`

गोकर्ण र योगेशले बचाए ईश्वरको ‘साख’

Nepal One HD ३ पुष २०८२ १६:३८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली र उनको टिमको दबदबा झनै सुदृढ बनेको छ । १९ सदस्यीय पदाधिकारी चयनमा अधिकांश पद ओली पक्षले हात पारे पनि ईश्वर पोखरेल समूहबाट दुई जना नेताले निर्वाचन जित्दै पार्टीभित्रको प्रतिपक्षी धारको राजनीतिक साख जोगाएका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएसँगै पोखरेल समूह पूर्णरूपमा कमजोर भएको सन्देश जानबाट जोगिएको विश्लेषण गरिएको छ । यी दुई नेताको जितलाई एमालेभित्र ‘प्रतिपक्षी आवाज जोगिएको संकेत’ का रूपमा हेरिएको छ । उपाध्यक्षमा गोकर्ण विष्टले १,३६८ मत प्राप्त गर्दै संस्थापन पक्षका गुरू बराललाई पराजित गरे । पाँच उपाध्यक्षमध्ये विष्ट चौथो स्थानमा रहेर निर्वाचित भए । त्यस्तै उपमहासचिवमा योगेश भट्टराईले १,३४८ मत ल्याउँदै संस्थापन पक्षका विष्णु रिमाललाई पछि पार्दै तेस्रो स्थानमा पदाधिकारी बन्न सफल भए।

विष्ट र भट्टराई दुवै जना यस पटक ईश्वर पोखरेललाई अध्यक्ष र सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने रणनीतिक टिमका मुख्य डिजाइनर मानिन्थे । एमालेभित्र ‘१० बुँदे सहमति पक्षधर’ भनेर चिनिने यी नेताहरू माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेपछि ओलीसँग सहमति गरेर पार्टीभित्रै बसेका थिए । यही समूहले यस महाधिवेशनमा ओली नेतृत्वलाई आन्तरिक चुनौती दिएको थियो । गुल्मीका नेता गोकर्ण विष्ट पूर्वमन्त्री तथा एमालेको भ्रातृसंस्था युवा संघका पूर्व अध्यक्ष हुन् । उनी दशौं महाधिवेशनबाट सचिव बनेका थिए। त्यस्तै ताप्लेजुङका नेता योगेश भट्टराई पनि दशौं महाधिवेशनबाट सचिव बनेका हुन् । अनेरास्ववियुको पृष्ठभूमिबाट उदाएका भट्टराई अखिलका पूर्व अध्यक्ष समेत हुन् ।

महाधिवेशनअघि ओलीसँग निकट मानिएका विष्णु रिमालले सामाजिक सञ्जालमार्फत योगेश भट्टराईमाथि कटाक्ष गरेका थिए । ओलीले ताप्लेजुङ पुगेर भाषण गरे पनि पछि सहयोग नगरेको भन्दै आलोचना गरेका रिमाललाई यसै निर्वाचनमा योगेशले पराजित गर्नु एमालेभित्र चासोका साथ हेरिएको छ ।

निर्वाचनपछि योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको खुलेर प्रशंसा गरे । उनले लेखेका छन्, ‘कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डे तपाईंहरूको इमान, निष्ठा र साहसप्रति उच्च सम्मान व्यक्त गर्दछु । पार्टी सदस्य र आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उता नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी रूपान्तरणको अभियानमा नेतृत्व गरेको भन्दै ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई सम्मान जनाएका छन् ।

साथै उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत अग्रज नेताहरूले देखाएको उच्च नैतिकता र त्यागको खुलेर प्रशंसा गरेका छन् । विष्टले अध्यक्ष केपी शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण नेताहरूलाई बधाई दिँदै संगठित प्रयत्नमार्फत पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउने तथा देशलाई अन्यौल र निराशाबाट निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समग्रमा, ११ औं महाधिवेशनले एमालेमा ओली नेतृत्वको वर्चस्वलाई संस्थागत गरे पनि गोकर्ण विष्ट र योगेश भट्टराईको जितले पार्टीभित्र वैकल्पिक धार र बहसको ठाउँ अझै जीवित रहेको सन्देश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *