काठमाडौं । नेकपा एमालेको सचिवमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था छ । सचिवमा झिनो मतान्तरले पराजित भएका बास्कोटाले खुला केन्द्रीय सदस्यमा भने १,१९५ मतका साथ विजयी भएका हुन् ।
Tag: नेकपा एमाले
खुला केन्द्रीय सदस्यमा ज्ञवालीलाई सर्वाधिक मत
काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्व उपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित विजयी बनेका छन् । उनले संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । ज्ञवालीले महासचिवमा पहिल्यैबाट दावेदारी प्रस्तुत गरे पनि संस्थापन पक्षले उनलाई उपाध्यक्षमा उठाउन चाहेको थियो । तर, उनले उपाध्यक्षमा उम्मेदवारी दिन मानेनन् र केन्द्रीय सदस्यमा मात्रै उठे । ज्ञवालीले रिक्त गरेको स्थानमा संस्थापनबाट रघुजी पन्त उम्मेदवार भएर विजयी बनेका छन् । खुला केन्द्रीय केन्द्रीय सदस्यमा ज्ञवालीले १,९४२ मत ल्याए । उनी सर्वाधिक मत ल्याउनेमा पर्छन् ।
एमालेमा फर्केकी रामकुमारी लोकप्रिय मतले केन्द्रीय सदस्यमा विजयी
काठमाडौं । भर्खरै नेकपा एमालेमा फर्केकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएकी छन् । प्रकाशित मत परिणामअनुसार उनले १,९११ मत ल्याएकी छिन् । झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । सचिवको आकांक्षी भए पनि भाग नपुगे पनि उनले केन्द्रीय सदस्यमै चित्त बुझाएकी हुन् । प्रतिनिधिहरूले उनलाई अत्यधिक मत दिएका छन् ।
महासचिवमा फेरि विजयी शंकर पोखरेलले भने–सबैसँग मिलेर काम गर्छौ
काठमाडौं । नेकपा एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले पार्टीमा सबैसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन् । आफू महासचिवमा विजयी भएको जानकारी पाएपछि भृकुटीमण्डपस्थित मतगणनास्थलमा पुगेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । पोखरेल दोस्रो कार्यकालको लागि एमाले महासचिवमा विजयी भएका हुन् । पोखरेलले १,२२८ मत प्राप्त गर्दा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । उनीहरूबीचको मतान्तर २२९ छ ।
एमाले नेतृत्वमा ओलीको वर्चस्व कायमै, १९ पदाधिकारीमध्ये १७ संस्थापन पक्षकै
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीभित्रको शक्ति सन्तुलन स्पष्ट रूपमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा गएको छ । प्यानलगत प्रतिस्पर्धाबाट भएको निर्वाचनमा १९ सदस्यीय पदाधिकारीमध्ये १७ जना ओली नेतृत्वको संस्थापन पक्षबाट निर्वाचित भएका छन् भने ईश्वर पोखरेल पक्षबाट दुई जना मात्र विजयी भएका छन् ।
अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै तेस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्हालेका छन् । महाधिवेशनमा कुल २२६३ प्रतिनिधि रहेकामा ३६ जनाले मतदानमा सहभागिता जनाएनन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मतमा सीमित हुन पुगे । मत परिणामले महाधिवेशनअघि देखिएको आन्तरिक प्रतिस्पर्धा निर्वाचन परिणाममा भने एकपक्षीय बनेको देखिएको छ । महासचिव पदमा पनि कडा प्रतिस्पर्धा भए तापनि अन्ततः संस्थापन पक्षकै उम्मेदवार शंकर पोखरेल विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई दुई सयभन्दा बढी मतले पछि पार्दै पार्टीको सांगठनिक जिम्मेवारी हात पारेका हुन् । यो परिणामले पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशा ओली समूहकै नियन्त्रणमा रहने संकेत दिएको छ ।
यद्यपि सम्पूर्ण पदाधिकारी संस्थापन पक्षकै हुन भने सकेनन् । उपाध्यक्ष पदमा गोकर्ण विष्ट र उपमहासचिव पदमा योगेश भट्टराई ईश्वर पोखरेल नेतृत्वको संस्थापन इतर प्यानलबाट निर्वाचित भएका छन् । यी दुई बाहेक अन्य सबै पदाधिकारी ओली पक्षका उम्मेदवार विजयी भएका हुन् ।
महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरूले पार्टीभित्र देखिएको मतभेदलाई कसरी व्यवस्थापन गर्छन् र संगठनलाई एकताबद्ध रूपमा अघि बढाउन कस्तो भूमिका खेल्छन् भन्ने विषय आगामी दिनमा चासोको विषय बनेको छ । चुनावी परिणामले एमालेभित्र ओलीको राजनीतिक प्रभाव अझ सुदृढ भएको देखिए पनि अल्पमतमा परेको पक्षलाई समेट्दै अघि बढ्नु नयाँ नेतृत्वका लागि मुख्य चुनौतीका रूपमा रहने देखिन्छ।
यस्तो बन्यो पदाधिकारी टिम
अध्यक्ष – केपी शर्मा ओली ।
उपाध्यक्ष – पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त ।
महासचिव –शंकर पोखरेल ।
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल
एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन् ।
महासेठले १,३६८, भट्टराईले १,३४८ मत पाएर जितेका छन् । चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत ल्याए । आनन्द पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्र गौतम २७० मत पाए। गौतमले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका थिए ।
एमाले महासचिवमा शंकर पोख्रेल विजयी
काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक’, दुई तिहाई मतसहित विजयी
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् । ओलीले १,६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए । दुई जनाबीचको फरक १,०९९ मत रहेको छ ।
१,१३९ मत गणना : कुन पदाधिकारीको कति ? (सूचीसहित)
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक नतिजाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानललाई स्पष्ट अग्रता देखाएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म ४० वटा भोटिङ मेसिनको गणना सकिँदा कूल १,१३९ मत गणना भइसकेको छ ।
अध्यक्ष पदमा केपी शर्मा ओलीले सुरुदेखि नै फराकिलो अग्रता बनाइरहेका छन् । पछिल्लो विवरण अनुसार ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मतमा सीमित छन् । महासचिव पदमा पनि ओली प्यानलकै उम्मेदवार शंकर पोखरेल अगाडि देखिएका छन् । उनले ६१३ मत प्राप्त गरेका छन् भने सुरेन्द्र पाण्डेले ५२६ मत ल्याएका छन् । प्रारम्भिक चरणमै शंकर पोखरेलले निरन्तर अग्रता कायम राखेका छन् । उपाध्यक्ष पदतर्फ पनि ओली प्यानलको वर्चश्व देखिएको छ । पृथ्वीसुब्बा गुरुङ सबैभन्दा अगाडि छन् भने दोस्रो स्थानमा विष्णुप्रसाद पौडेल र तेस्रो स्थानमा रामबहादुर थापा ‘बादल’ रहेका छन् । यी तीनै उम्मेदवार ओली समूहबाट मैदानमा उत्रिएका हुन् ।
उपमहासचिव पदमा लेखराज भट्ट र रघुवीर महासेठ अग्रस्थानमा छन् । तेस्रो स्थानमा रहेका योगेश भट्टराई भने ईश्वर पोखरेल प्यानलका उम्मेदवार हुन् । सचिव पदमा पनि महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राईले अग्रता लिएका छन्, जो सबै ओली प्यानलबाट उम्मेदवार बनेका हुन् । बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सकिएपछि मतगणना सुरु गरिएको हो । निर्वाचन आयोगले गणना सुरु भएको केही घण्टाभित्र अधिकांश परिणाम सार्वजनिक भइसक्ने जनाएको छ । हालसम्म आएको नतिजाले एमालेको आगामी नेतृत्वमा ओली समूहको पकड बलियो रहने संकेत गरेको छ ।
कुन पदाधिकारीको कति मत ?
अध्यक्ष
केपी शर्मा ओली – ८४३
ईश्वर पोखरेल – २९६
उपाध्यक्ष
अरुण नेपाल – २२३
गुरु प्रसाद बराल – ५८५
गोकर्ण राज विष्ट – ७१३
टकं प्रसाद कार्की – १८७
पर्शुराम मेघि गुरुङ्ग – ३३४
पृथ्वीसुव्वा गुरुङ – ९००
भिम प्रसाद आचार्य – १४३
रघु जी पन्त – ६१७
रामबहादुर थापा बादल – ७७४
विन्दा पाण्डे – ४७४
विष्णुप्रसाद पौडेल – ८४६
महासचिव
शंकर पोख्रेल – ६१३
सुरेन्द्रप्रसाद पाण्डे – ५२६
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल – ३३४
योगेश भट्टराई – ७०९
रघुविर महासेठ – ६८९
राजेन्द्रप्रसाद गौतम – १४०
लेखराज भट्ट – ७३४
विष्णुप्रसाद रिमाल – ५४०
वैजनाथ चौधरी – २७१
सचिव
अग्निप्रसाद खरेल – ३७७
इन्द्रलाल सापकोटा – ३०९
कर्णबहादुर थापा – ४४४
कृष्ण गोपाल श्रेष्ठ – ३२५
खगराज अधिकारी – ६८०
गोकुल प्रसाद बास्कोटा –५२८
छविलाल विश्वकर्मा – ४६९
ठाकुर प्रसाद गैरे – ४६२
पद्मा कुमारी अर्याल – ४७८
पुरुषोत्तम पौडेल – २३०
पेम्वा लामा – २५५
भानुभक्त ढकाल – ५५२
महेश बस्नेत – ७८३
यमलाल कडेल – ६२६
रचना खड्का – ४५९
राजन भट्टराई – ५८१
लालबाबु पण्डित – ३९९
विनोदप्रसाद ढकाल – ३५५
शेरधन राई – ४६७
हिक्मतकुमार कार्की – ६७२
एमालेको १९ सदस्यीय पदाधिकारी टिममा महिलाबाट अर्याल मात्रै ‘सेफ जोन’ मा
काठमाडौं । नेकपा एमालेको आगामी १९ सदस्यीय पदाधिकारी टिममा महिला प्रतिनिधित्व अत्यन्तै कमजोर हुने संकेत देखिएको छ । जारी मतगणनाको परिणामअनुसार महिलाबाट पद्मा अर्याल मात्र सुरक्षित अवस्थामा देखिएकी छन् । १९ पदाधिकारी पदका लागि ४२ जनाको उम्मेदवारी परेकोमा महिलाको संख्या जम्मा चार जनामा सीमित थियो ।
उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलबाट बिन्दा पाण्डे, सचिवमा संस्थापन पक्षबाट पद्मा अर्याल र पोखरेल प्यानलबाट रचना खड्का उम्मेदवार बनेका थिए भने पेम्बा लामा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा थिइन्। हालसम्मको परिणामले पाण्डे, खड्का र लामा प्रतिस्पर्धामा पछाडि परेको देखाउँछ। सचिव पदमा उम्मेदवार बनेकी पद्मा अर्याल भने जित नजिक देखिएकी छन् । यसअघिको कार्यकालमा पनि सचिव रहेकी अर्यालले यस पटक लोकप्रिय मत पाइरहेकी छन् । पहिलो स्थानका लागि महेश बस्नेत र छविलाल विश्वकर्मासँग उनको कडा प्रतिस्पर्धा चलिरहेको छ । सचिव पदका अन्य दुई महिला उम्मेदवार रचना खड्का र पेम्बा लामा भने शीर्ष ९ भित्र अटाउन सकेका छैनन् ।
उपाध्यक्ष पदकी उम्मेदवार बिन्दा पाण्डेको अवस्था पनि चुनौतीपूर्ण बनेको छ । ११ जना उम्मेदवारबीचको प्रतिस्पर्धामा उनी हाल आठौं स्थानमा छिन्, जबकि निर्वाचित हुन शीर्ष पाँचभित्र पर्नु अनिवार्य छ । यसअघि एमालेको पदाधिकारी टिममा अष्टलक्ष्मी शाक्य र पद्मा अर्याल गरी दुई महिलाको प्रतिनिधित्व थियो । पुस्तान्तरणको पक्षमा वकालत गर्दै अष्टलक्ष्मी शाक्यले यस महाधिवेशनमा उम्मेदवारी नदिएपछि पार्टी नेतृत्वमा महिला सहभागिता थप खुम्चिने देखिएको हो । मतपरिणाम यही प्रवृत्तिमा गए एमालेको आगामी पदाधिकारी टिममा एक मात्र महिला नेतृका रूपमा पद्मा अर्याल सीमित हुने सम्भावना बलियो बन्दै गएको छ ।
महासचिवमा पोखरेलले बढाए पाण्डेसँगको अग्रता
काठमाडौं । नेकपा एमालेको महासचिव पदका लागि शंकर पोखरेलले सुरेन्द्र पाण्डेसँगको अग्रता बढाएका छन् । १,१४१ मत गनिसक्दा शंकर पोखरेलले ६१३ मत पाएका छन् भने सुरेन्द्र पाण्डेले ५२८ मत ल्याएका छन् । मतगणनाको प्रारम्भिक चरणमा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा थियो। मतगणना जारी रहँदा पोखरेलले मतान्तर बढाउँदै लगेका हुन् । पोखरेल ओली समूहका उम्मेदवार हुन् भने पाण्डेले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् ।
आधा मत गन्दा ओलीको ८४३, पोखरेलको कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ ।
निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । १,१३९ मत गन्दा अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका हुन् । ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ । ओलीले मत गणना सुरू भएदेखि लगतार अग्रता लिइरहेका छन् ।
ओलीका ‘विश्वास पात्र’ रिमाल ‘रिस्क जोन’ मा
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओली पक्षले अधिकांश पदमा प्रभुत्व जमाइरहे पनि उनका निकटस्थ नेता विष्णु रिमाल उपमहासचिव पदमा भने जोखिमपूर्ण अवस्थामा देखिएका छन् । तीन जना उपमहासचिव रहने व्यवस्थामा सातजनाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रारम्भिक तथा पछिल्लो मत परिणामअनुसार रिमाल ‘टप थ्री’ बाहिर चौथो स्थानमा छन् । हालसम्म उनले करिब २३० मत पाएका छन्, जबकि शीर्ष तीनमा रहेका उम्मेदवारसँग उनको मतान्तर उल्लेख्य छ ।
मतगणनामा लेखराज भट्टराई सर्वाधिक मतसहित अग्रस्थानमा छन् । यसअघि सचिव रहेका भट्टराईलाई संस्थापन पक्षले उपमहासचिवमै समेटेको हो । दोस्रो स्थानमा रघुवीर महासेठ छन् भने ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो स्थानमा छन् । महासेठ र योगेशबीचको मतान्तर निकै सानो (केवल केही मत) रहेकाले प्रतिस्पर्धा थप रोचक बनेको छ । ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल संस्थापन पक्षका भरोसायोग्य मानिन्छन् । उनी पराजित भए अध्यक्ष ओलीका लागि संगठनभित्र राजनीतिक सन्देश जाने विश्लेषण भइरहेको छ ।
यद्यपि मतगणना अझै जारी रहेकाले रिमालले अन्तिम चरणमा मत बढाएर शीर्ष तीनमा स्थान सुरक्षित गर्ने सम्भावना भने कायमै छ । उपमहासचिवको प्रतिस्पर्धामा आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्र गौतम भने स्पष्ट रूपमा पछि परेका छन्। गौतमले त आफ्नो उम्मेदवारी लगभग निस्क्रिय बनाइसकेका छन् । समग्रमा हेर्दा एमाले नेतृत्वमा ओली पक्षको पकड बलियो देखिए पनि उपमहासचिव पदमा विष्णु रिमालको अवस्था संस्थापनका लागि सबैभन्दा संवेदनशील र निर्णायक बनेको छ ।
भित्र मतगणना, बाहिर घाम तापेर नतिजाको पर्खाइ (तस्वीरहरु)
काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भृकुटीमण्डपको हलभित्र मतगणना चलिरहँदा बाहिर नेता कार्यकर्ता पर्खाइमा छन् । महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारहरू कोही घाम तापेर त, कोही गफगाफ गरेर मतगणनाको प्रतीक्षा गरिरहेका छन् । बिहीबार बिहान मतदान सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना शुरू गरिएको हो । मतपरिणाम एकै पटक सार्वजनिक गरिने निर्वाचन आयोगका उपप्रमुख सानुराजा पोखरेलले जानकारी दिए ।
एमालेले नेतृत्व चयनका लागि ८० वटा विद्युतीय भोटिङ मशिन प्रयोग गरेको थियो । एमालेमा २२६३ प्रतिनिधि रहेकामा २२२७ जना मात्र मतदानमा सहभागी भएका थिए । एमालेको नेतृत्वमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली आफैं प्रतिस्पर्धामा छन् । उनलाई ईश्वर पोखरेलले प्यानलसहित टक्कर दिएका छन् । एमालेको महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा भएको थियो ।
हेर्नुस्, तस्वीरहरु


महासचिवमा सुरेन्द्र भन्दा शंकर अगाडि, कति छ मतान्तर ?
काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार पोखरेलले ३६४ मत ल्याएका छन् भने पाण्डेले ३०२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । निवर्तमान महासचिव पोखरेल यसपालि पनि त्यही पदमा निरन्तरता दिन ओली पक्षबाट उठेका हुन् । पाण्डे भने ईश्वर पोखरेल पक्षबाट महासचिव लडिरहेका छन् ।
सचिवमा पद्मालाई महेश र छविलालले उछिने, पोखरेल पक्ष धेरै पछाडि
काठमाडौं । नेकपा एमालेको ९ जना सचिवका लागि भएको निर्वाचनमा संस्थापन पक्षको एकछत्र दबदबा देखिएको छ । पछिल्लो मतगणना अनुसार संस्थापन पक्षका महेश बस्नेत र छविलाल विश्वकर्माले सर्वाधिक लोकप्रिय मत पाएका छन् । सुरुको अपडेटमा पद्मा अर्याल अगाडि थिइन् भने दोस्रो अपडेट अनुसार बस्नेतले उनलाई उछिनेका हुन् । बस्नेत र विश्वकर्मालाई बराबर ३११ मत आउँदा अर्याललाई ३०५ मत आएको छ । चौंथो सर्वाधिक मत शेरधन राईले पाएका छन् । उनलाई अहिलेसम्म ३०० मत आएको छ ।
टप ९ भित्र अटाएका अन्य ५ उम्मेदवारहरूमा क्रमशः हिक्मत कुमार कार्की यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन् । ईश्वर पोखरेल पक्षका उम्मेदवार गोकुल बास्कोटालाई सचिवमा बलियो दाबेदार मानिएको थियो । तर, उनी टप ९ भित्र अटाउन संघर्ष गरिरहेका छन् । बास्कोटालाई अहिलेसम्म १९२ मत आएको छ । पोखरेल पक्षका अन्य उम्मेदवारहरू पछाडि परेका छन् ।
एमाले अध्यक्षमा ओली ईश्वर भन्दा तेब्बर मतले अगाडि
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन् । ओलीले ३३३ मत ल्याएका छन् । अध्यक्ष पदमा ईश्वर पोखरेलले ११० मत ल्याएका छन् । ओली पोखरेल भन्दा तेब्बर मतले आगाडि देखिएका छन् । महासचिवमा ओलीपक्षकै उम्मेदवार शंकर पोखरेल अगाडि छन् । शंकरले २४९ मत ल्याएका छन् । पोखरेल पक्षका महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।
एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङको अग्रता, गोकर्ण विष्ट चौथो स्थानमा
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको नतिजामा उपाध्यक्षतर्फ पृथ्वी सुब्बा गुरुङको अग्रता देखिएको छ । मतगणनाको दोस्रो अपडेटमा गुरुङ अगाडि लागेका हुन् । गुरुङले ३५६, विष्णु पौडेलले ३४९, रामबहादुर थापा बादल ३०९, गोकर्ण विष्ट २५६, रघुजी पन्त २५३, गुरु बराल २४२ र विन्दा पाण्डेले १६९ मत ल्याएका छन् । ५ उपाध्यक्षका लागि भएको मतगणनामा ईश्वर पोखरेल समूहबाट विष्टको अग्रता देखिएको छ । उपाध्यक्षमा अरुण नेपाल (३८), टकंप्रसाद कार्की (४३) पर्शुराम मेघि गुरुङ (४७), भिमप्रसाद आचार्य (२७) र विन्दा पाण्डेले हालसम्म ९८ मत पाएकी छन् ।
अध्यक्षमा केपी ओलीको शुरुवाती अग्रता
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूवाती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।
यस्तो छ प्रारम्भिक चरणको मत :-
अध्यक्ष
केपी शर्मा ओली – १५६
ईश्वर पोखरेल – ६७
उपाध्यक्ष
अरुण नेपाल – ३८
गुरु प्रसाद बराल – १०९
गोकर्ण राज विष्ट – १३३
टकं प्रसाद कार्की – ४३
पर्शुराम मेघि गुरुङ्ग – ४७
प्रथवि सुव्वा गुरुङ – १७१
भिम प्रसाद आचार्य – २७
रघु जी पन्त – १२३
रामबहादुर थापा बादल ः १५३
विन्दा पाण्डे – ९८
विष्णु प्रसाद पौडेल – १७३
महासचिव
शंकर पोख्रेल – ११५
सुरेन्द्र प्रसाद पाण्डे –१०८
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल – ७१
योगेस भट्टराइ – १४०
रघुविर महासेठ – १२६
राजेन्द्र प्रसाद गौतम – २६
लेखराज भट्ट – १४७
विष्णु प्रसाद रिमाल – १०५
वैजनाथ चौधरी – ५४
सचिव
अग्नि प्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल –
रचना खड्का – ८३
राजन भट्टराइ – ११३
लाल बाबु पण्डित – ७३
विनोद प्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मत कुमार कार्की – १३८
महासचिवमा शंकर पोखरेलको प्रारम्भिक अग्रता
काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक परिणाम आएको छ । निर्वाचन आयोगले २२३ मत गणना गरेर प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । जसअनुसार महासचिवमा शंकर पोखरेलले ११७ मत प्राप्त गर्दा अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त परेका छन् । अध्यक्षमा भने केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।
प्रारम्भिक चरणको मत
अध्यक्ष
केपी शर्मा ओली – १५६
ईश्वर पोखरेल – ६७
उपाध्यक्ष
अरुण नेपाल – ३८
गुरु प्रसाद बराल – १०९
गोकर्ण राज विष्ट – १३३
टकं प्रसाद कार्की – ४३
पर्शुराम मेघि गुरुङ्ग – ४७
प्रथवि सुव्वा गुरुङ – १७१
भिम प्रसाद आचार्य – २७
रघु जी पन्त – १२३
रामबहादुर थापा बादल ः १५३
विन्दा पाण्डे – ९८
विष्णु प्रसाद पौडेल – १७३
महासचिव
शंकर पोख्रेल – ११५
सुरेन्द्र प्रसाद पाण्डे -१०८
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल – ७१
योगेस भट्टराइ – १४०
रघुविर महासेठ – १२६
राजेन्द्र प्रसाद गौतम – २६
लेखराज भट्ट – १४७
विष्णु प्रसाद रिमाल – १०५
वैजनाथ चौधरी – ५४
सचिव
अग्नि प्रसाद खरेल – ७७
इन्द्रलाल साप्कोटा – ४१
कर्णबहादुर थापा – ९३
कृष्ण गोपाल श्रेष्ठ – ५९
खगराज अधिकारी – १३२
गोकुल प्रसाद बास्कोटा – १०४
छविलाल विश्वकर्मा – १४५
ठाकुर प्रसाद गैरे – ९३
पद्मा कुमारी अर्याल – १५२
पुर्सोतम पौडेल – ५९
पेम्वा लामा – ५०
भानुभक्त ढकाल – १०७
महेश बस्नेत – १५०
यमलाल कडेल –
रचना खड्का – ८३
राजन भट्टराइ – ११३
लाल बाबु पण्डित – ७३
विनोद प्रसाद ढकाल – ८२
शेरधन राई – १४१
हिक्मत कुमार कार्की – १३८
एमाले मत गणना : दुबैतर्फ पाँच–पाँच जना प्रतिनिधि
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मत परिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मत गणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५-५ जना प्रतिनिधि राखिएको छ । ‘हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि एउटा व्यवस्था गरेका छौं । दुई वटै उम्मेदवारको तर्फबाट ५–५ जना प्रतिनिधि राखेका छौं,’ उनले भने ।
ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा दुई र अरु प्राविधिकको रुपमा दुई जना पनि राखिएको उनले जानकारी दिए । ‘अन्य एसिस्टेन्टको रुपमा पनि राखेका छौं । मेशिनका प्राविधिक र निर्वाचन आयोगका सदस्य हुनुहुन्छ,’ पोखरेलले भने । प्राविधिकले दिएको जानकारी अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने उनले जानकारी दिए । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।
एमाले महाधिवेशन : आज अध्यक्ष र दुई आयोगका अध्यक्षको मात्र शपथ
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत भएको मतदान बिहीबार बिहान सम्पन्न भएपछि गणनाको प्रक्रिया अघि बढाइएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार मतगणना औपचारिक रूपमा सुरु भइसकेको छ । आयोगका अध्यक्ष विजय सुब्बाले विद्युतीय प्रणाली भएकाले दुईदेखि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनका अनुसार अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको परिणाम एकैसाथ सार्वजनिक हुनेछ ।
निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत खसेका छन् । विभिन्न कारणले ३६ प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन् । मतदान बुधबार बिहान ९ः२० बजे सुरु भई करिब २१ घण्टापछि बिहीबार बिहान ७ बजे सम्पन्न भएको थियो ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा छन् । दुवै प्यानल बाहिर रहेकाहरूले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैबीच केन्द्रीय लेखा आयोगका अध्यक्षमा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी निर्विरोध निर्वाचित भइसकेका छन् । नतिजा सार्वजनिक भएपछि आजै पार्टी अध्यक्ष तथा दुई आयोगका अध्यक्षलाई शपथ ग्रहण गराइने निर्वाचन आयोगले जनाएको छ। प्रमाणपत्र वितरण भने आज नहुने र अन्य प्रक्रिया पछि अघि बढाइने बताइएको छ । एमाले महाधिवेशनको सबैभन्दा चासोको विषय बनेको अध्यक्ष पदको नतिजाले पार्टीको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
एमाले नेतृत्व चयन : मेशिनको चिप्स झिकेर मुचुल्का तयार गरिँदै, सबै परिणाम एकसाथ सुनाइने
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । बिहीवार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सकिएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा भएको छ ।
अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना शुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेशिनमा खसेको मतको गणना गर्दा मिल्नु पर्ने हुन्छ । प्रत्यके मेशिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कुल ८० मेशिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ ।
त्यसपछि मेसिन लक गर्ने र मेशिनको अलग–अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ । ८ बजेबाट मत गणना प्रारम्भ गर्ने र त्यसको तीन घण्टाभित्र नतिजा घोषणा गर्न सकिने बताइएको छ । महाधिवेशनस्थलमा रहेका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदानको प्रक्रिया शुरु भएपछि सम्पन्न हुन दुई दिन समय लागेको र ८० वटा मेशिनबाट मतदान भएको र एउटा मेशिनबाट एक जनाले मतदान गर्दा सवा घण्टासमेत लागेको बताए । छिटो छरितो कसरी गर्ने भन्ने बारेमा स्पष्ट भएको बताए । प्रविधिको प्रयोगमा चुस्ततामा कमी रहेको र धेरै कुरा विकास गर्न बाँकी रहेको अनुभव भएको बताए । उनले समयमै मतदान सम्पन्न गर्न चिसो, जाडो सहेर भएपनि मतदान नरोकी सम्पन्न गरिएको बताए ।
एमाले चुनाव : उम्मेदवार बनेकै नेताले गरेनन् मतदान
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा एउटा अनौठो र चासोपूर्ण घटना सार्वजनिक भएको छ । केन्द्रीय सदस्यका उम्मेदवार रहेका नेताले नै मतदान प्रक्रियामा भाग नलिएको तथ्य बाहिर आएको हो ।
गुल्मीका राजेन्द्र अर्याल, जो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए, उनले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा देखिएको छ । मतदानमा अनुपस्थित उम्मेदवारको सूचीमा उनको पनि नाम देखिएपछि अर्यालसँग सम्पर्क गर्दा उनले यसलाई ‘नो भोट’ को रूपमा व्याख्या गरे ।
अर्यालले भने, ‘मैले नो भोटको सदुपयोग गरें । नेताहरूले अन्तिम सूचीमा नपारेपछि म पनि घर आएर आराम गरें । कहिलेकाहीँ भोट नहाल्नु पनि एउटा सन्देश हुन्छ।’ प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष रहेका अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत दुवै केन्द्रीय सदस्यका उम्मेदवार थिए । दुवै जना अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका भए पनि उनीहरू ओली प्यानलको औपचारिक उम्मेदवार सूचीमा समेटिएका थिएनन् । यही कारण मतदानप्रति उनीहरूको उत्साह कमजोर बनेको नेताहरूको बुझाइ छ ।
पार्टीभित्र प्यानल राजनीति हाबी हुँदै जाँदा योगदान र अनुभवभन्दा पनि गुटीय समीकरण प्राथमिकतामा परेको भन्दै केही नेता असन्तुष्ट देखिएका छन् । उम्मेदवार भएर पनि मतदान नगर्नु पार्टीभित्रको असन्तोष र निराशाको संकेत भएको टिप्पणी समेत सुरु भएको छ । एमालेको महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा केन्द्रित रहे पनि यस्ता घटनाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, समावेशिता र प्यानल संस्कृतिमाथि पुनः प्रश्न उठाएको छ ।
एमाले मतदानस्थलबाट योगेश भट्टराई : म अन्तिम मतदाता !
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले आफू अन्तिम मतदाता भएको बताएका छन्।आज (बिहीबार) बिहान पौने ६ बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘म अन्तिम मतदाता !’
यस्तो लेखेर उनले काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि जारी मतदान सकिँदै गरेको संकेत गरेका छन् । आज बिहान ५ः४३ बजे एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सय जति मत खस्न बाँकी रहेको जानकारी दिएका छन् ।
उनले भने, ‘सबै जना भित्र पसिसक्नु भएको छ, अब मेसिनमा सय जति मत खस्न बाँकी होला । अरू एक घण्टा लाग्ला ।’ एमाले महाधिवेशनमा कुल २ हजार २६३ मतदाता छन् । जारी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । योगेश ईश्वर समूहबाट उपमहासचिव पदमा उठेका हुन् ।
एमाले महाधिवेशनको मतदान सुस्त, रातभरमा पनि नसकिने संकेत
काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाकृत निकै सुस्त गतिमा अघि बढिरहेको छ । लामो मतपत्र, धेरै उम्मेदवार र प्यानलको सूची हेर्दै मतदान गर्नुपर्ने बाध्यताका कारण मतदान प्रक्रिया ‘कछुवा गति’ मा अगाडि बढिरहेको छ । बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान साँझ ५ बजेसम्म आइपुग्दा जम्मा ८०२ प्रतिनिधिले मात्रै मत हालेका छन् । महाधिवेशनमा कुल २ हजार २ सय ६२÷६३ प्रतिनिधि रहेका छन् । मतदानको यही रफ्तार कायम रहेमा प्रक्रिया रातभरि मात्र होइन, भोलि बिहानसम्म पनि लम्बिन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।
विद्युतीय भोटिङ मेसिन सञ्चालनमा संलग्न राम–लक्ष्मणमध्येका रामका अनुसार सुरुमा फोटो र नाम हेरेर मतदान गर्दा प्रक्रिया छिटो हुने अपेक्षा गरिएको थियो । तर, अध्यक्षसहित सबै पदमा उम्मेदवारहरूको संख्या धेरै हुनु, साथै केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षधरले आ–आफ्नो प्यानल सूची बोकेर मतदान गर्न जाँदा मतदाताहरू अल्मलिन पुगेका छन् ।
उनका अनुसार प्यानल सूची नबोकी मतदान गर्न जानेले २०–३० मिनेटमै प्रक्रिया पूरा गरेका छन् भने सूची बोकेर जानेले डेढ घण्टासम्म समय खर्चिएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले साँझ ५ बजेसम्म ८०२ मत खसेको पुष्टि गर्दै एक मतदाताले औसतमा ३५ मिनेट समय लिएको जानकारी दिए । उनका अनुसार छिटो मतदान गर्नेले ९ मिनेटमै सकाएका छन् भने ढिला गर्नेले २ घण्टासम्म समय लिएका उदाहरण पनि छन् ।
महाधिवेशनमा ६४२ जना उम्मेदवारबाट ३०१ केन्द्रीय सदस्य, १९ पदाधिकारी तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयन गर्नुपर्ने भएकाले मतपत्र निकै लामो बनेको छ । यही कारण मतदान प्रक्रिया जटिल बनेको आयोगका अधिकारीहरूको निष्कर्ष छ । एक निर्वाचन अधिकारीले भने, ‘यही गतिमा मतदान भयो भने अझै कम्तीमा १० घण्टा लाग्ने देखिन्छ । रातभरिमा टुंग्याउन पनि गाह्रो हुन सक्छ ।’ अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिष्पर्धा भइरहेको छ । मंसिर २८ गतेदेखि शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन गर्ने तयारी भए पनि मतदानको सुस्तताले तालिका प्रभावित हुने संकेत देखिएको छ ।
एमाले महाधिवेशन प्रतिनिधिलाई टोकन, ८ बजेसम्म ‘होल्डिङ सेन्टर’ नपुगे मतदान गर्न नपाउने
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतदानलाई व्यवस्थित बनाउन प्रतिनिधिहरूलाई टोकन प्रणाली लागू गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान सवा ९ बजेदेखि सुरु भएको मतदानमा लामो समय लाइन बस्नुपर्ने अवस्था आएपछि पार्टीले टोकन वितरण गरेको हो ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार अपराह्न साढे ४ बजेसम्म करिब ७२० प्रतिनिधिले मतदान गरिसकेका छन् । महाधिवेशनमा कुल २ हजार २६२ प्रतिनिधि मतदाता रहेका छन् । मतदान प्रक्रियामा एक पटकमा ५० जनालाई मात्र प्रवेश गराइँदै आएको छ भने एक जना प्रतिनिधिले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म समय लाग्ने बताइएको छ । लामो समय उभिनुपर्ने असहजतालाई मध्यनजर गर्दै लाइनमा रहेका र बाहिर रहेका दुवै प्रकारका प्रतिनिधिलाई टोकन बाँडिएको हो । टोकनका आधारमा नै मतदानका लागि बोलाइने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच, एमाले केन्द्रीय निर्वाचन आयोगले टोकन लिएका प्रतिनिधिहरूले बेलुका ८ बजेसम्म अनिवार्य रूपमा होल्डिङ सेन्टरमा पुगिसक्नु पर्ने स्पष्ट पारेको छ । आयोगका सचिव कुन्साङ लामा अनुसार तोकिएको समयभित्र टोकन नलिने वा होल्डिङ सेन्टरमा प्रवेश नगर्ने प्रतिनिधिले मतदान गर्न नपाउने छन् । आयोगका उपाध्यक्ष सानुराज पोखरेलले पनि अपराह्न ४ बजेसम्म करिब ७ सय हाराहारी मत खसेको जानकारी दिँदै बाँकी मतदान प्रक्रिया तोकिएको समय सीमाभित्र सम्पन्न गरिने बताए ।
एमाले महाधिवेशन : मतदानको समय थपियो, किन भइरहेको छ ढिलाइ ?
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अपेक्षाभन्दा निकै सुस्त गतिमा अघि बढेपछि मतदानको समय थपिएको छ । सुरुमा साँझ ५ बजेसम्म तोकिएको मतदान समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्याइएको हो ।निर्वाचन आयोगका अनुसार राति ८ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका प्रतिनिधिले मत हाल्न पाउने व्यवस्था गरिएको छ ।
बुधबार बिहान सवा ९ बजेबाट सुरु भएको मतदान साँझ ४ बजेसम्म आइपुग्दा जम्मा एकतिहाइ प्रतिनिधिले मात्रै मत खसाल्न सकेका थिए । एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । सात घण्टामा ७ सय २० मत खसेको हो । यही गतिमा मतदान अघि बढेमा रातभर मतदान चल्दा पनि टुंगिन कठिन हुने आयोगकै पदाधिकारीहरूले बताएका छन् ।
मतदान प्रक्रियामा प्रयोग गरिएको विद्युतीय प्रणालीका कारण एक जना प्रतिनिधिले औसत ३५ देखि ४० मिनेटसम्म समय खर्चिनुपरेको छ । ८० वटा विद्युतीय मेसिन प्रयोगमा रहे पनि मतदाताको लामो समय खर्चिनुपर्ने अवस्थाले समग्र प्रक्रिया सुस्त बनेको हो । मतदान व्यवस्थापनमा संलग्न रामलक्ष्मण इनोभेसन प्रालिका प्रतिनिधिहरूका अनुसार यही गतिमा मतदान सकिन झण्डै २२ घण्टा लाग्ने अनुमान गरिएको छ ।
ढिलाइ हुनुका मुख्य तीन कारण
मतदान किन यति ढिलो भयो भन्ने प्रश्नको जवाफमा निर्वाचन व्यवस्थापन पक्षले तीन प्रमुख कारण औंल्याएको छ ।
पहिलो–महाधिवेशनको अन्तिम समयमा विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाइनु । एमालेले पदाधिकारी संख्या १५ बाट बढाएर १९ र केन्द्रीय समिति २५१ बाट ३०१ पुर्याएपछि भोटिङ मेसिनमा पुनः सेटिङ गर्नुपरेको थियो । उम्मेदवारको नाम र फोटो इन्ट्री गर्न समय लाग्दा मतदान प्रक्रिया स्वाभाविक रूपमा ढिलो भयो ।
दोस्रो–अध्यक्षका दुवै प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलका छुट्टाछुट्टै प्यानल अनुसार प्रतिनिधिहरूले नामसूची बोकेर मतदान गर्नुपर्ने अवस्था । कतिपय प्रतिनिधिले एउटै प्यानलमा सीमित नरही फरक–फरक प्यानलका उम्मेदवारलाई मत दिने भएकाले सूची मिलाउन र रूजु गर्न थप समय लागिरहेको छ ।
तेस्रो–यस पटक सबै पदमा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था । अघिल्ला महाधिवेशनमा केही पद खाली छाडेर मतदान गर्न सकिने भए पनि अहिले तोकिएको संख्याभन्दा कम उम्मेदवारलाई मत दिए अर्को समूहमा प्रवेश नै गर्न नपाइने नियम छ । यसले पनि मतदातालाई लामो समय मेसिनअगाडि उभिन बाध्य बनाएको छ ।
यसपालि अपेक्षाकृत धेरै पदमा प्रतिष्पर्धा भएको छ । सुरुमा करिब ३० प्रतिशत पद सर्वसम्मत हुने अनुमान गरिएको भए पनि व्यवहारमा त्यो सम्भव भएन । कतिपय स्थानमा ५ पदका लागि ६ जनासम्म उम्मेदवार भएपछि मतदान प्रक्रिया थप जटिल बनेको छ। मतदान सकिएपछि मतगणनामा अझै ३–४ घण्टा लाग्ने अनुमान गरिएको छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिष्पर्धा भइरहेको छ भने १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन र लेखा आयोगका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । मंसिर २८ गते सुरु भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयनसँगै समापन हुने कार्यतालिका भए पनि मतदान प्रक्रियाको सुस्तताले समग्र महाधिवेशन नै ‘लामो दौड’ जस्तै बनेको छ ।
एमाले महाधिवेशन : पाँच घण्टामा कति खस्यो मत ?
काठमाडौं । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा पाँच घण्टादेखि मतदान जारी छ । आज बिहान सवा ९ बजेदेखि मतदान सुरू भएको थियो । दिउँसो सवा २ बजेसम्म ५३२ जनाले मतदान गरेको पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ । एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् । एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने र लगत्तै गणना गर्ने जनाएको छ ।
अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेको) र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ । मतदान भृकुटीमण्डपमै भइरहेको छ । एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ । विद्युतीय मेसिनमा मतदान भइरहेको हो ।
२९ वर्षमै एमालेको निर्विरोध केन्द्रीय सदस्य : यसरी सम्भव भयो रौनितको राजनीतिमा उदय
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट सर्लाहीका रौनित साह २९ वर्षकै उमेरमा पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । मधेश प्रदेशबाट ४० वर्षमुनिका युवाको कोटामा निर्विरोध निर्वाचित साह केन्द्रीय कमिटीमा पुग्ने सबैभन्दा कान्छा सदस्यमध्ये परेका छन् । २०५२ साल माघ २८ गते जन्मिएका साह पछिल्ला १२–१३ वर्षदेखि एमाले संगठनमा सक्रिय रहेको दाबी गर्छन् । उनी तीन कार्यकाल जिल्ला कमिटी सदस्य, हाल सर्लाही जिल्ला कमिटी अध्यक्ष तथा भूमि आयोग सर्लाहीका सदस्य समेत हुन् । भारतको बैंग्लोरबाट बीबीए अध्ययन गरेका साह हाल पूर्ण रूपमा पार्टी राजनीतिमै संलग्न रहेको बताउँछन् ।
एमालेको नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा ४० वर्षमुनिका १५ युवालाई समेट्ने व्यवस्था गरिएको छ । यही व्यवस्थाअन्तर्गत मधेसी युवाबाट सर्लाहीका रौनित साह र महोत्तरीका अमरकुमार यादव निर्विरोध चयन भएका हुन्। तर साहको उदयसँगै परिवारवादको आरोप पनि लाग्ने गरेको छ । उनी एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष राजनारायण साहका छोरा हुन् । गत मंसिर १४ गते महाधिवेशन प्रतिनिधि छनोटका क्रममा जिल्लामा असन्तुष्टि देखिएको थियो । पार्टी निर्माणमा लामो समयदेखि योगदान गरेका केही सक्रिय नेता–कार्यकर्तालाई पाखा लगाएर अध्यक्ष साहले आफ्नै परिवारका सदस्यलाई अघि सारेको आरोप एमालेकै नेताहरूले लगाएका छन् ।
अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता समिमबाबु पठानले आफू ०६७ सालदेखि विद्यार्थी आन्दोलनमार्फत पार्टीमा सक्रिय रहे पनि महाधिवेशन प्रतिनिधि बन्न नपाएको गुनासो गरेका छन् । प्रतिनिधि छनोटमा परिवारवाद देखिएको भन्दै उनले त्यसबेला व्यापक असन्तुष्टि रहेको बताएका छन् ।
आरोपबारे प्रतिक्रिया दिँदै रौनित साहले आफू बुवाको कृपाले नभई पार्टीभित्रको सक्रियता र सिफारिसकै आधारमा केन्द्रीय सदस्य बनेको दाबी गरेका छन् । ‘क्षेत्रका युवाहरूले नै मलाई प्रतिनिधिमा सिफारिस गरेका हुन्,’ उनले भने, ‘कसैलाई अवसर नपर्नु मेरो दोष होइन ।’
एकातिर एमालेले युवालाई नेतृत्वमा ल्याउने सन्देश दिएको छ भने अर्कोतिर रौनित साहको चयनले पार्टीभित्र योग्यता बनाम पहुँचको बहस पुनः सतहमा ल्याएको छ । २९ वर्षमै केन्द्रीय कमिटीमा पुगेका साहको राजनीतिक यात्रा आगामी दिनमा संगठन सुदृढीकरणतर्फ जान्छ कि आलोचनालाई पुष्टि गर्ने दिशामा, त्यो भने उनको काम र भूमिकाले नै तय गर्नेछ ।
प्रतिष्पर्धालाई तिक्तताको रूपमा लिनु हुन्न : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया लोकतान्त्रिक अभ्यास र आपसी सौहार्दताका साथ अघि बढिरहेको छ । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई नकारात्मक रूपमा लिन नहुने स्पष्ट पार्दै यसलाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा बुझ्न आग्रह गरेका छन्।
महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा सबैले खुला र सकारात्मक सहभागिता जनाइरहेको बताए । उनले नेतृत्व चयनका क्रममा देखिने प्रतिस्पर्धालाई तिक्तता वा विभाजनको संकेतका रूपमा व्याख्या गर्नु गलत हुने धारणा राखे । उनका अनुसार विगतमा पार्टी गम्भीर विभाजनको जोखिममा परेका बेला विशेष परिस्थिति थियो, तर अहिले एमाले त्यस्तो अवस्थामा नरहेको र विचार, संगठन तथा लक्ष्यका हिसाबले पार्टी एकताबद्ध रहेको छ ।
पोखरेलले पार्टीभित्र विचार, संगठन र कार्यदिशामा कुनै मतभेद नरहेको जिकिर गर्दै कार्यसम्पादनको शैली, वैचारिक स्पष्टता र संगठनात्मक व्यवस्थापनलाई अझ सुदृढ बनाउने सन्दर्भमा विभिन्न साथीहरू आ–आफ्ना मान्यतासहित अघि बढेको बताए । यस्तो बहस र प्रतिस्पर्धा पार्टीलाई अझ सबल बनाउने माध्यम भएको उनको भनाइ थियो ।
महाधिवेशनमा देखिएको अर्को उल्लेखनीय पक्ष भनेको नेतृत्व प्रतिस्पर्धाका बीच पनि कायम रहेको सौहार्दता हो । मतदान चलिरहेको समयमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल एकसाथ प्रतिनिधिहरूसँग भेट्दै भोट मागिरहेका देखिएका छन्। उनीहरूसँगै उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल, महासचिवका उम्मेदवार शंकर पोखरेललगायत नेताहरू पनि संयुक्त रूपमा मतदातासँग संवादमा जुटिरहेका छन् ।
मतदान प्रक्रिया जारी रहँदा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको छ भने केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन् । महाधिवेशनमा कुल २२ सय ६२ जना प्रतिनिधि सहभागी छन् र दिउँसो १२ बजेसम्म करिब चार सय मत खसिसकेको जानकारी दिइएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले पनि यो निर्वाचन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र बलियो र जीवन्त रहेको प्रमाणित गरेको बताएका छन् । समग्रमा, नेतृत्वका लागि कडा प्रतिस्पर्धा भए पनि एमाले महाधिवेशनले सहकार्य, पारदर्शिता र लोकतान्त्रिक संस्कृतिको सन्देश दिइरहेको देखिन्छ, जसले पार्टीलाई आगामी दिनमा अझ संगठित र सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
एमाले महाधिवेशनमा मतदान धमाधम, आजै राति नतिजा
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान आजै सम्पन्न गरी रातिबाटै मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँको भृकुटीमण्डपमा भइरहेको मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित पार्टीको केन्द्रीय निर्वाचन आयोग अघि बढिरहेको छ। एमाले नेता राजेन्द्र गौतमले बुधबार बिहान मतदानस्थलमै आयोजित प्रेस ब्रिफिङमा मतदान प्रक्रिया अनुमानित समयमै अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार प्रतिनिधिको संख्या, प्रयोगमा रहेका भोटिङ मेसिन र मतदान प्रक्रियालाई आधार मान्दा साँझ ८–१० बजेसम्म मतदान सकिने र त्यसको दुई घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्न सकिने अवस्था छ ।
भृकुटीमण्डपमा ८० वटा भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ । यद्यपि मेसिन प्रयोग भए पनि उम्मेदवारको संख्या धेरै भएकाले एक प्रतिनिधिलाई मतदान गर्न २० देखि ३० मिनेटसम्म लाग्ने गुनासो मतदाताहरूले गरेका छन् । एक पटकमा ८० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले पनि आजै राति मतदान सम्पन्न हुने र मध्यरातिबाटै मतगणना सुरु गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार प्रारम्भिक अनुमानअनुसार राति ८ बजेसम्म मतदान सकिनुपर्ने भए पनि एक–दुई घण्टा ढिलो हुन सक्ने सम्भावना छ । तर राति १० बजेसम्म मतदान सकिएपछि गणना प्रक्रिया तत्कालै सुरु गरिनेछ ।
यस निर्वाचनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना निर्वाचित हुनेछन् । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । समग्रमा करिब ६ सय ५० जनाजति उम्मेदवार चुनावी मैदानमा छन् । पार्टी नेतृत्व चयनका लागि निर्णायक मानिएको यस निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारीले एमाले महाधिवेशन थप रोचक र निर्णायक चरणमा प्रवेश गरेको छ ।
निर्विरोध रौनित साह बने एमालेको कान्छो केन्द्रीय सदस्य
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन् । मधेशबाट ४० वर्षमुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् । साहको जन्म २०५२ माघ २८ गते भएको हो ।
उनी सर्लाही जिल्ला कमिटी अध्यक्ष, ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै हाल भूमि आयोग सर्लाहीको पनि सदस्य छन् । साह विगत १३ वर्षदेखि पार्टी संगठनमा सक्रियतापूर्वक काम गर्दै आइरहेका छन् । उनीसहित केही क्लस्टरबाट केही केन्द्रीय सदस्य निर्विरोध भएका छन् । एमालेको नेतृत्व चयनको लागि अहिले मतदान जारी छ ।
एमाले महाधिवेशन : तीन घण्टामा साढे ३०० खस्यो मत, नतिजा आउन कति समय लाग्ला ?
काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेसम्म ३०० मत खसिसकेको जानकारी दिएका हुन् । गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् ।
यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान गरिएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेशिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेशिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।
भोटिङ मेशिन हुँदा पनि मतदान ढिला : प्यानलको लिस्ट लैजान पाइने, मोबाइल निषेध
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ । आधुनिक प्रविधि प्रयोग गरिए पनि मतदान प्रक्रिया भने अपेक्षाकृत ढिलो भइरहेको गुनासो प्रतिनिधिहरूको छ । मतदानमा एक पटकमा ५० जनालाई सहभागी गराइएको छ। मतदानस्थल प्रवेश गर्नुअघि प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ, भित्र छिरेपछि सोही कार्ड प्वाल पारिन्छ । त्यसपछि प्रतिनिधि भोटिङ मेशिनसम्म पुग्छन् ।
मतदानस्थलभित्र मोबाइल लैजान कडाइका साथ रोक लगाइएको छ, तर दुवै प्यानलका उम्मेदवारको सूची भने साथमा लैजान दिइएको छ । भोटिङ मेशिनमा सबै पदका उम्मेदवारको फोटो र नामसहित सूची राखिएको छ । प्रतिनिधिले इच्छाएको उम्मेदवारको नाममा दुई पटक थिचेर भोट हाल्नुपर्छ । डबल ट्याप गर्दा भोट फिर्ता हुन सक्ने भएकाले स्क्रिनमा संकेत चिह्न देखिन्छ, त्यसपछि प्रतिनिधिले भोट पुनः हाल्न वा परिवर्तन गर्न पाउँछन् ।
उम्मेदवारको सूची १५ पेजमा विभाजन गरिएको छ । प्रत्येक पेजका सबै उम्मेदवारलाई भोट हालेपछि मात्र अर्को पेजमा जान मिल्छ । कुनै पद छुटेमा मेशिनले आफैं संकेत गर्छ । तर एक पटक अगाडि बढेपछि अघिल्लो पेजमा फर्किन नमिल्ने व्यवस्था गरिएको छ । १९ पदाधिकारीका लागि ४१ जना र ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । सबै पदमा मतदान गर्न एक प्रतिनिधिले करिब साढे तीन सय पटक बटन थिच्नु पर्छ । यही कारण मतदानमा समय बढी लागेको प्रतिनिधिहरू बताउँछन् । मतदान गरेर फर्किएका प्रतिनिधिहरूका अनुसार जान्नेहरूलाई पनि २५–३० मिनेट लागिरहेको छ भने नाम सूची खोज्दै भोट हाल्नेहरूलाई ४०–५० मिनेटसम्म समय लाग्ने गरेको छ । अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर
पोखरेलले झण्डै ४० मिनेटमा भोट हालेका थिए भने केही उम्मेदवारले २५–३० मिनेटमै मतदान सकेका छन् । अशक्त र आफैं भोट हाल्न नसक्ने प्रतिनिधिलाई प्राथमिकता दिइएको छ । आवश्यक परेमा सहयोगका लागि आफूले चाहेअनुसार व्यक्ति रोज्न पाउने व्यवस्था पनि गरिएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेशिन प्रयोगमा छन् । प्रविधिमैत्री व्यवस्था भए पनि धेरै उम्मेदवार र लामो सूचीका कारण मतदान प्रक्रिया ढिलो भएको प्रतिनिधिहरूको अनुभव छ ।
एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र {तस्वीरहरू}
काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारहरूको प्रचार सामग्रीले कुरूप बनेको छ । भृकुटीमण्डप क्षेत्रको सडकमा यत्रतत्र उम्मेदवारका प्रचार सामग्री छरिएका छन् । जसका कारण सो क्षेत्रको सौन्दर्य नै हराएको छ । उम्मेदवारको पक्षमा भोट माग्न पर्चा, पम्पप्लेट तयार गरिएको छ भने सोही सामग्री जथाभाबी फाल्दा फोहोर बनेको हो । सोही फोहोरलाई बुधवार बिहान काठमाडौँ महानगरको ब्रुमरले सफा गरेको छ । एमालेको महाधिवेशन अन्तर्गत बुधवार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुने भनिएको छ ।
हेर्नुस् तस्वीरहरु


राष्ट्रियता रक्षा गर्न ओलीको विकल्प छैन : पदम गिरी
काठमाडौं । नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता रहेको बताए । यस समयमा केपी ओलीको नेतृत्वमा अघि बढ्नु पर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता तयार रहेको बताए । उनले ११ औं महाधिवेशन भव्य र सभ्य रुपले सम्पन्न भइरहेको बताए ।
उनले भने, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रुपले सम्पन्न हुँदैछ । आफ्नो नेता चयन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेर खुशीयालीको वातावरणमा अभिमतमार्फत आफ्नो नेता चयन गर्दै हुनुहुन्छ । यसले पनि ११ औं महाधिवेशनमा ऐतिहासिक नै भएको छ । सबै कुरा नियमित रुपमा भइरहेको छ । मुलुक अत्यन्तै अफ्ठ्यारो स्थितिमा छ ।’
उनले भने, ‘लोकतन्त्रमाथि एक किसिमको आक्रमण भइरहेको छ । संविधानको रक्षा गर्नुपर्ने स्थिति छ, मुलुकको राष्ट्रियता संकटको स्थितिमा छ । यस्तो परिस्थितिमा एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता छ । यो नेकपा एमालेको मात्रै महाधिवेशन होइन, सिंगो राष्ट्रको हो । केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता देखिएको छ ।’ नेता गिरीले नयाँ अनुहार केन्द्रिय कमिटीमा देखिने बताए ।
ओली र ईश्वर दुबै पक्षले मतदातालाई बाँड्यो प्यानलको सूची
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रियासँगै प्यानल राजनीतिले तीव्र रूप लिएको छ । मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्षले आ–आफ्ना प्यानलका उम्मेदवारहरूको सूची वितरण गर्दै मत मागिरहेका छन् ।
मतदानका लागि प्रतिनिधिहरू लामबद्ध भएर पालो कुर्दै गर्दा ओली पक्षका नेताहरूले आफ्ना उम्मेदवारहरूको नाम समेटिएको सूची बाँडिरहेका छन् । ओली र पोखरेलले मतदानस्थल गरिसकेका छन् । यता ईश्वर पोखरेल पक्ष भने मतदान सुरु हुनुअघि नै स्थलमा सक्रिय देखिएको छ । पोखरेल पक्षका नेताहरू लाइनमै बसेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो प्यानललाई समर्थन गर्न आग्रह गरिरहेका छन् ।
यसैबीच, मतदान चलिरहेकै समयमा ईश्वर पोखरेल प्यानलको संशोधित सूची पनि प्रतिनिधिहरूलाई वितरण गरिएको छ । अन्तिम समयमा केही नाम हेरफेर गर्दै नयाँ सूची तयार पारिएको हो । ओलीको प्यानलमा समावेश नभएका तथा स्वतन्त्र उम्मेदवारी दिएका केही नेताहरूलाई आफ्नो पक्षमा समेट्दै पोखरेल पक्षले रणनीतिक पुनर्संरचना गरेको बुझिएको छ ।
खुला महिला, बागमती प्रदेश महिला, कर्णालीलगायत विभिन्न क्लस्टरका उम्मेदवारहरूमा हेरफेर गरेर ओली पक्षका मतदातालाई आफूतिर तान्ने प्रयास गरिएको स्रोतहरूको भनाइ छ । पदाधिकारी तहमा आवश्यक मत सुनिश्चित गर्न अन्तिम समयसम्म दुवै पक्षले आक्रामक प्रचार र लबिङ गरिरहेका छन् । मतदानस्थलमै प्यानल सूची वितरण र मत माग्ने गतिविधिले एमालेको आन्तरिक प्रतिष्पर्धा कति तीव्र छ भन्ने स्पष्ट देखिएको छ । अब प्रतिनिधिहरूको मतले पार्टीको भावी नेतृत्व र शक्ति सन्तुलन कसको पक्षमा जाने हो भन्ने टुंगो लाग्नेछ ।
एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुने छैन : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिष्पर्धा एमालेले स्वीकारेको विधि भएको बताएका छन् । बुधवार बन्द सत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले अहिले पनि जनतको प्रिय पार्टी भएको बताउँदै आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले मात्रै राख्ने बताए । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले गर्ने बताए ।
राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी महाधिवेशनबाट आफूहरु एकतावद्ध हुने बताए । निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्ने बताए । जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्ने बताए ।
उनले भने, ‘एमाले जनताको प्रिय पार्टी हो । आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले राख्नु पर्छ । यस प्रकारको नेतृत्व यो महाधिवेशनबाट आउनेछ । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम गर्नेछ । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी हामी यो महाधिवेशनबाट एकतावद्ध हुनेछौँ ।’
उनले भने, ‘प्रतिष्पर्धा देखिन्छ, स्वस्थ प्रतिष्पर्धा एमालेले स्वीकारको विधि हो । यसबाट निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्छ । एमालेमाथि धेरै प्रहार छन्, जुनसुकै प्रहार भए पनि नेकपा एमाले यो मुलुकको स्वाधिनता, लोकतन्त्र, संविधानको पक्षमा दृढताका साथ अघि बढ्छ । प्रतिक्रियावादी शक्तिहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहन्छन्, तथापि हामी देशहितको पक्षमा उभिएका छौँ ।’ नेता बर्तौलाले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरुको चाहना कहिल्यै पूरा नहुने बताए ।
पक्ष–विपक्ष छैन, हामी सबै एमाले : कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन् । बुधवार बन्द सत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए । उनले सबैभन्दा पहिला देश रहेकाले देश रहे मात्रै पार्टी रहने बताए । उनले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने बताए । नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको बताए । कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकताले गरेको फैसला मञ्जुर हुने बताए ।
उनले भने, ‘सबैभन्दा पहिलो कुरा देश हो । देश रहे मात्रै हामीले पार्टी बनाउँछौँ । त्यसपछि मात्रै जनताको समृद्ध नेपाल र सुखी नेपाली पूरा गर्नसक्छौँ । पहिला देश नै हो । देश बनाउन पार्टी बच्नु जरुरी छ । नेकपा एमालेलाई जनताको मनमनमा समेट्नु पर्छ । कार्यकर्ताबाटै नेताहरु बन्ने हो । आवधिक चुनावलाई विश्वास गर्ने पार्टीका नेताहरु हौँ । कार्यकर्ताबाट नेता छानिने कुरा हो । कुन पक्ष, विपक्ष छैनौँ । हामी सबै यहाँ एक पक्ष एमाले नै छौँ । जो राम्रा साथीहरुलाई विश्वास गर्छन्, त्यसैले नेतृत्व गर्दछ ।’ नेता श्रेष्ठले ईश्वर पोखरेल, नेकपा मालेदेखि एमाले बनाउने आर्किटेक्ट भएको बताए। कार्यकर्ताले गरेको फैसलाअनुसार नेतृत्व चयन हुने बताए ।
