हिरासतमा रहेकि सुकीलाई राजा चाल्र्सको उपहार
म्यान्माका राष्ट्रपतीय प्रवक्ताका अनुसार प्याकेजमा माटोसम्बन्धी दुईवटा पुस्तक, एउटा सिलबन्दी खाम र राजा चाल्र्सले पठाएको गोप्य कूटनीतिक पत्र समावेश छन्। यद्यपि, पत्रमा के सन्देश छ भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन।
सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सुकी सत्ताच्युत भएकी थिइन्। त्यसपछि उनलाई हिरासतमा राखिएको थियो भने पछि नजरबन्दमा सारिएको थियो। गत अप्रिलमा पूर्वसैनिक शासक मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिका रूपमा स्थापित भएको निर्वाचनमा सुकीको पार्टीलाई सहभागी हुन दिइएको थिएन।
सैनिक विद्रोहपछि म्यान्मामा राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्व चर्किँदै गएको छ। द्वन्द्व अनुगमन गर्ने संस्था एसीएलइडीका अनुसार म्यान्मामा जारी संघर्षका क्रममा एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
बेलायतले सुकीलाई हिरासतमा राखिएको घटनालाई ‘मनमानी नजरबन्द’ भन्दै आएको छ। बेलायती सरकारले उनलाई तत्काल र बिनासर्त रिहा गर्नसमेत माग गर्दै आएको छ।
