पराजयपछि ईश्वर पोखरेलको विकल्प : भीम रावल हुने कि अष्टलक्ष्मी शाक्य ?
काठमाडौं। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीसँग भारी मतान्तरले ईश्वर पोखरेल पराजित भए । अध्यक्षमा हार व्यहोरेपछि उनको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने प्रश्न सिर्जना भएको छ ।
आठौं महाधिवेशनबाट लोकतान्त्रिक अभ्यास भन्दै नेतृत्वका लागि प्रतिनिधिले सिधै भोट हाल्ने प्रणालीमा गएको एमालेको इतिहासले मूल नेतृत्वमा पराजित उम्मेद्वार पार्टीमा टिक्न नसकेको देखाउँछ । अहिले अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले सातौं महाधिवेशनमा नै पार्टीको लोकतान्त्रिरणको प्रस्ताव पेश गरेका थिए । यसबेला अस्वीकृत भए पनि आठौं महाधिवेशनले यो प्रस्ताव स्वीकार गर्यो र एमालेमा प्रतिनिधिले प्रत्यक्ष मतदान गर्ने बहुपदीय प्रणाली सुरु भयो । यो अधिवेशनमा झलनाथ खनालसँग पराजित भए पनि ओली पार्टीभित्र प्रभावशाली भूमिकामा रहे ।
नवौं महाधिवेशनमा खनाल अध्यक्षका उम्मेद्वार भएनन् । तर, खनालले समेत समर्थन गरेका पूर्वमहासचिव माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भए । यसपछि एमाले र माओवादीबीच एकता भएर नेकपा बने पनि यो एकता धेरै टिक्न सकेन । संसद विघटनको विवादबीच सर्वोच्चको आदेशबाट एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए । संसद विघटनकै विवादलाई कारण बनाउँदै नेपाल र खनालले पार्टी विभाजन गरे र नेकपा एकिकृत समाजवादी बनाए । लामो समयदेखि पार्टीको नेतृत्व पंक्तिमा रहेका बामदेव गौतमले पनि यसैबेला पार्टी छोडे । खनाल, नेपाल र गौतमजस्ता पार्टीमा लामो योगदान गरेका नेताहरू बाहिरिनुले कार्यकर्ता र समर्थकलाई दु:खी बनाएको थियो ।
तीन जना हस्तीहरूले पार्टी छोडेपछिको अवस्थामा एमालेको चितवनमा एमालेको दशौं महाधिवेशन भयो । यो महाधिवेशनमा अध्यक्ष ओलीका विरूद्ध तत्कालीन उपाध्यक्ष भीम रावलले उम्मेद्वारी दिएका थिए । तर, दुई हजार एक सय जति प्रतिनिधि रहेको महाधिवेशनमा रावलले तीन सय मत पनि पाउन सकेनन् । रावललाई साथ दिएका घनश्याम भूसालले पनि धेरै भोट पाएनन् । पछि भुसाल एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरे । रावलले पनि केही समयअघि पार्टी छोडे । जेन्जी आन्दोलनपछि नेकपा एसले माओवादीसँग एकिकरण गरी नेपाली कम्युनिष्ट पार्टी बनाएको छ । रावल पनि यही पार्टीमा मिसिएका छन् । एकता अस्वीकार गरेका घनश्याम भुसाल भने चन्द्रदेव जोशीको नेकपा संयुक्तसँग एकिकरण गरी कार्यवाहक अध्यक्ष भएका छन् ।
मूल नेतृत्वमा पराजित उम्मेद्वारहरूले पार्टी छोड्दै जानुको एउटा कारण सधैंभरी नेतृत्वदायी भूमिकामा रहन खोज्नु हो । कार्यकर्ताबाट मूल नेतृत्वमा पराजित भएका र उमेर पुगेको नेतृत्वले विश्राम लिँदै जाने हो भने यस्तो समस्या झेल्नु पर्ने थिएन । पार्टी विभाजन गरेर सानै भए पनि पार्टीको नेतृत्व गरिराख्ने सोचका कारण नेतृत्वमा पराजित भएका नेताहरू पार्टीमा टिक्न सकिरहेका छैनन् । खासमा, नवौं महाधिवेशनबाट नै सक्रिय राजनीतिबाट बिदा लिएर खनाल र नेपालले विश्राम गर्नु पर्ने थियो । पार्टी छोड्नु भन्दा बामदेव गौतमले पनि यही बाटो रोज्नु उपयुक्त हुन्थ्यो । यसले पार्टीका लाखौं कार्यकर्ता र शुभचिन्तकको उनीहरूप्रतिको सम्मान कायम रहने मात्रै थिएन अझै बढ्ने थियो ।
आफैंले नेतृत्व हस्तान्तरणको मुद्धा उठाएका ईश्वर पोखरेलको हकमा पनि यही कुरा लागु हुनेछ । आठौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका पोखरेल नवौं महाधिवेशनमा पनि महासचिवमा दोहोरिएका थिए । त्यसबेला उनले अहिले आफ्नै टिमबाट महासचिव उठाएका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । दशौं महाधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर पार्टीमा ‘सेकेण्ड म्यान’को जिम्मेवारी पाएका थिए । अर्थात पछिल्लो १७ वर्ष उनी लगातार पार्टीको शीर्ष नेतृत्व तहमा थिए । त्यसैले, यो महाधिवेशनमा उनले आफैं उठाएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्धालाई सम्मान गर्दै सक्रिय राजनीतिबाट बिदा हुनु उपयुक्त हुन्छ ।
केपी शर्मा ओलीको विपक्षमा रहेको समूहले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको जुन मुद्धा उठाएको थियो, त्यसका लागि पोखरेल आफैं उपयुक्त पात्र थिएनन् । ७० वर्ष काटिसकेका उनी उमेर र नेतृत्वमा पाएको अवसर हिसाबले पनि केपी शर्मा ओलीकै हाराहारीमा थिए । नेतृत्व भनेको अध्यक्ष मात्रै होइन, अध्यक्ष पछिको सर्वाधिक शक्तिशाली महासचिव र दोस्रो बरियताको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा उनी थिए । राज्यसत्तामा प्रतिनिधित्व गर्ने सवालमा पनि उनले पटकपटक अवसर पाइसकेका छन् । त्यसैले, अब उनले यो स्थान नेतृत्वको रुपमा विकास हुँदै गरेका गोकर्ण विष्ट र योगेश भट्टराईहरुका लागि खालि गर्नु आवश्यक छ ।
७० वर्षे उमेर हदका पक्षमा पटक-पटक बोलेका पोखरेलले कम्तिमा व्यक्तिगत रुपमा यो एजेन्डा आफैंमा लागु गर्नु नैतिक हिसाबले महत्वपूर्ण हुन्छ । त्यसैले, ईश्वर पोखरेलले माधव-झलनाथ-बामदेव र भीम रावलको बाटो होइन, यो महाधिवेशनमा उनलाई साथ दिएका अष्टलक्ष्मी र युवराज ज्ञवालीको बाटो रोजे उनको व्यक्ति सम्मान मात्रै बढ्ने छैन, उनी आफैंले उठाएको एजेन्डाको पनि सम्मान हुनेछ । उमेर पुगेपछि राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने वकालत गर्ने पोखरेलले केशब बडाल, अमृत बोहोराको पथमा हिडे पार्टीभित्र उनको सम्मान कायम रहन्छ भने भविष्यमा यो एजेन्डाले बल पनि पाउँछ ।
