अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको यस्तो छ शपथ तयारी
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व आज औपचारिक रूपमा शपथ ग्रहण गर्दैछ । अध्यक्षमा तेस्रो पटक निर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै पार्टीको नयाँ केन्द्रीय कमिटीले कार्यभार सम्हाल्नेछ । महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा अहिले अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नेता तथा कार्यकर्ताले माला र खादा लगाएर बधाई दिइरहेका छन् । अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि अन्य निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि शपथ गराउने कार्यक्रम तय गरिएको छ । निर्वाचन आयोगका अनुसार शपथ कार्यक्रम अपराह्न ४ बजे महाधिवेशन हलमै हुनेछ ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई ठूलो मतान्तरले पराजित गर्दै ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । यस महाधिवेशनमा दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरे पनि अधिकांश पदमा ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्, जसले केन्द्रीय कमिटीमा उनको समूहको स्पष्ट बहुमत देखाएको छ ।
पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्र निर्वाचित हुन सफल भएका छन्। सचिव पदमा भने सबै ओली प्यानलका उम्मेदवारहरू विजयी भएका छन् । यसैगरी महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । नव निर्वाचित नेतृत्वको शपथसँगै एमालेले आगामी राजनीतिक कार्यदिशा र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने संकेत गरेको छ । महाधिवेशनको औपचारिक समापनसँगै पार्टीभित्रको नेतृत्व चयन प्रक्रिया पनि आजै टुंगिनेछ ।
