बन्द सत्रमा ईश्वर पोखरेलको फरक धारणा : पार्टी विधि र सामूहिक नेतृत्वतर्फ फर्किनु पर्छ
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको भावी दिशा र कार्यशैलीबारे स्पष्ट र फरक धारणा प्रस्तुत गरेका छन् । अपराह्न ३ बजेपछि सुरु भएको बन्द सत्रमा प्रारम्भमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि पोखरेलले अध्यक्षको अनुमति लिएर आफ्नो विचार राखेका हुन् ।
पोखरेलले बन्द सत्रमा छुट्टै अवधारणा पत्र प्रस्तुत गर्दै पार्टीभित्र अहिले विचार र नेतृत्वभन्दा पनि कार्यशैली नै मुख्य समस्या बनेको टिप्पणी गरे । यही अवस्था निरन्तर रहेमा पार्टी कुनै पनि बेला दुर्घटनाग्रस्त हुन सक्ने चिन्ता सबैमा रहेको भन्दै उनले समयमै आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताए । पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको प्रणालीमा सञ्चालन गर्नुपर्ने आफ्नो मान्यता रहेको पोखरेलको जोड थियो । उनले देश र पार्टी दुवै भूराजनीतिक दबाबको बोझमा परेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्नु अपरिहार्य भएको बताए।
यसै क्रममा उनले अध्यक्ष ओलीले विगतमा अघि सारेको ‘पार्टी जीवनको लोकतान्त्रिकरण’ सम्बन्धी प्रस्ताव र प्रयासलाई स्मरण गराउँदै आफू त्यही मान्यतामा उभिएको र त्यसको प्रशंसक रहेको बताए । ओलीले अघि सारेका ती अवधारणालाई व्यवहारमा उतार्न अझै ठाउँ रहेको संकेत गर्दै नेतृत्वले त्यसका लागि उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा उनले राखे । पोखरेलले विगतमा माओवादीसँग गरिएको पार्टी एकताको प्रक्रिया विधिसम्मत र सन्तुलित नभएकै कारण असफल भएको अनुभव पनि सुनाए । त्यस्तै, नेकपा एमालेको स्थापनादेखि हालसम्म भएका महाधिवेशनहरूको आयोजना प्रक्रियासँग आफू संयोगवश निरन्तर जोडिँदै आएको उल्लेख गर्दै उनले पार्टीको संगठनात्मक यात्रा र उतारचढावलाई नजिकबाट देख्ने अवसर पाएको बताए ।
गत शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई बन्द सत्रमा आफ्नो पालोमा अवधारणा पत्र प्रस्तुत गर्न दिने सहमति गरेको थियो । सोही अनुसार उनले केही दिनअघि नै पार्टी केन्द्रीय कार्यालय पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका थिए । आफूले उठाएका विषयहरू बन्द सत्रमा प्रस्तुत गरिने पार्टीका आधिकारिक दस्तावेजमा समावेश हुनुपर्ने उनको आग्रह रहेको बुझिएको छ ।पोखरेलको सम्बोधनलाई महाधिवेशनमा नेतृत्व, कार्यशैली र आन्तरिक लोकतन्त्रबारे गम्भीर बहसतर्फ लैजाने प्रयासका रूपमा हेरिएको छ । बन्द सत्रमा उनका विचारहरूले कस्तो प्रभाव पार्छन् र पार्टीको आगामी निर्णयमा कति समेटिन्छन् भन्ने चासोका साथ प्रतिनिधिहरूले हेरिरहेका छन् ।
‘विद्या भण्डारीलाई आफ्नो घरमा आउन नदिनु गलत’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति एवं पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई आउन नदिनु गलत भएको बताएका छन् । जारी बन्द सत्रमा आफ्नो धारणा राख्दै पोखरेलले भने, ‘केन्द्रीय उपाध्यक्ष भइसकेको व्यक्ति र आउँछु भनेपछि आउन पाउँदैनौं भन्नु कति विवेक सम्वत् ? विल्कुल त्यो गलत हो त्यसरी भनिनु हुँदैन । नआउनुस् भन्न सकिन्छ, आउन उचित हुँदैन भन्न सकिन्छ । तर, आउँछु मेरो घर हो । म जहाँ जन्मिएँ, हुर्किएँ त्यही ठाउँमा मेरो अन्तिम जीवन बिताउँछु भन्दा इस्यू थिएन नन् इस्यूलाई इस्यू बनाइयो । यो गरिनु उचित थिएन ।’
