एमाले महाधिवेशन : कसरी भइरहेको छ नेतृत्व पुस्तान्तरण ?
पार्टीका लागि चुनौतिपूर्ण समयमा एमाले ११औं महाधिवेशनमा होमिँदै गर्दा उठेका विभिन्न मुद्धामध्ये एउटा प्रमुख मुद्धा थियो-नेतृत्वको पुस्तान्तरण । पार्टी अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि यो मुद्धा अस्वीकृत भएको ठानिएको छ । तर, अध्यक्षलाई मात्रै नहेरेर पार्टी पदाधिकारी हेर्ने हो भने कम्युनिष्ट आन्दोलनको तेस्रो र चौथो पुस्ताको वर्चश्व बढ्दै गएको देखिन्छ । २० को दशकबाट पार्टी नेतृत्वमा होमिएको कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ता बिदा हुँदै गएको छ। अहिले खासगरी पञ्चायतकालको पछिल्लो कालखण्डमा विद्यार्थी राजनीतिमा होमिएको पुस्ताको वर्चश्व बढिरहेको छ भने यसपछि विद्यार्थी राजनीतिमा जोडिएको चौथो पुस्ता पनि पदाधिकारीमा दाबी गर्ने अवस्थामा पुगेको छ ।
केही वर्षअघिको एमाले नेतृत्व हेर्ने हो भने त्यहाँ पाका नेताहरूको वर्चश्व देखिन्थ्यो । २० को दशकमा भएको झापा आन्दोलन र यसकै आसपासबाट राजनीतिमा होमिएको पुस्ताले एमालेको सिंगो नेतृत्व तहमा कब्जा जमाएको थियो । झापा आन्दोलनबाट उदाएका प्रभावशाली नेता सीपी र राधाकृष्ण मैनाली ५० को दशकबाट नै पार्टी नेतृत्वबाट बाहिरिँदै गएका थिए भने अशोक राईले २०६९मा एमाले छोडेका थिए । तर, अहिले ७० नाघिसकेका झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, लगायतले भरिएको पदाधिकारीको टिम देख्न सकिन्थ्यो । अधिकांश नेताहरू २० को दशकमा छिन्नभिन्न भएका विभिन्न कम्युनिष्ट घटकबाट कोअर्डिनेसन केन्द्र र पञ्चायतकालीन माले हुँदै एमालेको नेतृत्वमा आइपुगेका थिए ।
बाम राजनीतिका यी हस्तीहरूलाई चुनौति दिएर नयाँ अनुहारलाई नेतृत्व पंक्तिमा छिर्नै मुस्किल थियो । आठौं महाधिवेशन अघिसम्म महासचिव प्रणालीमा रहेका कारण नेतृत्वका रुपमा विकास हुँदै जाने बाटो पनि अवरूद्ध थियो । पार्टीभित्र एकल नेतृत्वको आलोचना गर्दै अहिलेका अध्यक्ष केपी शर्मा ओलीले ५०को दशकको सुरूवातबाटै पार्टीको लोकतान्त्रिकरणको मुद्धा उठाइरहेका थिए । उनकै प्रस्तावअनुसार २०६५ फागुनमा बुटवलमा भएको आठौं महाधिवेशनले बहुपदीय प्रणाली स्वीकार गर्यो । यसको अर्थ महासचिवको एकल नेतृत्वलाई अन्त्य गर्दै सामूहिक नेतृत्व स्थापित गर्नु थियो । एमालेमा पहिलो पटक महाधिवेशन प्रतिनिधिरूले नेतृत्व चयनका लागि प्रत्यक्ष मतदान गरेको यो महाधिवेशनमा ओलीको नीति पास भए पनि नेतृत्व भने रहन सकेन । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनलाई झलनाथ खनालले पराजित गरेका थिए । खनाल २०३९ सालदेखि ४५ सालसम्म तत्कालीन मालेको महासचिव भइसकेका व्यक्ति थिए । महासचिवमा खनालकै पक्षमा रहेका ईश्वर पोखरेलले प्रदीप नेपाललाई पराजित गरेका थिए । वर्तमान महासचिव शंकर पोखरेल यही महाधिवेशनबाट सचिव बनेका थिए ।
ओलीले निरन्तर उठाएको पार्टीको लोकतान्त्रिकरण अन्तर्गत बहुपदीय प्रणाली र प्रतिनिधिको प्रत्यक्ष मतदानको अधिकारले नै उनलाई पार्टीको नेतृत्वमा पुर्यायो । २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनमा २०५० सालदेखि आठौं महाधिवेशनसम्म लगातार १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्ष बनेका थिए । पार्टी पदाधिकारीमा युवा नेता शंकर पोखरेलले पराजय भोगे पनि घनश्याम भूसाल, विष्णु पौडेल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायत देखा परे । यसपछिको एमाले-माओवादी एकिकरण र फेरि विभाजन, संसद विघटनको विषयमा विवाद जस्ता नाटकिय घटनाक्रम भए, जसले पार्टीमा उथलपुथल सिर्जना गर्यो । अध्यक्ष ओलीसँग मतान्तर बढ्दै गएपछि बामदेव गौतमले पार्टी छोडे । माधव नेपाल र झलनाथ खनालले पार्टी विभाजन गर्दै नेकपा एस गठन गरे ।
चितवनमा भएको दशौं महाधिवेशनबाट ओली अध्यक्षमा दोहोरिए पनि पदाधिकारीमा तेस्रो पुस्ताका नेताहरूको व्यापक उपस्थिति रह्यो । उपाध्यक्ष पद दोस्रो पुस्ताका नेताहरूलाई छोडे पनि महासचिव, उपमहासचिव र सचिव जस्ता पदमा तेस्रो पुस्ताका नेताहरूको उल्लेख्य हस्तक्षेप रह्यो । शंकर पोखरेल महासचिव बन्दा प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरूङ उपमहासचिव बने। योगेश भट्टराई र गोकर्ण विष्टजस्ता नेताहरू सचिव बने । नेतृत्व तहमा तेस्रो पुस्ताका नेताहरूको हस्तक्षेप बढ्दै जाँदा दोस्रो पुस्ताका कतिपय नेताहरूले स्वेच्छिक रुपमा बिदाइ पनि लिइरहेका छन् ।एमालेको ११औं महाधिवशेन यसअर्थमा पनि महत्वपूर्ण बनेको छ । वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले कुनै पनि पदमा उम्मेद्वारी नदिने घोषणा गर्दै आफूभन्दा पछिको पुस्ताका लागि ठाउँ खाली गरिदिएका छन् । नेता केशव बडालले पनि सक्रिय राजनीति छोडेको घोषणा गरे ।
अहिले पदाधिकारीमा दाबी गरिरहेका अधिकांश नेताहरू विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका हुन् । नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो र दोस्रो पुस्ताले भूमिगत रूपमा पञ्चायविरूद्ध संघर्ष हाँकिरहँदा उनीहरू विद्यार्थीको मोर्चाबाट संघर्ष गरिरहेका थिए । वर्तमान महासचिव शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष तथा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति हुँदै एमालेमा स्थापित भएका हुन् भने योगेश भट्टराई पनि अनेरास्ववियुको अध्यक्ष भएका नेता हुन् । यस्तै गोकर्ण विष्ट पञ्चायतकालको अन्तिम समयमा पार्टीमा आबद्ध भएका नेता हुन् । अहिले पदाधिकारीमा रहेका बाहेक युवा संघको नेतृत्व गरेर आएका महेश बस्नेत तथा अनेरास्ववियुबाट केही समयवर्षअघि मात्रै बिदा भएका महेश बर्तौला, सुनिता बराल, नवीना लामा, रचना खड्कालगायतका युवाहरूमध्ये केही अब नेतृत्व पंक्तिमा देखिन सक्छन् । अर्थात्, अब नेपाली कम्युनिष्ट आन्दोनलको चौथो पुस्ताले पनि पार्टीको नेतृत्वमा सहभागीता खोज्ने छ ।
सुस्त भए पनि एमालेमा नेतृत्व पुस्तान्तरणको यो बाटो ओलीले अघि सारेको पार्टीको लोकतान्त्रिकरणको नीति अन्तर्गतको बहुपदीय संरचना र प्रतिनिधिको मतद्वारा प्रत्यक्ष रुपमा नेतृत्व छनोटका कारणले नै भइरहेको हो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन मात्रै होइन, नेपाली समाजको लोकतान्त्रिकरणका लागि पनि एमालेले ११औं महाधिवेशनबाट यो अभ्यासलाई थप मजबुत बनाउन आवश्यक छ । नेतृत्वको शृङ्खलाबद्ध पुस्तान्तरणले अहिले देखिएको अन्तरपुस्ता संवादको कमीलाई पनि पुर्ति गर्दै जानसक्ने छ । अध्यक्षमा जो आए पनि पार्टीभित्रको लोकतान्त्रिक अभ्यास बलियो भए यसले पार्टीलाई नयाँ पुस्तासँग जोड्ने र उनीहरूको भावनालाई आत्मसात गर्ने दिशामा अघि बढाउँछ ।
