अष्ट्रेलियामा आदिवासीविरुद्ध जातीय भेदभावबारे छानबिन सुरु
काठमाडाैँ । अष्ट्रेलिया सरकारले आदिवासी समुदायमाथि बढ्दो जातीय भेदभाव, घृणा र हिंसाका घटनाबारे छानबिन गर्न नयाँ अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ । यो निर्णय जनवरी महिनामा पश्चिमी अष्ट्रेलियामा भएको कथित आतङ्कवादी आक्रमण प्रयासपछि गरिएको हो।
अष्ट्रेलियाकी आदिवासी मामिला मन्त्री मालारन्दिरी म्याकार्थीले संसदअन्तर्गत रहेको आदिवासी मामिला समितिलाई आदिवासी समुदायमाथि हुने जातीय भेदभाव, घृणा र हिंसासम्बन्धी घटनाको अनुसन्धान गर्न अनुरोध गरेको र समितिले उक्त अनुरोध स्वीकार गरेको जानकारी दिए।
सरकारका अनुसार पछिल्लो समय आदिवासी अष्ट्रेलियालीहरूविरुद्ध जातीय भेदभावका घटनाहरू बढ्दै गएको देखिएकाले यस विषयमा विस्तृत अध्ययन आवश्यक भएको हो । जनवरी २६ मा पश्चिमी अष्ट्रेलियाको पर्थ शहरमा आदिवासी समुदायको नेतृत्वमा आयोजित विरोध प्रदर्शनका क्रममा हजाराैँ मानिस भेला भएका बेला एक व्यक्तिले घरमै बनाइएको विस्फोटक पदार्थ भीडतर्फ फ्याँकेको आरोप लागेको थियो । उक्त विस्फोटक पदार्थ नफुटे पनि अधिकारीहरूले त्यसले ठूलो मानवीय क्षति हुन सक्ने सम्भावना रहेको बताएका छन्।
यस घटनामा पश्चिमी अष्ट्रेलियाका ३२ वर्षका एक व्यक्तिलाई आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । यो राज्यको इतिहासमै आतङ्कवादी कार्यमा संलग्न भएको आरोपमा दर्ता गरिएको पहिलो घटना भएको बताइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार उक्त आक्रमण जातीय घृणा र अतिवादी विचारधाराबाट प्रेरित भएको आशंका गरिएको छ।
मन्त्री म्याकार्थीका अनुसार पर्थ घटनापछि आदिवासी समुदायमा डर र आक्रोश बढेको छ । यसअघि सन् २०२५ को अगस्टमा मेलबर्नमा आदिवासीहरूको विरोध शिविरमा श्वेत सर्वोच्चतावादी समूहले आक्रमण गरेको घटना पनि भएको थियो।
सरकारले गठन गरेको यो अनुसन्धान समितिले आदिवासी समुदायमाथि हुने जातीय भेदभाव, घृणा र हिंसासम्बन्धी घटनाको अध्ययन गरी आगामी सेप्टेम्बर महिनाको मध्यसम्म आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
