`

एमाले नेता ज्ञवालीको टिप्पणी : पूर्व राष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो

Nepal One HD ७ पुष २०८२ ७:५२
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेका पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनः स्थापना हुनसक्ने आशयको अभिव्यक्ति दिएकोप्रति तीव्र असहमति जनाएका छन् । उनले उक्त अभिव्यक्तिलाई अचम्मलाग्दो भन्दै आफू उभिएको राजनीतिक धरातलप्रतिकै विश्वास डगमगाएको संकेत गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले लोकतान्त्रिक आन्दोलनबाट स्थापित गणतन्त्र, संविधान र पार्टीको वैचारिक यात्रालाई कमजोर बनाउने खालका अभिव्यक्तिले पार्टी र समग्र लोकतान्त्रिक शक्तिलाई गलत सन्देश जाने बताएका छन् । पूर्व राष्ट्रपतिले दिएको अभिव्यक्ति सुन्दा आफूलाई उदेक लागेको उल्लेख गर्दै उनले प्रश्न गरेका छन्–आफैले लामो समय योगदान दिएको राजनीतिक आधारप्रति विश्वास किन कमजोर भयो ?

ज्ञवालीले पार्टीभित्र हालै देखिएका केही गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । महाधिवेशन सम्पन्न भइसकेपछि पनि पार्टीको अनुमोदित नेतृत्वलाई चुनौती दिने गरी छुट्टाछुट्टै भेला र गतिविधि गर्नु अपेक्षित नभएको उनको भनाइ छ । महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको उल्लेख गर्दै त्यसले गरेका निर्णयलाई अन्तिम नमान्ने हो भने पार्टी अन्तहीन बहसको घेरामा फस्ने चेतावनी दिएका छन् ।

उनका अनुसार नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नको समाधानका लागि नै एक वर्ष अगावै महाधिवेशन आयोजना गरिएको थियो । महाधिवेशनले ती सबै प्रश्नको स्पष्ट, द्विविधारहित उत्तर दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको अवस्थामा पनि पुरानै मुद्दा बोकेर अघि बढ्नु पार्टीका लागि घातक हुने उनको निष्कर्ष छ ।

महाधिवेशनअघिको ‘दुई लाइनको संघर्ष’, निरन्तर प्रतिवाद र खोक्रो एकताको बहसमा अल्झिरहँदा पार्टीले आफ्नो गन्तव्य भेट्न नसक्ने उनले स्पष्ट शब्दमा बताएका छन् । पछिल्ला तीन महिनाको छोटो अवधिमै पार्टीलाई संगठित गरी एक बिन्दुमा ल्याउन सफल भएको दाबी गर्दै ज्ञवालीले अब त्यस उपलब्धिलाई अझ ठूलो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नुपर्ने धारणा राखेका छन् ।

उनले लोकतन्त्र बहाली, संविधानको रक्षा, राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रालाई अझै जित्न बाँकी रहेको उल्लेख गरेका छन्। पार्टीको सम्पूर्ण शक्ति र ऊर्जा यिनै विषयमा केन्द्रित हुनुपर्ने बेला पुराना विवाद र अप्रासंगिक बहसले ध्यान विचलित गरिरहेको उनको भनाइ छ ।

पूर्व राष्ट्रपतिको राजतन्त्रसम्बन्धी अभिव्यक्तिले लोकतान्त्रिक आन्दोलनको उपलब्धिमाथि प्रश्न उठाएको भन्दै ज्ञवालीले यस्तो धारणा सार्वजनिक व्यक्तित्वबाट आउनु गम्भीर विषय भएको संकेत गरेका छन् । उनले पार्टी र देश दुवैलाई अगाडि बढाउन स्पष्ट वैचारिक अडान, एकता र जिम्मेवार अभिव्यक्ति अपरिहार्य भएको निष्कर्ष निकालेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *