रास्वपाप्रति ओलीको कटाक्ष : मान्छेहरुले प्रधानमन्त्री बनाइसके, हामी चुनाव पर्खिरहेका छौं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार अघि सारिएको भन्दै कटाक्ष गरेका छन् । आज (मंगलबार) मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कटाक्ष गरेका हुन् ।
‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ,’ ओलीले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला या अर्को मंसिरमा होला ।’ फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि रास्वपाले काठमाडौँका मेयर बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले जंगलमा बाघको शिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ ले मोर्चा बनाएको समेत टिप्पणी गरेका छन् । ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको शिकार गर्न सक्दैन,’ अध्यक्ष ओलीले भने । ओलीले यसो भन्दा सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो । उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको आरोप समेत लगाएका छन् । ‘एमाले मात्र होइन, कांग्रेस पनि छ,’ उनले भने, ‘कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ ।’ एमालेले महाधिवेशनबाट धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताएका छन् ।
