्पष्ट रुपमा भन्नु भएको छ, वातावरण बनाउनुस्, हामी निर्वाचनमा भाग लिन्छौँ भन्ने कुरा नेकपा एमालेको महासचिवबाट स्पष्ट रुपमा आएको छ । सरकारको तर्फबाट हामीले उहाँहरुलाई निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउँछ, चुनाव प्रचारप्रचारको लागि चुनावी अभियानका अगाडी बढ्नको लागि कुनैपनि नेता कार्यकर्ता अथवा जनतलाई कहीँ कतैपनि अवरोध नभईकन खुला रुपमा भोट माग्ने र भोट दिने वातावरण बनाउने कुरामा सरकार प्रतिबद्ध छ भन्ने कुरा हामीले दोहोर्‍याएका छौँ ।’

उनले भने, ‘यो सबै हिसाबले आज नेकपा एमालेसँगको भेटघाट चुनावउन्मुख भएको र चुनावको लागि नेकपा एमाले पनि तयार भएको र सरकारले पनि वातावरण बनाउने कुराहरुमा त्यही रुपमा तयारी अगाडि बढाएको हिसाबले अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडि बढ्यो ।’

उनले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्न सक्ने संकेत गरे । उनले एमालले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने बताए । भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने उनले जानकारी दिए ।

उनले भने, ‘जब तपाईं हामी देश नै सबै चुनावको लागि तयार भयो भने सरकारले चुनावमा भाग लिने राजनीतिक दललाई र तीनका नेताहरुलाई त्यो वातावरण त सरकारले दिनुपर्‍यो । तर सबभन्दा पहिला चुनावमा भाग लिने कुराहरुको स्पष्ट रुपमा राजनितिक दलबाट खास गरेर नेकपा एमालेबाट आज आएको अवस्था छ । त्यो अवस्थालाई सरकारले सकरात्मक रुपमा लिएको छ ।’

प्रवक्ता खरेलले भने, ‘जहाँसम्म स्थानहदका कुराहरु छन् । नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताहरुको सन्दर्भमा स्थानहदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरुलाई हामी के भन्न चाहन्छौँ भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो । सुशासन अर्को महत्वपूर्ण प्राथमिकता हो । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्याण्डेड लिएको छ भनेदेखि यी बाँकी कुराहरुको सन्दर्भमा यी महत्वपूर्ण कुराहरुलाई आत्मसाथ गर्दै कहाँ कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँहरुमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फवाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ ।’ कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातावरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकरात्मक रुपमा लिएर काम अगाडि बढाउने बताए । उनले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि बताए ।

 

च्यासल पुगेका सरकारका प्रवक्तासँग स्थानहद र निर्वाचनको गाँठोबारे संवाद

काठमाडौं । नेकपा एमालेले शीर्ष नेतामाथि लगाइएको स्थानहद र निर्वाचनको वातावरणबारे सरकारसँग स्पष्ट जवाफ मागेको छ । मंगलबार दिउँसो च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पुगेको सरकारी राजनीतिक संवाद समितिसँग महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूले छलफल गर्दै जेनजी आन्दोलन जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहदप्रति जिज्ञासा राखेका थिए ।

छलफलपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले सरकार आफ्नो अधिकार क्षेत्र, विधि, प्रक्रिया र कानुनको सीमाभित्र रहेर निर्वाचनको सम्पूर्ण वातावरण बनाउन प्रतिबद्ध रहेको बताए । आयोगजस्ता अन्य स्टेकहोल्डरले गरिरहेको काममा सरकारको तर्फबाट कुनै प्रतिकूल प्रभाव नपर्ने गरी अघि बढ्ने स्पष्ट पार्दै उनले उठाइएका विषयहरू सुनुवाइ हुनुपर्ने र निर्वाचनमा सहभागी हुने अधिकारलाई पनि नजरअन्दाज गर्न नहुने बताए ।

खरेलका अनुसार एमालेले निर्वाचनको वातावरण बनेमा पार्टी चुनावमा सहभागी हुने स्पष्ट सन्देश दिएको छ । निर्वाचन आयोग सक्रिय रहेको, सुरक्षा निकायहरू उच्च मनोबलका साथ परिचालित रहेको र नेता–कार्यकर्ताले बिना अवरोध प्रचार–प्रसार गर्न पाउने वातावरण सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता एमाले नेताहरूसँग राखिएको उनले जानकारी दिए ।

सरकार नागरिक सरकार भएको दाबी गर्दै खरेलले कसैलाई अन्याय नगर्ने र हुन नदिने प्रतिवद्धता दोहो¥याए। आयोगले लगाएको स्थानहदका विषयमा आयोगको काममा असर नपर्ने गरी, तर निर्वाचन सहभागितासँग जोडिएका जायज मागलाई पनि बेवास्ता नगरी कानुनसम्मत ढंगले समाधान खोजिने उनको भनाइ छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा गठित तीन सदस्यीय राजनीतिक वार्ता समितिले दलहरूसँग छलफल थालेको छ । यसअघि समितिले नेपाली कांग्रेससँग पनि वार्ता गरिसकेको छ ।

 

 

सरकारीले टोली तीन महिनापछि पुग्यो एमाले पार्टी कार्यालय अनुगमनमा

काठमाडौं । सरकारी टोलीले तीन महिनाअघि जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । उच्चस्तरीय राजनीतिक वार्ता समितिले आज एमालेको पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरेको हो । समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा निरीक्षण गरेका हुन् ।

टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग छलफल गरेको छ । यसअघि आजै टोलीले कांग्रेस कार्यालय पनि अनुगमन गरेको थियो । आजै नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो ।

शंकर पोखरेललाई योगेश भट्टराईको फोन : तत्काल सचिवालय बैठक बोलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आसन्न निर्वाचनको तयारीबारे पार्टीभित्र औपचारिक छलफल नदेखिएको भन्दै महासचिव शंकर पोखरेललाई सचिवालय बैठक तत्काल बोलाउन आग्रह गरेका छन् । भट्टराईले मंगलबार पोखरेललाई फोन गरी प्रतिनिधि सभा निर्वाचन तथा राष्ट्रिय सभा चुनावसँग जोडिएका महत्वपूर्ण कार्यतालिका नजिकिँदै जाँदा पनि पार्टीस्तरबाट स्पष्ट तयारी र निर्देशन नआएकोप्रति ध्यानाकर्षण गराएका हुन् । फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुने, पुस १३–१४ मा समानुपातिक सूची बुझाउनु पर्ने, माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता र माघ ११ मा राष्ट्रिय सभा चुनावको कार्यसूची रहेकाले अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

उनका अनुसार विगतमा यस्ता चुनावी प्रक्रियाअघि सचिवालय वा सम्बन्धित कमिटी बैठक बसेर उम्मेदवार छनोटका मापदण्ड तय गर्ने र तहगत कमिटीबाट नाम माग्ने अभ्यास रहँदै आएको थियो । तर यस पटक अहिलेसम्म त्यस्तो औपचारिक तयारी देखिन नसकेको भन्दै बैठक बसेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । विशेष गरी समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियाका लागि स्पष्ट मापदण्ड बनाएर प्रदेश, जिल्ला तथा तल्ला कमिटीलाई निर्देशन दिनुपर्नेमा भट्टराईले जोड दिएका छन् ।

‘समय निकै नजिक आइसकेको छ, बैठक बसेर मापदण्ड बनाइएपछि मात्र व्यवस्थित रूपमा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढ्न सक्छ’, उनले बताएका छन् । एमालेले एकातिर प्रतिनिधि सभाको पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेको छ भने अर्कातिर निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता पनि गराइसकेको छ । यस्तो अवस्थामा पार्टीभित्र चुनावी तयारीलाई औपचारिक र व्यवस्थित बनाउने दबाब बढ्दै गएको देखिन्छ ।

 

 

 

 

गोकुल बास्कोटाको प्रश्न : चुनाव हुँदैन पनि भन्ने भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव हुँदैन भन्ने नेकपा एमालेलगायत दलहरू समानुपातिक सदस्यको नाम बटुल्न थालेको भन्दै टिप्पणी गरेका छन् । बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गरेका हुन् । ‘चुनाब हुँदैन पनि भन्छन् दलहरू फेरि आफै खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन् । कुन पत्याउनु हो ? लाखे !,’ उनले व्यंग्यात्मक शैलीमा लेखेका छन् । एमालेले भने फागुन २१ गतेका लागि घोषित निर्वाचनको विरोध गर्दै आएको छ ।

एमाले अध्यक्ष केपी ओलीले यो सरकारले नगर्ने चुनावको प्रचार गर्दै आएको दाबी गरेका छन् । शनिबार काठमाडौँमा भएको सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमालेले भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको बताएका थिए । एमाले नेता बास्कोटाले पनि आफ्नै दलले भित्रभित्रै निर्वाचनको तयारी गरेको संकेत गरेका हुन् ।

ईश्वर पोखरेलको चेतावनी : पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र सम्मानजनक व्यवहार स्थापित हुन नसके अप्रिय र नोक्सानदायी परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै ११औं महाधिवेशनका प्रत्यासी समेत रहेका पोखरेलले महाधिवेशनले तय गरिसकेका निष्कर्षहरूलाई सबैले इमानदारीपूर्वक पालना गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन् ।

उनले पार्टी नेतृत्वप्रति अन्धसमर्पण होइन, समानता र सम्मानमा आधारित व्यवहारको अपेक्षा स्वाभाविक र आवश्यक भएको स्पष्ट पारेका छन् । नेतृत्व तह र त्यसबाट प्रभावित सबैले यो यथार्थ बुझ्न जरुरी रहेको उल्लेख गर्दै पोखरेलले सम्मानजनक व्यवहार नहुँदा उत्पन्न हुने अप्रिय र हानिकारक परिणामबाट कसरी जोगिन सकिन्छ भन्ने प्रश्नसमेत उठाएका छन् । उनका अनुसार यस्ता व्यवहारले पार्टी मात्र होइन, समग्र आन्दोलनलाई कमजोर बनाउने खतरा रहन्छ ।

पोखरेलले पार्टी रूपान्तरणका लागि निरन्तर बहस, छलफल, विधि र प्रक्रियाबाट गरिएका आधिकारिक तथा संस्थागत निर्णयहरूको पालना अनिवार्य रहेको बताएका छन् । व्यवहारमा काखा–पाखा नगर्ने सुनिश्चितता र विभाजनजस्ता दुर्भाग्यपूर्ण प्रवृत्तिको दृढ विरोध अहिलेको आवश्यकता भएको उनको निष्कर्ष छ । महाधिवेशनका क्रममा नेतृत्व चयनमा समूहगत धारणा देखिए पनि त्यसलाई आधार बनाएर कटाक्ष र आग्रह–प्रेरित टिप्पणी गर्नु पार्टीका लागि लाभदायी नभई थप नोक्सानदायी हुने उनको भनाइ छ ।

उनले अनावश्यक रूपमा पार्टीभित्र तरंग सिर्जना नगर्न आग्रह गर्दै विधि र प्रक्रियाअनुसार भएका निर्णयहरूको निशर्त पालना नै पार्टी एकतालाई मजबुत बनाउने आधार भएको उल्लेख गरेका छन् । पार्टीलाई विभाजित गर्ने कुनै पनि प्रयासको कडा विरोध गर्नुपर्ने र साथसाथै सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न नेतृत्व प्रतिबद्ध हुनुपर्ने पोखरेलको धारणा छ । यिनै मूल्य र आचरणका आधारमा मात्र पार्टी नेतृत्वको वैधता र प्रतिरक्षा सम्भव हुने उल्लेख गर्दै उनले सबै प्रकारका षड्यन्त्रलाई पराजित गर्दै नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

 

सरकार बनेको विषय सर्वोच्चमा विचाराधीन रहँदासम्म चुनाव हुन सक्दैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट तय गर्ने सरकारको तयारीप्रति तीव्र आपत्ति जनाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार निर्वाचन तयारीबारे आयोजना गरेको छलफलमा उनले अध्यादेशमार्फत यस्तो व्यवस्था ल्याउन खोजिएको भन्दै लोकतान्त्रिक मर्मविपरीत भएको बताए ।

बस्नेतका अनुसार सरकारले पछिल्लो समय निरन्तर अध्यादेश ल्याइरहेको छ र त्यसप्रति एमालेको असहमति छ । ‘अध्यादेश पूरै अध्ययन गर्न नपाए पनि सुनेअनुसार दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट मर्यादाक्रम तोक्ने व्यवस्था राखिएको छ,’ उनले प्रधानमन्त्रीकै सामु भने, ‘विगतमा दलले पाएको मतको आधारमा चिन्हको मर्यादा तय गर्ने परम्परा थियो । त्यसलाई तोड्नु गम्भीर असन्तुष्टि रोप्नु हो ।’ उनले राष्ट्रपतिबाट पुस ४ गते जारी प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेशतर्फ संकेत गर्दै गोला प्रथाबाट चुनाव चिन्ह छान्ने व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारे । पुराना र स्थापित राजनीतिक दललाई निषेध गरेर निष्पक्ष निर्वाचन सम्भव नहुने उनको भनाइ थियो ।

‘तपाईंहरूको जिम्मेवारी चुनाव गराउने हो । सर्वोच्चको फैसला र कुनै सहमति नआएसम्म दलहरूबीच समझदारी खोज्नु पर्छ,’ उनले भने, ‘पुराना दललाई गाली गरेर वा पन्छाएर चुनाव हुँदैन ।’ बस्नेतले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी दोहो¥याउँदै एमाले त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको स्मरण गराए । यही अवस्थाबीच फागुन २१ गते निर्वाचन हुनेमा आफूलाई विश्वास नरहेको उनले बताए । ‘हामी सैद्धान्तिक रूपमा निर्वाचनको पक्षमा छौं,’ उनले भने, ‘तर असंवैधानिक ढंगले सरकार बनेको विषय सर्वोच्चमा विचाराधीन रहँदा चुनाव हुन सक्दैन ।’ ११ औँ महाधिवेशनबाट एमाले सचिवमा निर्वाचित बस्नेत दलको प्रतिनिधित्व गर्दै सर्वदलीय बैठकमा सहभागी भएका हुन् ।

 

 

पोखरेलसहित देउवा भेट्न फेरि महाराजगञ्ज पुगे ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । महासचिव शंकर पोखरेललाई लिएर ओली सोमबार दिउँसो देउवाको अस्थायी निवास पुगेका हुन् । राष्ट्रियसभा निर्वाचनको तयारीबारे छलफल गर्न ओली देउवाकोमा पुगेका स्रोतले बतायो । दुवै नेताबीच अहिले भेटवार्ता जारी छ ।

अध्यक्ष निर्वाचित भएपछि उनी देउवालाई भेट्न पुगेका हुन् । ओली महाराजगञ्ज पुगेको यो दोस्रो पटक हो । यसअघि मंसिर १९ मा देउवालाई भेट्ने ओली महाराजगञ्ज पुगेका थिए । सिंगारपुरबाट उपचार गरेर फर्केका देउवा दम्पत्तिलाई भेट्न पत्नी राधिका शाक्यलाई पनि सँगै लगेर गएका थिए । त्यतिवेला पारिवारिक भेटघाट भनिएको थियो । त्यस लगत्तै कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको थियो ।

एमाले नेता ज्ञवालीको टिप्पणी : पूर्व राष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो

काठमाडौँ । नेकपा एमालेका पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनः स्थापना हुनसक्ने आशयको अभिव्यक्ति दिएकोप्रति तीव्र असहमति जनाएका छन् । उनले उक्त अभिव्यक्तिलाई अचम्मलाग्दो भन्दै आफू उभिएको राजनीतिक धरातलप्रतिकै विश्वास डगमगाएको संकेत गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले लोकतान्त्रिक आन्दोलनबाट स्थापित गणतन्त्र, संविधान र पार्टीको वैचारिक यात्रालाई कमजोर बनाउने खालका अभिव्यक्तिले पार्टी र समग्र लोकतान्त्रिक शक्तिलाई गलत सन्देश जाने बताएका छन् । पूर्व राष्ट्रपतिले दिएको अभिव्यक्ति सुन्दा आफूलाई उदेक लागेको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्–आफैले लामो समय योगदान दिएको राजनीतिक आधारप्रति विश्वास किन कमजोर भयो ?

ज्ञवालीले पार्टीभित्र हालै देखिएका केही गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । महाधिवेशन सम्पन्न भइसकेपछि पनि पार्टीको अनुमोदित नेतृत्वलाई चुनौती दिने गरी छुट्टाछुट्टै भेला र गतिविधि गर्नु अपेक्षित नभएको उनको भनाइ छ । महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको उल्लेख गर्दै त्यसले गरेका निर्णयलाई अन्तिम नमान्ने हो भने पार्टी अन्तहीन बहसको घेरामा फस्ने चेतावनी दिएका छन् ।

उनका अनुसार नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नको समाधानका लागि नै एक वर्ष अगावै महाधिवेशन आयोजना गरिएको थियो । महाधिवेशनले ती सबै प्रश्नको स्पष्ट, द्विविधारहित उत्तर दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको अवस्थामा पनि पुरानै मुद्दा बोकेर अघि बढ्नु पार्टीका लागि घातक हुने उनको निष्कर्ष छ ।

महाधिवेशनअघिको ‘दुई लाइनको संघर्ष’, निरन्तर प्रतिवाद र खोक्रो एकताको बहसमा अल्झिरहँदा पार्टीले आफ्नो गन्तव्य भेट्न नसक्ने उनले स्पष्ट शब्दमा बताएका छन् । पछिल्ला तीन महिनाको छोटो अवधिमै पार्टीलाई संगठित गरी एक बिन्दुमा ल्याउन सफल भएको दाबी गर्दै ज्ञवालीले अब त्यस उपलब्धिलाई अझ ठूलो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नुपर्ने धारणा राखेका छन् ।

उनले लोकतन्त्र बहाली, संविधानको रक्षा, राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रालाई अझै जित्न बाँकी रहेको उल्लेख गरेका छन्। पार्टीको सम्पूर्ण शक्ति र ऊर्जा यिनै विषयमा केन्द्रित हुनुपर्ने बेला पुराना विवाद र अप्रासंगिक बहसले ध्यान विचलित गरिरहेको उनको भनाइ छ ।

पूर्व राष्ट्रपतिको राजतन्त्रसम्बन्धी अभिव्यक्तिले लोकतान्त्रिक आन्दोलनको उपलब्धिमाथि प्रश्न उठाएको भन्दै ज्ञवालीले यस्तो धारणा सार्वजनिक व्यक्तित्वबाट आउनु गम्भीर विषय भएको संकेत गरेका छन् । उनले पार्टी र देश दुवैलाई अगाडि बढाउन स्पष्ट वैचारिक अडान, एकता र जिम्मेवार अभिव्यक्ति अपरिहार्य भएको निष्कर्ष निकालेका छन् ।

 

‘केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि विरोध हुनेगरी कुनै कामै नगरेको दावी गरेका छन् । नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले झपार्दै भने– ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नु हुँदैन । आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका ? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ? हामी यस्तो कुराबाट प्रभावित हुनु हुँदैन ।’ ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए ।

ओलीले भने, ‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो । यसैले एमालेमा अब कुनै प्यानल छैन ।’ सो बैठकमा बोल्दै ओलीले महाधिवेशनमा प्यानल बनाएर प्रतिष्पर्धा गरे पनि अब कुनै प्यानल नरहेको बताए ।

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गरिने
नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गरिने छ । यस्तै ११औँ महाधिवेशनपछि बसेको पहिलो बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते राखेको छ । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी गठन हुनेछ । एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहेका छन् ।

 

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटी बैठक आज बसेको छ । काठमाडौंमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनसमेत गरेका छन् । बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न प्रस्ताव राखेका छन् । जसमध्ये नेताहरूको कार्यविभाजन सचिवालयले तोक्ने प्रस्ताव समावेश छ। एमालेमा १९ सदस्यीय सचिवालय छ । प्रस्तावअनुसार अब कसलाई के जिम्मेवारी दिने भन्ने विषय सचिवालयले तोक्नेछ ।

साथै अर्को केन्द्रीय कमिटी बैठक तीन सातापछि फेरि बस्नेछ । केन्द्रीय निकायअन्तर्गत सल्लाहकार परिषद गठनको पनि बैठकमा प्रस्ताव गरिएको छ । यस्तो परिषद कम्तीमा २५ सदस्यीय रहनेछ । साथै विधान संशोधन र परिमार्जन गर्दै प्रकाशन गर्ने प्रस्ताव छ । एमाले ११ औं महाधिवेशन उद्घाटन भएर बन्द सत्र सुरू नहुँदै गर्दा केन्द्रीय कमिटी बैठक गरेर पुरानै विधान ब्युँत्याइएको थियो । जसअनुसार सचिवालय, केन्द्रीय कमिटीको आकार बढाइएको थियो ।

ओलीले भने–एमालेमा गुट सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दा बनेको प्यानल महाधिवेशन सकिएसँगै सिद्धिएको बताएका छन् । नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का रहेको उनले बताए । ११ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले चुनाव लड्दा बनेको प्यानल चुनाव सकिएसँगै सिद्धिएको बताएका हुन् । ‘हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला, परिणाम आएसँगै सिद्धियो । यो प्यानल र त्यो प्यानल होइन, देश हाँक्ने केन्द्रीय कमिटी हो । एकजुट छ, एकढिक्का छ,’ ओलीले भने, ‘यो पक्ष, उ पक्ष, यो प्यानल उ प्यानल छैन । यही भावनाका साथ यही दृढताका साथ हामी अगाडि बढ्छौं ।’

एमालेभित्र ओलीको तानाशाही र अधिनायकवाद छ, आलोचनात्मक चेत नभएकाहरू झोले भन्छन् भनेर गरिएको प्रचारबाट प्रभावित हुनु नपर्ने उनले बताए । ‘उल्क्याउँछन्, त्यहाँ बोल्नै पाइँदैन । त्यहाँ ओलीको अधिनायकवाद, तानाशाही चल्छ । यस्ता हल्ला चलाउँछन् । आलोचनात्मक चेत हराएका झोले एमालेमा बस्छन्, केपी ओलीले विरोध गर्न सक्दैन भन्छन्,’ ओलीले भने, ‘नेतृत्वप्रति अनास्था फैल्याउन उचाल्ने कम गर्छन्, यस्तो कुराबाट हामी प्रभावित हुनु हुँदैन ।’ ओली बिहीबारमात्रै ईश्वर पोखरेललाई पराजित गरेर अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । अहिले एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको बैठक चलिरहेको छ ।

 

एमालेमा बादललाई दोस्रो वरीयता, अरु कसलाई कुन ?

काठमाडौं । नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट निर्वाचिन नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दोस्रो वरीयतामा राखिएको छ । महाधिवेशनपछि शुक्रबार नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । कार्की ब्यांकेटमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि बादललाई दोस्रो वरीयतामा राखिएको छ ।

अध्यक्षको ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन् । त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् । बादलसहित पाँचै जना उपाध्यक्षमा निर्वाचित भएका हुन् । दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ बरियतामा थिए । दोस्रोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरल, तेस्रोमा उपाध्यक्ष युवराज ज्ञवाली र चौथोमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेका थिए । यस पटक वरिष्ठ उपाध्यक्ष पद राखिएको थिए ।

केन्द्रीय सदस्यलाई ओलीको निर्देशन : पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुरा मिडियामा नबोल्नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई पार्टीको अनुशासन र प्रतिष्ठा कायम राख्न कडा निर्देशन दिएका छन् । शुक्रबार सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीसँग सम्बन्धित असन्तुष्टि वा विवादास्पद विषयहरू सार्वजनिक सञ्चारमाध्यममा नगर्न अनुरोध गरेका हुन् ।

उनले भने, ‘सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठा, सम्बन्धन वा भावनामा कुनै पनि खालको असर नपरोस्। यदि असन्तुष्टि छ भने नेतृत्व समक्ष मौखिक वा लिखित रूपमा व्यक्त गर्न सकिन्छ ।’ ओलीले यो कुरालाई पार्टी अनुशासन र एकताको आधारमा महत्वपूर्ण भनेका छन् । ओलीले केन्द्रीय कमिटीका सदस्यहरुलाई बैठकमा मोबाइल प्रयोग नगर्न कडा निर्देशन दिएका थिए । बैठकको क्रममा मोबाइल बज्दा उनले स्पष्ट रूपमा निर्देशन दिए, ‘केन्द्रीय कमिटी बैठकमा मोबाइल बज्न हुँदैन । कोही पनि बोल्न हुँदैन ।’ उनले बैठकलाई विचार र अनुशासनको आधारमा सञ्चालन गर्न जोड दिएका छन् ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भए पनि व्यक्तिगत असन्तुष्टि र आलोचना सामूहिक हित र राष्ट्रिय स्वार्थभन्दा माथि नउठ्ने गरी प्रस्तुत गर्नुपर्ने बताए । उनले पार्टीमा नेताहरूलाई अनुशासनमा रहन र एकता कायम गर्न आग्रह गर्दै भने, ‘पार्टी एकतालाई कमजोर पार्ने खालका गतिविधि वा बाह्य प्रभावमा नपर्नुहोस् । लिडरशीपप्रति अनास्था जगाउने प्रयासले पार्टीको एकतालाई असर गर्न सक्छ ।’ यस निर्देशनसँगै ओलीले पार्टीभित्र अनुशासन र सामाजिक व्यवहारको महत्वलाई विशेष रूपमा जोड दिएका छन् र नेताहरूलाई आफ्नो स्वतन्त्र अभिव्यक्तिलाई पार्टी हितअनुकूल ढंगले व्यक्त गर्न सजग रहन सुझाएका छन् ।

 

एमाले देशको झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनको महत्व औंल्याउँदै ११ औं महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । उनले मतपरिणामलाई सबैले स्वीकार गरेको उल्लेख गर्दै अब पार्टी नयाँ एकताका साथ अघि बढ्ने स्पष्ट पारेका छन् ।

ओलीले भने, ‘पार्टीमा आँच आउने कुनै पनि काम हुनु हुँदैन । हामी सुदृढ अनुशासनमा बस्छौँ । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो । अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन । हामी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइनौं । हाम्रो पार्टी लोकतान्त्रिक छ र यसमा दृढ विश्वास आवश्यक छ ।’

उनले महाधिवेशनलाई सफल भएको भन्दै यसलाई पार्टीको सामूहिक प्रयासको परिणाम ठहराए । ‘यो नतिजा सिंगै पार्टीले निर्माण गरेको हो र यसलाई सिंगै पार्टीले स्वीकार गर्छ’, उनले भने । अध्यक्ष ओलीले पार्टीको नयाँ नीति अनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दै भने, ‘हामी नयाँ एकताका साथ अगाडि बढ्छौँ। हाम्रो एक आवाज हुनुपर्छ । नीति अनुसार अघि बढ्ने क्रममा हामी आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ ।’ ओलीको सम्बोधनले पार्टीभित्र अनुशासन र सामूहिक कार्यमा जोड दिन्छ, जसले एमालेको भविष्य रणनीति र कार्यशैलीमा स्पष्ट संकेत दिएको छ ।

 

 

 

 

केन्द्रीय सदस्य मनोनीत नगरियोस्, मैदानमै खट्छु : पाण्डे

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि आवश्यक मत नपुग्दा जित हासिल गर्न सकेनन् । महासचिवमा उनले ९९९ र केन्द्रीय सदस्यमा ९६१ मत पाए । केन्द्रीय सदस्य बन्न १११५ भन्दा बढी मत आवश्यक थियो भने महासचिवमा विजयी शंकर पोखरेलले १२२८ मत ल्याए ।

परिणामप्रति सन्तुष्टि व्यक्त गर्दै पाण्डेले आफूले पाएको मतलाई नै ठूलो उपलब्धि मानेका छन् । महासचिवमा प्रतिस्पर्धा गरेर देशभरका प्रतिनिधिको विश्वास जित्नुलाई उनले आफ्नो राजनीतिक सफलता बताए । एमालेको विधानअनुसार केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था भए पनि आफू त्यस प्रक्रियाबाट केन्द्रीय कमिटीमा नजाने स्पष्ट पारेका छन् ।

‘म ग्रासरुटबाट आएको नेता हुँ, फेरि पनि मैदानमै खट्छु,’ उनले भने, ‘मलाई मनोनीत गर्नु पर्दैन ।’ पद नपाए पनि पार्टीको नीति, विचार र कार्यक्रमको पक्षमा दृढतापूर्वक उभिने र गलत प्रवृत्तिको निरन्तर प्रतिवाद गर्ने उनको भनाइ छ । यसैबीच, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित ३०१ सदस्यीय एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्दै छ ।

एमालेलाई छोएका दिन देश ठप्प हुनुपर्छ, सरकार ढल्नु पर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि कुनै पनि किसिमको भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भए देश ठप्प पार्ने र वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीको शपथग्रहण समारोहपछि सम्बोधन गर्दै उनले यस्तो कदमको कडा प्रतिकार गर्ने घोषणा गरे ।

अध्यक्ष ओलीले पञ्चायतकालीन दमनकारी अभ्यास दोहोर्‍याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘हल्ला र प्रचारबाट मात्र होइन, अब भौतिक आक्रमण र जाली मुद्दामार्फत एमाले नेतृत्वलाई निशाना बनाउने प्रयास भइरहेको सुनिन्छ’, उनले भने, ‘एमालेलाई छोएका दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढल्नु पर्छ र ढल्नेछ ।’

एमाले नेतृत्वमाथि आक्रमण गर्नु महँगो पर्ने चेतावनी दिँदै ओलीले पार्टी पंक्तिलाई व्यवहारमै तयारी देखाउन आग्रह गरे । ‘संसारमा सबैभन्दा महँगो कुरा के हुन्छ भने एमालेलाई छुनु हो’, उनले भने, ‘कुराले होइन, कामले देखाउनु पर्छ ।’ कार्यक्रममै ओलीले राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गर्दै पार्टीलाई आफ्नै सुरक्षा व्यवस्थामा सचेत रहन निर्देशन दिए । सम्भावित जोखिमतर्फ संकेत गर्दै उनले भने, ‘धोका पाउन सक्छौँ, शान्ति सुरक्षा आफ्नै तर्फबाट गर्नुपर्ने अवस्था आउन सक्छ ।’

अध्यक्ष ओलीले एक साताभित्र पार्टीको सुरक्षा टिम गठन गर्न निर्देशन दिँदै विभिन्न नाममा धम्की आउनसक्ने आशंका पनि व्यक्त गरे । ‘जेनजीको नाममा समेत धाकधम्की आउन सक्छ’, उनले भने, ‘त्यसका लागि एक हप्ताभित्र सुरक्षा टिम तयार पार्नुपर्छ ।’ ओलीको यो अभिव्यक्तिले समसामयिक राजनीतिक वातावरण थप तातेको संकेत दिएको छ भने एमालेले आगामी दिनमा संगठनात्मक र सुरक्षा तयारीलाई प्राथमिकतामा राख्ने स्पष्ट सन्देश दिएको छ ।

म बिनाको एमाले बनाउने प्रयास ध्वस्त भयो : ओली

काठमाडौं । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओली बिनाको एमाले’ भन्ने प्रतिक्रियावादी प्रयास असफल भएको बताएका छन् ।आज (बिहीबार) एमालेको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘केपी ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नु भएको छ ।’

पार्टी नेतृत्वमा पुनः विश्वास व्यक्त गरिएकोप्रति आभार प्रकट गर्दै उनले यो प्रक्रिया नियमित लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरे। ‘यो नियमित प्रक्रिया हो, मेरो इतिहास हेरेर तपाईंहरूले फेरि जुन विश्वास दिनुभएको छ, त्यसका लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने ।

संकटका बेला पार्टीलाई अघि बढाएको नेतृत्वको मूल्यांकन भएको भन्दै उनले थपे, ‘मैले पार्टीलाई अप्ठ्यारोमा परेका बेला चक्रब्यूह तोडेर अगाडि बढाउने नेतृत्व गर्दै आएको छु, त्यसको तपाईंहरूले उचित मूल्यांकन गर्नु भएको छ ।’ ओलीले पार्टी पंक्तिले दिएको विश्वास कायम राख्ने प्रतिबद्धता जनाउँदै भने, ‘तपाईंहरूले गर्नु भएको विश्वास तलमाथि हुन दिइने छैन।सबै प्रकारका हमलाहरूको हामी सामना गर्नेछौँ ।’

एमालेका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मतदानको सबै नतिजा आएपछि अध्यक्ष केपी शर्मा ओलीसहितका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ लिएका हुन् । उनीहरुलाई एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष विजय सुब्बाले शपथ दिलाएका हुन् । केन्द्रीय सदस्यहरुलाई भने अध्यक्ष केपी शर्मा ओलीले शपथ खुवाएका थिए ।

पराजयपछि ईश्वर पोखरेलको विकल्प : भीम रावल हुने कि अष्टलक्ष्मी शाक्य ?

काठमाडौं। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीसँग भारी मतान्तरले ईश्वर पोखरेल पराजित भए । अध्यक्षमा हार व्यहोरेपछि उनको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने प्रश्न सिर्जना भएको छ ।

आठौं महाधिवेशनबाट लोकतान्त्रिक अभ्यास भन्दै नेतृत्वका लागि प्रतिनिधिले सिधै भोट हाल्ने प्रणालीमा गएको एमालेको इतिहासले मूल नेतृत्वमा पराजित उम्मेद्वार पार्टीमा टिक्न नसकेको देखाउँछ । अहिले अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले सातौं महाधिवेशनमा नै पार्टीको लोकतान्त्रिरणको प्रस्ताव पेश गरेका थिए । यसबेला अस्वीकृत भए पनि आठौं महाधिवेशनले यो प्रस्ताव स्वीकार गर्यो र एमालेमा प्रतिनिधिले प्रत्यक्ष मतदान गर्ने बहुपदीय प्रणाली सुरु भयो । यो अधिवेशनमा झलनाथ खनालसँग पराजित भए पनि ओली पार्टीभित्र प्रभावशाली भूमिकामा रहे ।

नवौं महाधिवेशनमा खनाल अध्यक्षका उम्मेद्वार भएनन् । तर, खनालले समेत समर्थन गरेका पूर्वमहासचिव माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भए । यसपछि एमाले र माओवादीबीच एकता भएर नेकपा बने पनि यो एकता धेरै टिक्न सकेन । संसद विघटनको विवादबीच सर्वोच्चको आदेशबाट एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए । संसद विघटनकै विवादलाई कारण बनाउँदै नेपाल र खनालले पार्टी विभाजन गरे र नेकपा एकिकृत समाजवादी बनाए । लामो समयदेखि पार्टीको नेतृत्व पंक्तिमा रहेका बामदेव गौतमले पनि यसैबेला पार्टी छोडे । खनाल, नेपाल र गौतमजस्ता पार्टीमा लामो योगदान गरेका नेताहरू बाहिरिनुले कार्यकर्ता र समर्थकलाई दु:खी बनाएको थियो ।

तीन जना हस्तीहरूले पार्टी छोडेपछिको अवस्थामा एमालेको चितवनमा एमालेको दशौं महाधिवेशन भयो । यो महाधिवेशनमा अध्यक्ष ओलीका विरूद्ध तत्कालीन उपाध्यक्ष भीम रावलले उम्मेद्वारी दिएका थिए । तर, दुई हजार एक सय जति प्रतिनिधि रहेको महाधिवेशनमा रावलले तीन सय मत पनि पाउन सकेनन् । रावललाई साथ दिएका घनश्याम भूसालले पनि धेरै भोट पाएनन् । पछि भुसाल एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरे । रावलले पनि केही समयअघि पार्टी छोडे । जेन्जी आन्दोलनपछि नेकपा एसले माओवादीसँग एकिकरण गरी नेपाली कम्युनिष्ट पार्टी बनाएको छ । रावल पनि यही पार्टीमा मिसिएका छन् । एकता अस्वीकार गरेका घनश्याम भुसाल भने चन्द्रदेव जोशीको नेकपा संयुक्तसँग एकिकरण गरी कार्यवाहक अध्यक्ष भएका छन् ।

मूल नेतृत्वमा पराजित उम्मेद्वारहरूले पार्टी छोड्दै जानुको एउटा कारण सधैंभरी नेतृत्वदायी भूमिकामा रहन खोज्नु हो । कार्यकर्ताबाट मूल नेतृत्वमा पराजित भएका र उमेर पुगेको नेतृत्वले विश्राम लिँदै जाने हो भने यस्तो समस्या झेल्नु पर्ने थिएन । पार्टी विभाजन गरेर सानै भए पनि पार्टीको नेतृत्व गरिराख्ने सोचका कारण नेतृत्वमा पराजित भएका नेताहरू पार्टीमा टिक्न सकिरहेका छैनन् । खासमा, नवौं महाधिवेशनबाट नै सक्रिय राजनीतिबाट बिदा लिएर खनाल र नेपालले विश्राम गर्नु पर्ने थियो । पार्टी छोड्नु भन्दा बामदेव गौतमले पनि यही बाटो रोज्नु उपयुक्त हुन्थ्यो । यसले पार्टीका लाखौं कार्यकर्ता र शुभचिन्तकको उनीहरूप्रतिको सम्मान कायम रहने मात्रै थिएन अझै बढ्ने थियो ।

आफैंले नेतृत्व हस्तान्तरणको मुद्धा उठाएका ईश्वर पोखरेलको हकमा पनि यही कुरा लागु हुनेछ । आठौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका पोखरेल नवौं महाधिवेशनमा पनि महासचिवमा दोहोरिएका थिए । त्यसबेला उनले अहिले आफ्नै टिमबाट महासचिव उठाएका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । दशौं महाधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर पार्टीमा ‘सेकेण्ड म्यान’को जिम्मेवारी पाएका थिए । अर्थात पछिल्लो १७ वर्ष उनी लगातार पार्टीको शीर्ष नेतृत्व तहमा थिए । त्यसैले, यो महाधिवेशनमा उनले आफैं उठाएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्धालाई सम्मान गर्दै सक्रिय राजनीतिबाट बिदा हुनु उपयुक्त हुन्छ ।

केपी शर्मा ओलीको विपक्षमा रहेको समूहले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको जुन मुद्धा उठाएको थियो, त्यसका लागि पोखरेल आफैं उपयुक्त पात्र थिएनन् । ७० वर्ष काटिसकेका उनी उमेर र नेतृत्वमा पाएको अवसर ‍हिसाबले पनि केपी शर्मा ओलीकै हाराहारीमा थिए । नेतृत्व भनेको अध्यक्ष मात्रै होइन, अध्यक्ष पछिको सर्वाधिक शक्तिशाली महासचिव र दोस्रो बरियताको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा उनी थिए । राज्यसत्तामा प्रतिनिधित्व गर्ने सवालमा पनि उनले पटकपटक अवसर पाइसकेका छन् । त्यसैले, अब उनले यो स्थान नेतृत्वको रुपमा विकास हुँदै गरेका गोकर्ण विष्ट र योगेश भट्टराईहरुका लागि खालि गर्नु आवश्यक छ ।

७० वर्षे उमेर हदका पक्षमा पटक-पटक बोलेका पोखरेलले कम्तिमा व्यक्तिगत रुपमा यो एजेन्डा आफैंमा लागु गर्नु नैतिक हिसाबले महत्वपूर्ण हुन्छ । त्यसैले, ईश्वर पोखरेलले माधव-झलनाथ-बामदेव र भीम रावलको बाटो होइन, यो महाधिवेशनमा उनलाई साथ दिएका अष्टलक्ष्मी र युवराज ज्ञवालीको बाटो रोजे उनको व्यक्ति सम्मान मात्रै बढ्ने छैन, उनी आफैंले उठाएको एजेन्डाको पनि सम्मान हुनेछ । उमेर पुगेपछि राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने वकालत गर्ने पोखरेलले केशब बडाल, अमृत बोहोराको पथमा हिडे पार्टीभित्र उनको सम्मान कायम रहन्छ भने भविष्यमा यो एजेन्डाले बल पनि पाउँछ ।

गोकर्ण र योगेशले बचाए ईश्वरको ‘साख’

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली र उनको टिमको दबदबा झनै सुदृढ बनेको छ । १९ सदस्यीय पदाधिकारी चयनमा अधिकांश पद ओली पक्षले हात पारे पनि ईश्वर पोखरेल समूहबाट दुई जना नेताले निर्वाचन जित्दै पार्टीभित्रको प्रतिपक्षी धारको राजनीतिक साख जोगाएका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएसँगै पोखरेल समूह पूर्णरूपमा कमजोर भएको सन्देश जानबाट जोगिएको विश्लेषण गरिएको छ । यी दुई नेताको जितलाई एमालेभित्र ‘प्रतिपक्षी आवाज जोगिएको संकेत’ का रूपमा हेरिएको छ । उपाध्यक्षमा गोकर्ण विष्टले १,३६८ मत प्राप्त गर्दै संस्थापन पक्षका गुरू बराललाई पराजित गरे । पाँच उपाध्यक्षमध्ये विष्ट चौथो स्थानमा रहेर निर्वाचित भए । त्यस्तै उपमहासचिवमा योगेश भट्टराईले १,३४८ मत ल्याउँदै संस्थापन पक्षका विष्णु रिमाललाई पछि पार्दै तेस्रो स्थानमा पदाधिकारी बन्न सफल भए।

विष्ट र भट्टराई दुवै जना यस पटक ईश्वर पोखरेललाई अध्यक्ष र सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने रणनीतिक टिमका मुख्य डिजाइनर मानिन्थे । एमालेभित्र ‘१० बुँदे सहमति पक्षधर’ भनेर चिनिने यी नेताहरू माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेपछि ओलीसँग सहमति गरेर पार्टीभित्रै बसेका थिए । यही समूहले यस महाधिवेशनमा ओली नेतृत्वलाई आन्तरिक चुनौती दिएको थियो । गुल्मीका नेता गोकर्ण विष्ट पूर्वमन्त्री तथा एमालेको भ्रातृसंस्था युवा संघका पूर्व अध्यक्ष हुन् । उनी दशौं महाधिवेशनबाट सचिव बनेका थिए। त्यस्तै ताप्लेजुङका नेता योगेश भट्टराई पनि दशौं महाधिवेशनबाट सचिव बनेका हुन् । अनेरास्ववियुको पृष्ठभूमिबाट उदाएका भट्टराई अखिलका पूर्व अध्यक्ष समेत हुन् ।

महाधिवेशनअघि ओलीसँग निकट मानिएका विष्णु रिमालले सामाजिक सञ्जालमार्फत योगेश भट्टराईमाथि कटाक्ष गरेका थिए । ओलीले ताप्लेजुङ पुगेर भाषण गरे पनि पछि सहयोग नगरेको भन्दै आलोचना गरेका रिमाललाई यसै निर्वाचनमा योगेशले पराजित गर्नु एमालेभित्र चासोका साथ हेरिएको छ ।

निर्वाचनपछि योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको खुलेर प्रशंसा गरे । उनले लेखेका छन्, ‘कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डे तपाईंहरूको इमान, निष्ठा र साहसप्रति उच्च सम्मान व्यक्त गर्दछु । पार्टी सदस्य र आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उता नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी रूपान्तरणको अभियानमा नेतृत्व गरेको भन्दै ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई सम्मान जनाएका छन् ।

साथै उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत अग्रज नेताहरूले देखाएको उच्च नैतिकता र त्यागको खुलेर प्रशंसा गरेका छन् । विष्टले अध्यक्ष केपी शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण नेताहरूलाई बधाई दिँदै संगठित प्रयत्नमार्फत पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउने तथा देशलाई अन्यौल र निराशाबाट निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समग्रमा, ११ औं महाधिवेशनले एमालेमा ओली नेतृत्वको वर्चस्वलाई संस्थागत गरे पनि गोकर्ण विष्ट र योगेश भट्टराईको जितले पार्टीभित्र वैकल्पिक धार र बहसको ठाउँ अझै जीवित रहेको सन्देश दिएको छ ।

अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको यस्तो छ शपथ तयारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व आज औपचारिक रूपमा शपथ ग्रहण गर्दैछ । अध्यक्षमा तेस्रो पटक निर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै पार्टीको नयाँ केन्द्रीय कमिटीले कार्यभार सम्हाल्नेछ । महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा अहिले अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नेता तथा कार्यकर्ताले माला र खादा लगाएर बधाई दिइरहेका छन् । अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि अन्य निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि शपथ गराउने कार्यक्रम तय गरिएको छ । निर्वाचन आयोगका अनुसार शपथ कार्यक्रम अपराह्न ४ बजे महाधिवेशन हलमै हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई ठूलो मतान्तरले पराजित गर्दै ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । यस महाधिवेशनमा दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरे पनि अधिकांश पदमा ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्, जसले केन्द्रीय कमिटीमा उनको समूहको स्पष्ट बहुमत देखाएको छ ।

पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्र निर्वाचित हुन सफल भएका छन्। सचिव पदमा भने सबै ओली प्यानलका उम्मेदवारहरू विजयी भएका छन् । यसैगरी महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । नव निर्वाचित नेतृत्वको शपथसँगै एमालेले आगामी राजनीतिक कार्यदिशा र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने संकेत गरेको छ । महाधिवेशनको औपचारिक समापनसँगै पार्टीभित्रको नेतृत्व चयन प्रक्रिया पनि आजै टुंगिनेछ ।

 

 

अध्यक्षमा पराजयपछि पोखरेल : एमालेमा ‘नियन्त्रण र सन्तुलन’ अपरिहार्य

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलले पार्टी सञ्चालनमा ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तलाई संस्थागत रूपमा निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत प्रतिक्रिया दिँदै उनले विजयी उम्मेदवार तथा सम्पूर्ण मतदातालाई बधाई र शुभकामना दिएका हुन् ।

पोखरेलले महाधिवेशनका क्रममा आफूले उठाएका मुद्दाहरू—जनताको बहुदलीय जनवादको मर्मअनुसार सामूहिक नेतृत्व, विधि र पद्धतिमा आधारित पार्टी सञ्चालन तथा लोकतान्त्रिक अभ्यास–अब थप बहस र छलफलमार्फत नयाँस्तरमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले पार्टीलाई सही र लोकतान्त्रिक ढंगले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्त अनिवार्य रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा पराजित भए पनि एमालेको देशभक्तिपूर्ण, लोकतान्त्रिक र समाजवादको आधार निर्माण गर्ने अभियानमा आफ्नो संलग्नता अटुट रहने पोखरेलको भनाइ छ । साथै, आफूलाई विश्वासको मत प्रदान गर्ने मतदाताप्रति उनले आभार प्रकट गरेका छन् । मतपरिणामअनुसार कुल २,२२७ मतमध्ये केपी शर्मा ओलीले १,६६३ मत प्राप्त गरी विजयी भए भने पोखरेलले ५६४ मत हासिल गरेका थिए। पराजयलाई स्वाभाविक प्रतिस्पर्धाको परिणामका रूपमा स्वीकार गर्दै पोखरेलले पार्टी एकता, आन्तरिक लोकतन्त्र र संस्थागत प्रक्रियालाई सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

पोखरेको भनाइ जस्ताको तस्तै

नेकपा ( एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन ( २०८२ मंसीर २७– पुस ३ ) सम्पन्न भएको छ । महाधिवेशनमा निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाइ तथा कार्यकालको सफलताको शुभकामना ! महाधिवेशनमा योगदान पुर्याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु ।

प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू–जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।

आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु । नेकपा (एमाले) को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस्–हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

सुनिता–सुहाङसहित एमाले केन्द्रीय कमिटीमा नयाँ पुस्ताको उदय

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीमा युवा र महिला नेतृत्वको आशालाग्दो उपस्थिति देखिएको छ । १९ पदाधिकारीसहितको केन्द्रीय कमिटीमा ३० वर्षमुनिका दुई युवा महिला—अस्मिता थापा र एलिसा गौतम—सबैभन्दा कम उमेरका केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् ।

खुला महिला क्लस्टरबाट उम्मेदवार बनेकी अस्मिता थापाले सर्वाधिक १,८५९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाइन् । उनी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष समेत हुन् । सोही क्लस्टरबाट एलिसा गौतमले १,८१२ मत ल्याएर विजय हासिल गरिन् । पेशाले इन्जिनियर गौतम युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उदाएकी छन् । यसअघि सोही उमेर समूहका रौनित साह निर्विरोध केन्द्रीय सदस्य बनेका थिए ।

यस्तै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनले १,६६८ मत ल्याएर विजय हासिल गरिन् । डंगोल २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट काठमाडौँको उपमेयरमा निर्वाचित भएकी थिइन् । उनी अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट उपत्यका विशेष कमिटीअन्तर्गत महिला कोटाबाट उम्मेदवार बनेकी थिइन् ।

उता, दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ३७ वर्षीय नेम्वाङले खुला केन्द्रीय सदस्यतर्फ केपी ओली प्यानलबाट जित हासिल गरेका हुन् । उनले १७०१ मत ल्याएका छन् । सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई पछि ओली पक्षले आफ्नो प्यानलमा समेटेको थियो । एमालेको नयाँ केन्द्रीय कमिटीमा युवा, महिला र नयाँ अनुहारको उल्लेख्य सहभागिताले पार्टीभित्र पुस्तान्तरण र समावेशिताको सन्देश दिएको छ ।