एमालेलाई छोएका दिन देश ठप्प हुनुपर्छ, सरकार ढल्नु पर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि कुनै पनि किसिमको भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भए देश ठप्प पार्ने र वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीको शपथग्रहण समारोहपछि सम्बोधन गर्दै उनले यस्तो कदमको कडा प्रतिकार गर्ने घोषणा गरे ।
अध्यक्ष ओलीले पञ्चायतकालीन दमनकारी अभ्यास दोहोर्याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘हल्ला र प्रचारबाट मात्र होइन, अब भौतिक आक्रमण र जाली मुद्दामार्फत एमाले नेतृत्वलाई निशाना बनाउने प्रयास भइरहेको सुनिन्छ’, उनले भने, ‘एमालेलाई छोएका दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढल्नु पर्छ र ढल्नेछ ।’
एमाले नेतृत्वमाथि आक्रमण गर्नु महँगो पर्ने चेतावनी दिँदै ओलीले पार्टी पंक्तिलाई व्यवहारमै तयारी देखाउन आग्रह गरे । ‘संसारमा सबैभन्दा महँगो कुरा के हुन्छ भने एमालेलाई छुनु हो’, उनले भने, ‘कुराले होइन, कामले देखाउनु पर्छ ।’ कार्यक्रममै ओलीले राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गर्दै पार्टीलाई आफ्नै सुरक्षा व्यवस्थामा सचेत रहन निर्देशन दिए । सम्भावित जोखिमतर्फ संकेत गर्दै उनले भने, ‘धोका पाउन सक्छौँ, शान्ति सुरक्षा आफ्नै तर्फबाट गर्नुपर्ने अवस्था आउन सक्छ ।’
अध्यक्ष ओलीले एक साताभित्र पार्टीको सुरक्षा टिम गठन गर्न निर्देशन दिँदै विभिन्न नाममा धम्की आउनसक्ने आशंका पनि व्यक्त गरे । ‘जेनजीको नाममा समेत धाकधम्की आउन सक्छ’, उनले भने, ‘त्यसका लागि एक हप्ताभित्र सुरक्षा टिम तयार पार्नुपर्छ ।’ ओलीको यो अभिव्यक्तिले समसामयिक राजनीतिक वातावरण थप तातेको संकेत दिएको छ भने एमालेले आगामी दिनमा संगठनात्मक र सुरक्षा तयारीलाई प्राथमिकतामा राख्ने स्पष्ट सन्देश दिएको छ ।
