विपक्षी सांसदहरुलाई ओलीको सलाम, भने- बालेनले देशद्रोही कुरा गरे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशद्रोही अभिव्यक्ति दिएको बताएका छन् ।
ओलीले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको संलग्नता आवश्यक नरहेको स्पष्ट गर्दै विवादलाई दुई देशबीचको संवादबाटै समाधान गर्नुपर्ने बताए। उनले सीमा विवादका विषयमा बाह्य पक्षलाई समावेश गर्ने धारणा अस्वीकार्य हुने टिप्पणी गरे।
ओलीले नेपालले भारतको जमिन मिचेको भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती कुरा को संज्ञा दिए।
उनका अनुसार नेपालले भारतको कुनै पनि जमिन नमिचेको दाबी गर्दै यस्ता अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्ने बताए।
उनले प्रतिपक्षी सांसदहरूको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै संसदमा देशको हितमा आवाज उठाउने काम भएको बताए।
साथै संसद सञ्चालन र सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै देशहितका विषयमा पर्याप्त रुलिङ नभएको टिप्पणी गरे।
ओलीले एमालेमाथि लक्षित आलोचना र राजनीतिक आक्रमण भइरहे पनि पार्टी अझ सशक्त रूपमा अघि बढ्ने दाबी गरे। ‘एमाले फेरि उठ्छ, धक्का दिनेहरूलाई फेरि धक्का दिन्छ,’ उनले भने।
उनले देशमा अत्याचारको अवस्था बढ्दै गएको आरोप लगाउँदै लोकतन्त्र र जनताको अधिकारको पक्षमा एमाले निरन्तर संघर्षमा रहने बताए।
