`

अमेजनमा एल निनोको कहर, रूखका छत्रमुनि सल्कियो डढेलो, नासाको भयावह चेतावनी

Nepal One HD ४ कार्तिक २०८३ १६:५२
बिशेष

काठमाडौं । एल निनोको प्रभावसँगै अमेजन वर्षावनमा डढेलोको जोखिम भयावह बन्दै गएको छ। जंगलमाथि धुवाँका मुस्ला उडिरहेका छन्, जमिन सुक्खा हुँदै गएको छ र रूखका बाक्ला छत्रमुनि सल्किएको आगोले वनभित्रै विनाश मच्चाइरहेको छ। नासाका वैज्ञानिकहरूले उपग्रहबाट देखिएको आगलागी वास्तविक संकटको एउटा अंश मात्रै हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार वनभित्र लुकेर फैलिरहेको आगोले अझ ठूलो क्षति पुर्‍याउन सक्छ।

सन् २०२६ मा एल निनोका कारण वर्षाको चक्र प्रभावित हुँदा अमेजन क्षेत्रमा खडेरी चर्किएको छ। इन्डोनेसियाबाट सुरु भएको डढेलोको श्रृंखला अहिले मध्य तथा पूर्वी अमेजनसम्म आइपुगेको वैज्ञानिकहरूको विश्लेषण छ। यो क्रम आगामी महिनाहरूमा थप फैलिन सक्ने र आगलागीको मौसम सामान्यभन्दा लामो तथा विनाशकारी बन्न सक्ने उनीहरूको आकलन छ।

सेप्टेम्बरयता मध्य तथा पूर्वी अमेजनमा डढेलो र धुवाँको मात्रा उल्लेख्य रूपमा बढेको उपग्रहबाट प्राप्त तथ्यांकले देखाएका छन्। नासाका विभिन्न निगरानी प्रणालीले ब्राजिलका मानाउस र सान्तारेम आसपासका जंगलदेखि अमेजन नदीको मुहानसम्म आगलागी फैलिएको संकेत गरेका छन्।

अक्टोबर १२ मा नासाको अक्वा उपग्रहले अमेजन नदीको दुवैतर्फ जंगलबाट विशाल धुवाँका मुस्ला उठिरहेको दृश्य कैद गरेको थियो। त्यही दिन ब्राजिलको अमेजोनास राज्यको राजधानी मानाउस बाक्लो धुवाँले ढाकिएको थियो। सहरमा हावाको प्रदूषण खतरनाक तहमा पुगेको थियो भने पीएम २.५ भनिने सूक्ष्म कणको मात्रा प्रतिघनमिटर १३५ माइक्रोग्रामभन्दा माथि पुगेको अधिकारीहरूले जनाएका थिए।

२० लाखभन्दा बढी मानिस बसोबास गर्ने मानाउसमा प्रदूषणले जनजीवन अस्तव्यस्त बनायो। विद्यालय बन्द गरिए, सार्वजनिक कार्यक्रम रोकिए र बालबालिकाका खेलकुद गतिविधिसमेत स्थगित गरिए। जंगलमा लागेको आगोको असर अब वनक्षेत्रमा मात्रै सीमित नरहेको र सहरवासीको स्वास्थ्यमा समेत गम्भीर खतरा उत्पन्न भएको यस घटनाले देखाएको छ।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका वैज्ञानिक डगलस मोर्टनका अनुसार अमेजनमा देखिएको आगलागी छुट्टाछुट्टै घटनाको परिणाम होइन। यो एल निनोका कारण वर्षामा आएको परिवर्तनसँग जोडिएको उष्णकटिबन्धीय डढेलोको श्रृंखला हो। एउटा क्षेत्रमा सुरु भएको आगलागीको जोखिम अर्को क्षेत्रमा सर्दै जाने भएकाले उनले यसलाई ‘डढेलोको क्यास्केड’ अर्थात् एकपछि अर्को क्षेत्रमा फैलिने आगलागीको क्रम भनेका छन्।

वैज्ञानिकहरूले सन् २०१५-२०१६ को एल निनोका बेला देखिएको विनाशकारी डढेलोको अध्ययनबाट पनि यस्तो सम्बन्ध पहिचान गरेका थिए। सन् २०२३ मा समेत यस्तै प्रवृत्ति देखिएको थियो। अहिलेको अवस्था पनि विगतका घटनासँग मिल्दोजुल्दो देखिएको छ।

अगस्टयता इन्डोनेसियाका विभिन्न क्षेत्रमा खडेरी, आगलागी र बाक्लो धुवाँको समस्या देखिएको छ। अक्टोबरमा डढेलोले सयौँ घर नष्ट गरेको थियो। त्यसपछि ब्राजिलका पार र अमेजोनास राज्यमा आगलागी बढ्न थालेको छ। मोर्टनका अनुसार डढेलोको श्रृंखलामा अमेजन अब दोस्रो चरणमा प्रवेश गरेको छ।

तर संकट यतिमै सीमित नहुन सक्छ। वैज्ञानिकहरूले नोभेम्बर र डिसेम्बरमा आगलागीको जोखिम अझ उत्तरतर्फ फैलिन सक्ने अनुमान गरेका छन्। ब्राजिलका रोरेइमा र अमापा राज्य, उत्तरी पार तथा भेनेजुएला, गुयाना र सुरिनामका केही भाग प्रभावित हुन सक्छन्। त्यसपछि जोखिम दक्षिणतर्फ सर्दै सन् २०२७ को अगस्ट र सेप्टेम्बरतिर ब्राजिल तथा पाराग्वेसँग जोडिएका दक्षिणी अमेजन क्षेत्रमा उच्च तहमा पुग्न सक्ने मोर्टनको अनुमान छ।

“यो फेरि त्यही अवस्था दोहोरिनु निकै आश्चर्यजनक र निराशाजनक छ,” उनले भने।

अमेजनको संकट थप गहिरिनुको अर्को कारण विगतका डढेलोले कमजोर बनाएको वन हो। अहिले आगलागी भइरहेका कतिपय क्षेत्र सन् २०१५ र २०२३ मा पनि डढेलोबाट प्रभावित भएका थिए। उष्णकटिबन्धीय वर्षावनका अधिकांश वनस्पति र जीवजन्तु बारम्बार आगलागी हुने अवस्थाका लागि अनुकूलित हुँदैनन्। त्यसैले सामान्य देखिने आगोले पनि ठूलो विनाश निम्त्याउन सक्छ।

अघिल्ला आगलागीबाट क्षतिग्रस्त भएका र आंशिक रूपमा जलेका रूखहरूले वनको संरचना कमजोर बनाएका छन्। यस्तो अवस्थामा बाँकी वनस्पति पनि आगोको जोखिममा पर्छन् र डढेलो पहिलेभन्दा तीव्र रूपमा फैलिन सक्छ। एकपटक कमजोर बनेको जंगलमा पुनः आगलागी हुँदा क्षति थप गम्भीर हुने खतरा रहन्छ।

मानाउस र सान्तारेम आसपासका क्षेत्रमा राहतका लागि डिसेम्बर २०२६ वा जनवरी २०२७ मा मौसमी वर्षा फर्किनुपर्ने हुन सक्छ। तर उत्तरी र दक्षिणी क्षेत्रका लागि जोखिमको अवधि फरक हुन सक्ने भएकाले त्यहाँका समुदायले अहिलेबाटै सावधानी अपनाउनुपर्ने वैज्ञानिकहरूको सुझाव छ।

मोर्टनले यस वर्ष आगोको प्रयोगबाट जोगिन विशेष आग्रह गरेका छन्। “एल निनो यति तीव्र भएको अवस्थामा यस वर्ष मानिसहरूले कुनै पनि हालतमा आगो लगाउने कामबाट जोगिनुपर्छ,” उनले भने।

अमेजनमा अहिले फैलिरहेको डढेलोको मुख्य कारण प्राकृतिकभन्दा मानवीय गतिविधि रहेको वैज्ञानिकहरूको भनाइ छ। ब्राजिलको अमेजन क्षेत्र सामान्यतः अत्यन्त ओसिलो हुने भएकाले चट्याङबाट सुरु हुने आगलागी कुल घटनाको एक प्रतिशतभन्दा कम हुन्छ। तर खडेरी चर्किएपछि मानिसले लगाएको सामान्य आगो पनि नियन्त्रणबाहिर जाने जोखिम बढेको छ।

ब्राजिलको राष्ट्रिय मौसम विज्ञान संस्थानका अनुसार मानाउसमा अगस्ट महिनाको वर्षा सामान्यभन्दा ९५ प्रतिशत कम भएको थियो। सेप्टेम्बरमा पनि वर्षा औसतभन्दा ६० प्रतिशत कम रह्यो। वर्षाको अभावले वनको भुइँ र त्यहाँ रहेका वनस्पतिलाई सुक्खा बनाउँदा आगो फैलिन अनुकूल वातावरण बनेको छ।

कृषि प्रयोजनका लागि गरिने नियन्त्रित आगलागी अहिले ठूलो समस्याको कारण बनेको छ। किसानहरूले चरन क्षेत्र सफा गर्न, अनावश्यक वनस्पति हटाउन वा खेतमा बाँकी रहेका बालीका अवशेष नष्ट गर्न आगो लगाउने गर्छन्। तर जमिन अत्यधिक सुक्खा हुँदा त्यस्तो आगो निर्धारित क्षेत्रभन्दा बाहिर फैलिन्छ र बाक्लो जंगलभित्र प्रवेश गर्छ।

नासाको गोडार्ड केन्द्रमा कार्यरत युनिभर्सिटी अफ मेरिल्यान्डका अनुसन्धान वैज्ञानिक शेन कफिल्डका अनुसार सान्तारेम आसपास मात्रै ५० देखि ७० वटासम्म अनियन्त्रित आगो सक्रिय रहेको उपग्रह विश्लेषणले देखाएको छ। तर वास्तविक संख्या योभन्दा बढी हुन सक्ने उनको अध्ययनले संकेत गरेको छ।

कफिल्डले नासाको ‘अर्थ एक्सन’ परियोजनाअन्तर्गत उपग्रहबाट प्राप्त तथ्यांक विश्लेषण गर्दै आधिकारिक निगरानी प्रणालीमा छुटेका आगो पहिचान गरिरहेका छन्। नासाको एफआईआरएमएस प्रणालीले पत्ता लगाउन नसकेका साना तथा कम तीव्रताका आगो पहिचान गर्न उनले भाइआइआइआरएस उपकरणबाट प्राप्त विवरण प्रयोग गरिरहेका छन्।

यी आगोलाई ‘सम्भावित आगलागी’ का रूपमा छुट्याएर तिनको स्थान पहिचान गरिँदै छ। प्राप्त विवरण अमेजनमा डढेलो र भू–उपयोग परिवर्तनको निगरानी गर्दै आएको मापबायोमास नेटवर्कका अनुसन्धानकर्तालाई उपलब्ध गराउने योजना छ।

“सान्तारेम आसपासको क्षेत्रमा हामीले एफआईआरएमएसको सक्रिय आगलागी गणनामा देखिनेभन्दा करिब ४० प्रतिशत बढी आगो पहिचान गरेका छौँ,” कफिल्डले भने।

घना जंगलभित्रका सबै आगो उपग्रहबाट पहिचान गर्न नसकिनु वैज्ञानिकहरूका लागि अर्को चुनौती बनेको छ। बाक्लो धुवाँ, बादल र रूखका घना छत्रले आगोबाट निस्कने तापको संकेत छेक्न सक्छन्। विशेषगरी जंगलको भुइँमा रहेका झाडी र वनस्पतिबीच बिस्तारै फैलिने आगो उपग्रहको निगरानीबाट छुट्न सक्छ।

यही कारण धुवाँ सबैभन्दा बाक्लो भएका दिनमा समेत उपग्रहले थोरै आगलागी मात्र देखाउन सक्छ, जबकि जमिनमा ठूलो क्षेत्र डढिरहेको हुन सक्छ। कफिल्डका अनुसार धुवाँको मात्रा अत्यधिक भएका केही दिनमा मोडिस र भाइआइआइआरएस उपकरणले निकै कम आगो पहिचान गरेका छन्। तर त्यसको अर्थ आगलागी कम भएको भने होइन।

अमेजनको वर्तमान संकटले एउटा गम्भीर प्रश्न उठाएको छ । उपग्रहले देखाएको आगोभन्दा बाहिर जंगलभित्र कति ठूलो विनाश भइरहेको छ? वैज्ञानिकहरूले वास्तविक अवस्था पत्ता लगाउने प्रयास गरिरहँदा एल निनो, चरम खडेरी र मानवीय गतिविधिको संयोजनले विश्वकै महत्वपूर्ण वर्षावनलाई थप जोखिममा धकेलिरहेको छ। समयमै आगो लगाउने गतिविधि नियन्त्रण गर्न नसकिए आगामी महिनाहरूमा अमेजनको संकट अझ गहिरिन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *