`

अमेरिका-इरान तनावमा ब्रेक लागेपछि तेलको मूल्य घट्यो

Nepal One HD १५ जेठ २०८३ १३:०७
अर्थ समाचार

काठमाडौं। अमेरिका र इरानबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा वार्ताको सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको छ।

शुक्रबार विश्व बजारमा तेलको मूल्यमा हल्का दबाब देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका हुन्।

ब्रेन्ट कच्चा तेलको मूल्य करिब ३५ सेन्टले घटेर प्रति ब्यारेल ९३.३६ अमेरिकी डलरमा झरेको छ। त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) कच्चा तेलको मूल्य ६३ सेन्टले घट्दै प्रति ब्यारेल ८८.२७ डलरमा पुगेको छ।

यद्यपि, बजारमा उल्लेखनीय गिरावट भने देखिएको छैन। विश्लेषकहरूका अनुसार वार्ताको सम्भावनाले लगानीकर्तामा केही सहजता देखिए पनि ठोस सम्झौता नआएकाले मूल्य स्थिर नै रहेको हो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको तर अन्तिम सहमति भइनसकेको स्पष्ट पारेका छन्। उनले इरान वार्तामा इमान्दारीपूर्वक सहभागी भइरहेको दाबी गर्दै मुख्य विवाद युरेनियम समृद्धि र सम्झौताका सर्तमा केन्द्रित रहेको बताएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्थमन्त्री स्कट बेसन्ट र उपराष्ट्रपति भान्सले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत दिएका थिए।

अमेरिकी अधिकारीहरूका अनुसार सैन्य दबाबपछि मात्र वार्ता पुनः गति लिन सकेको हो।

यसैबीच, सम्भावित सम्झौता र मध्यस्थताबारे छलफल भइरहेका बेला वासिङ्टन डीसीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पाकिस्तानका विदेशमन्त्री इसहाक डारबीच महत्वपूर्ण भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

पाकिस्तान पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निभाइरहेको छ। हालैका दिनमा पाकिस्तानी उच्च अधिकारीहरूले इरानसँग प्रत्यक्ष भेटवार्ता समेत गरेको बताइएको छ।

विश्लेषकहरूका अनुसार वार्ता सफल भएमा मध्यपूर्वको ऊर्जा बजारमा स्थायित्व आउन सक्ने र कच्चा तेलको मूल्य अझै स्थिर हुन सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *