`

‘साउथ फिल्मको हिरो जस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीं पुर्‍याउँदैन’

Nepal One HD १२ पुष २०८२ ८:४४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दक्षिण भारतीय चलचित्रका नायक जस्तै चमत्कारी पात्रको अपेक्षामा गरिने राजनीति देश निर्माणका लागि उपयोगी नहुने टिप्पणी गरेका छन् । व्यक्तिको भूमिका महत्वपूर्ण भए पनि अन्ततः मुलुक बन्ने आधार विचार, संस्था, प्रणाली र सामूहिक प्रयास हुने उनको तर्क छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चलिरहेको एकता संवादलाई लक्षित गर्दै पछिल्लो समय अनावश्यक ‘हाइप’ सिर्जना गर्न खोजिएको टिप्पणी गरेका छन् । विचार मिलेर सहकार्य हुनु सकारात्मक भए पनि बालेन–रविबीचको नजिकिँदो सम्बन्ध विचारमा आधारित हो कि स्वार्थमा, त्यसको मूल्यांकन समयले गर्ने उनले बताएका छन् ।

ज्ञवालीका अनुसार, देश नबन्नुको कारण केही व्यक्तिहरू नमिल्नु हो भन्ने जस्तो भाष्य सिर्जना गर्नु यथार्थपरक होइन । ‘दक्षिण भारतीय फिल्महरूमा जस्तो नायक रंगमञ्चमा उत्रँदा सबै समस्या क्षणभरमै समाधान हुन्छन् भन्ने कल्पना राजनीतिमा लागू हुँदैन’, उनले लेखेका छन् । यस्ता ‘तिलस्मी’ अपेक्षाले देशलाई सही दिशामा अघि बढाउन नसक्ने उनको निष्कर्ष छ ।

उनले शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, बदलिँदो भूराजनीतिक सन्दर्भमा राष्ट्रिय हितको रक्षा, जलवायु परिवर्तन जस्ता चुनौती, संविधानका विषयमा के संरक्षण र के परिमार्जन गर्ने भन्ने जस्ता गम्भीर प्रश्नमा बालेन–रविबाट स्पष्ट वैकल्पिक दृष्टिकोण नआएको आरोप पनि लगाएका छन् । ज्ञवालीको भनाइमा उनीहरूमा नकारात्मकता, निषेध र घृणाको राजनीति बढी देखिन्छ ।

मिडियामा देखिएको उत्साहप्रति पनि उनले प्रश्न उठाएका छन् । दुई दशकअघि ‘जनसरकार’ घोषणाका बेला देखिएको अत्यधिक प्रचार र त्यसपछि आएको निराशा सम्झँदै ज्ञवालीले ‘मिडिया हाइप’ बाट निर्माण गरिएका बिम्ब दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् । ‘घोडा कति पानीदार हो भन्ने कुरा लामो दौडपछि मात्र थाहा हुन्छ’, उनले उल्लेख गरेका छन् । अन्त्यमा, ज्ञवालीले समाजलाई भावनामा होइन, तर्क र विवेकमा आधारित बनाउन सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै अत्यधिक अपेक्षापछि आउने निराशा पीडादायी हुने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *