केन्द्रीय सदस्यलाई ओलीको निर्देशन : पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुरा मिडियामा नबोल्नू
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई पार्टीको अनुशासन र प्रतिष्ठा कायम राख्न कडा निर्देशन दिएका छन् । शुक्रबार सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीसँग सम्बन्धित असन्तुष्टि वा विवादास्पद विषयहरू सार्वजनिक सञ्चारमाध्यममा नगर्न अनुरोध गरेका हुन् ।
उनले भने, ‘सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठा, सम्बन्धन वा भावनामा कुनै पनि खालको असर नपरोस्। यदि असन्तुष्टि छ भने नेतृत्व समक्ष मौखिक वा लिखित रूपमा व्यक्त गर्न सकिन्छ ।’ ओलीले यो कुरालाई पार्टी अनुशासन र एकताको आधारमा महत्वपूर्ण भनेका छन् । ओलीले केन्द्रीय कमिटीका सदस्यहरुलाई बैठकमा मोबाइल प्रयोग नगर्न कडा निर्देशन दिएका थिए । बैठकको क्रममा मोबाइल बज्दा उनले स्पष्ट रूपमा निर्देशन दिए, ‘केन्द्रीय कमिटी बैठकमा मोबाइल बज्न हुँदैन । कोही पनि बोल्न हुँदैन ।’ उनले बैठकलाई विचार र अनुशासनको आधारमा सञ्चालन गर्न जोड दिएका छन् ।
अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भए पनि व्यक्तिगत असन्तुष्टि र आलोचना सामूहिक हित र राष्ट्रिय स्वार्थभन्दा माथि नउठ्ने गरी प्रस्तुत गर्नुपर्ने बताए । उनले पार्टीमा नेताहरूलाई अनुशासनमा रहन र एकता कायम गर्न आग्रह गर्दै भने, ‘पार्टी एकतालाई कमजोर पार्ने खालका गतिविधि वा बाह्य प्रभावमा नपर्नुहोस् । लिडरशीपप्रति अनास्था जगाउने प्रयासले पार्टीको एकतालाई असर गर्न सक्छ ।’ यस निर्देशनसँगै ओलीले पार्टीभित्र अनुशासन र सामाजिक व्यवहारको महत्वलाई विशेष रूपमा जोड दिएका छन् र नेताहरूलाई आफ्नो स्वतन्त्र अभिव्यक्तिलाई पार्टी हितअनुकूल ढंगले व्यक्त गर्न सजग रहन सुझाएका छन् ।
