च्यासल पुगेका सरकारका प्रवक्तासँग स्थानहद र निर्वाचनको गाँठोबारे संवाद
काठमाडौं । नेकपा एमालेले शीर्ष नेतामाथि लगाइएको स्थानहद र निर्वाचनको वातावरणबारे सरकारसँग स्पष्ट जवाफ मागेको छ । मंगलबार दिउँसो च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पुगेको सरकारी राजनीतिक संवाद समितिसँग महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूले छलफल गर्दै जेनजी आन्दोलन जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहदप्रति जिज्ञासा राखेका थिए ।
छलफलपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले सरकार आफ्नो अधिकार क्षेत्र, विधि, प्रक्रिया र कानुनको सीमाभित्र रहेर निर्वाचनको सम्पूर्ण वातावरण बनाउन प्रतिबद्ध रहेको बताए । आयोगजस्ता अन्य स्टेकहोल्डरले गरिरहेको काममा सरकारको तर्फबाट कुनै प्रतिकूल प्रभाव नपर्ने गरी अघि बढ्ने स्पष्ट पार्दै उनले उठाइएका विषयहरू सुनुवाइ हुनुपर्ने र निर्वाचनमा सहभागी हुने अधिकारलाई पनि नजरअन्दाज गर्न नहुने बताए ।
खरेलका अनुसार एमालेले निर्वाचनको वातावरण बनेमा पार्टी चुनावमा सहभागी हुने स्पष्ट सन्देश दिएको छ । निर्वाचन आयोग सक्रिय रहेको, सुरक्षा निकायहरू उच्च मनोबलका साथ परिचालित रहेको र नेता–कार्यकर्ताले बिना अवरोध प्रचार–प्रसार गर्न पाउने वातावरण सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता एमाले नेताहरूसँग राखिएको उनले जानकारी दिए ।
सरकार नागरिक सरकार भएको दाबी गर्दै खरेलले कसैलाई अन्याय नगर्ने र हुन नदिने प्रतिवद्धता दोहो¥याए। आयोगले लगाएको स्थानहदका विषयमा आयोगको काममा असर नपर्ने गरी, तर निर्वाचन सहभागितासँग जोडिएका जायज मागलाई पनि बेवास्ता नगरी कानुनसम्मत ढंगले समाधान खोजिने उनको भनाइ छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा गठित तीन सदस्यीय राजनीतिक वार्ता समितिले दलहरूसँग छलफल थालेको छ । यसअघि समितिले नेपाली कांग्रेससँग पनि वार्ता गरिसकेको छ ।
