`

ओली र ईश्वरले मतदान गर्न कति लगाए समय ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा विद्युतीय मेशिनमार्फत मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला गरी बिहान साढे ९ बजेदेखि सुरु भएको हो । मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएका छन् र मतदान सम्पन्न हुन ६ देखि ८ घण्टा लाग्ने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु भई करिब २ घण्टाभित्र नतिजा आउने बताइएको छ।

अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले लगभग बराबर समय लगाएर मतदान पूरा गरेका छन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार ओलीले सबै पदमा भोट हाल्न करिब ४० मिनेट समय लिएका थिए भने पोखरेलले पनि झण्डै उस्तै समय खर्च गरेका थिए । उनीहरू दुवैले सँगसँगै मतदान सुरु गरेको र करिब एकै समयमा मतदान सकिएको जनाइएको छ । ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बर भोटिङ मेशिनमा मतदान गरेका थिए । ओली समूहबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेलले करिब २५ मिनेटमा मतदान सकेका थिए भने पोखरेल समूहबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले करिब ३० मिनेट समय लिएका थिए । महासचिवका अर्का प्रत्यासी शंकर पोखरेलले ७५ नम्बर मेशिनमा मतदान गरेका छन् ।

यस महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार प्रतिष्पर्धामा छन् भने ३०१ केन्द्रीय सदस्य पदका लागि ६ सयभन्दा बढी उम्मेदवार मैदानमा छन् । सबै पदमा भोट हाल्न मतदाताले करिब साढे तीन सय पटकसम्म बटन थिच्नुपर्ने भएकाले मतदान प्रक्रिया समयलाग्दो बनेको छ ।

ओली प्यानलबाट उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल उम्मेदवार छन् । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल तथा सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की उम्मेदवार रहेका छन् ।

पोखरेल प्यानलतर्फ उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ उम्मेदवार छन् । महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल तथा सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवार बनेका छन् । मतदान प्रक्रियामा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सबै पदमा प्रतिष्पर्धा कडा देखिएको छ भने नेतृत्व चयनको अन्तिम नतिजाप्रति कार्यकर्ता र नेताहरूको चासो बढ्दो छ ।

 

 

एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव, मतदानस्थल परिवर्तन

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान हुने भएको छ । मंगलबार साँझ नै मतदान गर्ने तयारी भए पनि प्राविधिक कारण र मतदानस्थलको व्यवस्थापनका कारण प्रक्रिया स्थगित गरी बुधबार बिहानका लागि सारिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ७ बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका थिए । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल समेत मतदानस्थलमा उपस्थित थिए । तर करिब सवा ८ बजे महासचिव शंकर पोखरेलले प्राविधिक समस्या र मौसमको चिसोपनका कारण मतदान भोलि बिहानसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।

एमालेले यस पटक पनि रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको विद्युतीय भोटिङ मेशिन प्रयोग गर्दैछ । ८० वटा इलेक्ट्रोनिक भोटिङ मेशिनमार्फत २ हजार २६२ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार उम्मेदवारहरूको विवरण, मतदाता नामावली, क्लस्टर व्यवस्थापन जस्ता डाटा इन्ट्री समयमै पूरा गर्न नसकिएकाले मतदान सुरु गर्न ढिलाइ भएको हो । अहिले भने सबै डाटा इन्ट्री सकिएर उपकरण तयारी अवस्थामा पुगेको उनले बताएका छन् ।

मतदानस्थल पनि परिवर्तन गरिएको छ । मंगलबार मेशिन राखिएको हल बुधबार बिहान खाली गर्नुपर्ने भएकाले भृकुटीमण्डप परिसरभित्रै अर्को हलमा मेशिन सारेर मतदान गरिनेछ । एक जना मतदातालाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुने र विद्युतीय प्रणाली भएकाले करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने एमालेले जनाएको छ ।

महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, नौ सचिव र ३०१ केन्द्रीय सदस्य चयन हुनेछन् । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुँदैछ । दुवै नेताले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

पाँच उपाध्यक्ष पदका लागि अरूण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन् । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिष्पर्धामा छन् । त्यसैगरी उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की प्रतिष्पर्धामा छन् । प्राविधिक तयारी पूरा भएसँगै आजको मतदानले एमालेको नयाँ नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

एमालेको मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने

काठमाडौं । नेकपा एमालेको मतदान स्थगित भएको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए ।

९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ । मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका छन् । आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताइएको छ । सुरूमा अल्फाबेटिकल अर्डर र पछि फन्टको समस्या भएको बताइएको छ ।

धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो । त्यसो त केही केन्द्रीय सदस्यहरु सर्वसम्मत हुने भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार हालसम्म ११ जना सर्वसम्मत भएका छन् । त्यस्तै उपमहासचिवमा उम्मेदवारी दिएका एकसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा जारी रहेको छ । एमालेको केन्द्रीय निर्वाच आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिष्पर्धा हुँदैछ । विधान संशोधनपछि १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुँदैछ ।

 

 

 

 

शंकर पोखरेल सँगसँगै मत माग्दै हिंडे प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेको महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बनेका शंकर पोखरेलसँग सँगै देखिएका छन् । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा ज्ञवाली शंकर सँगै देखिएका हुन् । केपी शर्मा ओली समूहबाट उपाध्यक्षका उम्मेदवार बनाउन प्रस्ताव गरिए पनि ज्ञवालीले अस्वीकार गरेका थिए । अन्तिमसम्म महासचिवमा दावी गरेका ज्ञवालीले त्यो नपाएपछि केन्द्रीय सदस्यमा नोमिनेशन गरेका थिए । पोखरेललाई महासचिवको उम्मेदवार बनाएपछि ज्ञवाली असन्तुष्ट बनेका थिए ।

तर, मंगलवार बिहानै सामाजिक सञ्जालमा सन्देश लेखेर ज्ञवालीले ओली प्यानलका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए । दिउँसो महासचिवका उम्मेदवार शंकरसँगै ज्ञवाली महाधिवेशनस्थलमा देखिएका हुन् । महासचिवमा ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले प्रतिस्पर्धा गरेका छन् । महासचिवमा कडा प्रतिष्पर्धा हुने आकलन महाधिवेशन प्रतिनिधिले गरेका छन् । नेतृत्व चयनका लागि मंगलबार साँझ मतदान हुँदैछ ।

पासाङ शेर्पाको उम्मेदवारी नै खारेज

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । उनी बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका थिए । उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो ।

उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो । कैद वापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर उनी छुटेका थिए । उनले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको छ । उनी १० औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए ।

एमालेको मतदानमा ढिलाइ, के हो खास समस्या ?

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान पटक–पटक सर्दै जाँदा अझै सुरु हुन सकेको छैन । सुरुमा मंगलबार दिउँसो १२ बजे, त्यसपछि ३ बजे र पुनः ४–५ बजेदेखि मतदान हुने भनिए पनि साँझसम्म पनि प्रक्रिया अघि बढ्न सकेको छैन । केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारको नाम, फोटो र विद्युतीय भोटिङ मेशिन (ईभीएम) को कोडिङमा समस्या देखिएपछि मतदान ढिलाइ भएको हो । आयोगका सचिव कुन्साङ लामाले प्राविधिक कठिनाइका कारण निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको स्वीकार गर्दै ‘४ वा ५ बजेपछि जसरी पनि प्रक्रिया थाल्ने प्रयास भइरहेको’ जानकारी दिएका छन् ।

तर प्राविधिक पक्षमा संलग्न लक्ष्मण रिमालले भने नाम तलमाथि परेको, फोटो कोडिङ पुनः गर्नुपरेको जस्ता समस्याले काम लम्बिएको जानकारी दिए । उनका अनुसार सबै प्रक्रिया मिलाउन समय लागेकाले ‘राति ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्ने’ सम्भावना छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिँदैछ र मतदान सकिन ६–७ घण्टा लाग्ने अनुमान गरिएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ । मतदान ढिलाइसँगै आन्तरिक राजनीति पनि चर्किएको छ । अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पक्षले तत्काल मतदान सुरु गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सो समूहकी नेतृ अष्टलक्ष्मी शाक्यका अनुसार ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको आशंका व्यक्त गर्दै प्रक्रिया अविलम्ब अघि बढाउन दबाब दिइएको हो ।

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिष्पर्धा हुँदैछ । यसैगरी पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, ९ सचिव, ३३ स्थायी कमिटी सदस्य, ९९ पोलिटब्युरो सदस्य र ३०१ केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ । केन्द्रीय सदस्यमा ११ जना तथा अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । मतदानको समय झन् लम्बिँदै जाँदा महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूमा अन्योल र चासो बढ्दै गएको छ । अब निर्वाचन आयोगले कहिले औपचारिक रूपमा मतदान सुरु गर्छ भन्ने प्रश्न सबैको ध्यानको केन्द्रमा छ ।

ओली ‘प्यानल’ कै उम्मेदवार सूचीमा यसरी समेटिए रघुजी पन्त

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रघुजी पन्तलाई अध्यक्ष केपी शर्मा ओली समूहमै समेटिएको छ। पन्त उपाध्यक्षका आकांक्षी थिए तर अध्यक्ष ओली समूहले बनाएको उम्मेदवार सूचीमा परेका थिएनन्। स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका पन्तलाई अध्यक्ष ओली र ईश्वर पोखरेल समूहले आफ्नो टिममा पार्न कुरा गरेका थिए ।

अध्यक्ष ओलीले पन्तसँग सोमबार कुराकानी पनि गरेका थिए। नेता प्रदीप ज्ञवाली उपाध्यक्षमा उठ्न नमानेपछि ओली प्यानलमा एक पद खाली थियो । सो ठाउँमा रघुजी पन्तलाई समेटिएको ओली पक्षका नेताहरूले बताएका छन्। एमालेमा पाँच जना उपाध्यक्ष रहने व्यवस्था छ। ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्। ज्ञवालीले भने उपाध्यक्षमा उठ्न अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पन्तको ढोका खुलेको हो।

 

एमाले महाधिवेशन : अमर, रौनित र लीलामणि निर्विरोध

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत ४० वर्षमुनिका तीन युवा निर्विरोध भएका छन् । यसरी निर्विरोध निर्वाचित हुनेमा ४० वर्षमुनिका दुई मधेसी युवा समेत छन् । एमालेको ११ औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ४० वर्षमुनिका २ जना मधेसी युवाको पदमा दुई जनाको मात्र उम्मेदवारी परेको हो । जसअनुसार ४० वर्षमुनिका मधेसी युवामा अमर कुमार यादव र रौनित साह रहेका छन् ।

दुई जनाको पदमा दुई जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् । यस्तै ४० वर्षमुनिको युवाबााट एमाले केन्द्रीय सदस्यमा लीलामणि गौतम निर्विरोध निर्वाचित भएका छन् ।उनले लुम्बिनी प्रदेशबाट ४० वर्षमुनिको युवामा उम्मेदवारी हालेका थिए । धर्म गिरीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै गौतम निर्विरोध निर्वाचित भएका हुन् ।

 

प्रदीप ज्ञवालीले भने–मन र मत दुवै पाउने विश्वास छ

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी केन्द्रीय कमिटी सदस्य पदका लागि प्रतिनिधिहरूसँग मत मागेका छन् । आज (मंगलबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आफू मात्र होइन, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको समग्र टिमलाई पनि विजयी गराउन अपिल गरेका हुन् ।

११औं महाधिवेशनको सन्दर्भमा ज्ञवाली ओली टिमबाट महासचिवका आकांक्षी थिए । तर अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई उम्मेदवार बनाएपछि ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवारी प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव अस्वीकार गर्दै ज्ञवालीले सोमबार केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराएर भृकुटीमण्डपबाट बाहिरिएका थिए ।

फेसबुक स्ट्याटसमा ज्ञवालीले महाधिवेशनले पार्टीको आन्तरिक जीवन मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्ने उल्लेख गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई शानदार मतका साथ विजयी गराउन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् । ‘म सधैं तपाईंहरूकै बीचमा छु, त्यहीं रहन्छु । यस पटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको छु,’ ज्ञवालीले लेखेका छन् ।

 

 

 

मतदानस्थल पुगे ईश्वर–सुरेन्द्र, के गर्दैछन् ओली ?

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचनको माहोल भृकुटीमण्डपमा तातेको छ । मतदान सुरु हुनुअघि नै उम्मेदवार, प्रतिनिधि र नेता–कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल मतदानस्थल पुगेपछि उनका समर्थकहरूले नाराबाजी गर्दै माहोल तताएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मतदान चार बजेतिर मात्र सुरु हुन सक्ने सम्भावना छ । मतदान ढिलो भए पनि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा जम्मा भएका छन् र उम्मेदवारहरूले मतदानस्थलमै बसेर भोट माग्ने क्रम तीव्र पारेका छन् । पोखरेलसँगै उनको प्यानलबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे पनि मतदानस्थलमै सक्रिय देखिएका छन् । उनीहरू प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाउने प्रयासमा छन् । पोखरेल–पाण्डे समूह मैदानमै उत्रिएको बेला अध्यक्ष केपी शर्मा ओली पक्षका मुख्य उम्मेदवारहरू भने मतदानस्थलमा देखिएका छैनन् ।

ओली पक्ष भने आन्तरिक रूपमा रणनीति बनाउन व्यस्त रहेको बताइएको छ । टिम निर्माणका क्रममा आफ्नै पक्षका केही नेताहरू असन्तुष्ट भएपछि उनीहरूलाई मिलाउने प्रयासमा ओली समूह केन्द्रित भएको स्रोतहरूको भनाइ छ । यही कारण मतदानस्थलमा ओली पक्षको उपस्थिति कमजोर देखिएको छ । यद्यपि ओली पक्षका नेता प्रदीप ज्ञवाली भने भृकुटीमण्डप पुगिसकेका छन् । उनलाई देखेपछि महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले सँगै फोटो खिच्न आग्रह गरेका थिए ।

यस दृश्यलाई धेरैले राजनीतिक सन्देशका रूपमा पनि हेरेका छन् । महासचिवमा दाबी गरेका ज्ञवालीलाई ओली पक्षले उपाध्यक्षमा उम्मेदवारका रूपमा अघि सारेपछि उनी असन्तुष्ट बनेका थिए । त्यसपछि उनले खुला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ज्ञवालीको असन्तुष्टिले महासचिव पदको प्रतिस्पर्धामा आफूलाई सहज भएको अनुभूति पाण्डे समूहले गरिरहेको छ । समग्रमा, मतदान सुरु हुनुअघि नै एमाले महाधिवेशन राजनीतिक शक्ति प्रदर्शन, आन्तरिक असन्तुष्टि र रणनीतिक चालहरूको केन्द्र बनेको छ । अब मतदान सुरु भएपछि प्रतिनिधिहरूको निर्णयले पार्टीको भावी नेतृत्व कुन दिशामा जान्छ भन्ने स्पष्ट हुनेछ ।

 

 

हामी सबै जुट्नेछौं, हामी सबै जित्नेछौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् । एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको रक्षा नै सबैको कार्यभार रहेको बताएका हुन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’ आज काठमाडौँको भृकुटीमण्डपमा एमाले ११ औँ महाधिवेशनमा मतदान हुँदैछ । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ भने उनीहरूकै प्यानलबाट उपाध्यक्ष, महासचिवसहित अन्य पदहरूमा समेत उम्मेदवारी दर्ता भएको छ । निर्वाचनमा २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

ईश्वर पोखरेल प्यानलको उपमहासचिवमा आनन्द पोखरेल थपिए

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत उपमहासचिव पदको चुनावी प्रतिष्पर्धामा अन्तिम समयमा रोचक मोड आएको छ । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री आनन्द पोखरेल अब ईश्वर पोखरेल नेतृत्वको प्यानलमा समेटिएका छन् । यसअघि ईश्वर पोखरेल प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरी मात्र उम्मेदवार थिए । तर महाधिवेशनको निर्णायक घडीमा आइपुग्दा आनन्द पोखरेललाई सोही प्यानलमा समावेश गरिएपछि प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

आनन्द पोखरेल र बैजनाथ चौधरी दुवै यसअघि अध्यक्ष केपी शर्मा ओली निकट टिममा रहे पनि पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता निरन्तरताको पक्षमा खुलेर उभिएका कारण उनीहरूलाई पदाधिकारीमा अघि बढ्न अवरोध गरिएको बुझाइ नेताहरूको छ । यही कारण असन्तुष्टि जनाउँदै उनीहरूले यस्तो कदम चालेको बताइन्छ । बागमती प्रदेशमा राम्रो सांगठनिक पकड बनाएका पोखरेल देशभरका कार्यकर्ता माझ परिचित र स्वीकार्य नेता मानिन्छन् ।

यही प्रभावलाई मध्यनजर गर्दै ईश्वर पोखरेल प्यानलले उनलाई उपमहासचिव पदको उम्मेदवारका रूपमा समेटेको नेताहरूको भनाइ छ । पछिल्लो समय काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेका पोखरेल र जिल्ला अध्यक्ष दीपक निरौला दुवै विद्या भण्डारी निकट मानिन्छन् । यस कारण काठमाडौंबाट आएका प्रतिनिधिमध्ये ठूलो हिस्सा उनीहरूकै धारमा रहेको आकलन गरिएको छ । दोलखा जिल्लाबाट दुई पटक सांसद निर्वाचित भइसकेका पोखरेल पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । हालसम्म पोलिटब्युरो सदस्य रहेका उनको ईश्वर प्यानलमा प्रवेशले उपमहासचिव पदको चुनावी समीकरणलाई थप रोचक बनाएको छ ।

 

एमाले महाधिवेशनस्थलमा पुगिन् ज्योति मगर, उम्मेदवारका पक्षमा नाच्दै मागिन् मत

काठमाडौं । चर्चित लोकगायिका ज्योति मगर नेकपा एमालेको ११औं महाधिवेशनमा सक्रिय रूपमा देखिएकी छन् । मंगलबार बिहान काठमाडौंको भृकुटीमण्डपमा आयोजित महाधिवेशनस्थल पुगेर उनले केन्द्रीय सदस्यका उम्मेदवारहरूका पक्षमा मत माग्दै प्रचार–प्रसारमा सहभागिता जनाएकी हुन् । महाधिवेशन प्रतिनिधिहरूको भीडबीच मगरले उम्मेदवारका तस्वीर हातमा समातेर मतको अपिल गरिन् । विशेषगरी केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णबहादुर गुरुङ र किरण गुरुङको समर्थनमा उनी खुलेर उभिइन् । प्रचारका क्रममा उनी उम्मेदवार समर्थक जुलुसमा समेत सहभागी भइन्, जहाँ ‘आयो एमाले आयो’ जस्ता नारासँगै माहोल निकै उत्साहपूर्ण बनेको थियो ।

जनजाति समुदायका उम्मेदवारहरूको समर्थनमा निकालिएको झाँकीमा पनि ज्योति मगर सक्रिय रूपमा देखिइन् । जुलुसमा सहभागीहरू ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो’ भन्दै नाराबाजी गरिरहेका थिए भने ज्योति मगर नाच्दै र गीतको लयमा नारालाई साथ दिइरहेकी थिइन् । उनको उपस्थितिले महाधिवेशनस्थलको वातावरण अझ रंगीन र आकर्षक बनेको सहभागीहरूको भनाइ थियो । सञ्चारकर्मीसँगको छोटो कुराकानीमा ज्योति मगरले महाधिवेशनको माहोल निकै रमाइलो र ऊर्जावान् लागेको बताइन् ।

आफू उम्मेदवार नभए पनि युवा नेताको रूपमा पूर्ण गुरुङलाई समर्थन गरेको उनले स्पष्ट पारिन् । समावेशिता र पुस्तान्तरणको आवश्यकता औंल्याउँदै उनले युवाले नेतृत्वमा आउनुपर्ने समय आएको धारणा राखिन् । यद्यपि, ज्योति मगर औपचारिक रूपमा एमाले पार्टीमा प्रवेश गरेकी छैनन् । तर पछिल्लो समय उनका सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्तामा एमाले तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति सकारात्मक धारणा व्यक्त हुँदै आएको देखिन्छ । महाधिवेशनस्थलमा उनको उपस्थितिलाई कतिपयले सांस्कृतिक र राजनीतिक सक्रियताको मिश्रणका रूपमा पनि हेरेका छन् ।
कलाक्षेत्रकी चर्चित व्यक्तित्वको रूपमा परिचित ज्योति मगरको यस किसिमको सहभागिताले एमाले महाधिवेशनमा चर्चा पाएको छ भने राजनीतिक कार्यक्रमहरूमा कलाकारको भूमिकाबारे समेत नयाँ बहस सुरु गराएको छ ।

 

राजेन्द्र गौतमले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपसमहासचिवम उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन् । उनले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । यद्यपि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेका कारण मतपत्रमा उनको नाम भने रहनेछ । गौतम यसअघि एमालेको प्रचार विभाग प्रमुख हुन् । उनी केपी ओली टिमबाटै उपमहासचिवको आकांक्षी थिए ।

ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल उपमहासचिवको उम्मेदवार बनेपछि गौतमले उपमहासचिव पदमै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले भनेका छन्, ‘पार्टीको एघारौं महाधिवेशनको आज चौंथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु । धन्यवाद ।

एमाले महाधिवेशन : सकियो उम्मेदवारी दर्ताको समय

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिएको जानकारी दिएको छ । यो सँगै आयोगले कार्यालयको ढोका समेत बन्द गरेको छ । सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै नेताले प्यानलगत प्रतिष्पर्धा गर्दैछन् ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहितका पदमा उम्मेदवारी दर्ताको समय सकिएको हो । एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । आज नै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्ष उम्मेदवार बनाउने तयारी थियो । तर ज्ञवालीले आफू महासचिव मात्रै बन्ने अडान अन्तिम समयमसम्म राखे । ज्ञवालीसँग विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङले पनि कुराकानी गरेका थिए । ज्ञवालीका स्वकीय सचिव खेमराज ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी परेको बताए ।

उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दावी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएपछि असन्तुष्ट थिए ।

अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ । ज्ञवालीको उम्मेदवारी केन्द्रीय सदस्यका लागि मात्र परेको निर्वाचन आयोग स्रोतले जानकारी दियो । संस्थापन प्यानलबाट शंकर पोखरेल महासचिवका लागि प्रतिष्पर्धामा छन् । इतर पक्षले सुरेन्द्र पाण्डेलाई महासचिवमा अगाडि सारेको छ ।

ओलीले केन्द्रीय सदस्यको सूचीमा राखेका अग्नि खरेलले दिए सचिवमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला क्लस्टरको केन्द्रीय सदस्य उम्मेदवारमा परेका नेता अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन्। स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खरेलले आफ्नो योगदानको मुल्यांकन हुनुपर्ने भन्दै अध्यक्ष ओलीसँग सचिवमा आकांक्षा राखेका थिए।

तर आफूभन्दा जुनियर व्यक्तिहरुलाई सचिव उम्मेदवार बनाइएपछि खरेलले देशभरका महाधिवेशन प्रतिनिधिबाट न्यायको याचना गरेका छन् । उनले आफू पछि नहट्नेगरी सचिवको उम्मेदवार बनेको समेत बताए। २०३६ सालमा पार्टी सदस्य लिएर निरन्तर काममा रहेको र सधैं अध्यक्ष ओलीलाई पार्टी तथा राजकीय काममा सघाएको भन्दै खरेलले सचिवको दावी गरेका थिए।

मेरो कित्ता एमाले नै हो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै स्पष्ट शब्दमा भनेका छन्, ‘मेरो कित्ता एमाले नै हो ।’ एमालेको ११औँ महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको प्रतिष्पर्धालाई स्वाभाविक अभ्यासको रूपमा व्याख्या गरे । बास्कोटाले एमालेले निर्माण गरेको राजनीतिक जग र संस्कारभित्र रहेर प्रतिष्पर्धा हुनु अस्वाभाविक नभएको बताए । पद र जिम्मेवारीका विषयमा आकांक्षा हुनु सामान्य भए पनि त्यसलाई गलत अर्थ लगाएर विभाजनको रूपमा हेर्न नहुने उनको भनाइ थियो ।

उनले आफू ईश्वर पोखरेल र केपी ओलीको ‘जन्ती’ न मलामी’ भएको स्पष्ट पार्दै पार्टीभित्रको बहसलाई व्यक्तिगत कित्तामा बाँध्न खोज्नु अनुचित भएको बताए । पत्रकारले ‘तपाईं केपी शर्मा ओली पक्षको हो ?’ भनेर सोध्दा बास्कोटाले व्यंग्यात्मक शैलीमा जवाफ दिए, ‘सबै केपी शर्मा ओलीका हुन्, सबै ईश्वर पोखरेलका हुन् ।’ उनले थपे, ‘म जन्मिनुअघि नै उहाँहरू यो आन्दोलनमा लाग्नुभएको हो । त्यसैले मलाई किन कित्ताकाट गर्नुपर्छ ?’ एमालेको हरेक महाधिवेशनमा प्रतिष्पर्धाको अभ्यास हुँदै आएको उल्लेख गर्दै बास्कोटाले यो चुनाव एमालेभित्रकै लोकतान्त्रिक प्रक्रिया भएको बताए । ‘तपाईंहरू सबै पत्रकार हुनुहुन्छ, तर मिडियाको ब्रान्ड र अनुहार फरक–फरक छ । पार्टीभित्रको प्रतिष्पर्धा पनि त्यस्तै हो,’ उनले भने ।

उनले एमाले फेरिएको होइन, केवल समीकरण फेरिएको दाबी गरे । ‘एमालेको संस्कार फेरिएको छैन, एमालेप्रतिको जनविश्वास कमजोर भएको छैन,’ भन्दै उनले पार्टीलाई नजिकको विगत र टाढाको भविष्य दुवै कोणबाट हेर्न आग्रह गरे । एमालेको इतिहासलाई स्मरण गराउँदै बास्कोटाले भने, ‘एमालेको जीवनभित्र देशको लोकतन्त्र अटेको छ ।’ अन्त्यमा उनले उदाहरण दिँदै पत्रकारलाई प्रश्न गरे, ‘बाउ–छोरा एउटै घरमा बस्दा कहिलेकाहीँ दायाँबायाँ हुँदैमा के सबै सम्बन्ध तोडिन्छन् ?’

विन्दा पाण्डेले दिइन् उपाध्यक्षमा उम्मेदवारी, अष्टलक्ष्मी प्रस्तावक

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । उनको समर्थकमा भने महेन्द्रप्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका प्रत्यासी ईश्वर पोखरलको टिममा छिन् ।

पार्टीमा तेस्रो पुस्ता आइसक्यो, उनीहरुलाई भरोसा गर्नुपर्छ : अष्टलक्ष्मी
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा तेस्रो पुस्ता आइसकेकाले उनीहरुलाई भरोसा गर्नुपर्ने बताएकी छन् । एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्रको दोस्रो दिन भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष शाक्यले नयाँ पुस्तालाई भरोसा र विश्वास गर्नुपर्ने बताइन् ।शाक्यले भनिन्, ‘उहाँहरुको योग्यताछ्, विज्ञता छ, प्रविधिले युक्त हुनुहुन्छ, हामी जस्तो होइन नि त ?’ उनले ३÷४ वर्षअघिदेखि नै आफूले पार्टीको सक्रिय राजनीति छोड्ने बताइरहेको प्रष्ट पारिन् ।

‘मलाई टिकट पनि चाहिँदैन, मलाई मन्त्री पनि चाहिँदैन भन्याथें, मेरो बारेमा चिन्ता नगर्नु भनेको थिएँ,’ शाक्यले भनिन्, ‘मैले टिकट पनि लिइनँ, अहिले आएर पार्टीको स्थिति हेरिरहँदाखेरि यति धेरै पार्टीमा दोस्रो पुस्ता भइरहँदा मैलेमात्र पार्टीमा बस्नुपर्छ, पार्टी सम्हाल्नु पर्छ भन्ने मलाई लाग्दैन ।’ उपाध्यक्ष शाक्यले पार्टीका लागि पछाडि बसेर पनि गर्न सकिने बताइन् । उनले पद नै चाहिन्छ भन्ने नलागेको बताइन् । उनले पार्टीको सक्रिय राजनीतिबाट अचानक बिदा लिएको बताइन् । कसैको सल्लाह बिनै, कसैले नभनी नै बिदा लिएको शाक्यले बताइन् । उनले भनिन्, ‘सबै छक्क पनि पर्नुभयो।’

 

रघुजी पन्तले पनि छाडे ओली समूह, ईश्वर समूहबाट उपाध्यक्ष उठ्ने

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केपी शर्मा ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । ‘उपाध्यक्ष पदमा उठ्न मैले मनोनयन फारम लिइसकें,’ उनले सुनाए ।

ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरू बराल र पृथ्वीसुब्बा गुरूङको नाम टुंगो लागेको भनिए पनि ज्ञवाली महासचिव पदमै उठ्ने अडानमा छन् । उपाध्यक्षमा आफ्नो नाम समावेश नभएपछि ओली निकट पन्त ईश्वर समूहबाट उपाध्यक्ष उठ्न लागेका हुन् । स्थायी कमिटी सदस्य तथा पूर्व शिक्षामन्त्री समेत रहेका पन्तले आफू उपाध्यक्ष पदमा विवेकको उम्मेदवार बनेको भन्दै सबै पक्षसँग सहयोगको अपेक्षा राखेको बताएका छन् । यसअघि नवौं महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओली निकट मानिन्थे ।

 

ओलीलाई ‘राजनीतिको पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ ईश्वर समूहबाट सचिवको उम्मेदवार

काठमाडौं । लामो समयसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर समर्थक मानिएका कृष्णगोपाल श्रेष्ठले ११औं महाधिवेशनमा ओली समूह छोडेर ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । श्रेष्ठको राजनीतिक यात्रा लामो र विविधतापूर्ण छ । उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहँदै आएका छन् र यही सम्बन्धले उनलाई ओलीबाट टाढा पुर्‍याएको बताइन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार, भण्डारीलाई एमाले सदस्यता नदिएको भन्दै श्रेष्ठ ओलीको विरोधी खेमासँग आबद्ध भएका हुन् ।

श्रेष्ठलाई लामो समयसम्म ‘केपी ओलीको डाई हार्ड फ्यान’ मानिन्थ्यो । पार्टीभित्र र बाहिर ओलीविरुद्ध उठ्ने आवाजमा उनी सार्वजनिक रूपले ओलीको बचाउमा उत्रिन्थे । २०७८ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दिएको भाषण अझ चर्चित रह्यो । उनले त्यतिबेला ओलीको पक्षमा भन्दै भनेका थिए, ‘केपी ओली इज केपी ओली, केपी ओली राजनीतिको पेले हो ।’ तर अहिले, राजनीतिक परिस्थितिका कारण श्रेष्ठले आफ्नो रुख परिवर्तन गरेका छन् । उनी ओलीको समूह छोडेर प्रतिद्वन्द्वी ईश्वर पोखरेलको पक्षमा आइसकेका छन् र सचिवको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

श्रेष्ठले काठमाडौं उपत्यकामा केन्द्रित रहेर लामो समयसम्म एमालेको राजनीति गर्दै आएका छन् । २०४७ सालदेखि चार पटक संसदमा निर्वाचित भइसकेका उनी छैठौं महाधिवेशनदेखि पार्टीका केन्द्रीय सदस्य पनि हुन् । उनले विभिन्न मन्त्रालयहरूमा काम गरेका छन्–स्थानीय विकास राज्यमन्त्री, सहरी विकास मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन वातावरण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री । शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयमा दिएको भाषणले राजनीतिक विवाद पनि उत्पन्न गरेको थियो । राजनीतिक विश्लेषकहरूले कृष्णगोपाल श्रेष्ठको निर्णयलाई एमालेभित्रको शक्ति सन्तुलन, भण्डारीसँगको सम्बन्ध र पार्टीभित्रको रणनीतिक चालसँग जोडेर विश्लेषण गरिरहेका छन् ।

तेस्रो पटक अध्यक्षको प्रतिष्पर्धामा ओली, दर्ता गराए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रतिष्पर्धामा उत्रिएका छन् । ११ औं महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

यस्तै एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । सो क्रममा पोखरेलले केहीबेरअघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिष्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

ईश्वर पोखरेलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । सो क्रममा पोखरेलले केहीबेरअघि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिष्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

‘पार्टीलाई ठिक ढङ्गले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ’
एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरेका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन् । उनले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिन नहुने बताए । उनले जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिष्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धाको कुरा स्वभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिष्पर्धा हुन्थ्यो । अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिनु हुँदैन । दोस्रो कुरा, उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । यसमा अरु केही कुरा नै भएन । म चाहीँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको हुँ । म महाधिवेशनका प्रतिनिधि भएर आउनु भएका कार्यकर्ता साथीहरुलाई पार्टीलाई पुर्नव्यवस्थित, सांगठनिक, वैचारिक रुपमा पुर्नव्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु ।’ उनले पार्टीलाई थप व्यवस्थित र पार्टी नेतृत्व अपडेट गर्नुपर्ने आवश्यकता रहेको व्यहोरा पार्टी कार्यकर्तालाई आग्रह गरे ।

 

महाधिवेशन फुट्नका लागि होमवर्क होइन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गरेका छन् । सोमवार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्द सत्रस्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका उनले सो टिप्पणी गरेका हुन् । उपमहासचिव गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरुले पार्टी छोडने काम नगर्न जिकिर गरे । उनले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पारे ।

निवर्तमान उपमहासचिव गुरुङले भने, ‘प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी हो । प्रतिष्पर्धामा विश्वास गर्ने हाम्रा नेताहरु हुुनुहुन्छ । यो फुट्नका लागि गरिएको होमवर्क होइन । यो त पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि यो गरिएको होमवर्क हो । को सक्षम नेता हो, कार्यकर्ताले मन पराएको नेता हो ? उनीहरुले विश्वास गरेको नेता को हो ? भन्ने कुराको कसी लगाउने थलो महाधिवेशन हो । हामी त्यही कसीमा उभिन्छौ । यो कसीबाट बाहिर निस्कदाखेरी जो विजयी भएर आउँछ, उसले पार्टीलाई सुदृढ ढंगले चलाउने गरेर उनीहरुले जितेका हुन्छन् । बाँकी जो पराजित हुन्छन, पराजित भएकाले पार्टी छोड्नु पर्छ भन्ने हामी मानसिकता राख्दैनौ । त्यसकारण उनीहरुको पनि भावना र विचारको सम्मान गर्दै हामी आफैभित्रको सत्तापक्ष र प्रतिपक्षको भावना नराखि सबै मिलेर अघि बढ्छौँ ।’ उपमहासचिव गुरुङले निर्वाचनमा पराजित हुनेहरुलाई समेटेर उनीहरुको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने समेत बताए ।

 

यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पदाधिकारी उम्मेदवारहरूको सूची अन्तिम रूप दिएको छ । ओली पक्षले सार्वजनिक गरेको प्यानलअनुसार अधिकांश पदमा पुरानै अनुहार दोहोरिएका छन् भने केही नयाँ समायोजन पनि देखिएको छ । उपाध्यक्ष पदका लागि रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार रहने तय भएको छ । महासचिवका दाबेदार मानिएका प्रदीप ज्ञवालीले पनि उपाध्यक्षमै उम्मेदवारी दिने भएका छन्।

यससँगै उपाध्यक्ष पदमा ओली पक्षबाट पाँच जनाको नाम अघि सारिएको छ । महासचिव पदमा हालका महासचिव शंकर पोखरेललाई नै निरन्तरता दिइने भएको छ । ओली पक्षले पोखरेललाई दोहोर्‍याउँदै संगठनात्मक स्थिरता कायम राख्ने सन्देश दिएको छ । उपमहासचिव पदका लागि विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ उम्मेदवार बन्ने भएका छन् ।

सचिव पदमा भने भानुभक्त ढकाल, पद्मा अर्याल र छबिलाल विश्वकर्मालाई पुनः उम्मेदवार बनाउने तयारी गरिएको छ । यस बाहेक सचिवका अन्य उम्मेदवारका रूपमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम प्यानलमा समेटिएको छ ।
ओली पक्षले पदाधिकारीको सूची सार्वजनिक गरेसँगै एमालेभित्र आन्तरिक प्रतिष्पर्धा थप तीव्र हुने देखिएको छ । महाधिवेशन नजिकिँदै जाँदा अन्य समूहहरूको रणनीति र सम्भावित गठजोडले पार्टीको नेतृत्व चयन प्रक्रियालाई थप रोचक बनाउने अनुमान गरिएको छ ।

 

 

ओली प्यानलमा चारै महानगरका उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा स्थानीय तहबाट उदाएका महिला नेतृहरू केन्द्रीय नेतृत्वमा पुग्ने प्रतिष्पर्धामा देखिएका छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित एमालेबाट निर्वाचित चारै महानगरपालिकाका उपमेयर केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

काठमाडौं उपमेयर सुनिता डंगोल अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । उनी उपत्यका विशेष कमिटी अन्तर्गत महिला कोटाबाट उम्मेदवार बनेकी हुन् । यही कोटाबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य र बिना श्रेष्ठ पनि ओली प्यानलबाटै केन्द्रीय सदस्यको उम्मेदवारीमा छन् । सुनिता हाल एमालेको केन्द्रीय स्थानीय तह विभागकी सदस्य समेत हुन् । स्थानीय तह निर्वाचनमा देशभरका ६ महानगरपालिकामध्ये ४ वटामा उपमेयर जितेको एमालेले ती चारै निर्वाचित उपमेयरलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको हो ।

अध्यक्ष ओलीको प्यानलबाट महानगरका उपमेयर उम्मेदवार बन्नेहरूमध्ये तीन जना पहिलोपटक केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ भने दोस्रो पटक केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । यसअघि पनि उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी थिइन् । काठमाडौं महानगरकी सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य र विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निराला भने पहिलोपटक केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हुन् ।

मञ्जली शाक्य बज्राचार्य हाल ललितपुर जिल्ला कमिटीको उपसचिवको जिम्मेवारीमा छन् । शिल्पा कार्की निराला भने मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदको उम्मेदवार बनेर पराजित भएकी थिइन् । स्थानीय तहमा जननिर्वाचित भएर कार्यकारी भूमिकामा रहेका यी नेतृहरूलाई पार्टीको केन्द्रीय संरचनामा ल्याएर संगठन सुदृढ बनाउने रणनीतिका रूपमा एमालेले उम्मेदवारी अघि सारेको देखिन्छ । महाधिवेशनमा स्थानीय सरकारको अनुभव बोकेका महिला नेतृहरूको उल्लेखनीय उपस्थिति रहने संकेतसँगै केन्द्रीय नेतृत्वमा महिला सहभागिता बढाउने सन्देश पनि एमालेले दिएको छ ।

 

एमाले प्रचार विभाग प्रमुख गौतमले भने–उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिन्छु

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएका छन् । केपी शर्मा ओली निकट गौतम पदाधिकारीको कुनै पनि पदमा समेटिएका छैनन् । त्यसपछि उनले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन् ।  ‘म उपमहासचिव पदमा उम्मेदवारी दिँदैछु, नेतृत्वसँग बृहत्तर छलफल भयो, चुनाव भयो भने म उपमहासचिव पदमा लड्ने हो,’ उनले सुनाए । ओली समूहबाट उपमहासचिव पदमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार छन् ।

 

ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन थप स्पष्ट हुँदै गएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारी उम्मेदवारको सूची लगभग टुंग्याएको छ भने अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिष्पर्धामा उत्रिने तयारी पनि औपचारिक रूपमा सार्वजनिक भइसकेको छ ।

ईश्वर पोखरेल समूहका अनुसार अध्यक्ष पदमा पोखरेल आफैं उम्मेदवार बन्ने निश्चित भएको छ । महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारिएको छ भने उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम तय भएको नेताहरूले बताएका छन् । उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने पक्का भएको छ भने बैजनाथ चौधरी पनि उपमहासचिवको प्रतिष्पर्धामा रहने सूचीमा छन् । सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेललगायत नेताहरूको नाम लगभग अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ । यसै सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि समावेश गरिएको छ । यद्यपि छलफल अझै जारी रहेकाले केही नाममा हेरफेर हुन सक्ने नेताहरूको भनाइ छ ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा हुनु स्वाभाविक प्रक्रिया भएको बताएका छन् । आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाका लागि नभई पार्टीलाई थप व्यवस्थित, विधिसम्मत र सामूहिक नेतृत्वको दिशामा अघि बढाउनका लागि भएको उनको दाबी छ । उनले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको पुनर्गठन र पुनव्र्यवस्थापनको पक्षमा उभिन आग्रह गर्दै नेतृत्वको नयाँ अभ्यास आवश्यक भइसकेको संकेत गरे । यससँगै पोखरेल र ओली दुवै पक्षले आ–आफ्ना उम्मेदवार मैदानमा उतारेर प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ ।

यता, उपमहासचिवका प्रत्याशी योगेश भट्टराईले भने आफूहरू प्यानल बनाएर निर्वाचनमा नजाने स्पष्ट पारेका छन् । निर्वाचन आयोगको निर्देशनअनुसार सबै उम्मेदवारले व्यक्तिगत रूपमा उम्मेदवारी दिने उनले बताए । पार्टी सचिवालयको निर्णयविपरीत विधान संशोधन हुनु दुर्भाग्यपूर्ण भए पनि बन्द सत्रले त्यसलाई स्वीकार गरेपछि निर्वाचन प्रक्रियामा सहभागी हुन आफूहरू तयार भएको उनको भनाइ छ । भट्टराईले वर्तमान नेतृत्वले अहिलेको जटिल राजनीतिक परिस्थितिलाई सम्हाल्न नसकेको टिप्पणी गर्दै पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुनर्गठन र नयाँ टिमसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । एमाले महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व, विधान र कार्यदिशालाई लिएर उठेका यी बहसहरूले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई अझ तीव्र बनाएको छ । अब महाधिवेशन प्रतिनिधिहरूको निर्णयले एमालेको आगामी नेतृत्व र राजनीतिक दिशा कुन मोडमा जाने भन्ने स्पष्ट गर्नेछ ।

 

अन्तिमसम्म पनि सहमति जुटेन, पार्टी निर्वाचनमा अघि बढ्यो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सचिव पदका उम्मेदवार महेश बस्नेतले पार्टीभित्र अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास भए पनि असफल भएपछि महाधिवेशन निर्वाचनतर्फ गएको बताएका छन् । भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रसम्म पनि सहमतिका लागि पहल गरेको तर कुरा नमिलेको बताए । अध्यक्षलाई हटाएर सर्वसम्मति खोज्ने मान्यता गलत भएको उनको भनाइ छ । बरु वरिष्ठ उपाध्यक्ष दोहोर्‍याउने वा उपाध्यक्षको संख्या बढाउने प्रस्ताव समेत आएको भए पनि सहमति हुन नसकेको उनले बताए ।

बस्नेतले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिँदा आफ्नो राजनीतिक ‘रिटायरमेन्ट’ असहज बनाएको टिप्पणी गरेका छन् । पोखरेल वरिष्ठ उपाध्यक्षमै दोहोरिएको भए पार्टीका लागि राम्रो हुने र आन्तरिक द्वन्द्व टार्न सकिने उनको तर्क छ । अन्य नेताहरू—युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने र केशव बडाल—ले जीवनको उत्तरार्धमा ग्रासरूटमा काम गर्ने बाटो रोजेको उल्लेख गर्दै बस्नेतले पोखरेलको उम्मेदवारीले पार्टीभित्र अनावश्यक तनाव बढ्ने आशंका व्यक्त गरे ।

उनले पोखरेल समूहसँग तलदेखि संगठित गुट बनाएर अघि बढ्ने सामथ्र्य नरहेको दाबी गर्दै माधव नेपाल र झलनाथ खनाल जस्तो आधार निर्माण नभएको बताए । विदेशी शक्तिको दबाब र चौतर्फी आक्रमणबीच राष्ट्रियता, सार्वभौमसत्ता र विकासको अभियान केपी ओलीको नेतृत्वमै सम्भव हुने दाबी गर्दै बस्नेतले आफू अध्यक्षको प्रस्तावअनुसार सचिव पदमा उम्मेदवार बनेको स्पष्ट पारे । उनका अनुसार अध्यक्ष ओलीले छिट्टै प्रतिष्पर्धाका लागि मनोनयन दर्ता गर्नेछन् र एमाले अब सहमतिभन्दा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने अवस्थामा पुगेको छ ।

 

महेशलाई सचिव ‘पुरस्कार’, भानुभक्तको पहिलोपल्टै उपमहासचिवमा ‘छलाङ’

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी उम्मेदवारहरूको सूची लगभग टुंग्याएका छन् । यसक्रममा ओलीका विश्वास पात्र मानिने दुई नेताको नाम चर्चामा आएको छ-पोलिटब्युरो सदस्य महेश बस्नेत सचिव पदका उम्मेदवार र स्थायी कमिटी सदस्य भानुभक्त ढकाल उपमहासचिव पदका उम्मेदवार बन्दै छन् ।

१०औँ महाधिवेशनमा पोलिटब्युरो सदस्य निर्वाचित भएका महेश बस्नेतलाई यस पटक सचिव पदमा अघि सारिएको हो । पार्टीभित्र ओलीप्रति निष्ठावान नेताका रूपमा चिनिने बस्नेतले जेनजी आन्दोलनपछि सत्ताच्युत भएका बेला ओलीको सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा छ ।भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि करिब एक साता सेनाको सुरक्षा घेरामा रहेका ओलीलाई सुरक्षित रूपमा भक्तपुरको गुण्डु पुर्‍याउनेदेखि त्यहीँ कुटी निर्माणको व्यवस्था मिलाउनेसम्मको जिम्मेवारी बस्नेतले सम्हालेको बताइन्छ । यही कारण ओलीले ‘गुन तिरेको’ चर्चा एमाले वृत्तमा चल्न थालेको छ ।

यता, अहिलेसम्म एमालेको कुनै पनि पदाधिकारी नभएका भानुभक्त ढकाल एकै पटक उपमहासचिव पदका उम्मेदवार बन्ने भएका छन् । स्थायी कमिटी सदस्य रहेका ढकाल अध्यक्ष ओलीका निकटतम सहयोगीमध्ये एक मानिन्छन् । ओली नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री समेत भइसकेका थिए । हाल उनी ११औं महाधिवेशनको स्वयंसेवक परिचालन समितिको संयोजकको जिम्मेवारीमा छन् ।

पार्टीभित्र लामो समयदेखि पदाधिकारी बन्ने प्रतीक्षामा रहेका नेताहरूबीच असन्तुष्टि देखिन सक्ने अनुमान गरिए पनि ओलीले आफ्नो भरोसाको घेरालाई प्राथमिकतामा राखेको संकेत यी निर्णयले दिएको विश्लेषण भइरहेको छ । पुस १ गते हुने महाधिवेशनको निर्वाचनले यी उम्मेदवारहरूको राजनीतिक भविष्य मात्र होइन, एमालेको भावी शक्ति सन्तुलन समेत तय गर्ने देखिन्छ ।

लेखराज भट्टले किन गरे सचिवमा उम्मेदवार नबन्ने घोषणा ?

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा अध्यक्षका दाबेदार केपी शर्मा ओली समूहबाट सचिव पदका लागि तय गरिएको नाममध्ये एक लेखराज भट्टले उम्मेदवारी नदिने घोषणा गरेपछि पार्टीभित्रको पदाधिकारी समीकरण फेरिने संकेत देखिएको छ । पूर्व माओवादी पृष्ठभूमिका नेता भट्टले सचिव पदमा प्रतिष्पर्धा नगर्ने स्पष्ट गरेसँगै ओली समूहले अब उनको स्थानमा नयाँ उम्मेदवार अघि सार्नुपर्ने अवस्था आएको छ ।

महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ओलीले आफ्नो समूहबाट नेतृत्व टिमको खाका सार्वजनिक गरिसकेका थिए । सोही खाकाअनुसार उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंग्याइएको थियो । महासचिव पदमा आकांक्षा देखाएका ज्ञवालीलाई अन्ततः उपाध्यक्षमा सीमित गर्दै शंकर पोखरेललाई महासचिव बनाउने सहमति जुटेको हो । अन्तिम समयसम्म पोखरेलले दाबी नछाडेपछि ओलीको रोजाइअनुसार उनी महासचिवमा अघि सारिएका हुन् ।

उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम फाइनल गरिएको छ । सचिव पदमा नौ जना निर्वाचित हुने व्यवस्था रहेकोमा ओली समूहबाट पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम यसअघि नै तय भइसकेको थियो । त्यही सूचीमा रहेका लेखराज भट्टले उम्मेदवार नबन्ने निर्णय गरेपछि सचिव पदका लागि एक स्थान रिक्त भएको छ । भट्टको निर्णयले एमालेभित्र विशेष गरी पूर्व माओवादी पृष्ठभूमिका नेताहरूको प्रतिनिधित्व र सन्तुलनबारे नयाँ बहस सुरु गराएको छ । अब ओली समूहले उक्त स्थानमा कसलाई अघि सार्छ भन्ने विषयले महाधिवेशनको अन्तिम चरणमा थप चासो र चर्चा बढाउने देखिन्छ ।

 

बढ्दै एमाले महाधिवेशनको सरगर्मी, १४ सय बढीले लिए मनोनयन फाराम

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा सोमबार बिहान ११ बजेपछि उम्मेदवारी दर्ताका लागि मनोनयन फाराम वितरण सुरु गरिएको हो । महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार सोमबार मध्याह्नसम्म १४ सय बढी मनोनयन फाराम वितरण भइसकेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन फाराम वितरणको समय मध्यान्ह १२ बजेसम्म तोकिएको थियो भने उम्मेदवारहरूले दिउँसो साढे १ बजेसम्म दरखास्त फाराम दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ । प्रारम्भिक नामावली प्रकाशनपछि सोही नामावलीमाथि दाबी–विरोध तथा उजुरी दिन दिउँसो साढे २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त उजुरीहरूमाथि छानबिन तथा निर्णय दिउँसो ३ः१० बजेसम्म गरिने कार्यतालिका रहेको छ ।

यदि कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा दिउँसो ३ः१० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको छ । यी सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अन्तिम नामावली प्रकाशनपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ । एमालेको ११औँ महाधिवेशन मंसिर २९ सम्म सञ्चालन हुने तय गरिएको छ । महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा उम्मेदवारी दिन ठूलो संख्यामा नेताहरू अग्रसर देखिएका छन्, जसले पार्टीभित्रको राजनीतिक चासो र प्रतिष्पर्धा दुवैलाई थप तीव्र बनाएको छ ।

ओली र पोखरेल दुबै समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार, को–को परे ?

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समितिका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दुबै पक्षले उम्मेदवारको सूची लगभग टुंगो लगाएका छन् । महाधिवेशनका लागि अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ ।

उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन । अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो । ९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समितिका लागि ईश्वर पोखरेल पक्षले पनि उम्मेदवारको सूची लगभग टुंगो लगाएको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्म चलेको समूहको आन्तरिक छलफलपछि पदाधिकारीसहित केन्द्रीय समितिका ३०१ सदस्यका लागि उम्मेदवार तय गरिएको नेताहरूले बताएका छन् । यस समूहबाट अध्यक्ष पदमा ईश्वर पोखरेल आफैं प्रतिष्पर्धामा उत्रिने निश्चित भएको छ । महासचिव पदका लागि सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । उपाध्यक्ष पदमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङ उम्मेदवार बन्ने भएका छन् भने उपमहासचिव पदका लागि योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिवकै सूचीमा बैजनाथ चौधरीको नाम पनि समावेश गरिएको बताइएको छ ।

सचिव पदमा भने बहुसंख्यक उम्मेदवार अघि सारिएको छ । यस पदका लागि कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, रचना खड्का र इन्द्रलाल सापकोटासहित ठाकुर गैरे र पुरुषोत्तम पौडेलको नाम समेत छलफलमा रहेको स्रोतले जनाएको छ । समूहले प्रारम्भिक रूपमा सचिव उम्मेदवारको सूची तयार गरे पनि अन्तिम क्षणसम्म केही नाममा सामान्य हेरफेर हुन सक्ने बताइएको छ । पोखरेल पक्षका नेताहरूका अनुसार पदाधिकारी मात्र होइन, केन्द्रीय समितिका सबै सदस्यका लागि समेत उम्मेदवारको सूची तयार भइसकेको छ । यद्यपि, महाधिवेशनको माहोल र थप राजनीतिक परामर्शका आधारमा केही पदमा उम्मेदवारको नाम तलमाथि हुन सक्ने संकेत पनि नेताहरूले गरेका छन् ।

एमाले महाधिवेशन : कसरी भइरहेको छ नेतृत्व पुस्तान्तरण ?

पार्टीका लागि चुनौतिपूर्ण समयमा एमाले ११औं महाधिवेशनमा होमिँदै गर्दा उठेका विभिन्न मुद्धामध्ये एउटा प्रमुख मुद्धा थियो-नेतृत्वको पुस्तान्तरण । पार्टी अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि यो मुद्धा अस्वीकृत भएको ठानिएको छ । तर, अध्यक्षलाई मात्रै नहेरेर पार्टी पदाधिकारी हेर्ने हो भने कम्युनिष्ट आन्दोलनको तेस्रो र चौथो पुस्ताको वर्चश्व बढ्दै गएको देखिन्छ । २० को दशकबाट पार्टी नेतृत्वमा होमिएको कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ता बिदा हुँदै गएको छ। अहिले खासगरी पञ्चायतकालको पछिल्लो कालखण्डमा विद्यार्थी राजनीतिमा होमिएको पुस्ताको वर्चश्व बढिरहेको छ भने यसपछि विद्यार्थी राजनीतिमा जोडिएको चौथो पुस्ता पनि पदाधिकारीमा दाबी गर्ने अवस्थामा पुगेको छ ।

केही वर्षअघिको एमाले नेतृत्व हेर्ने हो भने त्यहाँ पाका नेताहरूको वर्चश्व देखिन्थ्यो । २० को दशकमा भएको झापा आन्दोलन र यसकै आसपासबाट राजनीतिमा होमिएको पुस्ताले एमालेको सिंगो नेतृत्व तहमा कब्जा जमाएको थियो । झापा आन्दोलनबाट उदाएका प्रभावशाली नेता सीपी र राधाकृष्ण मैनाली ५० को दशकबाट नै पार्टी नेतृत्वबाट बाहिरिँदै गएका थिए भने अशोक राईले २०६९मा एमाले छोडेका थिए । तर, अहिले ७० नाघिसकेका झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, अष्टलक्ष्मी शाक्य,  युवराज ज्ञवाली,  लगायतले भरिएको पदाधिकारीको टिम देख्न सकिन्थ्यो । अधिकांश नेताहरू २० को दशकमा छिन्नभिन्न भएका विभिन्न कम्युनिष्ट घटकबाट कोअर्डिनेसन केन्द्र र पञ्चायतकालीन माले हुँदै एमालेको नेतृत्वमा आइपुगेका थिए ।

बाम राजनीतिका यी हस्तीहरूलाई चुनौति दिएर नयाँ अनुहारलाई नेतृत्व पंक्तिमा छिर्नै मुस्किल थियो । आठौं महाधिवेशन अघिसम्म महासचिव प्रणालीमा रहेका कारण नेतृत्वका रुपमा विकास हुँदै जाने बाटो पनि अवरूद्ध थियो । पार्टीभित्र एकल नेतृत्वको आलोचना गर्दै अहिलेका अध्यक्ष केपी शर्मा ओलीले ५०को दशकको सुरूवातबाटै पार्टीको लोकतान्त्रिकरणको मुद्धा उठाइरहेका थिए । उनकै प्रस्तावअनुसार २०६५ फागुनमा बुटवलमा भएको आठौं महाधिवेशनले बहुपदीय प्रणाली स्वीकार गर्‍यो । यसको अर्थ महासचिवको एकल नेतृत्वलाई अन्त्य गर्दै सामूहिक नेतृत्व स्थापित गर्नु थियो । एमालेमा पहिलो पटक महाधिवेशन प्रतिनिधिरूले नेतृत्व चयनका लागि प्रत्यक्ष मतदान गरेको यो महाधिवेशनमा ओलीको नीति पास भए पनि नेतृत्व भने रहन सकेन । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनलाई झलनाथ खनालले पराजित गरेका थिए । खनाल २०३९ सालदेखि ४५ सालसम्म तत्कालीन मालेको महासचिव भइसकेका व्यक्ति थिए । महासचिवमा खनालकै पक्षमा रहेका ईश्वर पोखरेलले प्रदीप नेपाललाई पराजित गरेका थिए । वर्तमान महासचिव शंकर पोखरेल यही महाधिवेशनबाट सचिव बनेका थिए ।

ओलीले निरन्तर उठाएको पार्टीको लोकतान्त्रिकरण अन्तर्गत बहुपदीय प्रणाली र प्रतिनिधिको प्रत्यक्ष मतदानको अधिकारले नै उनलाई पार्टीको नेतृत्वमा पुर्‍यायो । २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनमा २०५० सालदेखि आठौं महाधिवेशनसम्म लगातार १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्ष बनेका थिए । पार्टी पदाधिकारीमा युवा नेता शंकर पोखरेलले पराजय भोगे पनि घनश्याम भूसाल, विष्णु पौडेल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायत देखा परे । यसपछिको एमाले-माओवादी एकिकरण र फेरि विभाजन, संसद विघटनको विषयमा विवाद जस्ता नाटकिय घटनाक्रम भए, जसले पार्टीमा उथलपुथल सिर्जना गर्‍यो । अध्यक्ष ओलीसँग मतान्तर बढ्दै गएपछि बामदेव गौतमले पार्टी छोडे । माधव नेपाल र झलनाथ खनालले पार्टी विभाजन गर्दै नेकपा एस गठन गरे ।

चितवनमा भएको दशौं महाधिवेशनबाट ओली अध्यक्षमा दोहोरिए पनि पदाधिकारीमा तेस्रो पुस्ताका नेताहरूको व्यापक उपस्थिति रह्यो । उपाध्यक्ष पद दोस्रो पुस्ताका नेताहरूलाई छोडे पनि महासचिव, उपमहासचिव र सचिव जस्ता पदमा तेस्रो पुस्ताका नेताहरूको उल्लेख्य हस्तक्षेप रह्यो । शंकर पोखरेल महासचिव बन्दा प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरूङ उपमहासचिव बने। योगेश भट्टराई र गोकर्ण विष्टजस्ता नेताहरू सचिव बने । नेतृत्व तहमा तेस्रो पुस्ताका नेताहरूको हस्तक्षेप बढ्दै जाँदा दोस्रो पुस्ताका कतिपय नेताहरूले स्वेच्छिक रुपमा बिदाइ पनि लिइरहेका छन् ।एमालेको ११औं महाधिवशेन यसअर्थमा पनि महत्वपूर्ण बनेको छ । वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले कुनै पनि पदमा उम्मेद्वारी नदिने घोषणा गर्दै आफूभन्दा पछिको पुस्ताका लागि ठाउँ खाली गरिदिएका छन् । नेता केशव बडालले पनि सक्रिय राजनीति छोडेको घोषणा गरे ।

अहिले पदाधिकारीमा दाबी गरिरहेका अधिकांश नेताहरू विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका हुन् । नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो र दोस्रो पुस्ताले भूमिगत रूपमा पञ्चायविरूद्ध संघर्ष हाँकिरहँदा उनीहरू विद्यार्थीको मोर्चाबाट संघर्ष गरिरहेका थिए । वर्तमान महासचिव शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष तथा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति हुँदै एमालेमा स्थापित भएका हुन् भने योगेश भट्टराई पनि अनेरास्ववियुको अध्यक्ष भएका नेता हुन् । यस्तै गोकर्ण विष्ट पञ्चायतकालको अन्तिम समयमा पार्टीमा आबद्ध भएका नेता हुन् ।  अहिले पदाधिकारीमा रहेका बाहेक युवा संघको नेतृत्व गरेर आएका महेश बस्नेत तथा अनेरास्ववियुबाट केही समयवर्षअघि मात्रै बिदा भएका महेश बर्तौला, सुनिता बराल, नवीना लामा, रचना खड्कालगायतका युवाहरूमध्ये केही अब नेतृत्व पंक्तिमा देखिन सक्छन् । अर्थात्, अब नेपाली कम्युनिष्ट आन्दोनलको चौथो पुस्ताले पनि पार्टीको नेतृत्वमा सहभागीता खोज्ने छ ।

सुस्त भए पनि एमालेमा नेतृत्व पुस्तान्तरणको यो बाटो ओलीले अघि सारेको पार्टीको लोकतान्त्रिकरणको नीति अन्तर्गतको बहुपदीय संरचना र प्रतिनिधिको मतद्वारा प्रत्यक्ष रुपमा नेतृत्व छनोटका कारणले नै भइरहेको हो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन मात्रै होइन, नेपाली समाजको लोकतान्त्रिकरणका लागि पनि एमालेले ११औं महाधिवेशनबाट यो अभ्यासलाई थप मजबुत बनाउन आवश्यक छ । नेतृत्वको शृङ्खलाबद्ध पुस्तान्तरणले अहिले देखिएको अन्तरपुस्ता संवादको कमीलाई पनि पुर्ति गर्दै जानसक्ने छ । अध्यक्षमा जो आए पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यास बलियो भए यसले पार्टीलाई नयाँ पुस्तासँग जोड्ने र उनीहरूको भावनालाई आत्मसात गर्ने दिशामा अघि बढाउँछ ।

ओलीको उम्मेदवार सूची ‘फाइनल’, पोखरेल पक्षकाे पनि सबै पदमा ‘टक्कर’ दिने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन निर्णायक मोडमा पुगेसँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह खुलेर आमने–सामने भएका छन् । पुस १ गते हुने निर्वाचनका लागि तालिका सार्वजनिक भएसँगै दुवै समूहले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको सूची लगभग टुंग्याएका छन् ।

अध्यक्ष ओलीले आफ्नो प्यानलका उम्मेदवारको सूची तयार पारिसकेको एमाले नेताहरूको दाबी छ । आकांक्षी नेताहरूको विवरण संकलन गर्न विश्वासपात्र नेतालाई जिम्मा दिएका ओलीले आइतबार बेलुका अन्तिम सूचीमा सहमति जुटाएको बताइन्छ । समन्वय संयन्त्रले उम्मेदवारी दिन चाहने र नचाहने नेताहरूको नामावली बनाएर शनिबार राति नै ओलीलाई बुझाइसकेको थियो ।

आफ्नो समूहका नेताहरू व्यवस्थापन गर्न सहज बनाउन ओलीले विधान नै संशोधन गराएका छन् । विधान महाधिवेशनले घटाएर १५ बनाएको पदाधिकारी संख्या फेरि बढाएर १९ पु¥याइएको छ भने केन्द्रीय समिति २५१ बाट ३०१ सदस्यीय बनाइएको छ । सचिवालयमा विरोध भए पनि ओलीले केन्द्रीय कमिटी बैठकमार्फत बहुमत प्रयोग गरी यो प्रस्ताव पास गराएका थिए । यही निर्णयपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका थिए भने वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान संशोधन अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिने संकेत दिएका थिए ।

ओली पक्षका अनुसार महत्वपूर्ण पदमा हालका पदाधिकारीहरूलाई दोहोर्‍याउने रणनीति लिइएको छ । तीन उपाध्यक्ष र महासचिव दोहोरिने लगभग निश्चित भएको बताइन्छ । महासचिवका आकांक्षी दुई नेतालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने र सचिवमध्येबाट उपमहासचिव बनाउने योजना छ । भक्तपुरको गुन्डुस्थित ओली निवासमा जारी छलफलमा उपाध्यक्षमध्ये विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल र पृथ्वीसुब्बा गुरुङको नाम लगभग फाइनल भइसकेको स्रोतले जनाएको छ ।

बाँकी एक उपाध्यक्षमा प्रदीप ज्ञवाली वा शंकर पोखरेलमध्ये एकलाई अघि सार्ने तयारी छ । महासचिवमा ओलीको प्राथमिकता शंकर पोखरेल देखिएका छन् । उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र पद्मा अर्यालको नाम अगाडि आएको छ । सचिव संख्या ९ पुर्‍याइएपछि प्रदेशगत सन्तुलन मिलाउने प्रयास भएको छ । कोशीबाट शेरधन राई र भानुभक्त ढकाल, मधेसबाट ज्वालाकुमारी साह, बागमतीबाट महेश बस्नेत, गण्डकीबाट खगराज अधिकारी, लुम्बिनीबाट छविलाल विश्वकर्मा, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट लेखराज भट्ट सचिव बन्ने सम्भावना बलियो देखिएको छ ।

उता पोखरेल समूहले पनि अब सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । सुरुवातमा ओलीको सूची हेरेर रणनीति बनाउने सोचमा रहेको यो समूह अब एकै पटक मनोनयनमा जाने तयारीमा छ । थापागाउँस्थित कार्यालयमा छलफलमा जुटेको पोखरेल पक्षमा महासचिवका लागि सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ भने गोकर्ण विष्टलाई उपाध्यक्षमा अघि सार्ने लगभग तय भएको छ ।

योगेश भट्टराई उपमहासचिव उठ्ने पक्का भएको छ । सचिवतर्फ गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल र विन्दा पाण्डे आकांक्षी छन् । पदाधिकारी संख्या बढेपछि पोखरेल समूहलाई उम्मेदवार व्यवस्थापन सहज भएको बताइन्छ । यही अवसर प्रयोग गर्दै ओली पक्षका असन्तुष्ट नेतालाई आफूतिर तान्ने रणनीति पनि यो समूहले लिएको छ । केही नेताहरू चाँडै खुल्ने सम्भावना रहेको पोखरेल पक्षको दाबी छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान ९ बजेदेखि उम्मेदवारी फाराम वितरण र दिउँसो १ः३० बजेसम्म दर्ताको समय तोकेको छ । अन्तिम नामावली बेलुका ६ बजे सार्वजनिक हुनेछ । प्रक्रियागत रूपमा दुवै समूह उम्मेदवारी दर्तातर्फ अघि बढ्दै गर्दा एमाले महाधिवेशन अब स्पष्ट रूपमा ओली र पोखरेलबीचको प्रतिस्पर्धामा रूपान्तरण भएको छ ।

बन्द सत्रमा ईश्वर पोखरेलको फरक धारणा : पार्टी विधि र सामूहिक नेतृत्वतर्फ फर्किनु पर्छ

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको भावी दिशा र कार्यशैलीबारे स्पष्ट र फरक धारणा प्रस्तुत गरेका छन् । अपराह्न ३ बजेपछि सुरु भएको बन्द सत्रमा प्रारम्भमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि पोखरेलले अध्यक्षको अनुमति लिएर आफ्नो विचार राखेका हुन् ।

पोखरेलले बन्द सत्रमा छुट्टै अवधारणा पत्र प्रस्तुत गर्दै पार्टीभित्र अहिले विचार र नेतृत्वभन्दा पनि कार्यशैली नै मुख्य समस्या बनेको टिप्पणी गरे । यही अवस्था निरन्तर रहेमा पार्टी कुनै पनि बेला दुर्घटनाग्रस्त हुन सक्ने चिन्ता सबैमा रहेको भन्दै उनले समयमै आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताए । पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको प्रणालीमा सञ्चालन गर्नुपर्ने आफ्नो मान्यता रहेको पोखरेलको जोड थियो । उनले देश र पार्टी दुवै भूराजनीतिक दबाबको बोझमा परेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्नु अपरिहार्य भएको बताए।

यसै क्रममा उनले अध्यक्ष ओलीले विगतमा अघि सारेको ‘पार्टी जीवनको लोकतान्त्रिकरण’ सम्बन्धी प्रस्ताव र प्रयासलाई स्मरण गराउँदै आफू त्यही मान्यतामा उभिएको र त्यसको प्रशंसक रहेको बताए । ओलीले अघि सारेका ती अवधारणालाई व्यवहारमा उतार्न अझै ठाउँ रहेको संकेत गर्दै नेतृत्वले त्यसका लागि उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा उनले राखे । पोखरेलले विगतमा माओवादीसँग गरिएको पार्टी एकताको प्रक्रिया विधिसम्मत र सन्तुलित नभएकै कारण असफल भएको अनुभव पनि सुनाए । त्यस्तै, नेकपा एमालेको स्थापनादेखि हालसम्म भएका महाधिवेशनहरूको आयोजना प्रक्रियासँग आफू संयोगवश निरन्तर जोडिँदै आएको उल्लेख गर्दै उनले पार्टीको संगठनात्मक यात्रा र उतारचढावलाई नजिकबाट देख्ने अवसर पाएको बताए ।

गत शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई बन्द सत्रमा आफ्नो पालोमा अवधारणा पत्र प्रस्तुत गर्न दिने सहमति गरेको थियो । सोही अनुसार उनले केही दिनअघि नै पार्टी केन्द्रीय कार्यालय पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका थिए । आफूले उठाएका विषयहरू बन्द सत्रमा प्रस्तुत गरिने पार्टीका आधिकारिक दस्तावेजमा समावेश हुनुपर्ने उनको आग्रह रहेको बुझिएको छ ।पोखरेलको सम्बोधनलाई महाधिवेशनमा नेतृत्व, कार्यशैली र आन्तरिक लोकतन्त्रबारे गम्भीर बहसतर्फ लैजाने प्रयासका रूपमा हेरिएको छ । बन्द सत्रमा उनका विचारहरूले कस्तो प्रभाव पार्छन् र पार्टीको आगामी निर्णयमा कति समेटिन्छन् भन्ने चासोका साथ प्रतिनिधिहरूले हेरिरहेका छन् ।

‘विद्या भण्डारीलाई आफ्नो घरमा आउन नदिनु गलत’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति एवं पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई आउन नदिनु गलत भएको बताएका छन् । जारी बन्द सत्रमा आफ्नो धारणा राख्दै पोखरेलले भने, ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति र आउँछु भनेपछि आउन पाउँदैनौं भन्नु कति विवेक सम्वत् ? विल्कुल त्यो गलत हो त्यसरी भनिनु हुँदैन । नआउनुस् भन्न सकिन्छ, आउन उचित हुँदैन भन्न सकिन्छ । तर, आउँछु मेरो घर हो । म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछु भन्दा इस्यू थिएन नन् इस्यूलाई इस्यू बनाइयो । यो गरिनु उचित थिएन ।’

एमाले महाधिवेशनको बन्द सत्र सुरु, निर्वाचनमा विद्युतीय मतदान मेशिन {तस्वीरहरु}

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु भएको हो । जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रगानको पंक्ति लिँदै रोचक नारा लगाएका छन् । बन्द सत्रमा उपस्थित महिला, युवा, दलित र मधेशका प्रतिनिधिलाई उठ्न लगाएर ओलीले भने, ‘सयौँ थुगा फूलका हामी एउटै माला एमाले ।’

बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन हुनेछ । ओलीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्ने छन् । अध्यक्षा मण्डलले निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनेछ । एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेशिन प्रयोग गर्ने भएको छ ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिए । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको थियो। अब पार्टीमा वरिष्ठ उपाध्यक्ष पद रहने छैन । बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ ।

पार्टीमा मनपरीतन्त्रविरूद्धको लडाइँ जारी छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा मनपरीतन्त्रका विरूद्ध लडाइँ जारी रहेको बताएका छन् । आजको केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको छ । सोही सन्दर्भमा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘के हाम्रा विधानहरू अस्थायी हुन् ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔं भन्ने ? यो सरासर मनपरी होइन भने के हो ?’

उनले अहिले आएर विधान अधिवेशनको निर्णयविपरीत पदाधिकारी र केन्द्रीय सदस्यको आधार बढाइएको बताए । ‘यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ,’ महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ।

विधान संशोधन गर्ने भए अध्यक्ष र महासचिव मात्रै राखौं : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले विधान संशोधन गर्ने हो भने अध्यक्ष र महासचिव मात्रै राख्न आग्रह गरेका छन् । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले पद बाँड्न विधान संशोधन गर्न नहुने बताएका छन् ।

‘विधान संशोधन गर्ने नै हो भने एक अध्यक्ष र एक महासचिव मात्रै रहने गरी संशोधन गरौं, हामी बारीको, कान्लाको पाटोमै बसौंला,’ उनका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सुनाए, ‘हामी दूरदर्शी पनि रहेनछौं, भदौको विधान महाधिवेशनको निर्णय यति छोटो समयमै उल्टायौं ।’

उनले पद बाँडेर पार्टीभित्र एकता नहुने भन्दै एकता कायम राख्न सबैलाई जोड्ने भावना चाहिने बताए । ‘अहिले एकता टुटेको अवस्था छ, सबैलाई समेट्ने भावना चाहिन्छ,’ उनले भने । केन्द्रीय कमिटीले पुरानै विधान ब्युँताउने निर्णय गरिसकेको छ भने बन्द सत्र पनि चलिरहेको छ ।