सहकारीले सुरु गर्यो व्यावसायिक सयपत्री खेती, सामाजिक सञ्जालमार्फत काठमाडौँसम्म बिक्री
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा व्यस्त देखिन्छन्।
एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यसकै स्याहारसुसारमा व्यस्त रहने गरेका हुन्। चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताएकी छन्।
‘अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ’ भन्दै उनले ‘हजारीको सिजन भएकाले यतातिर लागेका हौँ’ भनेकी छन्। उनका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो। सुरुमा बिउ, मल्चिङ तथा खेत जोताइलगायतका काममा करिब तीन लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।
तिहारलाई लक्षित गरी साउन २६ गते रोपिएको सयपत्री ४५ दिनमै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताएकी छन्। दसैँभन्दा अघि नै सयपत्री फुल्दा सोचेअनुसार आम्दानी हुँदैन कि भन्ने चिन्ता उनलाई छ। ‘मैले तिहारलाई लक्षित गरेको थिएँ’ भन्दै उनले ‘दसैँमा फुलेकाले सोचेअनुसार आम्दानी हुँदैन कि भन्ने लाग्छ’ भनेकी छन्।
सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उनले बताएकी छन्। खेतीबाट १२ देखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ।
दसैँ अगावै फुले पनि सामाजिक सञ्जालबाट प्रचार गरेर काठमाडौँसम्म फूल पठाइएको उनले बताएकी छन्। टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोजमै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ। विदेशबाट समेत फूलको माग आएको उनले जानकारी दिएकी छन्।
पाँच वर्षका लागि कट्ठाको वार्षिक दुई हजार रुपैयाँका दरले जग्गा भाडामा लिएर यो खेती गरिएको हो। कृषि सहकारी भएकाले सयपत्रीबाट मनग्य आम्दानी लिन सकिने देखिएकाले यस खेतीतर्फ लागिएको अध्यक्ष धितालले बताएकी छन्।
