`

एमाले मतदानस्थलबाट योगेश भट्टराई : म अन्तिम मतदाता !

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले आफू अन्तिम मतदाता भएको बताएका छन्।आज (बिहीबार) बिहान पौने ६ बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘म अन्तिम मतदाता !’

यस्तो लेखेर उनले काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि जारी मतदान सकिँदै गरेको संकेत गरेका छन् । आज बिहान ५ः४३ बजे एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सय जति मत खस्न बाँकी रहेको जानकारी दिएका छन् ।

उनले भने, ‘सबै जना भित्र पसिसक्नु भएको छ, अब मेसिनमा सय जति मत खस्न बाँकी होला । अरू एक घण्टा लाग्ला ।’ एमाले महाधिवेशनमा कुल २ हजार २६३ मतदाता छन् । जारी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । योगेश ईश्वर समूहबाट उपमहासचिव पदमा उठेका हुन् ।

एमाले महाधिवेशनको मतदान सुस्त, रातभरमा पनि नसकिने संकेत

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाकृत निकै सुस्त गतिमा अघि बढिरहेको छ । लामो मतपत्र, धेरै उम्मेदवार र प्यानलको सूची हेर्दै मतदान गर्नुपर्ने बाध्यताका कारण मतदान प्रक्रिया ‘कछुवा गति’ मा अगाडि बढिरहेको छ । बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान साँझ ५ बजेसम्म आइपुग्दा जम्मा ८०२ प्रतिनिधिले मात्रै मत हालेका छन् । महाधिवेशनमा कुल २ हजार २ सय ६२÷६३ प्रतिनिधि रहेका छन् । मतदानको यही रफ्तार कायम रहेमा प्रक्रिया रातभरि मात्र होइन, भोलि बिहानसम्म पनि लम्बिन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।

विद्युतीय भोटिङ मेसिन सञ्चालनमा संलग्न राम–लक्ष्मणमध्येका रामका अनुसार सुरुमा फोटो र नाम हेरेर मतदान गर्दा प्रक्रिया छिटो हुने अपेक्षा गरिएको थियो । तर, अध्यक्षसहित सबै पदमा उम्मेदवारहरूको संख्या धेरै हुनु, साथै केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षधरले आ–आफ्नो प्यानल सूची बोकेर मतदान गर्न जाँदा मतदाताहरू अल्मलिन पुगेका छन् ।

उनका अनुसार प्यानल सूची नबोकी मतदान गर्न जानेले २०–३० मिनेटमै प्रक्रिया पूरा गरेका छन् भने सूची बोकेर जानेले डेढ घण्टासम्म समय खर्चिएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले साँझ ५ बजेसम्म ८०२ मत खसेको पुष्टि गर्दै एक मतदाताले औसतमा ३५ मिनेट समय लिएको जानकारी दिए । उनका अनुसार छिटो मतदान गर्नेले ९ मिनेटमै सकाएका छन् भने ढिला गर्नेले २ घण्टासम्म समय लिएका उदाहरण पनि छन् ।

महाधिवेशनमा ६४२ जना उम्मेदवारबाट ३०१ केन्द्रीय सदस्य, १९ पदाधिकारी तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयन गर्नुपर्ने भएकाले मतपत्र निकै लामो बनेको छ । यही कारण मतदान प्रक्रिया जटिल बनेको आयोगका अधिकारीहरूको निष्कर्ष छ । एक निर्वाचन अधिकारीले भने, ‘यही गतिमा मतदान भयो भने अझै कम्तीमा १० घण्टा लाग्ने देखिन्छ । रातभरिमा टुंग्याउन पनि गाह्रो हुन सक्छ ।’ अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिष्पर्धा भइरहेको छ । मंसिर २८ गतेदेखि शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन गर्ने तयारी भए पनि मतदानको सुस्तताले तालिका प्रभावित हुने संकेत देखिएको छ ।

 

 

 

एमाले महाधिवेशन प्रतिनिधिलाई टोकन, ८ बजेसम्म ‘होल्डिङ सेन्टर’ नपुगे मतदान गर्न नपाउने

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतदानलाई व्यवस्थित बनाउन प्रतिनिधिहरूलाई टोकन प्रणाली लागू गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान सवा ९ बजेदेखि सुरु भएको मतदानमा लामो समय लाइन बस्नुपर्ने अवस्था आएपछि पार्टीले टोकन वितरण गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार अपराह्न साढे ४ बजेसम्म करिब ७२० प्रतिनिधिले मतदान गरिसकेका छन् । महाधिवेशनमा कुल २ हजार २६२ प्रतिनिधि मतदाता रहेका छन् । मतदान प्रक्रियामा एक पटकमा ५० जनालाई मात्र प्रवेश गराइँदै आएको छ भने एक जना प्रतिनिधिले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म समय लाग्ने बताइएको छ । लामो समय उभिनुपर्ने असहजतालाई मध्यनजर गर्दै लाइनमा रहेका र बाहिर रहेका दुवै प्रकारका प्रतिनिधिलाई टोकन बाँडिएको हो । टोकनका आधारमा नै मतदानका लागि बोलाइने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच, एमाले केन्द्रीय निर्वाचन आयोगले टोकन लिएका प्रतिनिधिहरूले बेलुका ८ बजेसम्म अनिवार्य रूपमा होल्डिङ सेन्टरमा पुगिसक्नु पर्ने स्पष्ट पारेको छ । आयोगका सचिव कुन्साङ लामा अनुसार तोकिएको समयभित्र टोकन नलिने वा होल्डिङ सेन्टरमा प्रवेश नगर्ने प्रतिनिधिले मतदान गर्न नपाउने छन् । आयोगका उपाध्यक्ष सानुराज पोखरेलले पनि अपराह्न ४ बजेसम्म करिब ७ सय हाराहारी मत खसेको जानकारी दिँदै बाँकी मतदान प्रक्रिया तोकिएको समय सीमाभित्र सम्पन्न गरिने बताए ।

 

 

 

एमाले महाधिवेशन : मतदानको समय थपियो, किन भइरहेको छ ढिलाइ ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाभन्दा निकै सुस्त गतिमा अघि बढेपछि मतदानको समय थपिएको छ । सुरुमा साँझ ५ बजेसम्म तोकिएको मतदान समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्‍याइएको हो ।निर्वाचन आयोगका अनुसार राति ८ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका प्रतिनिधिले मत हाल्न पाउने व्यवस्था गरिएको छ ।

बुधबार बिहान सवा ९ बजेबाट सुरु भएको मतदान साँझ ४ बजेसम्म आइपुग्दा जम्मा एकतिहाइ प्रतिनिधिले मात्रै मत खसाल्न सकेका थिए । एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । सात घण्टामा ७ सय २० मत खसेको हो । यही गतिमा मतदान अघि बढेमा रातभर मतदान चल्दा पनि टुंगिन कठिन हुने आयोगकै पदाधिकारीहरूले बताएका छन् ।

मतदान प्रक्रियामा प्रयोग गरिएको विद्युतीय प्रणालीका कारण एक जना प्रतिनिधिले औसत ३५ देखि ४० मिनेटसम्म समय खर्चिनुपरेको छ । ८० वटा विद्युतीय मेसिन प्रयोगमा रहे पनि मतदाताको लामो समय खर्चिनुपर्ने अवस्थाले समग्र प्रक्रिया सुस्त बनेको हो । मतदान व्यवस्थापनमा संलग्न रामलक्ष्मण इनोभेसन प्रालिका प्रतिनिधिहरूका अनुसार यही गतिमा मतदान सकिन झण्डै २२ घण्टा लाग्ने अनुमान गरिएको छ ।

ढिलाइ हुनुका मुख्य तीन कारण

मतदान किन यति ढिलो भयो भन्ने प्रश्नको जवाफमा निर्वाचन व्यवस्थापन पक्षले तीन प्रमुख कारण औंल्याएको छ ।
पहिलो–महाधिवेशनको अन्तिम समयमा विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाइनु । एमालेले पदाधिकारी संख्या १५ बाट बढाएर १९ र केन्द्रीय समिति २५१ बाट ३०१ पुर्‍याएपछि भोटिङ मेसिनमा पुनः सेटिङ गर्नुपरेको थियो । उम्मेदवारको नाम र फोटो इन्ट्री गर्न समय लाग्दा मतदान प्रक्रिया स्वाभाविक रूपमा ढिलो भयो ।
दोस्रो–अध्यक्षका दुवै प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलका छुट्टाछुट्टै प्यानल अनुसार प्रतिनिधिहरूले नामसूची बोकेर मतदान गर्नुपर्ने अवस्था । कतिपय प्रतिनिधिले एउटै प्यानलमा सीमित नरही फरक–फरक प्यानलका उम्मेदवारलाई मत दिने भएकाले सूची मिलाउन र रूजु गर्न थप समय लागिरहेको छ ।

तेस्रो–यस पटक सबै पदमा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था । अघिल्ला महाधिवेशनमा केही पद खाली छाडेर मतदान गर्न सकिने भए पनि अहिले तोकिएको संख्याभन्दा कम उम्मेदवारलाई मत दिए अर्को समूहमा प्रवेश नै गर्न नपाइने नियम छ । यसले पनि मतदातालाई लामो समय मेसिनअगाडि उभिन बाध्य बनाएको छ ।

यसपालि अपेक्षाकृत धेरै पदमा प्रतिष्पर्धा भएको छ । सुरुमा करिब ३० प्रतिशत पद सर्वसम्मत हुने अनुमान गरिएको भए पनि व्यवहारमा त्यो सम्भव भएन । कतिपय स्थानमा ५ पदका लागि ६ जनासम्म उम्मेदवार भएपछि मतदान प्रक्रिया थप जटिल बनेको छ। मतदान सकिएपछि मतगणनामा अझै ३–४ घण्टा लाग्ने अनुमान गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिष्पर्धा भइरहेको छ भने १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । मंसिर २८ गते सुरु भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन हुने कार्यतालिका भए पनि मतदान प्रक्रियाको सुस्तताले समग्र महाधिवेशन नै ‘लामो दौड’ जस्तै बनेको छ ।

 

 

एमाले महाधिवेशन : पाँच घण्टामा कति खस्यो मत ?

काठमाडौं । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा पाँच घण्टादेखि मतदान जारी छ । आज बिहान सवा ९ बजेदेखि मतदान सुरू भएको थियो । दिउँसो सवा २ बजेसम्म ५३२ जनाले मतदान गरेको पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ । एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् । एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने र लगत्तै गणना गर्ने जनाएको छ ।

अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेको) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ । मतदान भृकुटीमण्डपमै भइरहेको छ । एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ । विद्युतीय मेसिनमा मतदान भइरहेको हो ।

२९ वर्षमै एमालेको निर्विरोध केन्द्रीय सदस्य : यसरी सम्भव भयो रौनितको राजनीतिमा उदय

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट सर्लाहीका रौनित साह २९ वर्षकै उमेरमा पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । मधेश प्रदेशबाट ४० वर्षमुनिका युवाको कोटामा निर्विरोध निर्वाचित साह केन्द्रीय कमिटीमा पुग्ने सबैभन्दा कान्छा सदस्यमध्ये परेका छन् । २०५२ साल माघ २८ गते जन्मिएका साह पछिल्ला १२–१३ वर्षदेखि एमाले संगठनमा सक्रिय रहेको दाबी गर्छन् । उनी तीन कार्यकाल जिल्ला कमिटी सदस्य, हाल सर्लाही जिल्ला कमिटी अध्यक्ष तथा भूमि आयोग सर्लाहीका सदस्य समेत हुन् । भारतको बैंग्लोरबाट बीबीए अध्ययन गरेका साह हाल पूर्ण रूपमा पार्टी राजनीतिमै संलग्न रहेको बताउँछन् ।

एमालेको नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा ४० वर्षमुनिका १५ युवालाई समेट्ने व्यवस्था गरिएको छ । यही व्यवस्थाअन्तर्गत मधेसी युवाबाट सर्लाहीका रौनित साह र महोत्तरीका अमरकुमार यादव निर्विरोध चयन भएका हुन्। तर साहको उदयसँगै परिवारवादको आरोप पनि लाग्ने गरेको छ । उनी एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष राजनारायण साहका छोरा हुन् । गत मंसिर १४ गते महाधिवेशन प्रतिनिधि छनोटका क्रममा जिल्लामा असन्तुष्टि देखिएको थियो । पार्टी निर्माणमा लामो समयदेखि योगदान गरेका केही सक्रिय नेता–कार्यकर्तालाई पाखा लगाएर अध्यक्ष साहले आफ्नै परिवारका सदस्यलाई अघि सारेको आरोप एमालेकै नेताहरूले लगाएका छन् ।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता समिमबाबु पठानले आफू ०६७ सालदेखि विद्यार्थी आन्दोलनमार्फत पार्टीमा सक्रिय रहे पनि महाधिवेशन प्रतिनिधि बन्न नपाएको गुनासो गरेका छन् । प्रतिनिधि छनोटमा परिवारवाद देखिएको भन्दै उनले त्यसबेला व्यापक असन्तुष्टि रहेको बताएका छन् ।
आरोपबारे प्रतिक्रिया दिँदै रौनित साहले आफू बुवाको कृपाले नभई पार्टीभित्रको सक्रियता र सिफारिसकै आधारमा केन्द्रीय सदस्य बनेको दाबी गरेका छन् । ‘क्षेत्रका युवाहरूले नै मलाई प्रतिनिधिमा सिफारिस गरेका हुन्,’ उनले भने, ‘कसैलाई अवसर नपर्नु मेरो दोष होइन ।’

एकातिर एमालेले युवालाई नेतृत्वमा ल्याउने सन्देश दिएको छ भने अर्कोतिर रौनित साहको चयनले पार्टीभित्र योग्यता बनाम पहुँचको बहस पुनः सतहमा ल्याएको छ । २९ वर्षमै केन्द्रीय कमिटीमा पुगेका साहको राजनीतिक यात्रा आगामी दिनमा संगठन सुदृढीकरणतर्फ जान्छ कि आलोचनालाई पुष्टि गर्ने दिशामा, त्यो भने उनको काम र भूमिकाले नै तय गर्नेछ ।

 

 

 

 

 

प्रतिष्पर्धालाई तिक्तताको रूपमा लिनु हुन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया लोकतान्त्रिक अभ्यास र आपसी सौहार्दताका साथ अघि बढिरहेको छ । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई नकारात्मक रूपमा लिन नहुने स्पष्ट पार्दै यसलाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा बुझ्न आग्रह गरेका छन्।

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा सबैले खुला र सकारात्मक सहभागिता जनाइरहेको बताए । उनले नेतृत्व चयनका क्रममा देखिने प्रतिस्पर्धालाई तिक्तता वा विभाजनको संकेतका रूपमा व्याख्या गर्नु गलत हुने धारणा राखे । उनका अनुसार विगतमा पार्टी गम्भीर विभाजनको जोखिममा परेका बेला विशेष परिस्थिति थियो, तर अहिले एमाले त्यस्तो अवस्थामा नरहेको र विचार, संगठन तथा लक्ष्यका हिसाबले पार्टी एकताबद्ध रहेको छ ।

पोखरेलले पार्टीभित्र विचार, संगठन र कार्यदिशामा कुनै मतभेद नरहेको जिकिर गर्दै कार्यसम्पादनको शैली, वैचारिक स्पष्टता र संगठनात्मक व्यवस्थापनलाई अझ सुदृढ बनाउने सन्दर्भमा विभिन्न साथीहरू आ–आफ्ना मान्यतासहित अघि बढेको बताए । यस्तो बहस र प्रतिस्पर्धा पार्टीलाई अझ सबल बनाउने माध्यम भएको उनको भनाइ थियो ।

महाधिवेशनमा देखिएको अर्को उल्लेखनीय पक्ष भनेको नेतृत्व प्रतिस्पर्धाका बीच पनि कायम रहेको सौहार्दता हो । मतदान चलिरहेको समयमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल एकसाथ प्रतिनिधिहरूसँग भेट्दै भोट मागिरहेका देखिएका छन्। उनीहरूसँगै उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल, महासचिवका उम्मेदवार शंकर पोखरेललगायत नेताहरू पनि संयुक्त रूपमा मतदातासँग संवादमा जुटिरहेका छन् ।

मतदान प्रक्रिया जारी रहँदा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको छ भने केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन् । महाधिवेशनमा कुल २२ सय ६२ जना प्रतिनिधि सहभागी छन् र दिउँसो १२ बजेसम्म करिब चार सय मत खसिसकेको जानकारी दिइएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले पनि यो निर्वाचन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र बलियो र जीवन्त रहेको प्रमाणित गरेको बताएका छन् । समग्रमा, नेतृत्वका लागि कडा प्रतिस्पर्धा भए पनि एमाले महाधिवेशनले सहकार्य, पारदर्शिता र लोकतान्त्रिक संस्कृतिको सन्देश दिइरहेको देखिन्छ, जसले पार्टीलाई आगामी दिनमा अझ संगठित र सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

 

 

एमाले महाधिवेशनमा मतदान धमाधम, आजै राति नतिजा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान आजै सम्पन्न गरी रातिबाटै मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँको भृकुटीमण्डपमा भइरहेको मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित पार्टीको केन्द्रीय निर्वाचन आयोग अघि बढिरहेको छ। एमाले नेता राजेन्द्र गौतमले बुधबार बिहान मतदानस्थलमै आयोजित प्रेस ब्रिफिङमा मतदान प्रक्रिया अनुमानित समयमै अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार प्रतिनिधिको संख्या, प्रयोगमा रहेका भोटिङ मेसिन र मतदान प्रक्रियालाई आधार मान्दा साँझ ८–१० बजेसम्म मतदान सकिने र त्यसको दुई घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्न सकिने अवस्था छ ।

भृकुटीमण्डपमा ८० वटा भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ । यद्यपि मेसिन प्रयोग भए पनि उम्मेदवारको संख्या धेरै भएकाले एक प्रतिनिधिलाई मतदान गर्न २० देखि ३० मिनेटसम्म लाग्ने गुनासो मतदाताहरूले गरेका छन् । एक पटकमा ८० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले पनि आजै राति मतदान सम्पन्न हुने र मध्यरातिबाटै मतगणना सुरु गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार प्रारम्भिक अनुमानअनुसार राति ८ बजेसम्म मतदान सकिनुपर्ने भए पनि एक–दुई घण्टा ढिलो हुन सक्ने सम्भावना छ । तर राति १० बजेसम्म मतदान सकिएपछि गणना प्रक्रिया तत्कालै सुरु गरिनेछ ।

यस निर्वाचनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना निर्वाचित हुनेछन् । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । समग्रमा करिब ६ सय ५० जनाजति उम्मेदवार चुनावी मैदानमा छन् । पार्टी नेतृत्व चयनका लागि निर्णायक मानिएको यस निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारीले एमाले महाधिवेशन थप रोचक र निर्णायक चरणमा प्रवेश गरेको छ ।

निर्विरोध रौनित साह बने एमालेको कान्छो केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन् । मधेशबाट ४० वर्षमुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् । साहको जन्म २०५२ माघ २८ गते भएको हो ।

उनी सर्लाही जिल्ला कमिटी अध्यक्ष, ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै हाल भूमि आयोग सर्लाहीको पनि सदस्य छन् । साह विगत १३ वर्षदेखि पार्टी संगठनमा सक्रियतापूर्वक काम गर्दै आइरहेका छन् । उनीसहित केही क्लस्टरबाट केही केन्द्रीय सदस्य निर्विरोध भएका छन् । एमालेको नेतृत्व चयनको लागि अहिले मतदान जारी छ ।

 

एमाले महाधिवेशन : तीन घण्टामा साढे ३०० खस्यो मत, नतिजा आउन कति समय लाग्ला ?

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेसम्म ३०० मत खसिसकेको जानकारी दिएका हुन् । गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् ।

यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान गरिएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेशिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेशिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

भोटिङ मेशिन हुँदा पनि मतदान ढिला : प्यानलको लिस्ट लैजान पाइने, मोबाइल निषेध

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ । आधुनिक प्रविधि प्रयोग गरिए पनि मतदान प्रक्रिया भने अपेक्षाकृत ढिलो भइरहेको गुनासो प्रतिनिधिहरूको छ । मतदानमा एक पटकमा ५० जनालाई सहभागी गराइएको छ। मतदानस्थल प्रवेश गर्नुअघि प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ, भित्र छिरेपछि सोही कार्ड प्वाल पारिन्छ । त्यसपछि प्रतिनिधि भोटिङ मेशिनसम्म पुग्छन् ।

मतदानस्थलभित्र मोबाइल लैजान कडाइका साथ रोक लगाइएको छ, तर दुवै प्यानलका उम्मेदवारको सूची भने साथमा लैजान दिइएको छ । भोटिङ मेशिनमा सबै पदका उम्मेदवारको फोटो र नामसहित सूची राखिएको छ । प्रतिनिधिले इच्छाएको उम्मेदवारको नाममा दुई पटक थिचेर भोट हाल्नुपर्छ । डबल ट्याप गर्दा भोट फिर्ता हुन सक्ने भएकाले स्क्रिनमा संकेत चिह्न देखिन्छ, त्यसपछि प्रतिनिधिले भोट पुनः हाल्न वा परिवर्तन गर्न पाउँछन् ।

उम्मेदवारको सूची १५ पेजमा विभाजन गरिएको छ । प्रत्येक पेजका सबै उम्मेदवारलाई भोट हालेपछि मात्र अर्को पेजमा जान मिल्छ । कुनै पद छुटेमा मेशिनले आफैं संकेत गर्छ । तर एक पटक अगाडि बढेपछि अघिल्लो पेजमा फर्किन नमिल्ने व्यवस्था गरिएको छ । १९ पदाधिकारीका लागि ४१ जना र ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । सबै पदमा मतदान गर्न एक प्रतिनिधिले करिब साढे तीन सय पटक बटन थिच्नु पर्छ । यही कारण मतदानमा समय बढी लागेको प्रतिनिधिहरू बताउँछन् । मतदान गरेर फर्किएका प्रतिनिधिहरूका अनुसार जान्नेहरूलाई पनि २५–३० मिनेट लागिरहेको छ भने नाम सूची खोज्दै भोट हाल्नेहरूलाई ४०–५० मिनेटसम्म समय लाग्ने गरेको छ । अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर

पोखरेलले झण्डै ४० मिनेटमा भोट हालेका थिए भने केही उम्मेदवारले २५–३० मिनेटमै मतदान सकेका छन् । अशक्त र आफैं भोट हाल्न नसक्ने प्रतिनिधिलाई प्राथमिकता दिइएको छ । आवश्यक परेमा सहयोगका लागि आफूले चाहेअनुसार व्यक्ति रोज्न पाउने व्यवस्था पनि गरिएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेशिन प्रयोगमा छन् । प्रविधिमैत्री व्यवस्था भए पनि धेरै उम्मेदवार र लामो सूचीका कारण मतदान प्रक्रिया ढिलो भएको प्रतिनिधिहरूको अनुभव छ ।

 

 

 

एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र {तस्वीरहरू}

काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारहरूको प्रचार सामग्रीले कुरूप बनेको छ । भृकुटीमण्डप क्षेत्रको सडकमा यत्रतत्र उम्मेदवारका प्रचार सामग्री छरिएका छन् । जसका कारण सो क्षेत्रको सौन्दर्य नै हराएको छ । उम्मेदवारको पक्षमा भोट माग्न पर्चा, पम्पप्लेट तयार गरिएको छ भने सोही सामग्री जथाभाबी फाल्दा फोहोर बनेको हो । सोही फोहोरलाई बुधवार बिहान काठमाडौँ महानगरको ब्रुमरले सफा गरेको छ । एमालेको महाधिवेशन अन्तर्गत बुधवार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुने भनिएको छ ।

हेर्नुस् तस्वीरहरु

राष्ट्रियता रक्षा गर्न ओलीको विकल्प छैन : पदम गिरी

काठमाडौं । नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता रहेको बताए । यस समयमा केपी ओलीको नेतृत्वमा अघि बढ्नु पर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता तयार रहेको बताए । उनले ११ औं महाधिवेशन भव्य र सभ्य रुपले सम्पन्न भइरहेको बताए ।

उनले भने, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रुपले सम्पन्न हुँदैछ । आफ्नो नेता चयन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेर खुशीयालीको वातावरणमा अभिमतमार्फत आफ्नो नेता चयन गर्दै हुनुहुन्छ । यसले पनि ११ औं महाधिवेशनमा ऐतिहासिक नै भएको छ । सबै कुरा नियमित रुपमा भइरहेको छ । मुलुक अत्यन्तै अफ्ठ्यारो स्थितिमा छ ।’

उनले भने, ‘लोकतन्त्रमाथि एक किसिमको आक्रमण भइरहेको छ । संविधानको रक्षा गर्नुपर्ने स्थिति छ, मुलुकको राष्ट्रियता संकटको स्थितिमा छ । यस्तो परिस्थितिमा एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता छ । यो नेकपा एमालेको मात्रै महाधिवेशन होइन, सिंगो राष्ट्रको हो । केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता देखिएको छ ।’ नेता गिरीले नयाँ अनुहार केन्द्रिय कमिटीमा देखिने बताए ।

 

 

ओली र ईश्वर दुबै पक्षले मतदातालाई बाँड्यो प्यानलको सूची

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रियासँगै प्यानल राजनीतिले तीव्र रूप लिएको छ । मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्षले आ–आफ्ना प्यानलका उम्मेदवारहरूको सूची वितरण गर्दै मत मागिरहेका छन् ।

मतदानका लागि प्रतिनिधिहरू लामबद्ध भएर पालो कुर्दै गर्दा ओली पक्षका नेताहरूले आफ्ना उम्मेदवारहरूको नाम समेटिएको सूची बाँडिरहेका छन् । ओली र पोखरेलले मतदानस्थल गरिसकेका छन् । यता ईश्वर पोखरेल पक्ष भने मतदान सुरु हुनुअघि नै स्थलमा सक्रिय देखिएको छ । पोखरेल पक्षका नेताहरू लाइनमै बसेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो प्यानललाई समर्थन गर्न आग्रह गरिरहेका छन् ।

यसैबीच, मतदान चलिरहेकै समयमा ईश्वर पोखरेल प्यानलको संशोधित सूची पनि प्रतिनिधिहरूलाई वितरण गरिएको छ । अन्तिम समयमा केही नाम हेरफेर गर्दै नयाँ सूची तयार पारिएको हो । ओलीको प्यानलमा समावेश नभएका तथा स्वतन्त्र उम्मेदवारी दिएका केही नेताहरूलाई आफ्नो पक्षमा समेट्दै पोखरेल पक्षले रणनीतिक पुनर्संरचना गरेको बुझिएको छ ।

खुला महिला, बागमती प्रदेश महिला, कर्णालीलगायत विभिन्न क्लस्टरका उम्मेदवारहरूमा हेरफेर गरेर ओली पक्षका मतदातालाई आफूतिर तान्ने प्रयास गरिएको स्रोतहरूको भनाइ छ । पदाधिकारी तहमा आवश्यक मत सुनिश्चित गर्न अन्तिम समयसम्म दुवै पक्षले आक्रामक प्रचार र लबिङ गरिरहेका छन् । मतदानस्थलमै प्यानल सूची वितरण र मत माग्ने गतिविधिले एमालेको आन्तरिक प्रतिष्पर्धा कति तीव्र छ भन्ने स्पष्ट देखिएको छ । अब प्रतिनिधिहरूको मतले पार्टीको भावी नेतृत्व र शक्ति सन्तुलन कसको पक्षमा जाने हो भन्ने टुंगो लाग्नेछ ।

एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुने छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिष्पर्धा एमालेले स्वीकारेको विधि भएको बताएका छन् । बुधवार बन्द सत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले अहिले पनि जनतको प्रिय पार्टी भएको बताउँदै आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले मात्रै राख्ने बताए । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले गर्ने बताए ।

राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी महाधिवेशनबाट आफूहरु एकतावद्ध हुने बताए । निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्ने बताए । जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्ने बताए ।

उनले भने, ‘एमाले जनताको प्रिय पार्टी हो । आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले राख्नु पर्छ । यस प्रकारको नेतृत्व यो महाधिवेशनबाट आउनेछ । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम गर्नेछ । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी हामी यो महाधिवेशनबाट एकतावद्ध हुनेछौँ ।’

उनले भने, ‘प्रतिष्पर्धा देखिन्छ, स्वस्थ प्रतिष्पर्धा एमालेले स्वीकारको विधि हो । यसबाट निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्छ । एमालेमाथि धेरै प्रहार छन्, जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्छ । प्रतिक्रियावादी शक्तिहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहन्छन्, तथापि हामी देशहितको पक्षमा उभिएका छौँ ।’ नेता बर्तौलाले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरुको चाहना कहिल्यै पूरा नहुने बताए ।

 

 

 

पक्ष–विपक्ष छैन, हामी सबै एमाले : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् । बुधवार बन्द सत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए । उनले सबैभन्दा पहिला देश रहेकाले देश रहे मात्रै पार्टी रहने बताए । उनले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने बताए । नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको बताए । कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकताले गरेको फैसला मञ्जुर हुने बताए ।

उनले भने, ‘सबैभन्दा पहिलो कुरा देश हो । देश रहे मात्रै हामीले पार्टी बनाउँछौँ । त्यसपछि मात्रै जनताको समृद्ध नेपाल र सुखी नेपाली पूरा गर्नसक्छौँ । पहिला देश नै हो । देश बनाउन पार्टी बच्नु जरुरी छ । नेकपा एमालेलाई जनताको मनमनमा समेट्नु पर्छ । कार्यकर्ताबाटै नेताहरु बन्ने हो । आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरु हौँ । कार्यकर्ताबाट नेता छानिने कुरा हो । कुन पक्ष, विपक्ष छैनौँ । हामी सबै यहाँ एक पक्ष एमाले नै छौँ । जो राम्रा साथीहरुलाई विश्वास गर्छन्, त्यसैले नेतृत्व गर्दछ ।’ नेता श्रेष्ठले ईश्वर पोखरेल, नेकपा मालेदेखि एमाले बनाउने आर्किटेक्ट भएको बताए। कार्यकर्ताले गरेको फैसलाअनुसार नेतृत्व चयन हुने बताए ।

ओली र ईश्वरले मतदान गर्न कति लगाए समय ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा विद्युतीय मेशिनमार्फत मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला गरी बिहान साढे ९ बजेदेखि सुरु भएको हो । मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएका छन् र मतदान सम्पन्न हुन ६ देखि ८ घण्टा लाग्ने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु भई करिब २ घण्टाभित्र नतिजा आउने बताइएको छ।

अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले लगभग बराबर समय लगाएर मतदान पूरा गरेका छन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार ओलीले सबै पदमा भोट हाल्न करिब ४० मिनेट समय लिएका थिए भने पोखरेलले पनि झण्डै उस्तै समय खर्च गरेका थिए । उनीहरू दुवैले सँगसँगै मतदान सुरु गरेको र करिब एकै समयमा मतदान सकिएको जनाइएको छ । ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बर भोटिङ मेशिनमा मतदान गरेका थिए । ओली समूहबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेलले करिब २५ मिनेटमा मतदान सकेका थिए भने पोखरेल समूहबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले करिब ३० मिनेट समय लिएका थिए । महासचिवका अर्का प्रत्यासी शंकर पोखरेलले ७५ नम्बर मेशिनमा मतदान गरेका छन् ।

यस महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार प्रतिष्पर्धामा छन् भने ३०१ केन्द्रीय सदस्य पदका लागि ६ सयभन्दा बढी उम्मेदवार मैदानमा छन् । सबै पदमा भोट हाल्न मतदाताले करिब साढे तीन सय पटकसम्म बटन थिच्नुपर्ने भएकाले मतदान प्रक्रिया समयलाग्दो बनेको छ ।

ओली प्यानलबाट उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल उम्मेदवार छन् । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल तथा सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की उम्मेदवार रहेका छन् ।

पोखरेल प्यानलतर्फ उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ उम्मेदवार छन् । महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल तथा सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवार बनेका छन् । मतदान प्रक्रियामा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सबै पदमा प्रतिष्पर्धा कडा देखिएको छ भने नेतृत्व चयनको अन्तिम नतिजाप्रति कार्यकर्ता र नेताहरूको चासो बढ्दो छ ।

 

 

एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव, मतदानस्थल परिवर्तन

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान हुने भएको छ । मंगलबार साँझ नै मतदान गर्ने तयारी भए पनि प्राविधिक कारण र मतदानस्थलको व्यवस्थापनका कारण प्रक्रिया स्थगित गरी बुधबार बिहानका लागि सारिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ७ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका थिए । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल समेत मतदानस्थलमा उपस्थित थिए । तर करिब सवा ८ बजे महासचिव शंकर पोखरेलले प्राविधिक समस्या र मौसमको चिसोपनका कारण मतदान भोलि बिहानसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।

एमालेले यस पटक पनि रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको विद्युतीय भोटिङ मेशिन प्रयोग गर्दैछ । ८० वटा इलेक्ट्रोनिक भोटिङ मेशिनमार्फत २ हजार २६२ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार उम्मेदवारहरूको विवरण, मतदाता नामावली, क्लस्टर व्यवस्थापन जस्ता डाटा इन्ट्री समयमै पूरा गर्न नसकिएकाले मतदान सुरु गर्न ढिलाइ भएको हो । अहिले भने सबै डाटा इन्ट्री सकिएर उपकरण तयारी अवस्थामा पुगेको उनले बताएका छन् ।

मतदानस्थल पनि परिवर्तन गरिएको छ । मंगलबार मेशिन राखिएको हल बुधबार बिहान खाली गर्नुपर्ने भएकाले भृकुटीमण्डप परिसरभित्रै अर्को हलमा मेशिन सारेर मतदान गरिनेछ । एक जना मतदातालाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुने र विद्युतीय प्रणाली भएकाले करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने एमालेले जनाएको छ ।

महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, नौ सचिव र ३०१ केन्द्रीय सदस्य चयन हुनेछन् । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुँदैछ । दुवै नेताले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

पाँच उपाध्यक्ष पदका लागि अरूण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन् । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिष्पर्धामा छन् । त्यसैगरी उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की प्रतिष्पर्धामा छन् । प्राविधिक तयारी पूरा भएसँगै आजको मतदानले एमालेको नयाँ नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

एमालेको मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने

काठमाडौं । नेकपा एमालेको मतदान स्थगित भएको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए ।

९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ । मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका छन् । आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताइएको छ । सुरूमा अल्फाबेटिकल अर्डर र पछि फन्टको समस्या भएको बताइएको छ ।

धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो । त्यसो त केही केन्द्रीय सदस्यहरु सर्वसम्मत हुने भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार हालसम्म ११ जना सर्वसम्मत भएका छन् । त्यस्तै उपमहासचिवमा उम्मेदवारी दिएका एकसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा जारी रहेको छ । एमालेको केन्द्रीय निर्वाच आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिष्पर्धा हुँदैछ । विधान संशोधनपछि १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुँदैछ ।

 

 

 

 

शंकर पोखरेल सँगसँगै मत माग्दै हिंडे प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेको महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बनेका शंकर पोखरेलसँग सँगै देखिएका छन् । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा ज्ञवाली शंकर सँगै देखिएका हुन् । केपी शर्मा ओली समूहबाट उपाध्यक्षका उम्मेदवार बनाउन प्रस्ताव गरिए पनि ज्ञवालीले अस्वीकार गरेका थिए । अन्तिमसम्म महासचिवमा दावी गरेका ज्ञवालीले त्यो नपाएपछि केन्द्रीय सदस्यमा नोमिनेशन गरेका थिए । पोखरेललाई महासचिवको उम्मेदवार बनाएपछि ज्ञवाली असन्तुष्ट बनेका थिए ।

तर, मंगलवार बिहानै सामाजिक सञ्जालमा सन्देश लेखेर ज्ञवालीले ओली प्यानलका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए । दिउँसो महासचिवका उम्मेदवार शंकरसँगै ज्ञवाली महाधिवेशनस्थलमा देखिएका हुन् । महासचिवमा ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले प्रतिस्पर्धा गरेका छन् । महासचिवमा कडा प्रतिष्पर्धा हुने आकलन महाधिवेशन प्रतिनिधिले गरेका छन् । नेतृत्व चयनका लागि मंगलबार साँझ मतदान हुँदैछ ।

पासाङ शेर्पाको उम्मेदवारी नै खारेज

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । उनी बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका थिए । उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो ।

उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो । कैद वापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर उनी छुटेका थिए । उनले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको छ । उनी १० औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए ।

एमालेको मतदानमा ढिलाइ, के हो खास समस्या ?

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान पटक–पटक सर्दै जाँदा अझै सुरु हुन सकेको छैन । सुरुमा मंगलबार दिउँसो १२ बजे, त्यसपछि ३ बजे र पुनः ४–५ बजेदेखि मतदान हुने भनिए पनि साँझसम्म पनि प्रक्रिया अघि बढ्न सकेको छैन । केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारको नाम, फोटो र विद्युतीय भोटिङ मेशिन (ईभीएम) को कोडिङमा समस्या देखिएपछि मतदान ढिलाइ भएको हो । आयोगका सचिव कुन्साङ लामाले प्राविधिक कठिनाइका कारण निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको स्वीकार गर्दै ‘४ वा ५ बजेपछि जसरी पनि प्रक्रिया थाल्ने प्रयास भइरहेको’ जानकारी दिएका छन् ।

तर प्राविधिक पक्षमा संलग्न लक्ष्मण रिमालले भने नाम तलमाथि परेको, फोटो कोडिङ पुनः गर्नुपरेको जस्ता समस्याले काम लम्बिएको जानकारी दिए । उनका अनुसार सबै प्रक्रिया मिलाउन समय लागेकाले ‘राति ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्ने’ सम्भावना छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिँदैछ र मतदान सकिन ६–७ घण्टा लाग्ने अनुमान गरिएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ । मतदान ढिलाइसँगै आन्तरिक राजनीति पनि चर्किएको छ । अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पक्षले तत्काल मतदान सुरु गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सो समूहकी नेतृ अष्टलक्ष्मी शाक्यका अनुसार ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको आशंका व्यक्त गर्दै प्रक्रिया अविलम्ब अघि बढाउन दबाब दिइएको हो ।

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिष्पर्धा हुँदैछ । यसैगरी पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, ९ सचिव, ३३ स्थायी कमिटी सदस्य, ९९ पोलिटब्युरो सदस्य र ३०१ केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ । केन्द्रीय सदस्यमा ११ जना तथा अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । मतदानको समय झन् लम्बिँदै जाँदा महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूमा अन्योल र चासो बढ्दै गएको छ । अब निर्वाचन आयोगले कहिले औपचारिक रूपमा मतदान सुरु गर्छ भन्ने प्रश्न सबैको ध्यानको केन्द्रमा छ ।

ओली ‘प्यानल’ कै उम्मेदवार सूचीमा यसरी समेटिए रघुजी पन्त

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रघुजी पन्तलाई अध्यक्ष केपी शर्मा ओली समूहमै समेटिएको छ। पन्त उपाध्यक्षका आकांक्षी थिए तर अध्यक्ष ओली समूहले बनाएको उम्मेदवार सूचीमा परेका थिएनन्। स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका पन्तलाई अध्यक्ष ओली र ईश्वर पोखरेल समूहले आफ्नो टिममा पार्न कुरा गरेका थिए ।

अध्यक्ष ओलीले पन्तसँग सोमबार कुराकानी पनि गरेका थिए। नेता प्रदीप ज्ञवाली उपाध्यक्षमा उठ्न नमानेपछि ओली प्यानलमा एक पद खाली थियो । सो ठाउँमा रघुजी पन्तलाई समेटिएको ओली पक्षका नेताहरूले बताएका छन्। एमालेमा पाँच जना उपाध्यक्ष रहने व्यवस्था छ। ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्। ज्ञवालीले भने उपाध्यक्षमा उठ्न अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पन्तको ढोका खुलेको हो।

 

एमाले महाधिवेशन : अमर, रौनित र लीलामणि निर्विरोध

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत ४० वर्षमुनिका तीन युवा निर्विरोध भएका छन् । यसरी निर्विरोध निर्वाचित हुनेमा ४० वर्षमुनिका दुई मधेसी युवा समेत छन् । एमालेको ११ औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ४० वर्षमुनिका २ जना मधेसी युवाको पदमा दुई जनाको मात्र उम्मेदवारी परेको हो । जसअनुसार ४० वर्षमुनिका मधेसी युवामा अमर कुमार यादव र रौनित साह रहेका छन् ।

दुई जनाको पदमा दुई जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् । यस्तै ४० वर्षमुनिको युवाबााट एमाले केन्द्रीय सदस्यमा लीलामणि गौतम निर्विरोध निर्वाचित भएका छन् ।उनले लुम्बिनी प्रदेशबाट ४० वर्षमुनिको युवामा उम्मेदवारी हालेका थिए । धर्म गिरीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै गौतम निर्विरोध निर्वाचित भएका हुन् ।

 

प्रदीप ज्ञवालीले भने–मन र मत दुवै पाउने विश्वास छ

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी केन्द्रीय कमिटी सदस्य पदका लागि प्रतिनिधिहरूसँग मत मागेका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आफू मात्र होइन, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको समग्र टिमलाई पनि विजयी गराउन अपिल गरेका हुन् ।

११औं महाधिवेशनको सन्दर्भमा ज्ञवाली ओली टिमबाट महासचिवका आकांक्षी थिए । तर अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई उम्मेदवार बनाएपछि ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवारी प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव अस्वीकार गर्दै ज्ञवालीले सोमबार केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराएर भृकुटीमण्डपबाट बाहिरिएका थिए ।

फेसबुक स्ट्याटसमा ज्ञवालीले महाधिवेशनले पार्टीको आन्तरिक जीवन मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्ने उल्लेख गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई शानदार मतका साथ विजयी गराउन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् । ‘म सधैं तपाईंहरूकै बीचमा छु, त्यहीं रहन्छु । यस पटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको छु,’ ज्ञवालीले लेखेका छन् ।

 

 

 

मतदानस्थल पुगे ईश्वर–सुरेन्द्र, के गर्दैछन् ओली ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचनको माहोल भृकुटीमण्डपमा तातेको छ । मतदान सुरु हुनुअघि नै उम्मेदवार, प्रतिनिधि र नेता–कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल मतदानस्थल पुगेपछि उनका समर्थकहरूले नाराबाजी गर्दै माहोल तताएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मतदान चार बजेतिर मात्र सुरु हुन सक्ने सम्भावना छ । मतदान ढिलो भए पनि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा जम्मा भएका छन् र उम्मेदवारहरूले मतदानस्थलमै बसेर भोट माग्ने क्रम तीव्र पारेका छन् । पोखरेलसँगै उनको प्यानलबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे पनि मतदानस्थलमै सक्रिय देखिएका छन् । उनीहरू प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाउने प्रयासमा छन् । पोखरेल–पाण्डे समूह मैदानमै उत्रिएको बेला अध्यक्ष केपी शर्मा ओली पक्षका मुख्य उम्मेदवारहरू भने मतदानस्थलमा देखिएका छैनन् ।

ओली पक्ष भने आन्तरिक रूपमा रणनीति बनाउन व्यस्त रहेको बताइएको छ । टिम निर्माणका क्रममा आफ्नै पक्षका केही नेताहरू असन्तुष्ट भएपछि उनीहरूलाई मिलाउने प्रयासमा ओली समूह केन्द्रित भएको स्रोतहरूको भनाइ छ । यही कारण मतदानस्थलमा ओली पक्षको उपस्थिति कमजोर देखिएको छ । यद्यपि ओली पक्षका नेता प्रदीप ज्ञवाली भने भृकुटीमण्डप पुगिसकेका छन् । उनलाई देखेपछि महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले सँगै फोटो खिच्न आग्रह गरेका थिए ।

यस दृश्यलाई धेरैले राजनीतिक सन्देशका रूपमा पनि हेरेका छन् । महासचिवमा दाबी गरेका ज्ञवालीलाई ओली पक्षले उपाध्यक्षमा उम्मेदवारका रूपमा अघि सारेपछि उनी असन्तुष्ट बनेका थिए । त्यसपछि उनले खुला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ज्ञवालीको असन्तुष्टिले महासचिव पदको प्रतिस्पर्धामा आफूलाई सहज भएको अनुभूति पाण्डे समूहले गरिरहेको छ । समग्रमा, मतदान सुरु हुनुअघि नै एमाले महाधिवेशन राजनीतिक शक्ति प्रदर्शन, आन्तरिक असन्तुष्टि र रणनीतिक चालहरूको केन्द्र बनेको छ । अब मतदान सुरु भएपछि प्रतिनिधिहरूको निर्णयले पार्टीको भावी नेतृत्व कुन दिशामा जान्छ भन्ने स्पष्ट हुनेछ ।

 

 

हामी सबै जुट्नेछौं, हामी सबै जित्नेछौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् । एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको रक्षा नै सबैको कार्यभार रहेको बताएका हुन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’ आज काठमाडौँको भृकुटीमण्डपमा एमाले ११ औँ महाधिवेशनमा मतदान हुँदैछ । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ भने उनीहरूकै प्यानलबाट उपाध्यक्ष, महासचिवसहित अन्य पदहरूमा समेत उम्मेदवारी दर्ता भएको छ । निर्वाचनमा २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

ईश्वर पोखरेल प्यानलको उपमहासचिवमा आनन्द पोखरेल थपिए

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत उपमहासचिव पदको चुनावी प्रतिष्पर्धामा अन्तिम समयमा रोचक मोड आएको छ । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री आनन्द पोखरेल अब ईश्वर पोखरेल नेतृत्वको प्यानलमा समेटिएका छन् । यसअघि ईश्वर पोखरेल प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरी मात्र उम्मेदवार थिए । तर महाधिवेशनको निर्णायक घडीमा आइपुग्दा आनन्द पोखरेललाई सोही प्यानलमा समावेश गरिएपछि प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

आनन्द पोखरेल र बैजनाथ चौधरी दुवै यसअघि अध्यक्ष केपी शर्मा ओली निकट टिममा रहे पनि पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता निरन्तरताको पक्षमा खुलेर उभिएका कारण उनीहरूलाई पदाधिकारीमा अघि बढ्न अवरोध गरिएको बुझाइ नेताहरूको छ । यही कारण असन्तुष्टि जनाउँदै उनीहरूले यस्तो कदम चालेको बताइन्छ । बागमती प्रदेशमा राम्रो सांगठनिक पकड बनाएका पोखरेल देशभरका कार्यकर्ता माझ परिचित र स्वीकार्य नेता मानिन्छन् ।

यही प्रभावलाई मध्यनजर गर्दै ईश्वर पोखरेल प्यानलले उनलाई उपमहासचिव पदको उम्मेदवारका रूपमा समेटेको नेताहरूको भनाइ छ । पछिल्लो समय काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेका पोखरेल र जिल्ला अध्यक्ष दीपक निरौला दुवै विद्या भण्डारी निकट मानिन्छन् । यस कारण काठमाडौंबाट आएका प्रतिनिधिमध्ये ठूलो हिस्सा उनीहरूकै धारमा रहेको आकलन गरिएको छ । दोलखा जिल्लाबाट दुई पटक सांसद निर्वाचित भइसकेका पोखरेल पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । हालसम्म पोलिटब्युरो सदस्य रहेका उनको ईश्वर प्यानलमा प्रवेशले उपमहासचिव पदको चुनावी समीकरणलाई थप रोचक बनाएको छ ।

 

एमाले महाधिवेशनस्थलमा पुगिन् ज्योति मगर, उम्मेदवारका पक्षमा नाच्दै मागिन् मत

काठमाडौं । चर्चित लोकगायिका ज्योति मगर नेकपा एमालेको ११औं महाधिवेशनमा सक्रिय रूपमा देखिएकी छन् । मंगलबार बिहान काठमाडौंको भृकुटीमण्डपमा आयोजित महाधिवेशनस्थल पुगेर उनले केन्द्रीय सदस्यका उम्मेदवारहरूका पक्षमा मत माग्दै प्रचार–प्रसारमा सहभागिता जनाएकी हुन् । महाधिवेशन प्रतिनिधिहरूको भीडबीच मगरले उम्मेदवारका तस्वीर हातमा समातेर मतको अपिल गरिन् । विशेषगरी केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णबहादुर गुरुङ र किरण गुरुङको समर्थनमा उनी खुलेर उभिइन् । प्रचारका क्रममा उनी उम्मेदवार समर्थक जुलुसमा समेत सहभागी भइन्, जहाँ ‘आयो एमाले आयो’ जस्ता नारासँगै माहोल निकै उत्साहपूर्ण बनेको थियो ।

जनजाति समुदायका उम्मेदवारहरूको समर्थनमा निकालिएको झाँकीमा पनि ज्योति मगर सक्रिय रूपमा देखिइन् । जुलुसमा सहभागीहरू ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो’ भन्दै नाराबाजी गरिरहेका थिए भने ज्योति मगर नाच्दै र गीतको लयमा नारालाई साथ दिइरहेकी थिइन् । उनको उपस्थितिले महाधिवेशनस्थलको वातावरण अझ रंगीन र आकर्षक बनेको सहभागीहरूको भनाइ थियो । सञ्चारकर्मीसँगको छोटो कुराकानीमा ज्योति मगरले महाधिवेशनको माहोल निकै रमाइलो र ऊर्जावान् लागेको बताइन् ।

आफू उम्मेदवार नभए पनि युवा नेताको रूपमा पूर्ण गुरुङलाई समर्थन गरेको उनले स्पष्ट पारिन् । समावेशिता र पुस्तान्तरणको आवश्यकता औंल्याउँदै उनले युवाले नेतृत्वमा आउनुपर्ने समय आएको धारणा राखिन् । यद्यपि, ज्योति मगर औपचारिक रूपमा एमाले पार्टीमा प्रवेश गरेकी छैनन् । तर पछिल्लो समय उनका सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्तामा एमाले तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति सकारात्मक धारणा व्यक्त हुँदै आएको देखिन्छ । महाधिवेशनस्थलमा उनको उपस्थितिलाई कतिपयले सांस्कृतिक र राजनीतिक सक्रियताको मिश्रणका रूपमा पनि हेरेका छन् ।
कलाक्षेत्रकी चर्चित व्यक्तित्वको रूपमा परिचित ज्योति मगरको यस किसिमको सहभागिताले एमाले महाधिवेशनमा चर्चा पाएको छ भने राजनीतिक कार्यक्रमहरूमा कलाकारको भूमिकाबारे समेत नयाँ बहस सुरु गराएको छ ।

 

राजेन्द्र गौतमले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपसमहासचिवम उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन् । उनले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । यद्यपि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा उनको नाम भने रहनेछ । गौतम यसअघि एमालेको प्रचार विभाग प्रमुख हुन् । उनी केपी ओली टिमबाटै उपमहासचिवको आकांक्षी थिए ।

ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल उपमहासचिवको उम्मेदवार बनेपछि गौतमले उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले भनेका छन्, ‘पार्टीको एघारौं महाधिवेशनको आज चौंथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु । धन्यवाद ।

एमाले महाधिवेशन : सकियो उम्मेदवारी दर्ताको समय

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिएको जानकारी दिएको छ । यो सँगै आयोगले कार्यालयको ढोका समेत बन्द गरेको छ । सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै नेताले प्यानलगत प्रतिष्पर्धा गर्दैछन् ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहितका पदमा उम्मेदवारी दर्ताको समय सकिएको हो । एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । आज नै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्ष उम्मेदवार बनाउने तयारी थियो । तर ज्ञवालीले आफू महासचिव मात्रै बन्ने अडान अन्तिम समयमसम्म राखे । ज्ञवालीसँग विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङले पनि कुराकानी गरेका थिए । ज्ञवालीका स्वकीय सचिव खेमराज ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी परेको बताए ।

उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दावी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएपछि असन्तुष्ट थिए ।

अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ । ज्ञवालीको उम्मेदवारी केन्द्रीय सदस्यका लागि मात्र परेको निर्वाचन आयोग स्रोतले जानकारी दियो । संस्थापन प्यानलबाट शंकर पोखरेल महासचिवका लागि प्रतिष्पर्धामा छन् । इतर पक्षले सुरेन्द्र पाण्डेलाई महासचिवमा अगाडि सारेको छ ।

ओलीले केन्द्रीय सदस्यको सूचीमा राखेका अग्नि खरेलले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला क्लस्टरको केन्द्रीय सदस्य उम्मेदवारमा परेका नेता अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन्। स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खरेलले आफ्नो योगदानको मुल्यांकन हुनुपर्ने भन्दै अध्यक्ष ओलीसँग सचिवमा आकांक्षा राखेका थिए।

तर आफूभन्दा जुनियर व्यक्तिहरुलाई सचिव उम्मेदवार बनाइएपछि खरेलले देशभरका महाधिवेशन प्रतिनिधिबाट न्यायको याचना गरेका छन् । उनले आफू पछि नहट्नेगरी सचिवको उम्मेदवार बनेको समेत बताए। २०३६ सालमा पार्टी सदस्य लिएर निरन्तर काममा रहेको र सधैं अध्यक्ष ओलीलाई पार्टी तथा राजकीय काममा सघाएको भन्दै खरेलले सचिवको दावी गरेका थिए।

मेरो कित्ता एमाले नै हो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै स्पष्ट शब्दमा भनेका छन्, ‘मेरो कित्ता एमाले नै हो ।’ एमालेको ११औँ महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको प्रतिष्पर्धालाई स्वाभाविक अभ्यासको रूपमा व्याख्या गरे । बास्कोटाले एमालेले निर्माण गरेको राजनीतिक जग र संस्कारभित्र रहेर प्रतिष्पर्धा हुनु अस्वाभाविक नभएको बताए । पद र जिम्मेवारीका विषयमा आकांक्षा हुनु सामान्य भए पनि त्यसलाई गलत अर्थ लगाएर विभाजनको रूपमा हेर्न नहुने उनको भनाइ थियो ।

उनले आफू ईश्वर पोखरेल र केपी ओलीको ‘जन्ती’ न मलामी’ भएको स्पष्ट पार्दै पार्टीभित्रको बहसलाई व्यक्तिगत कित्तामा बाँध्न खोज्नु अनुचित भएको बताए । पत्रकारले ‘तपाईं केपी शर्मा ओली पक्षको हो ?’ भनेर सोध्दा बास्कोटाले व्यंग्यात्मक शैलीमा जवाफ दिए, ‘सबै केपी शर्मा ओलीका हुन्, सबै ईश्वर पोखरेलका हुन् ।’ उनले थपे, ‘म जन्मिनुअघि नै उहाँहरू यो आन्दोलनमा लाग्नुभएको हो । त्यसैले मलाई किन कित्ताकाट गर्नुपर्छ ?’ एमालेको हरेक महाधिवेशनमा प्रतिष्पर्धाको अभ्यास हुँदै आएको उल्लेख गर्दै बास्कोटाले यो चुनाव एमालेभित्रकै लोकतान्त्रिक प्रक्रिया भएको बताए । ‘तपाईंहरू सबै पत्रकार हुनुहुन्छ, तर मिडियाको ब्रान्ड र अनुहार फरक–फरक छ । पार्टीभित्रको प्रतिष्पर्धा पनि त्यस्तै हो,’ उनले भने ।

उनले एमाले फेरिएको होइन, केवल समीकरण फेरिएको दाबी गरे । ‘एमालेको संस्कार फेरिएको छैन, एमालेप्रतिको जनविश्वास कमजोर भएको छैन,’ भन्दै उनले पार्टीलाई नजिकको विगत र टाढाको भविष्य दुवै कोणबाट हेर्न आग्रह गरे । एमालेको इतिहासलाई स्मरण गराउँदै बास्कोटाले भने, ‘एमालेको जीवनभित्र देशको लोकतन्त्र अटेको छ ।’ अन्त्यमा उनले उदाहरण दिँदै पत्रकारलाई प्रश्न गरे, ‘बाउ–छोरा एउटै घरमा बस्दा कहिलेकाहीँ दायाँबायाँ हुँदैमा के सबै सम्बन्ध तोडिन्छन् ?’

विन्दा पाण्डेले दिइन् उपाध्यक्षमा उम्मेदवारी, अष्टलक्ष्मी प्रस्तावक

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । उनको समर्थकमा भने महेन्द्रप्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका प्रत्यासी ईश्वर पोखरलको टिममा छिन् ।

पार्टीमा तेस्रो पुस्ता आइसक्यो, उनीहरुलाई भरोसा गर्नुपर्छ : अष्टलक्ष्मी
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा तेस्रो पुस्ता आइसकेकाले उनीहरुलाई भरोसा गर्नुपर्ने बताएकी छन् । एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्रको दोस्रो दिन भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष शाक्यले नयाँ पुस्तालाई भरोसा र विश्वास गर्नुपर्ने बताइन् ।शाक्यले भनिन्, ‘उहाँहरुको योग्यताछ्, विज्ञता छ, प्रविधिले युक्त हुनुहुन्छ, हामी जस्तो होइन नि त ?’ उनले ३÷४ वर्षअघिदेखि नै आफूले पार्टीको सक्रिय राजनीति छोड्ने बताइरहेको प्रष्ट पारिन् ।

‘मलाई टिकट पनि चाहिँदैन, मलाई मन्त्री पनि चाहिँदैन भन्याथें, मेरो बारेमा चिन्ता नगर्नु भनेको थिएँ,’ शाक्यले भनिन्, ‘मैले टिकट पनि लिइनँ, अहिले आएर पार्टीको स्थिति हेरिरहँदाखेरि यति धेरै पार्टीमा दोस्रो पुस्ता भइरहँदा मैलेमात्र पार्टीमा बस्नुपर्छ, पार्टी सम्हाल्नु पर्छ भन्ने मलाई लाग्दैन ।’ उपाध्यक्ष शाक्यले पार्टीका लागि पछाडि बसेर पनि गर्न सकिने बताइन् । उनले पद नै चाहिन्छ भन्ने नलागेको बताइन् । उनले पार्टीको सक्रिय राजनीतिबाट अचानक बिदा लिएको बताइन् । कसैको सल्लाह बिनै, कसैले नभनी नै बिदा लिएको शाक्यले बताइन् । उनले भनिन्, ‘सबै छक्क पनि पर्नुभयो।’

 

रघुजी पन्तले पनि छाडे ओली समूह, ईश्वर समूहबाट उपाध्यक्ष उठ्ने

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केपी शर्मा ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । ‘उपाध्यक्ष पदमा उठ्न मैले मनोनयन फारम लिइसकें,’ उनले सुनाए ।

ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरू बराल र पृथ्वीसुब्बा गुरूङको नाम टुंगो लागेको भनिए पनि ज्ञवाली महासचिव पदमै उठ्ने अडानमा छन् । उपाध्यक्षमा आफ्नो नाम समावेश नभएपछि ओली निकट पन्त ईश्वर समूहबाट उपाध्यक्ष उठ्न लागेका हुन् । स्थायी कमिटी सदस्य तथा पूर्व शिक्षामन्त्री समेत रहेका पन्तले आफू उपाध्यक्ष पदमा विवेकको उम्मेदवार बनेको भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा राखेको बताएका छन् । यसअघि नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओली निकट मानिन्थे ।

 

ओलीलाई ‘राजनीतिको पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ ईश्वर समूहबाट सचिवको उम्मेदवार

काठमाडौं । लामो समयसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर समर्थक मानिएका कृष्णगोपाल श्रेष्ठले ११औं महाधिवेशनमा ओली समूह छोडेर ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । श्रेष्ठको राजनीतिक यात्रा लामो र विविधतापूर्ण छ । उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहँदै आएका छन् र यही सम्बन्धले उनलाई ओलीबाट टाढा पुर्‍याएको बताइन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार, भण्डारीलाई एमाले सदस्यता नदिएको भन्दै श्रेष्ठ ओलीको विरोधी खेमासँग आबद्ध भएका हुन् ।

श्रेष्ठलाई लामो समयसम्म ‘केपी ओलीको डाई हार्ड फ्यान’ मानिन्थ्यो । पार्टीभित्र र बाहिर ओलीविरुद्ध उठ्ने आवाजमा उनी सार्वजनिक रूपले ओलीको बचाउमा उत्रिन्थे । २०७८ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दिएको भाषण अझ चर्चित रह्यो । उनले त्यतिबेला ओलीको पक्षमा भन्दै भनेका थिए, ‘केपी ओली इज केपी ओली, केपी ओली राजनीतिको पेले हो ।’ तर अहिले, राजनीतिक परिस्थितिका कारण श्रेष्ठले आफ्नो रुख परिवर्तन गरेका छन् । उनी ओलीको समूह छोडेर प्रतिद्वन्द्वी ईश्वर पोखरेलको पक्षमा आइसकेका छन् र सचिवको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

श्रेष्ठले काठमाडौं उपत्यकामा केन्द्रित रहेर लामो समयसम्म एमालेको राजनीति गर्दै आएका छन् । २०४७ सालदेखि चार पटक संसदमा निर्वाचित भइसकेका उनी छैठौं महाधिवेशनदेखि पार्टीका केन्द्रीय सदस्य पनि हुन् । उनले विभिन्न मन्त्रालयहरूमा काम गरेका छन्–स्थानीय विकास राज्यमन्त्री, सहरी विकास मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन वातावरण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री । शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयमा दिएको भाषणले राजनीतिक विवाद पनि उत्पन्न गरेको थियो । राजनीतिक विश्लेषकहरूले कृष्णगोपाल श्रेष्ठको निर्णयलाई एमालेभित्रको शक्ति सन्तुलन, भण्डारीसँगको सम्बन्ध र पार्टीभित्रको रणनीतिक चालसँग जोडेर विश्लेषण गरिरहेका छन् ।

तेस्रो पटक अध्यक्षको प्रतिष्पर्धामा ओली, दर्ता गराए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रतिष्पर्धामा उत्रिएका छन् । ११ औं महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

यस्तै एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । सो क्रममा पोखरेलले केहीबेरअघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिष्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

ईश्वर पोखरेलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । सो क्रममा पोखरेलले केहीबेरअघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिष्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

‘पार्टीलाई ठिक ढङ्गले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ’
एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरेका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन् । उनले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिन नहुने बताए । उनले जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिष्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धाको कुरा स्वभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिष्पर्धा हुन्थ्यो । अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिनु हुँदैन । दोस्रो कुरा, उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । यसमा अरु केही कुरा नै भएन । म चाहीँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको हुँ । म महाधिवेशनका प्रतिनिधि भएर आउनु भएका कार्यकर्ता साथीहरुलाई पार्टीलाई पुर्नव्यवस्थित, सांगठनिक, वैचारिक रुपमा पुर्नव्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु ।’ उनले पार्टीलाई थप व्यवस्थित र पार्टी नेतृत्व अपडेट गर्नुपर्ने आवश्यकता रहेको व्यहोरा पार्टी कार्यकर्तालाई आग्रह गरे ।