`

एमाले नेता ज्ञवालीको टिप्पणी : पूर्व राष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो

काठमाडौँ । नेकपा एमालेका पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनः स्थापना हुनसक्ने आशयको अभिव्यक्ति दिएकोप्रति तीव्र असहमति जनाएका छन् । उनले उक्त अभिव्यक्तिलाई अचम्मलाग्दो भन्दै आफू उभिएको राजनीतिक धरातलप्रतिकै विश्वास डगमगाएको संकेत गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले लोकतान्त्रिक आन्दोलनबाट स्थापित गणतन्त्र, संविधान र पार्टीको वैचारिक यात्रालाई कमजोर बनाउने खालका अभिव्यक्तिले पार्टी र समग्र लोकतान्त्रिक शक्तिलाई गलत सन्देश जाने बताएका छन् । पूर्व राष्ट्रपतिले दिएको अभिव्यक्ति सुन्दा आफूलाई उदेक लागेको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्–आफैले लामो समय योगदान दिएको राजनीतिक आधारप्रति विश्वास किन कमजोर भयो ?

ज्ञवालीले पार्टीभित्र हालै देखिएका केही गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । महाधिवेशन सम्पन्न भइसकेपछि पनि पार्टीको अनुमोदित नेतृत्वलाई चुनौती दिने गरी छुट्टाछुट्टै भेला र गतिविधि गर्नु अपेक्षित नभएको उनको भनाइ छ । महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको उल्लेख गर्दै त्यसले गरेका निर्णयलाई अन्तिम नमान्ने हो भने पार्टी अन्तहीन बहसको घेरामा फस्ने चेतावनी दिएका छन् ।

उनका अनुसार नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नको समाधानका लागि नै एक वर्ष अगावै महाधिवेशन आयोजना गरिएको थियो । महाधिवेशनले ती सबै प्रश्नको स्पष्ट, द्विविधारहित उत्तर दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको अवस्थामा पनि पुरानै मुद्दा बोकेर अघि बढ्नु पार्टीका लागि घातक हुने उनको निष्कर्ष छ ।

महाधिवेशनअघिको ‘दुई लाइनको संघर्ष’, निरन्तर प्रतिवाद र खोक्रो एकताको बहसमा अल्झिरहँदा पार्टीले आफ्नो गन्तव्य भेट्न नसक्ने उनले स्पष्ट शब्दमा बताएका छन् । पछिल्ला तीन महिनाको छोटो अवधिमै पार्टीलाई संगठित गरी एक बिन्दुमा ल्याउन सफल भएको दाबी गर्दै ज्ञवालीले अब त्यस उपलब्धिलाई अझ ठूलो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नुपर्ने धारणा राखेका छन् ।

उनले लोकतन्त्र बहाली, संविधानको रक्षा, राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रालाई अझै जित्न बाँकी रहेको उल्लेख गरेका छन्। पार्टीको सम्पूर्ण शक्ति र ऊर्जा यिनै विषयमा केन्द्रित हुनुपर्ने बेला पुराना विवाद र अप्रासंगिक बहसले ध्यान विचलित गरिरहेको उनको भनाइ छ ।

पूर्व राष्ट्रपतिको राजतन्त्रसम्बन्धी अभिव्यक्तिले लोकतान्त्रिक आन्दोलनको उपलब्धिमाथि प्रश्न उठाएको भन्दै ज्ञवालीले यस्तो धारणा सार्वजनिक व्यक्तित्वबाट आउनु गम्भीर विषय भएको संकेत गरेका छन् । उनले पार्टी र देश दुवैलाई अगाडि बढाउन स्पष्ट वैचारिक अडान, एकता र जिम्मेवार अभिव्यक्ति अपरिहार्य भएको निष्कर्ष निकालेका छन् ।

 

‘केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि विरोध हुनेगरी कुनै कामै नगरेको दावी गरेका छन् । नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले झपार्दै भने– ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नु हुँदैन । आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका ? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ? हामी यस्तो कुराबाट प्रभावित हुनु हुँदैन ।’ ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए ।

ओलीले भने, ‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो । यसैले एमालेमा अब कुनै प्यानल छैन ।’ सो बैठकमा बोल्दै ओलीले महाधिवेशनमा प्यानल बनाएर प्रतिष्पर्धा गरे पनि अब कुनै प्यानल नरहेको बताए ।

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गरिने
नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहेको केन्द्रीय सल्लाहकार परिषद् गठन गरिने छ । यस्तै ११औँ महाधिवेशनपछि बसेको पहिलो बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते राखेको छ । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी गठन हुनेछ । एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहेका छन् ।

 

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटी बैठक आज बसेको छ । काठमाडौंमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनसमेत गरेका छन् । बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न प्रस्ताव राखेका छन् । जसमध्ये नेताहरूको कार्यविभाजन सचिवालयले तोक्ने प्रस्ताव समावेश छ। एमालेमा १९ सदस्यीय सचिवालय छ । प्रस्तावअनुसार अब कसलाई के जिम्मेवारी दिने भन्ने विषय सचिवालयले तोक्नेछ ।

साथै अर्को केन्द्रीय कमिटी बैठक तीन सातापछि फेरि बस्नेछ । केन्द्रीय निकायअन्तर्गत सल्लाहकार परिषद गठनको पनि बैठकमा प्रस्ताव गरिएको छ । यस्तो परिषद कम्तीमा २५ सदस्यीय रहनेछ । साथै विधान संशोधन र परिमार्जन गर्दै प्रकाशन गर्ने प्रस्ताव छ । एमाले ११ औं महाधिवेशन उद्घाटन भएर बन्द सत्र सुरू नहुँदै गर्दा केन्द्रीय कमिटी बैठक गरेर पुरानै विधान ब्युँत्याइएको थियो । जसअनुसार सचिवालय, केन्द्रीय कमिटीको आकार बढाइएको थियो ।

ओलीले भने–एमालेमा गुट सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दा बनेको प्यानल महाधिवेशन सकिएसँगै सिद्धिएको बताएका छन् । नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का रहेको उनले बताए । ११ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले चुनाव लड्दा बनेको प्यानल चुनाव सकिएसँगै सिद्धिएको बताएका हुन् । ‘हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला, परिणाम आएसँगै सिद्धियो । यो प्यानल र त्यो प्यानल होइन, देश हाँक्ने केन्द्रीय कमिटी हो । एकजुट छ, एकढिक्का छ,’ ओलीले भने, ‘यो पक्ष, उ पक्ष, यो प्यानल उ प्यानल छैन । यही भावनाका साथ यही दृढताका साथ हामी अगाडि बढ्छौं ।’

एमालेभित्र ओलीको तानाशाही र अधिनायकवाद छ, आलोचनात्मक चेत नभएकाहरू झोले भन्छन् भनेर गरिएको प्रचारबाट प्रभावित हुनु नपर्ने उनले बताए । ‘उल्क्याउँछन्, त्यहाँ बोल्नै पाइँदैन । त्यहाँ ओलीको अधिनायकवाद, तानाशाही चल्छ । यस्ता हल्ला चलाउँछन् । आलोचनात्मक चेत हराएका झोले एमालेमा बस्छन्, केपी ओलीले विरोध गर्न सक्दैन भन्छन्,’ ओलीले भने, ‘नेतृत्वप्रति अनास्था फैल्याउन उचाल्ने कम गर्छन्, यस्तो कुराबाट हामी प्रभावित हुनु हुँदैन ।’ ओली बिहीबारमात्रै ईश्वर पोखरेललाई पराजित गरेर अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । अहिले एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको बैठक चलिरहेको छ ।

 

एमालेमा बादललाई दोस्रो वरीयता, अरु कसलाई कुन ?

काठमाडौं । नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट निर्वाचिन नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दोस्रो वरीयतामा राखिएको छ । महाधिवेशनपछि शुक्रबार नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । कार्की ब्यांकेटमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि बादललाई दोस्रो वरीयतामा राखिएको छ ।

अध्यक्षको ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन् । त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् । बादलसहित पाँचै जना उपाध्यक्षमा निर्वाचित भएका हुन् । दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ बरियतामा थिए । दोस्रोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरल, तेस्रोमा उपाध्यक्ष युवराज ज्ञवाली र चौथोमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेका थिए । यस पटक वरिष्ठ उपाध्यक्ष पद राखिएको थिए ।

केन्द्रीय सदस्यलाई ओलीको निर्देशन : पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुरा मिडियामा नबोल्नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई पार्टीको अनुशासन र प्रतिष्ठा कायम राख्न कडा निर्देशन दिएका छन् । शुक्रबार सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीसँग सम्बन्धित असन्तुष्टि वा विवादास्पद विषयहरू सार्वजनिक सञ्चारमाध्यममा नगर्न अनुरोध गरेका हुन् ।

उनले भने, ‘सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठा, सम्बन्धन वा भावनामा कुनै पनि खालको असर नपरोस्। यदि असन्तुष्टि छ भने नेतृत्व समक्ष मौखिक वा लिखित रूपमा व्यक्त गर्न सकिन्छ ।’ ओलीले यो कुरालाई पार्टी अनुशासन र एकताको आधारमा महत्वपूर्ण भनेका छन् । ओलीले केन्द्रीय कमिटीका सदस्यहरुलाई बैठकमा मोबाइल प्रयोग नगर्न कडा निर्देशन दिएका थिए । बैठकको क्रममा मोबाइल बज्दा उनले स्पष्ट रूपमा निर्देशन दिए, ‘केन्द्रीय कमिटी बैठकमा मोबाइल बज्न हुँदैन । कोही पनि बोल्न हुँदैन ।’ उनले बैठकलाई विचार र अनुशासनको आधारमा सञ्चालन गर्न जोड दिएका छन् ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भए पनि व्यक्तिगत असन्तुष्टि र आलोचना सामूहिक हित र राष्ट्रिय स्वार्थभन्दा माथि नउठ्ने गरी प्रस्तुत गर्नुपर्ने बताए । उनले पार्टीमा नेताहरूलाई अनुशासनमा रहन र एकता कायम गर्न आग्रह गर्दै भने, ‘पार्टी एकतालाई कमजोर पार्ने खालका गतिविधि वा बाह्य प्रभावमा नपर्नुहोस् । लिडरशीपप्रति अनास्था जगाउने प्रयासले पार्टीको एकतालाई असर गर्न सक्छ ।’ यस निर्देशनसँगै ओलीले पार्टीभित्र अनुशासन र सामाजिक व्यवहारको महत्वलाई विशेष रूपमा जोड दिएका छन् र नेताहरूलाई आफ्नो स्वतन्त्र अभिव्यक्तिलाई पार्टी हितअनुकूल ढंगले व्यक्त गर्न सजग रहन सुझाएका छन् ।

 

एमाले देशको झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनको महत्व औंल्याउँदै ११ औं महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । उनले मतपरिणामलाई सबैले स्वीकार गरेको उल्लेख गर्दै अब पार्टी नयाँ एकताका साथ अघि बढ्ने स्पष्ट पारेका छन् ।

ओलीले भने, ‘पार्टीमा आँच आउने कुनै पनि काम हुनु हुँदैन । हामी सुदृढ अनुशासनमा बस्छौँ । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो । अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन । हामी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइनौं । हाम्रो पार्टी लोकतान्त्रिक छ र यसमा दृढ विश्वास आवश्यक छ ।’

उनले महाधिवेशनलाई सफल भएको भन्दै यसलाई पार्टीको सामूहिक प्रयासको परिणाम ठहराए । ‘यो नतिजा सिंगै पार्टीले निर्माण गरेको हो र यसलाई सिंगै पार्टीले स्वीकार गर्छ’, उनले भने । अध्यक्ष ओलीले पार्टीको नयाँ नीति अनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दै भने, ‘हामी नयाँ एकताका साथ अगाडि बढ्छौँ। हाम्रो एक आवाज हुनुपर्छ । नीति अनुसार अघि बढ्ने क्रममा हामी आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ ।’ ओलीको सम्बोधनले पार्टीभित्र अनुशासन र सामूहिक कार्यमा जोड दिन्छ, जसले एमालेको भविष्य रणनीति र कार्यशैलीमा स्पष्ट संकेत दिएको छ ।

 

 

 

 

केन्द्रीय सदस्य मनोनीत नगरियोस्, मैदानमै खट्छु : पाण्डे

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि आवश्यक मत नपुग्दा जित हासिल गर्न सकेनन् । महासचिवमा उनले ९९९ र केन्द्रीय सदस्यमा ९६१ मत पाए । केन्द्रीय सदस्य बन्न १११५ भन्दा बढी मत आवश्यक थियो भने महासचिवमा विजयी शंकर पोखरेलले १२२८ मत ल्याए ।

परिणामप्रति सन्तुष्टि व्यक्त गर्दै पाण्डेले आफूले पाएको मतलाई नै ठूलो उपलब्धि मानेका छन् । महासचिवमा प्रतिस्पर्धा गरेर देशभरका प्रतिनिधिको विश्वास जित्नुलाई उनले आफ्नो राजनीतिक सफलता बताए । एमालेको विधानअनुसार केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था भए पनि आफू त्यस प्रक्रियाबाट केन्द्रीय कमिटीमा नजाने स्पष्ट पारेका छन् ।

‘म ग्रासरुटबाट आएको नेता हुँ, फेरि पनि मैदानमै खट्छु,’ उनले भने, ‘मलाई मनोनीत गर्नु पर्दैन ।’ पद नपाए पनि पार्टीको नीति, विचार र कार्यक्रमको पक्षमा दृढतापूर्वक उभिने र गलत प्रवृत्तिको निरन्तर प्रतिवाद गर्ने उनको भनाइ छ । यसैबीच, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित ३०१ सदस्यीय एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्दै छ ।

एमालेलाई छोएका दिन देश ठप्प हुनुपर्छ, सरकार ढल्नु पर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि कुनै पनि किसिमको भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भए देश ठप्प पार्ने र वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीको शपथग्रहण समारोहपछि सम्बोधन गर्दै उनले यस्तो कदमको कडा प्रतिकार गर्ने घोषणा गरे ।

अध्यक्ष ओलीले पञ्चायतकालीन दमनकारी अभ्यास दोहोर्‍याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘हल्ला र प्रचारबाट मात्र होइन, अब भौतिक आक्रमण र जाली मुद्दामार्फत एमाले नेतृत्वलाई निशाना बनाउने प्रयास भइरहेको सुनिन्छ’, उनले भने, ‘एमालेलाई छोएका दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढल्नु पर्छ र ढल्नेछ ।’

एमाले नेतृत्वमाथि आक्रमण गर्नु महँगो पर्ने चेतावनी दिँदै ओलीले पार्टी पंक्तिलाई व्यवहारमै तयारी देखाउन आग्रह गरे । ‘संसारमा सबैभन्दा महँगो कुरा के हुन्छ भने एमालेलाई छुनु हो’, उनले भने, ‘कुराले होइन, कामले देखाउनु पर्छ ।’ कार्यक्रममै ओलीले राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गर्दै पार्टीलाई आफ्नै सुरक्षा व्यवस्थामा सचेत रहन निर्देशन दिए । सम्भावित जोखिमतर्फ संकेत गर्दै उनले भने, ‘धोका पाउन सक्छौँ, शान्ति सुरक्षा आफ्नै तर्फबाट गर्नुपर्ने अवस्था आउन सक्छ ।’

अध्यक्ष ओलीले एक साताभित्र पार्टीको सुरक्षा टिम गठन गर्न निर्देशन दिँदै विभिन्न नाममा धम्की आउनसक्ने आशंका पनि व्यक्त गरे । ‘जेनजीको नाममा समेत धाकधम्की आउन सक्छ’, उनले भने, ‘त्यसका लागि एक हप्ताभित्र सुरक्षा टिम तयार पार्नुपर्छ ।’ ओलीको यो अभिव्यक्तिले समसामयिक राजनीतिक वातावरण थप तातेको संकेत दिएको छ भने एमालेले आगामी दिनमा संगठनात्मक र सुरक्षा तयारीलाई प्राथमिकतामा राख्ने स्पष्ट सन्देश दिएको छ ।

म बिनाको एमाले बनाउने प्रयास ध्वस्त भयो : ओली

काठमाडौं । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओली बिनाको एमाले’ भन्ने प्रतिक्रियावादी प्रयास असफल भएको बताएका छन् ।आज (बिहीबार) एमालेको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘केपी ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नु भएको छ ।’

पार्टी नेतृत्वमा पुनः विश्वास व्यक्त गरिएकोप्रति आभार प्रकट गर्दै उनले यो प्रक्रिया नियमित लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरे। ‘यो नियमित प्रक्रिया हो, मेरो इतिहास हेरेर तपाईंहरूले फेरि जुन विश्वास दिनुभएको छ, त्यसका लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने ।

संकटका बेला पार्टीलाई अघि बढाएको नेतृत्वको मूल्यांकन भएको भन्दै उनले थपे, ‘मैले पार्टीलाई अप्ठ्यारोमा परेका बेला चक्रब्यूह तोडेर अगाडि बढाउने नेतृत्व गर्दै आएको छु, त्यसको तपाईंहरूले उचित मूल्यांकन गर्नु भएको छ ।’ ओलीले पार्टी पंक्तिले दिएको विश्वास कायम राख्ने प्रतिबद्धता जनाउँदै भने, ‘तपाईंहरूले गर्नु भएको विश्वास तलमाथि हुन दिइने छैन।सबै प्रकारका हमलाहरूको हामी सामना गर्नेछौँ ।’

एमालेका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मतदानको सबै नतिजा आएपछि अध्यक्ष केपी शर्मा ओलीसहितका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ लिएका हुन् । उनीहरुलाई एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष विजय सुब्बाले शपथ दिलाएका हुन् । केन्द्रीय सदस्यहरुलाई भने अध्यक्ष केपी शर्मा ओलीले शपथ खुवाएका थिए ।

पराजयपछि ईश्वर पोखरेलको विकल्प : भीम रावल हुने कि अष्टलक्ष्मी शाक्य ?

काठमाडौं। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीसँग भारी मतान्तरले ईश्वर पोखरेल पराजित भए । अध्यक्षमा हार व्यहोरेपछि उनको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने प्रश्न सिर्जना भएको छ ।

आठौं महाधिवेशनबाट लोकतान्त्रिक अभ्यास भन्दै नेतृत्वका लागि प्रतिनिधिले सिधै भोट हाल्ने प्रणालीमा गएको एमालेको इतिहासले मूल नेतृत्वमा पराजित उम्मेद्वार पार्टीमा टिक्न नसकेको देखाउँछ । अहिले अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले सातौं महाधिवेशनमा नै पार्टीको लोकतान्त्रिरणको प्रस्ताव पेश गरेका थिए । यसबेला अस्वीकृत भए पनि आठौं महाधिवेशनले यो प्रस्ताव स्वीकार गर्यो र एमालेमा प्रतिनिधिले प्रत्यक्ष मतदान गर्ने बहुपदीय प्रणाली सुरु भयो । यो अधिवेशनमा झलनाथ खनालसँग पराजित भए पनि ओली पार्टीभित्र प्रभावशाली भूमिकामा रहे ।

नवौं महाधिवेशनमा खनाल अध्यक्षका उम्मेद्वार भएनन् । तर, खनालले समेत समर्थन गरेका पूर्वमहासचिव माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भए । यसपछि एमाले र माओवादीबीच एकता भएर नेकपा बने पनि यो एकता धेरै टिक्न सकेन । संसद विघटनको विवादबीच सर्वोच्चको आदेशबाट एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए । संसद विघटनकै विवादलाई कारण बनाउँदै नेपाल र खनालले पार्टी विभाजन गरे र नेकपा एकिकृत समाजवादी बनाए । लामो समयदेखि पार्टीको नेतृत्व पंक्तिमा रहेका बामदेव गौतमले पनि यसैबेला पार्टी छोडे । खनाल, नेपाल र गौतमजस्ता पार्टीमा लामो योगदान गरेका नेताहरू बाहिरिनुले कार्यकर्ता र समर्थकलाई दु:खी बनाएको थियो ।

तीन जना हस्तीहरूले पार्टी छोडेपछिको अवस्थामा एमालेको चितवनमा एमालेको दशौं महाधिवेशन भयो । यो महाधिवेशनमा अध्यक्ष ओलीका विरूद्ध तत्कालीन उपाध्यक्ष भीम रावलले उम्मेद्वारी दिएका थिए । तर, दुई हजार एक सय जति प्रतिनिधि रहेको महाधिवेशनमा रावलले तीन सय मत पनि पाउन सकेनन् । रावललाई साथ दिएका घनश्याम भूसालले पनि धेरै भोट पाएनन् । पछि भुसाल एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरे । रावलले पनि केही समयअघि पार्टी छोडे । जेन्जी आन्दोलनपछि नेकपा एसले माओवादीसँग एकिकरण गरी नेपाली कम्युनिष्ट पार्टी बनाएको छ । रावल पनि यही पार्टीमा मिसिएका छन् । एकता अस्वीकार गरेका घनश्याम भुसाल भने चन्द्रदेव जोशीको नेकपा संयुक्तसँग एकिकरण गरी कार्यवाहक अध्यक्ष भएका छन् ।

मूल नेतृत्वमा पराजित उम्मेद्वारहरूले पार्टी छोड्दै जानुको एउटा कारण सधैंभरी नेतृत्वदायी भूमिकामा रहन खोज्नु हो । कार्यकर्ताबाट मूल नेतृत्वमा पराजित भएका र उमेर पुगेको नेतृत्वले विश्राम लिँदै जाने हो भने यस्तो समस्या झेल्नु पर्ने थिएन । पार्टी विभाजन गरेर सानै भए पनि पार्टीको नेतृत्व गरिराख्ने सोचका कारण नेतृत्वमा पराजित भएका नेताहरू पार्टीमा टिक्न सकिरहेका छैनन् । खासमा, नवौं महाधिवेशनबाट नै सक्रिय राजनीतिबाट बिदा लिएर खनाल र नेपालले विश्राम गर्नु पर्ने थियो । पार्टी छोड्नु भन्दा बामदेव गौतमले पनि यही बाटो रोज्नु उपयुक्त हुन्थ्यो । यसले पार्टीका लाखौं कार्यकर्ता र शुभचिन्तकको उनीहरूप्रतिको सम्मान कायम रहने मात्रै थिएन अझै बढ्ने थियो ।

आफैंले नेतृत्व हस्तान्तरणको मुद्धा उठाएका ईश्वर पोखरेलको हकमा पनि यही कुरा लागु हुनेछ । आठौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका पोखरेल नवौं महाधिवेशनमा पनि महासचिवमा दोहोरिएका थिए । त्यसबेला उनले अहिले आफ्नै टिमबाट महासचिव उठाएका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । दशौं महाधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर पार्टीमा ‘सेकेण्ड म्यान’को जिम्मेवारी पाएका थिए । अर्थात पछिल्लो १७ वर्ष उनी लगातार पार्टीको शीर्ष नेतृत्व तहमा थिए । त्यसैले, यो महाधिवेशनमा उनले आफैं उठाएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्धालाई सम्मान गर्दै सक्रिय राजनीतिबाट बिदा हुनु उपयुक्त हुन्छ ।

केपी शर्मा ओलीको विपक्षमा रहेको समूहले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको जुन मुद्धा उठाएको थियो, त्यसका लागि पोखरेल आफैं उपयुक्त पात्र थिएनन् । ७० वर्ष काटिसकेका उनी उमेर र नेतृत्वमा पाएको अवसर ‍हिसाबले पनि केपी शर्मा ओलीकै हाराहारीमा थिए । नेतृत्व भनेको अध्यक्ष मात्रै होइन, अध्यक्ष पछिको सर्वाधिक शक्तिशाली महासचिव र दोस्रो बरियताको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा उनी थिए । राज्यसत्तामा प्रतिनिधित्व गर्ने सवालमा पनि उनले पटकपटक अवसर पाइसकेका छन् । त्यसैले, अब उनले यो स्थान नेतृत्वको रुपमा विकास हुँदै गरेका गोकर्ण विष्ट र योगेश भट्टराईहरुका लागि खालि गर्नु आवश्यक छ ।

७० वर्षे उमेर हदका पक्षमा पटक-पटक बोलेका पोखरेलले कम्तिमा व्यक्तिगत रुपमा यो एजेन्डा आफैंमा लागु गर्नु नैतिक हिसाबले महत्वपूर्ण हुन्छ । त्यसैले, ईश्वर पोखरेलले माधव-झलनाथ-बामदेव र भीम रावलको बाटो होइन, यो महाधिवेशनमा उनलाई साथ दिएका अष्टलक्ष्मी र युवराज ज्ञवालीको बाटो रोजे उनको व्यक्ति सम्मान मात्रै बढ्ने छैन, उनी आफैंले उठाएको एजेन्डाको पनि सम्मान हुनेछ । उमेर पुगेपछि राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने वकालत गर्ने पोखरेलले केशब बडाल, अमृत बोहोराको पथमा हिडे पार्टीभित्र उनको सम्मान कायम रहन्छ भने भविष्यमा यो एजेन्डाले बल पनि पाउँछ ।

गोकर्ण र योगेशले बचाए ईश्वरको ‘साख’

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली र उनको टिमको दबदबा झनै सुदृढ बनेको छ । १९ सदस्यीय पदाधिकारी चयनमा अधिकांश पद ओली पक्षले हात पारे पनि ईश्वर पोखरेल समूहबाट दुई जना नेताले निर्वाचन जित्दै पार्टीभित्रको प्रतिपक्षी धारको राजनीतिक साख जोगाएका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएसँगै पोखरेल समूह पूर्णरूपमा कमजोर भएको सन्देश जानबाट जोगिएको विश्लेषण गरिएको छ । यी दुई नेताको जितलाई एमालेभित्र ‘प्रतिपक्षी आवाज जोगिएको संकेत’ का रूपमा हेरिएको छ । उपाध्यक्षमा गोकर्ण विष्टले १,३६८ मत प्राप्त गर्दै संस्थापन पक्षका गुरू बराललाई पराजित गरे । पाँच उपाध्यक्षमध्ये विष्ट चौथो स्थानमा रहेर निर्वाचित भए । त्यस्तै उपमहासचिवमा योगेश भट्टराईले १,३४८ मत ल्याउँदै संस्थापन पक्षका विष्णु रिमाललाई पछि पार्दै तेस्रो स्थानमा पदाधिकारी बन्न सफल भए।

विष्ट र भट्टराई दुवै जना यस पटक ईश्वर पोखरेललाई अध्यक्ष र सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने रणनीतिक टिमका मुख्य डिजाइनर मानिन्थे । एमालेभित्र ‘१० बुँदे सहमति पक्षधर’ भनेर चिनिने यी नेताहरू माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेपछि ओलीसँग सहमति गरेर पार्टीभित्रै बसेका थिए । यही समूहले यस महाधिवेशनमा ओली नेतृत्वलाई आन्तरिक चुनौती दिएको थियो । गुल्मीका नेता गोकर्ण विष्ट पूर्वमन्त्री तथा एमालेको भ्रातृसंस्था युवा संघका पूर्व अध्यक्ष हुन् । उनी दशौं महाधिवेशनबाट सचिव बनेका थिए। त्यस्तै ताप्लेजुङका नेता योगेश भट्टराई पनि दशौं महाधिवेशनबाट सचिव बनेका हुन् । अनेरास्ववियुको पृष्ठभूमिबाट उदाएका भट्टराई अखिलका पूर्व अध्यक्ष समेत हुन् ।

महाधिवेशनअघि ओलीसँग निकट मानिएका विष्णु रिमालले सामाजिक सञ्जालमार्फत योगेश भट्टराईमाथि कटाक्ष गरेका थिए । ओलीले ताप्लेजुङ पुगेर भाषण गरे पनि पछि सहयोग नगरेको भन्दै आलोचना गरेका रिमाललाई यसै निर्वाचनमा योगेशले पराजित गर्नु एमालेभित्र चासोका साथ हेरिएको छ ।

निर्वाचनपछि योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको खुलेर प्रशंसा गरे । उनले लेखेका छन्, ‘कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डे तपाईंहरूको इमान, निष्ठा र साहसप्रति उच्च सम्मान व्यक्त गर्दछु । पार्टी सदस्य र आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उता नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी रूपान्तरणको अभियानमा नेतृत्व गरेको भन्दै ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई सम्मान जनाएका छन् ।

साथै उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत अग्रज नेताहरूले देखाएको उच्च नैतिकता र त्यागको खुलेर प्रशंसा गरेका छन् । विष्टले अध्यक्ष केपी शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण नेताहरूलाई बधाई दिँदै संगठित प्रयत्नमार्फत पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउने तथा देशलाई अन्यौल र निराशाबाट निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समग्रमा, ११ औं महाधिवेशनले एमालेमा ओली नेतृत्वको वर्चस्वलाई संस्थागत गरे पनि गोकर्ण विष्ट र योगेश भट्टराईको जितले पार्टीभित्र वैकल्पिक धार र बहसको ठाउँ अझै जीवित रहेको सन्देश दिएको छ ।

अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको यस्तो छ शपथ तयारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व आज औपचारिक रूपमा शपथ ग्रहण गर्दैछ । अध्यक्षमा तेस्रो पटक निर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै पार्टीको नयाँ केन्द्रीय कमिटीले कार्यभार सम्हाल्नेछ । महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा अहिले अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नेता तथा कार्यकर्ताले माला र खादा लगाएर बधाई दिइरहेका छन् । अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि अन्य निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि शपथ गराउने कार्यक्रम तय गरिएको छ । निर्वाचन आयोगका अनुसार शपथ कार्यक्रम अपराह्न ४ बजे महाधिवेशन हलमै हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई ठूलो मतान्तरले पराजित गर्दै ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । यस महाधिवेशनमा दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरे पनि अधिकांश पदमा ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्, जसले केन्द्रीय कमिटीमा उनको समूहको स्पष्ट बहुमत देखाएको छ ।

पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्र निर्वाचित हुन सफल भएका छन्। सचिव पदमा भने सबै ओली प्यानलका उम्मेदवारहरू विजयी भएका छन् । यसैगरी महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । नव निर्वाचित नेतृत्वको शपथसँगै एमालेले आगामी राजनीतिक कार्यदिशा र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने संकेत गरेको छ । महाधिवेशनको औपचारिक समापनसँगै पार्टीभित्रको नेतृत्व चयन प्रक्रिया पनि आजै टुंगिनेछ ।

 

 

अध्यक्षमा पराजयपछि पोखरेल : एमालेमा ‘नियन्त्रण र सन्तुलन’ अपरिहार्य

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलले पार्टी सञ्चालनमा ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तलाई संस्थागत रूपमा निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत प्रतिक्रिया दिँदै उनले विजयी उम्मेदवार तथा सम्पूर्ण मतदातालाई बधाई र शुभकामना दिएका हुन् ।

पोखरेलले महाधिवेशनका क्रममा आफूले उठाएका मुद्दाहरू—जनताको बहुदलीय जनवादको मर्मअनुसार सामूहिक नेतृत्व, विधि र पद्धतिमा आधारित पार्टी सञ्चालन तथा लोकतान्त्रिक अभ्यास–अब थप बहस र छलफलमार्फत नयाँस्तरमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले पार्टीलाई सही र लोकतान्त्रिक ढंगले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्त अनिवार्य रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा पराजित भए पनि एमालेको देशभक्तिपूर्ण, लोकतान्त्रिक र समाजवादको आधार निर्माण गर्ने अभियानमा आफ्नो संलग्नता अटुट रहने पोखरेलको भनाइ छ । साथै, आफूलाई विश्वासको मत प्रदान गर्ने मतदाताप्रति उनले आभार प्रकट गरेका छन् । मतपरिणामअनुसार कुल २,२२७ मतमध्ये केपी शर्मा ओलीले १,६६३ मत प्राप्त गरी विजयी भए भने पोखरेलले ५६४ मत हासिल गरेका थिए। पराजयलाई स्वाभाविक प्रतिस्पर्धाको परिणामका रूपमा स्वीकार गर्दै पोखरेलले पार्टी एकता, आन्तरिक लोकतन्त्र र संस्थागत प्रक्रियालाई सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

पोखरेको भनाइ जस्ताको तस्तै

नेकपा ( एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन ( २०८२ मंसीर २७– पुस ३ ) सम्पन्न भएको छ । महाधिवेशनमा निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाइ तथा कार्यकालको सफलताको शुभकामना ! महाधिवेशनमा योगदान पुर्याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु ।

प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू–जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।

आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु । नेकपा (एमाले) को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस्–हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

सुनिता–सुहाङसहित एमाले केन्द्रीय कमिटीमा नयाँ पुस्ताको उदय

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीमा युवा र महिला नेतृत्वको आशालाग्दो उपस्थिति देखिएको छ । १९ पदाधिकारीसहितको केन्द्रीय कमिटीमा ३० वर्षमुनिका दुई युवा महिला—अस्मिता थापा र एलिसा गौतम—सबैभन्दा कम उमेरका केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् ।

खुला महिला क्लस्टरबाट उम्मेदवार बनेकी अस्मिता थापाले सर्वाधिक १,८५९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाइन् । उनी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष समेत हुन् । सोही क्लस्टरबाट एलिसा गौतमले १,८१२ मत ल्याएर विजय हासिल गरिन् । पेशाले इन्जिनियर गौतम युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उदाएकी छन् । यसअघि सोही उमेर समूहका रौनित साह निर्विरोध केन्द्रीय सदस्य बनेका थिए ।

यस्तै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनले १,६६८ मत ल्याएर विजय हासिल गरिन् । डंगोल २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट काठमाडौँको उपमेयरमा निर्वाचित भएकी थिइन् । उनी अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट उपत्यका विशेष कमिटीअन्तर्गत महिला कोटाबाट उम्मेदवार बनेकी थिइन् ।

उता, दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ३७ वर्षीय नेम्वाङले खुला केन्द्रीय सदस्यतर्फ केपी ओली प्यानलबाट जित हासिल गरेका हुन् । उनले १७०१ मत ल्याएका छन् । सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई पछि ओली पक्षले आफ्नो प्यानलमा समेटेको थियो । एमालेको नयाँ केन्द्रीय कमिटीमा युवा, महिला र नयाँ अनुहारको उल्लेख्य सहभागिताले पार्टीभित्र पुस्तान्तरण र समावेशिताको सन्देश दिएको छ ।

गोकुल बास्कोटा : सचिवमा पराजित, केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेकपा एमालेको सचिवमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था छ । सचिवमा झिनो मतान्तरले पराजित भएका बास्कोटाले खुला केन्द्रीय सदस्यमा भने १,१९५ मतका साथ विजयी भएका हुन् ।

खुला केन्द्रीय सदस्यमा ज्ञवालीलाई सर्वाधिक मत

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्व उपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित विजयी बनेका छन् । उनले संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । ज्ञवालीले महासचिवमा पहिल्यैबाट दावेदारी प्रस्तुत गरे पनि संस्थापन पक्षले उनलाई उपाध्यक्षमा उठाउन चाहेको थियो । तर, उनले उपाध्यक्षमा उम्मेदवारी दिन मानेनन् र केन्द्रीय सदस्यमा मात्रै उठे । ज्ञवालीले रिक्त गरेको स्थानमा संस्थापनबाट रघुजी पन्त उम्मेदवार भएर विजयी बनेका छन् । खुला केन्द्रीय केन्द्रीय सदस्यमा ज्ञवालीले १,९४२ मत ल्याए । उनी सर्वाधिक मत ल्याउनेमा पर्छन् ।

एमालेमा फर्केकी रामकुमारी लोकप्रिय मतले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । भर्खरै नेकपा एमालेमा फर्केकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएकी छन् । प्रकाशित मत परिणामअनुसार उनले १,९११ मत ल्याएकी छिन् । झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । सचिवको आकांक्षी भए पनि भाग नपुगे पनि उनले केन्द्रीय सदस्यमै चित्त बुझाएकी हुन् । प्रतिनिधिहरूले उनलाई अत्यधिक मत दिएका छन् ।

महासचिवमा फेरि विजयी शंकर पोखरेलले भने–सबैसँग मिलेर काम गर्छौ

काठमाडौं । नेकपा एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले पार्टीमा सबैसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन् । आफू महासचिवमा विजयी भएको जानकारी पाएपछि भृकुटीमण्डपस्थित मतगणनास्थलमा पुगेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । पोखरेल दोस्रो कार्यकालको लागि एमाले महासचिवमा विजयी भएका हुन् । पोखरेलले १,२२८ मत प्राप्त गर्दा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । उनीहरूबीचको मतान्तर २२९ छ ।

 

 

एमाले नेतृत्वमा ओलीको वर्चस्व कायमै, १९ पदाधिकारीमध्ये १७ संस्थापन पक्षकै

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीभित्रको शक्ति सन्तुलन स्पष्ट रूपमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा गएको छ । प्यानलगत प्रतिस्पर्धाबाट भएको निर्वाचनमा १९ सदस्यीय पदाधिकारीमध्ये १७ जना ओली नेतृत्वको संस्थापन पक्षबाट निर्वाचित भएका छन् भने ईश्वर पोखरेल पक्षबाट दुई जना मात्र विजयी भएका छन् ।

अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै तेस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्हालेका छन् । महाधिवेशनमा कुल २२६३ प्रतिनिधि रहेकामा ३६ जनाले मतदानमा सहभागिता जनाएनन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मतमा सीमित हुन पुगे । मत परिणामले महाधिवेशनअघि देखिएको आन्तरिक प्रतिस्पर्धा निर्वाचन परिणाममा भने एकपक्षीय बनेको देखिएको छ । महासचिव पदमा पनि कडा प्रतिस्पर्धा भए तापनि अन्ततः संस्थापन पक्षकै उम्मेदवार शंकर पोखरेल विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई दुई सयभन्दा बढी मतले पछि पार्दै पार्टीको सांगठनिक जिम्मेवारी हात पारेका हुन् । यो परिणामले पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशा ओली समूहकै नियन्त्रणमा रहने संकेत दिएको छ ।

यद्यपि सम्पूर्ण पदाधिकारी संस्थापन पक्षकै हुन भने सकेनन् । उपाध्यक्ष पदमा गोकर्ण विष्ट र उपमहासचिव पदमा योगेश भट्टराई ईश्वर पोखरेल नेतृत्वको संस्थापन इतर प्यानलबाट निर्वाचित भएका छन् । यी दुई बाहेक अन्य सबै पदाधिकारी ओली पक्षका उम्मेदवार विजयी भएका हुन् ।
महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरूले पार्टीभित्र देखिएको मतभेदलाई कसरी व्यवस्थापन गर्छन् र संगठनलाई एकताबद्ध रूपमा अघि बढाउन कस्तो भूमिका खेल्छन् भन्ने विषय आगामी दिनमा चासोको विषय बनेको छ । चुनावी परिणामले एमालेभित्र ओलीको राजनीतिक प्रभाव अझ सुदृढ भएको देखिए पनि अल्पमतमा परेको पक्षलाई समेट्दै अघि बढ्नु नयाँ नेतृत्वका लागि मुख्य चुनौतीका रूपमा रहने देखिन्छ।

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष – केपी शर्मा ओली ।
उपाध्यक्ष – पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त ।
महासचिव –शंकर पोखरेल ।

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन् ।
महासेठले १,३६८, भट्टराईले १,३४८ मत पाएर जितेका छन् । चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत ल्याए । आनन्द पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्र गौतम २७० मत पाए। गौतमले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका थिए ।

एमाले महासचिवमा शंकर पोख्रेल विजयी

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक’, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् । ओलीले १,६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए । दुई जनाबीचको फरक १,०९९ मत रहेको छ ।

१,१३९ मत गणना : कुन पदाधिकारीको कति ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक नतिजाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानललाई स्पष्ट अग्रता देखाएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म ४० वटा भोटिङ मेसिनको गणना सकिँदा कूल १,१३९ मत गणना भइसकेको छ ।

अध्यक्ष पदमा केपी शर्मा ओलीले सुरुदेखि नै फराकिलो अग्रता बनाइरहेका छन् । पछिल्लो विवरण अनुसार ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मतमा सीमित छन् । महासचिव पदमा पनि ओली प्यानलकै उम्मेदवार शंकर पोखरेल अगाडि देखिएका छन् । उनले ६१३ मत प्राप्त गरेका छन् भने सुरेन्द्र पाण्डेले ५२६ मत ल्याएका छन् । प्रारम्भिक चरणमै शंकर पोखरेलले निरन्तर अग्रता कायम राखेका छन् । उपाध्यक्ष पदतर्फ पनि ओली प्यानलको वर्चश्व देखिएको छ । पृथ्वीसुब्बा गुरुङ सबैभन्दा अगाडि छन् भने दोस्रो स्थानमा विष्णुप्रसाद पौडेल र तेस्रो स्थानमा रामबहादुर थापा ‘बादल’ रहेका छन् । यी तीनै उम्मेदवार ओली समूहबाट मैदानमा उत्रिएका हुन् ।

उपमहासचिव पदमा लेखराज भट्ट र रघुवीर महासेठ अग्रस्थानमा छन् । तेस्रो स्थानमा रहेका योगेश भट्टराई भने ईश्वर पोखरेल प्यानलका उम्मेदवार हुन् । सचिव पदमा पनि महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राईले अग्रता लिएका छन्, जो सबै ओली प्यानलबाट उम्मेदवार बनेका हुन् । बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सकिएपछि मतगणना सुरु गरिएको हो । निर्वाचन आयोगले गणना सुरु भएको केही घण्टाभित्र अधिकांश परिणाम सार्वजनिक भइसक्ने जनाएको छ । हालसम्म आएको नतिजाले एमालेको आगामी नेतृत्वमा ओली समूहको पकड बलियो रहने संकेत गरेको छ ।

कुन पदाधिकारीको कति मत ?

अध्यक्ष

केपी शर्मा ओली – ८४३

ईश्वर पोखरेल – २९६

उपाध्यक्ष

अरुण नेपाल – २२३

गुरु प्रसाद बराल – ५८५

गोकर्ण राज विष्ट – ७१३

टकं प्रसाद कार्की – १८७

पर्शुराम मेघि गुरुङ्ग – ३३४

पृथ्वीसुव्वा गुरुङ – ९००

भिम प्रसाद आचार्य – १४३

रघु जी पन्त – ६१७

रामबहादुर थापा बादल – ७७४

विन्दा पाण्डे – ४७४

विष्णुप्रसाद पौडेल – ८४६

महासचिव

शंकर पोख्रेल – ६१३

सुरेन्द्रप्रसाद पाण्डे – ५२६

उपमहासचिव

आनन्दप्रसाद पोख्रेल – ३३४

योगेश भट्टराई – ७०९

रघुविर महासेठ – ६८९

राजेन्द्रप्रसाद गौतम – १४०

लेखराज भट्ट – ७३४

विष्णुप्रसाद रिमाल – ५४०

वैजनाथ चौधरी – २७१

सचिव

अग्निप्रसाद खरेल – ३७७

इन्द्रलाल सापकोटा – ३०९

कर्णबहादुर थापा – ४४४

कृष्ण गोपाल श्रेष्ठ – ३२५

खगराज अधिकारी – ६८०

गोकुल प्रसाद बास्कोटा –५२८

छविलाल विश्वकर्मा – ४६९

ठाकुर प्रसाद गैरे – ४६२

पद्मा कुमारी अर्याल – ४७८

पुरुषोत्तम पौडेल – २३०

पेम्वा लामा – २५५

भानुभक्त ढकाल – ५५२

महेश बस्नेत – ७८३

यमलाल कडेल – ६२६

रचना खड्का – ४५९

राजन भट्टराई – ५८१

लालबाबु पण्डित – ३९९

विनोदप्रसाद ढकाल – ३५५

शेरधन राई – ४६७

हिक्मतकुमार कार्की – ६७२

 

एमालेको १९ सदस्यीय पदाधिकारी टिममा महिलाबाट अर्याल मात्रै ‘सेफ जोन’ मा

काठमाडौं । नेकपा एमालेको आगामी १९ सदस्यीय पदाधिकारी टिममा महिला प्रतिनिधित्व अत्यन्तै कमजोर हुने संकेत देखिएको छ । जारी मतगणनाको परिणामअनुसार महिलाबाट पद्मा अर्याल मात्र सुरक्षित अवस्थामा देखिएकी छन् । १९ पदाधिकारी पदका लागि ४२ जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या जम्मा चार जनामा सीमित थियो ।

उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलबाट बिन्दा पाण्डे, सचिवमा संस्थापन पक्षबाट पद्मा अर्याल र पोखरेल प्यानलबाट रचना खड्का उम्मेदवार बनेका थिए भने पेम्बा लामा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा थिइन्। हालसम्मको परिणामले पाण्डे, खड्का र लामा प्रतिस्पर्धामा पछाडि परेको देखाउँछ। सचिव पदमा उम्मेदवार बनेकी पद्मा अर्याल भने जित नजिक देखिएकी छन् । यसअघिको कार्यकालमा पनि सचिव रहेकी अर्यालले यस पटक लोकप्रिय मत पाइरहेकी छन् । पहिलो स्थानका लागि महेश बस्नेत र छविलाल विश्वकर्मासँग उनको कडा प्रतिस्पर्धा चलिरहेको छ । सचिव पदका अन्य दुई महिला उम्मेदवार रचना खड्का र पेम्बा लामा भने शीर्ष ९ भित्र अटाउन सकेका छैनन् ।

उपाध्यक्ष पदकी उम्मेदवार बिन्दा पाण्डेको अवस्था पनि चुनौतीपूर्ण बनेको छ । ११ जना उम्मेदवारबीचको प्रतिस्पर्धामा उनी हाल आठौं स्थानमा छिन्, जबकि निर्वाचित हुन शीर्ष पाँचभित्र पर्नु अनिवार्य छ । यसअघि एमालेको पदाधिकारी टिममा अष्टलक्ष्मी शाक्य र पद्मा अर्याल गरी दुई महिलाको प्रतिनिधित्व थियो । पुस्तान्तरणको पक्षमा वकालत गर्दै अष्टलक्ष्मी शाक्यले यस महाधिवेशनमा उम्मेदवारी नदिएपछि पार्टी नेतृत्वमा महिला सहभागिता थप खुम्चिने देखिएको हो । मतपरिणाम यही प्रवृत्तिमा गए एमालेको आगामी पदाधिकारी टिममा एक मात्र महिला नेतृका रूपमा पद्मा अर्याल सीमित हुने सम्भावना बलियो बन्दै गएको छ ।

 

महासचिवमा पोखरेलले बढाए पाण्डेसँगको अग्रता

काठमाडौं । नेकपा एमालेको महासचिव पदका लागि शंकर पोखरेलले सुरेन्द्र पाण्डेसँगको अग्रता बढाएका छन् । १,१४१ मत गनिसक्दा शंकर पोखरेलले ६१३ मत पाएका छन् भने सुरेन्द्र पाण्डेले ५२८ मत ल्याएका छन् । मतगणनाको प्रारम्भिक चरणमा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा थियो। मतगणना जारी रहँदा पोखरेलले मतान्तर बढाउँदै लगेका हुन् । पोखरेल ओली समूहका उम्मेदवार हुन् भने पाण्डेले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् ।

आधा मत गन्दा ओलीको ८४३, पोखरेलको कति ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ ।

निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । १,१३९ मत गन्दा अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका हुन् । ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ । ओलीले मत गणना सुरू भएदेखि लगतार अग्रता लिइरहेका छन् ।

 

ओलीका ‘विश्वास पात्र’ रिमाल ‘रिस्क जोन’ मा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओली पक्षले अधिकांश पदमा प्रभुत्व जमाइरहे पनि उनका निकटस्थ नेता विष्णु रिमाल उपमहासचिव पदमा भने जोखिमपूर्ण अवस्थामा देखिएका छन् । तीन जना उपमहासचिव रहने व्यवस्थामा सातजनाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रारम्भिक तथा पछिल्लो मत परिणामअनुसार रिमाल ‘टप थ्री’ बाहिर चौथो स्थानमा छन् । हालसम्म उनले करिब २३० मत पाएका छन्, जबकि शीर्ष तीनमा रहेका उम्मेदवारसँग उनको मतान्तर उल्लेख्य छ ।

मतगणनामा लेखराज भट्टराई सर्वाधिक मतसहित अग्रस्थानमा छन् । यसअघि सचिव रहेका भट्टराईलाई संस्थापन पक्षले उपमहासचिवमै समेटेको हो । दोस्रो स्थानमा रघुवीर महासेठ छन् भने ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो स्थानमा छन् । महासेठ र योगेशबीचको मतान्तर निकै सानो (केवल केही मत) रहेकाले प्रतिस्पर्धा थप रोचक बनेको छ । ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल संस्थापन पक्षका भरोसायोग्य मानिन्छन् । उनी पराजित भए अध्यक्ष ओलीका लागि संगठनभित्र राजनीतिक सन्देश जाने विश्लेषण भइरहेको छ ।

यद्यपि मतगणना अझै जारी रहेकाले रिमालले अन्तिम चरणमा मत बढाएर शीर्ष तीनमा स्थान सुरक्षित गर्ने सम्भावना भने कायमै छ । उपमहासचिवको प्रतिस्पर्धामा आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्र गौतम भने स्पष्ट रूपमा पछि परेका छन्। गौतमले त आफ्नो उम्मेदवारी लगभग निस्क्रिय बनाइसकेका छन् । समग्रमा हेर्दा एमाले नेतृत्वमा ओली पक्षको पकड बलियो देखिए पनि उपमहासचिव पदमा विष्णु रिमालको अवस्था संस्थापनका लागि सबैभन्दा संवेदनशील र निर्णायक बनेको छ ।

 

भित्र मतगणना, बाहिर घाम तापेर नतिजाको पर्खाइ (तस्वीरहरु)

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भृकुटीमण्डपको हलभित्र मतगणना चलिरहँदा बाहिर नेता कार्यकर्ता पर्खाइमा छन् । महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारहरू कोही घाम तापेर त, कोही गफगाफ गरेर मतगणनाको प्रतीक्षा गरिरहेका छन् । बिहीबार बिहान मतदान सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना शुरू गरिएको हो । मतपरिणाम एकै पटक सार्वजनिक गरिने निर्वाचन आयोगका उपप्रमुख सानुराजा पोखरेलले जानकारी दिए ।

एमालेले नेतृत्व चयनका लागि ८० वटा विद्युतीय भोटिङ मशिन प्रयोग गरेको थियो । एमालेमा २२६३ प्रतिनिधि रहेकामा २२२७ जना मात्र मतदानमा सहभागी भएका थिए । एमालेको नेतृत्वमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली आफैं प्रतिस्पर्धामा छन् । उनलाई ईश्वर पोखरेलले प्यानलसहित टक्कर दिएका छन् । एमालेको महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा भएको थियो ।

हेर्नुस्, तस्वीरहरु

महासचिवमा सुरेन्द्र भन्दा शंकर अगाडि, कति छ मतान्तर ?

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार पोखरेलले ३६४ मत ल्याएका छन् भने पाण्डेले ३०२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । निवर्तमान महासचिव पोखरेल यसपालि पनि त्यही पदमा निरन्तरता दिन ओली पक्षबाट उठेका हुन् । पाण्डे भने ईश्वर पोखरेल पक्षबाट महासचिव लडिरहेका छन् ।

सचिवमा पद्मालाई महेश र छविलालले उछिने, पोखरेल पक्ष धेरै पछाडि

काठमाडौं । नेकपा एमालेको ९ जना सचिवका लागि भएको निर्वाचनमा संस्थापन पक्षको एकछत्र दबदबा देखिएको छ । पछिल्लो मतगणना अनुसार संस्थापन पक्षका महेश बस्नेत र छविलाल विश्वकर्माले सर्वाधिक लोकप्रिय मत पाएका छन् । सुरुको अपडेटमा पद्मा अर्याल अगाडि थिइन् भने दोस्रो अपडेट अनुसार बस्नेतले उनलाई उछिनेका हुन् । बस्नेत र विश्वकर्मालाई बराबर ३११ मत आउँदा अर्याललाई ३०५ मत आएको छ । चौंथो सर्वाधिक मत शेरधन राईले पाएका छन् । उनलाई अहिलेसम्म ३०० मत आएको छ ।

टप ९ भित्र अटाएका अन्य ५ उम्मेदवारहरूमा क्रमशः हिक्मत कुमार कार्की यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन् । ईश्वर पोखरेल पक्षका उम्मेदवार गोकुल बास्कोटालाई सचिवमा बलियो दाबेदार मानिएको थियो । तर, उनी टप ९ भित्र अटाउन संघर्ष गरिरहेका छन् । बास्कोटालाई अहिलेसम्म १९२ मत आएको छ । पोखरेल पक्षका अन्य उम्मेदवारहरू पछाडि परेका छन् ।

एमाले अध्यक्षमा ओली ईश्वर भन्दा तेब्बर मतले अगाडि

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन् । ओलीले ३३३ मत ल्याएका छन् । अध्यक्ष पदमा ईश्वर पोखरेलले ११० मत ल्याएका छन् । ओली पोखरेल भन्दा तेब्बर मतले आगाडि देखिएका छन् । महासचिवमा ओलीपक्षकै उम्मेदवार शंकर पोखरेल अगाडि छन् । शंकरले २४९ मत ल्याएका छन् । पोखरेल पक्षका महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।

एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङको अग्रता, गोकर्ण विष्ट चौथो स्थानमा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको नतिजामा उपाध्यक्षतर्फ पृथ्वी सुब्बा गुरुङको अग्रता देखिएको छ । मतगणनाको दोस्रो अपडेटमा गुरुङ अगाडि लागेका हुन् । गुरुङले ३५६, विष्णु पौडेलले ३४९, रामबहादुर थापा बादल ३०९, गोकर्ण विष्ट २५६, रघुजी पन्त २५३, गुरु बराल २४२ र विन्दा पाण्डेले १६९ मत ल्याएका छन् । ५ उपाध्यक्षका लागि भएको मतगणनामा ईश्वर पोखरेल समूहबाट विष्टको अग्रता देखिएको छ । उपाध्यक्षमा अरुण नेपाल (३८), टकंप्रसाद कार्की (४३) पर्शुराम मेघि गुरुङ (४७), भिमप्रसाद आचार्य (२७) र विन्दा पाण्डेले हालसम्म ९८ मत पाएकी छन् ।

अध्यक्षमा केपी ओलीको शुरुवाती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूवाती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।

यस्तो छ प्रारम्भिक चरणको मत :-
अध्यक्ष
केपी शर्मा ओली – १५६
ईश्वर पोखरेल – ६७

उपाध्यक्ष
अरुण नेपाल – ३८
गुरु प्रसाद बराल – १०९
गोकर्ण राज विष्ट – १३३
टकं प्रसाद कार्की – ४३
पर्शुराम मेघि गुरुङ्ग – ४७
प्रथवि सुव्वा गुरुङ – १७१
भिम प्रसाद आचार्य – २७
रघु जी पन्त – १२३
रामबहादुर थापा बादल ः १५३
विन्दा पाण्डे – ९८
विष्णु प्रसाद पौडेल – १७३

महासचिव
शंकर पोख्रेल – ११५
सुरेन्द्र प्रसाद पाण्डे –१०८

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल – ७१
योगेस भट्टराइ – १४०
रघुविर महासेठ – १२६
राजेन्द्र प्रसाद गौतम – २६
लेखराज भट्ट – १४७
विष्णु प्रसाद रिमाल – १०५
वैजनाथ चौधरी – ५४

सचिव
अग्नि प्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल –
रचना खड्का – ८३
राजन भट्टराइ – ११३
लाल बाबु पण्डित – ७३
विनोद प्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मत कुमार कार्की – १३८

महासचिवमा शंकर पोखरेलको प्रारम्भिक अग्रता

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक परिणाम आएको छ । निर्वाचन आयोगले २२३ मत गणना गरेर प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । जसअनुसार महासचिवमा शंकर पोखरेलले ११७ मत प्राप्त गर्दा अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त परेका छन् । अध्यक्षमा भने केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

प्रारम्भिक चरणको मत
अध्यक्ष
केपी शर्मा ओली – १५६
ईश्वर पोखरेल – ६७

उपाध्यक्ष
अरुण नेपाल – ३८
गुरु प्रसाद बराल – १०९
गोकर्ण राज विष्ट – १३३
टकं प्रसाद कार्की – ४३
पर्शुराम मेघि गुरुङ्ग – ४७
प्रथवि सुव्वा गुरुङ – १७१
भिम प्रसाद आचार्य – २७
रघु जी पन्त – १२३
रामबहादुर थापा बादल ः १५३
विन्दा पाण्डे – ९८
विष्णु प्रसाद पौडेल – १७३

महासचिव
शंकर पोख्रेल – ११५
सुरेन्द्र प्रसाद पाण्डे -१०८

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल – ७१
योगेस भट्टराइ – १४०
रघुविर महासेठ – १२६
राजेन्द्र प्रसाद गौतम – २६
लेखराज भट्ट – १४७
विष्णु प्रसाद रिमाल – १०५
वैजनाथ चौधरी – ५४

सचिव
अग्नि प्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल –
रचना खड्का – ८३
राजन भट्टराइ – ११३
लाल बाबु पण्डित – ७३
विनोद प्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मत कुमार कार्की – १३८

एमाले मत गणना : दुबैतर्फ पाँच–पाँच जना प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मत परिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मत गणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५-५ जना प्रतिनिधि राखिएको छ । ‘हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि एउटा व्यवस्था गरेका छौं । दुई वटै उम्मेदवारको तर्फबाट ५–५ जना प्रतिनिधि राखेका छौं,’ उनले भने ।

ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा दुई र अरु प्राविधिकको रुपमा दुई जना पनि राखिएको उनले जानकारी दिए । ‘अन्य एसिस्टेन्टको रुपमा पनि राखेका छौं । मेशिनका प्राविधिक र निर्वाचन आयोगका सदस्य हुनुहुन्छ,’ पोखरेलले भने । प्राविधिकले दिएको जानकारी अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने उनले जानकारी दिए । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।

 

एमाले महाधिवेशन : आज अध्यक्ष र दुई आयोगका अध्यक्षको मात्र शपथ

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत भएको मतदान बिहीबार बिहान सम्पन्न भएपछि गणनाको प्रक्रिया अघि बढाइएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार मतगणना औपचारिक रूपमा सुरु भइसकेको छ । आयोगका अध्यक्ष विजय सुब्बाले विद्युतीय प्रणाली भएकाले दुईदेखि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनका अनुसार अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको परिणाम एकैसाथ सार्वजनिक हुनेछ ।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत खसेका छन् । विभिन्न कारणले ३६ प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन् । मतदान बुधबार बिहान ९ः२० बजे सुरु भई करिब २१ घण्टापछि बिहीबार बिहान ७ बजे सम्पन्न भएको थियो ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा छन् । दुवै प्यानल बाहिर रहेकाहरूले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैबीच केन्द्रीय लेखा आयोगका अध्यक्षमा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी निर्विरोध निर्वाचित भइसकेका छन् । नतिजा सार्वजनिक भएपछि आजै पार्टी अध्यक्ष तथा दुई आयोगका अध्यक्षलाई शपथ ग्रहण गराइने निर्वाचन आयोगले जनाएको छ। प्रमाणपत्र वितरण भने आज नहुने र अन्य प्रक्रिया पछि अघि बढाइने बताइएको छ । एमाले महाधिवेशनको सबैभन्दा चासोको विषय बनेको अध्यक्ष पदको नतिजाले पार्टीको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

एमाले नेतृत्व चयन : मेशिनको चिप्स झिकेर मुचुल्का तयार गरिँदै, सबै परिणाम एकसाथ सुनाइने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । बिहीवार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सकिएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा भएको छ ।

अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना शुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेशिनमा खसेको मतको गणना गर्दा मिल्नु पर्ने हुन्छ । प्रत्यके मेशिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कुल ८० मेशिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ ।

त्यसपछि मेसिन लक गर्ने र मेशिनको अलग–अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ । ८ बजेबाट मत गणना प्रारम्भ गर्ने र त्यसको तीन घण्टाभित्र नतिजा घोषणा गर्न सकिने बताइएको छ । महाधिवेशनस्थलमा रहेका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदानको प्रक्रिया शुरु भएपछि सम्पन्न हुन दुई दिन समय लागेको र ८० वटा मेशिनबाट मतदान भएको र एउटा मेशिनबाट एक जनाले मतदान गर्दा सवा घण्टासमेत लागेको बताए । छिटो छरितो कसरी गर्ने भन्ने बारेमा स्पष्ट भएको बताए । प्रविधिको प्रयोगमा चुस्ततामा कमी रहेको र धेरै कुरा विकास गर्न बाँकी रहेको अनुभव भएको बताए । उनले समयमै मतदान सम्पन्न गर्न चिसो, जाडो सहेर भएपनि मतदान नरोकी सम्पन्न गरिएको बताए ।

एमाले चुनाव : उम्मेदवार बनेकै नेताले गरेनन् मतदान

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा एउटा अनौठो र चासोपूर्ण घटना सार्वजनिक भएको छ । केन्द्रीय सदस्यका उम्मेदवार रहेका नेताले नै मतदान प्रक्रियामा भाग नलिएको तथ्य बाहिर आएको हो ।

गुल्मीका राजेन्द्र अर्याल, जो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए, उनले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा देखिएको छ । मतदानमा अनुपस्थित उम्मेदवारको सूचीमा उनको पनि नाम देखिएपछि अर्यालसँग सम्पर्क गर्दा उनले यसलाई ‘नो भोट’ को रूपमा व्याख्या गरे ।

अर्यालले भने, ‘मैले नो भोटको सदुपयोग गरें । नेताहरूले अन्तिम सूचीमा नपारेपछि म पनि घर आएर आराम गरें । कहिलेकाहीँ भोट नहाल्नु पनि एउटा सन्देश हुन्छ।’ प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष रहेका अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत दुवै केन्द्रीय सदस्यका उम्मेदवार थिए । दुवै जना अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका भए पनि उनीहरू ओली प्यानलको औपचारिक उम्मेदवार सूचीमा समेटिएका थिएनन् । यही कारण मतदानप्रति उनीहरूको उत्साह कमजोर बनेको नेताहरूको बुझाइ छ ।

पार्टीभित्र प्यानल राजनीति हाबी हुँदै जाँदा योगदान र अनुभवभन्दा पनि गुटीय समीकरण प्राथमिकतामा परेको भन्दै केही नेता असन्तुष्ट देखिएका छन् । उम्मेदवार भएर पनि मतदान नगर्नु पार्टीभित्रको असन्तोष र निराशाको संकेत भएको टिप्पणी समेत सुरु भएको छ । एमालेको महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा केन्द्रित रहे पनि यस्ता घटनाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, समावेशिता र प्यानल संस्कृतिमाथि पुनः प्रश्न उठाएको छ ।