`

एमाले उपाध्यक्षकै जिल्लामा ‘असन्तुष्टि’ : पूर्व सांसद घिमिरेले त्यागे पार्टी, रास्वपा प्रवेशको तयारी

Nepal One HD १६ पुष २०८२ ११:३१
नेकपा एमाले

बुटवल । नेकपा एमालेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गृह जिल्ला रुपन्देही पछिल्लो समय तीव्र राजनीतिक तनावको केन्द्र बनेको छ । पार्टीभित्रको असन्तुष्टि, समानुपातिक उम्मेदवार सूचीप्रति आक्रोश र नेतृत्वबीचको शक्ति संघर्षकै बीच पूर्व सांसद वासुदेव घिमिरेले एमाले परित्याग गर्ने घोषणा गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख घिमिरेले एमाले छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू अब एमालेमा नरहेको स्पष्ट पार्दै पार्टी सुधार हुने संकेत नदेखिएको बताएका छन् ।

घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग निकट रहेका थिए । बालेन रास्वपामा आवद्ध भएपछि आफूलाई पनि रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन प्रस्ताव आएको घिमिरेको भनाइ छ । ‘म एमालेमा त रहिनँ, तर प्रस्तावबारे अन्तिम निर्णय भने गरिसकेको छैन’, उनले बताएका छन् ।

यसैबीच, एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा रुपन्देही जिल्लाबाट एक जनाको पनि नाम नपरेपछि जिल्लाभर असन्तुष्टि चुलिएको छ । हिजो साँझ रुपन्देहीका एमाले कार्यकर्ताले बुटवलस्थित पुष्पलाल स्मृति भवन घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । उनीहरूले केन्द्रीय नेतृत्वले उपाध्यक्ष पौडेलको गृह जिल्लालाई अपमान गरेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूको आरोप छ कि समानुपातिक उम्मेदवार सूची महासचिव शंकर पोखरेलको नेतृत्वमा तयार पारिएको हो, जसमा योजनाबद्ध रूपमा रुपन्देहीलाई उपेक्षा गरिएको छ । सूचीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल अगाडि रहे पनि रुपन्देहीका कुनै पनि नेता नसमेटिनु अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।

पार्टीभित्र महासचिव समूहले उपाध्यक्ष पौडेललाई राजनीतिक रूपमा एक्ल्याउने रणनीति अपनाएको आरोप समेत उठेको छ । असन्तुष्ट नेताहरूका अनुसार गत महाधिवेशनमा पौडेल निकट मानिएका लीला गिरी र वासुदेव घिमिरे केन्द्रीय सदस्यमा पराजित गराइनु पनि यही रणनीतिको हिस्सा थियो । अहिले महासचिव पोखरेल निकट भूमिश्वर ढकाललाई रुपन्देही जिल्ला इन्चार्ज बनाउने तयारी भइरहेको चर्चा पनि पार्टीभित्र छ । यही आन्तरिक शक्ति संघर्ष र असन्तुष्टिकै पृष्ठभूमिमा पूर्व सांसद घिमिरेको पार्टी परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले नेतृत्वले जनअपेक्षालाई सम्बोधन गर्न नसकेको भन्दै उनले पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपामा प्रवेश गरेमा उनी आगामी निर्वाचनमा उपाध्यक्ष पौडेलकै निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाले रुपन्देहीको राजनीति थप रोचक बन्ने संकेत देखिएको छ । समग्रमा, एमालेको रुपन्देही संगठन आन्तरिक विवाद, असन्तुष्टि र नेतृत्व संघर्षले कमजोर बन्दै गएको देखिन्छ । पूर्व सांसदको बहिर्गमन र कार्यकर्ताको सडक प्रदर्शनले पार्टी नेतृत्वमाथि दबाब बढ्दै गएको स्पष्ट संकेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *